नेपाली पाउडर

- सुनिता लोहनी

राजधानीमा बाटो र बत्तीको सुविधा छ भनिएको छ । 

तर साँच्चै सुविधा हो कि होइन, बुझ्न जिल्ला घुम्नुपर्दो रहेछ । केही दिनअघि हप्ते बिदा मनाउन जहरसिंहपौवा पुगियो । चाबहिलदेखि साँखुसम्मको बाटो कति खराब रहेछ भने प्रधानमन्त्री केपी ओलीले मास्क लगाउनु पर्दैन भनेको खुबै सम्झिएँ । पानी नपरेकाले बाटो धुलाम्य, नेपाली पाउडर छरपस्ट । बाइकमा सवार म स्पटसम्म पुग्दा धुलोले शरीर पूरै घामड शेरेको ट्रेलरमा देखाइएको निश्चल बस्नेतजस्तै बनिसकेकी थिएँ ।

केही दिनअघि पूर्वतिर घुम्न जाने मौका मिलेको थियो । धरानतिर पहिल्यै घुमेकी थिएँ । तर धनकुटा र हिले पनि घुम्ने अवसर मिल्यो । धनकुटाको सडक देखेर छक्क परेकी थिएँ । एकैनासको खैरो पिच, सफा सडक । पहिरो नजाओस् भनेर ढुंगा र तारले बेरेर बनाएका अग्ला भित्ता । काठमाडौँमा पानी पर्दा धान रोपिदिउँजस्तो लाग्ने खाल्डाखुल्डी कतै देखिएन । यस पटक चाबहिलको यात्रा गर्दा धनकुटाको त्यो बाटो झल्झली सम्झिएँ । धन्य, धनकुटाको बाटो ! धिक्कार, चाबहिलको बाटो !

सेल्फीले लिएको ज्यान

समाचार नयाँ होइन तर कसैको मृत्युको समाचार सुन्नुपर्दा खल्लो लाग्ने । मृत्यु स्वाभाविक भए त ठीकै हो तर बेवकुफीले ज्यान जाँदा असह्य हुने रहेछ । दसैँताका घुम्ने क्रममा तमोर नदी गएका थियौँ । त्यहीँ बास बस्ने र भोलिपल्ट बराह क्षेत्र जाने योजना थियो । साँझ परिसकेकाले तमोर नदी पुलसँगै रहेको होटलमा खाना खायौँ । खाने क्रममा होटल मालिकले अघिल्लो दिन तमोर नदीमा ३ केटा र एक केटी घुम्न आएको र सेल्फी खिच्ने क्रममा केटीको ज्यान गएको सुनाए ।

धनकुटा बजारमा बस्ने युवती २१ वर्षकी थिइन् रे । घरकी कान्छी छोरी उनी साथीसँग तमोर घुम्न आएकी रहिछन् । यस पटक दसैँसम्म पनि पानी परिरहेकाले खोलानदीमा भेल उर्लिएको थियो । पढेलेखेका मान्छेले त्यति बुझ्नुपर्ने हो, भेल आएका बेला खोलाछेउ जानु हुँदैन भनेर । 

होटल मालिकका अनुसार तमोर नदीले दुई– तीन महिनाको अन्तरालमा मान्छे बगाइरहन्छ । फोटो खिच्ने वा डुल्ने क्रममा पहिले पनि थुप्रै युवकयुवतीले ज्यान गुमाएको उनले सुनाए । आफ्नै ज्यान जोखिममा राखेर किन खिच्ने ? के ज्यानभन्दा फोटो अमूल्य हो र ?

नबिर्सने राजदूत 

ठूलाठालु भनिने मान्छे सार्वजनिक कार्यक्रममा बडेबडे कुरा गर्छन् ।  औपचारिक कार्यक्रमबाहेक अन्त भेट्दा ठूलाबडाको विनम्रता कहाँ जान्छ कहाँ ! 

भनाइ नै छ, बाँस जति अग्लो भयो, उति नुहिन्छ । त्यस्तै, संस्कृतमा भनाइ छ, विद्या ददाती विनयम् । जो ज्ञानी छ, ऊ विनम्र हुन्छ । र, विनम्र व्यक्ति सबैभन्दा आदरणीय हुन्छ । नेपाली समाजको यो टेको भए पनि हिजोआज हामी यस भनाइबाट पर हुँदै गएका छौँ । तर एक औपचारिक कार्यक्रममा ब्राजिली राजदूत मारिया टेरेसा पेसोआलाई भेट् दा छक्कै परेँ । 

कार्यक्रम सकेपछि चिया खान बस्दै थिएँ । एक गोरी मतिर हाँस्दै बोलिन् । कार्यक्रमबारे सोधिन् । उनी सहज बोलिरहेका बेला अर्का एक व्यक्तिले ब्राजिलको राजदूत भएको बताए ।

उनलाई कतै देखेजस्तो त लागेको थियो । तर कार्यक्रममा गइरहँदा धेरै मानिससँग भेट हुने हुनाले मान्छे ठ्याक्कै ठम्याउन गाह्रो । मैले उनलाई चिनिनँ र त्यो कुरा व्यक्त पनि गरेँ । उनी मुस्कुराइन् र मलाई अर्को कार्यक्रमका लागि निम्तो दिइन् । 

म निम्तो मानेर गएँ । उनले भुलिसकेकी होलिन् भन्ने सोचेर कार्यक्रमस्थल पुगेँ । उनले खुसी हुँदै अँगालो मारिन् । चलचित्र देखाइने हुँदा राम्रो सिट छानेर बस्न सुझाइन् । म एक्लै छेउको कुर्सीमा बसिरहेकी थिएँ । कार्यक्रम सुरु हुन लाग्दा उनी अगाडि जाँदै थिइन् । मलाई पछाडिबाट काँधमा समातेर उनले पुन: दोहोर्‍याइन्, ‘आई एम सो ग्ल्याड टु सी यु हियर ।’ म उनको विनम्रता देखेर नतमस्तक भएँ । 

प्रकाशित: मंसिर ५, २०७६

ट्याग: नोटबुक
×