राष्ट्रपतिको शक्ति अभ्यास : मेरो सरकार, मेरो पार्टी 

- बसन्त बस्नेत

कार्यकारी शक्ति प्रधानमन्त्रीलाई प्रदान गर्दै–गर्दा हाम्रो संविधानले राष्ट्रपतिलाई सर्वोच्च संस्थाका रूपमा स्वीकार गरेको छ । त्यस्तो सर्वोच्च संस्था, जो विवाद र आक्षेपभन्दा माथि उठेर आदरणीय होओस् ।

गणतन्त्रका यी ११ वर्षमा हामीले जनताका दुई छोराछोरीलाई राष्ट्रप्रमुखका रूपमा पाइसक्यौँ । रामवरण यादव र विद्यादेवी भण्डारी दुवैको दलगत पहिचान विगतमा जेसुकै भए पनि साझा अभिभावकका रूपमा संवैधानिक दायित्व पूरा गर्ने जनअपेक्षा थियो । यादव पनि विवादभन्दा माथि रहन सकेनन्, तैपनि संक्रमणकालमा शंकाको लाभ उनले पाए । दोस्रो राष्ट्रपति बन्न पुगेकी भण्डारी पनि एकपछि अर्का विवादका शृंखलामा फस्न पुगेकी छन् । नेपाल म्यागजिनले विगतका अंकहरूदेखि नै शीतलनिवासको छवि विवादमुक्त बनोस् भन्ने अपेक्षासहित रिपोर्टिङ तथा विश्लेषण सम्प्रेषण गर्दै आएको छ ।

पहिलो कार्यकालमा संवैधानिक सीमा बिर्सेर शक्तिको अतिरिक्त प्रयोग गरेको भनी राष्ट्रपति भण्डारीको आलोचना हुँदै गर्दा दोस्रो कार्यकालमा त्यसो नगर्न सचेत पनि गराइएकै थियो । तर विगतमा आफ्नो आबद्धता रहेको पार्टीको सत्ता–अनुकूलताको फाइदा ‘म्याडम महामहिम’ ले हालका दिनहरूमा झन् उठाइरहेको देख्न सकिन्छ । यस अंकमा योगेश ढकालको आवरण कथाले राष्ट्रपति भण्डारीबाट भइरहेको शक्ति र सत्ताको दुरुपयोग अनि क्षेत्राधिकार नाघेर गरेका हस्तक्षेपको वृत्तान्त पस्केको छ । राजनीतिक नियुक्तिहरूमा अनावश्यक चासोदेखि सरकार तथा पार्टीविशेषका शक्तिसंघर्षभित्र पस्न खोज्ने उनको शैलीप्रति निकटस्थ व्यक्ति तथा संस्थाहरू नै असन्तुष्ट देखिएका छन् ।


यो पनि पढ्नुस्ः आलंकारिक राष्ट्रपतिको अनपेक्षित शक्ति अभ्यास


सजावटी भूमिकामा बस्नुपर्ने राष्ट्रपतिले राज्यका दैनन्दिन कामकारबाहीमा गरेको हस्तक्षेप अनपेक्षित छ । अझ सत्तारुढ नेकपा र त्यसका नेताहरूको आन्तरिक मामिलामा उनको बढ्दो अभिरुचि तुरुन्तै लगाम नलगाइएमा त्यसले थप खति निम्त्याउन सक्ने जोखिम छ । भण्डारीको भड्किलो कार्यशैली, शाही रवाफ बिर्साउने ठाँटबाँट, नागरिकलाई आतंकित तुल्याउँदै चलाइने सवारी, शीतलनिवासदेखि एयरपोर्टसम्म हेलिकोप्टर यात्रा, धर्म निरपेक्ष राज्यमा बढ्तै धार्मिक संलग्नताजस्ता थुप्रै विषय त्याज्य छन् । यसले उनको वामपन्थी विगतप्रति खिसीट्युरी गरेको छ । उनको क्रियाकलापले वर्गीय पृष्ठभूमि र चेतनालाई हियाएको छ ।

भण्डारी सधैँका लागि शीतलनिवासमा विराजमान हुनका लागि आएकी होइनन् । गणतन्त्रको सर्वोच्च प्रतीकका रूपमा उनको यो सहुलियत आवधिक हो । उनको शक्तिभन्दा सीमा धेरै छन् । साथै राष्ट्राध्यक्षका रूपमा भण्डारीका प्रत्येक क्रियाकलाप भविष्यमा आउने अरू राष्ट्रपतिका लागि नजिर बन्न जानेछन् । त्यस अर्थमा आफ्नो ऐतिहासिक जिम्मेवारीको गहनताबारे उनी आफैँ संवेदनशील हुनुपर्ने हो ।

मदन भण्डारीले भनेका थिए, ‘एउटा राजा रहने या नरहने विषयले त्यति ठूलो अर्थ राख्दैन ।’ यो उनले शासकको वंशभन्दा शैलीतिर संकेत गर्दै भनेका थिए । आज राजाहरूको शैलीमा ‘मेरो सरकार’ भन्दै स्वामित्व लिन खोज्ने राष्ट्रपति भण्डारीले मदनको सम्झना गर्नु आवश्यक भएको छ । सिंहदरबारमा जुन सरकार छ, त्यो भण्डारीको होइन । धुम्बाराहीमा जुन पार्टी मुख्यालय छ, त्यो पनि अब भण्डारीको होइन । 

कस्तो राष्ट्रपतिका रूपमा इतिहासमा नाम लेखाएर बिदा हुने हो– जनताको मनमा बस्ने सादगी रहनसहनको सर्वस्वीकार्य छवि कि सामन्तकालीन समाजको झल्को दिने मानिसको छवि ? छनोट भण्डारीकै हातमा छ ।

प्रकाशित: मंसिर ८, २०७६

×