कमलामा पत्याउनै गाह्रो मेला

  • हाम्रो नेपालमा

- राजकुमार राउत

एकाबिहानै चिसो पानीमा केही महिला र पुरुष काम्दै, उफ्रिँदै, चिच्याउँदै डुबुल्की मारिरहेका थिए भने केही बाजागाजासहित हातमा बेतको लौरो र बलिरहेको धुपौरो लिएर आफूले पाएको तन्त्रमन्त्र र ज्ञानगुन सिद्धिको कामना गरिरहेका थिए ।

यो अनौठो, अविश्वासिलो र अद्भुत दृश्य थियो– सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित बन्दीपुर, उत्तरायणी कमला नदीको । कात्तिके पूर्णिमाको बिहान उत्तरायणी कमला नदीमा बर्सेनि भूत मेला लाग्छ । मेलामा तन्त्र, मन्त्र सिद्धि गर्ने धामी, झाँक्री, माता र तान्त्रिकहरूको भीड हुन्छ ।

यसपालि धनुषाका धामी मनोज पासवान गुरु वा अलौकिक शक्तिबाट पाएको ज्ञानगुन, तन्त्रमन्त्र सिद्धिका लागि चेलाचेलीसहित आएका थिए भने सिरहा, गोलबजारका जयकिशोर यादव परिवारलाई कसैले आँखा लगाउन नसकोस् भनी कमलामा पूजाआराधनाका लागि । 

धामी, झाँक्री, माता तान्त्रिकहरूले कात्तिके पूर्णिमामा कमला र गंगास्नान नगरेसम्म ज्ञानगुन, मन्त्र सिद्ध नहुने जनविश्वास छ । कमलामा स्नान र मन्त्र सिद्धिका लागि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी र भारतको बिहारदेखि तान्त्रिक आउँछन् । 

मेलामा हातमा बलिरहेको धुपौरो, बेतको लौरो लिएर काम्ने अनि चिच्याउने ९९ प्रतिशत महिला थिए । शरीरमा भूत, पिशाच, कुलका देवीदेवता उत्रेपछि महिला काम्ने, चिच्याउने, कराउने गरेको धामीहरूको भनाइ छ । 

प्रकाशित: मंसिर ९, २०७६

×