सहरैपिच्छे ‘टाइम बम’

  • प्रदेश १

- माधव घिमिरे

डेढ दशकअघि धरान आएका डेनमार्कका समाजशास्त्री खलिल अहमदले एक अध्ययनको निष्कर्ष लेखेका थिए, ‘टाइम बम अन्डर द सिटी’ । लागूऔषध ओसारपसार, बिक्री, सेवन र बढ्दो प्रयोगकर्ताको अवस्थाको आधारमा उनले दिएको सुझाव पहिल्याएर प्रभावकारी नियन्त्रण गर्न नसक्दा दिनदिनै विकराल बन्दै गएको छ । 

धरानस्थित किराँत याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रको परामर्शदाताका रूपमा सन् १९९९ मा अनुसन्धान गरेका अहमदले लागूऔषध कारोबार र प्रयोगको अवस्था नियन्त्रण नगरिए पारिवारिक र सामाजिक विचलनसमेत बढ्ने भन्दै कुनै पनि बेला ‘टाइम बम’ जस्तै विस्फोट हुन सक्ने प्रतिवेदनमा उल्लेख गरेका थिए । लागूऔषध प्रयोगकर्ता नयाँ पुस्ता र आसपास क्षेत्रमा स्थलगत अध्ययनपछि उनले निकालेको निष्कर्ष धरानमा मात्र होइन, प्रदेश १ का मुख्यजसो सहर–बजारसँग हुबहु मिल्छ । 

प्रदेश १ का प्रमुख सहरमा लागूऔषध कारोबार र प्रयोग भयावह रूपमा बढिरहेको तथ्यले पुष्टि गरेका छन् । यसले घरपरिवारमा विग्रह ल्याएको छ । अभिभावकलाई निराश बनाएको छ भने कतिपय अवस्थामा ज्यानै जानेसम्मका घटना भएका छन् । सुनसरी, मोरङ र झापाका सीमावर्ती भारतीय बजारबाट सहजै भित्र्याइने लागूपदार्थ पूर्वका धरान, दमक, विराटनगर, इटहरी, बेलबारी, पथरी मात्र होइन, पहाडी जिल्लाका बजारसम्म पुग्ने गरेको छ । सीमावर्ती बजारमा चिया पसलमा समेत यस्ता औषधी बिक्री हुने गरेको छ ।

धरानकी सोनिका विक, २०, दुई वर्षदेखि मोरङ जिल्ला कारागारमा छन् । निरन्तर लागूऔषध सेवन गर्ने उनी भारतीय सीमावर्ती बजारबाट लागूऔषध ओसार्थिन् । गलत संगत, बेरोजगारी, अभिभावक–परिवारको बेवास्ताका कारण यसका प्रयोगकर्ता बढिरहेका छन् । चाँडै धेरै पैसा कमाउने ध्याउन्नमा कतिपय यसको व्यापारमै लाग्ने गरेका छन् । यस्तो कामका लागि उनीहरू जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने गरेको पाइएको छ । केही दिनअघि डिभिजन वन कार्यालय उदयपुरको सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउँदै गरेको अवस्थामा राजविराजका कपिल यादव, २६, सीमानजिक पक्राउ परे (तस्बिरमा) । मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठ अभिभावक र परिवारका अरू सदस्यले छोराछोरी कस्तो संगत र रहनसहनमा छन् भन्ने समयमै ख्याल नगर्दा युवा पुस्ता बढी लागूपदार्थ दुव्र्यसनको सिकार बनिरहेको औँल्याउँछन् । प्रदेश प्रहरी कार्यालयअन्तर्गत लागूऔषध नियन्त्रण ब्युरोको टोलीले दिनमै अनेक समूह पक्राउ गर्छ । उनीहरूबाट ठूलो परिमाणमा लागूऔषध बरामद हुने गरेको छ ।

विराटनगरमा वर्ष दिनमा बरामद हुने लागूऔषध ५० लाख रुपैयाँ हाराहारी हुने गरेको प्रहरीले जनाएको छ । विराटनगरबाट भित्रिएको लागूऔषध अन्य जिल्लामा सहजै पुग्छ । लागूऔषध प्रयोगकर्ताले पारिबाट एभिल, डाइजेपाम, नोरजेसिक, स्पास्मो प्रोक्सिवन, नाइट्रोसन, लुपिजेसिक, फेनार्गन, सिरिन्ज र खोकी लाग्दा प्रयोग हुने झोल औषधी कोरेक्स ल्याउँछन् । केही वर्षयता ओसारपसारको तरिका फेरिएको पाइएको छ । मोटरसाइकलको पेट्रोल ट्यांकीमा लुकाएर, शरीरमा टेपले टाँसेरसमेत लागूऔषध ल्याउँछन ।

लागूऔषध कारोबारको मुख्य केन्द्र मानिएको जोगवनीको टिकुलिया बस्तीमा दुव्र्यसनीबीच पटक–पटक झडपसमेत हुँदै आएको छ । 



१६–२५ उमेर समूह बढी

०७६ वैशाखदेखि साउनसम्म १ हजार ३ सय ७६ जना लागूऔषध प्रयोगकर्ताबीच प्रदेश प्रहरीले गरेको सर्वेक्षणमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका दुव्र्यसनीमा फसेको पाइएको डीएसपी घनश्याम श्रेष्ठको भनाइ छ ।

सर्वेक्षणअनुसार १३ सय ७६ मध्ये १६ देखि २५ वर्ष उमेर समूहका ८ सय ३३, २६ देखि ४० वर्ष उमेर समूहका ५ सय ४, ४१ देखि ५० वर्ष उमेरका २४, ५१ वर्षभन्दा माथिका ३ जना र १८ वर्षभन्दा कम उमेरका १२ जना छन् । ९८ प्रतिशतले भारतीय सीमावर्ती बजार जोगवनीबाटै लागूऔषध खरिद गर्ने गरेको पाइएको छ ।

प्रकाशित: मंसिर ९, २०७६

×