खोला एकातिर, पुल अर्कोतिर

  • प्रदेश २

- भरत जर्घामगर

सडक डिभिजनले सिरहाको औरही र बरियारपट्टीबीचको गागन खोलामा १० वर्षअघि पुल बनाउँदा चार दर्जनभन्दा बढी गाउँका बासिन्दामा खुसीको सीमै थिएन । सदरमुकाम सिरहा बजार आउजाउ गर्न हुलाकी राजमार्ग वरपरका स्थानीय १५ किलोमिटर उत्तरको पूर्व–पश्चिम राजमार्ग छिचोल्दै धनगढी, गोलबजार, चोहर्वा हुँदै फेरो मारेर ५० किलोमिटर दूरी तय गर्न बाध्य थिए । सदरमुकाम पुग्न भरदिन लाग्थ्यो । गागन खोलामा पुल बनेपछि स्थानीयले त्यो दु:ख सहजै बिर्से पनि । तर केही वर्षपछि ठूलो बाढीले पुलदेखि उत्तरको पूर्वी बाँध भत्काएपछि खोला धार बदलेर ५ सय मिटर पूर्वबाट बग्न थाल्यो । त्यो खुसी कता बिलायो कता ।

६ चैत ०७४ मा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसकै विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी सडकको सिरहा खण्ड बरियारपट्टीमा शिलान्यास गर्दा पनि गाउँलेमा खुसीको सीमै थिएन । तर शिलान्यास भएको दुई वर्ष बित्न लागिसक्दासमेत मार्ग निर्माण हुनु त परै जाओस्, शिलान्यासस्थलदेखि ३ किलोमिटर पश्चिम हुलाकी सडकअन्तर्गत गागन खोला छिचोल्न उस्तै सास्ती छ । 

त्यसो त विसं १९०३ देखि २००८ सम्म राणा शासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी र जुद्धशमशेर, पद्मशमशेर हुँदै विभिन्न कालखण्डमा पटक–पटक शिलान्यास भए पनि अधूरो छाडिएको यो मार्ग बन्नेमा यस क्षेत्रका स्थानीय ढुक्क थिएनन् । “धार परिवर्तन गरेपछि हाम्रो दु:खका दिन फेरि सुरु भए,” औरहीका ७५ वर्षीय मोहम्मद नथुनी भन्छन्, “खोला तर्न अहिले पनि सास्ती बेहोरिरहेका छौँ ।” उनका अनुसार वर्षायाममा दुई महिना सदरमुकाम सिरहा बजार र वरपरका गाउँसँग सम्पर्क विच्छेद नै हुन्छ । अस्थायी बाँसको पुल (चचरी) बनाएर स्थानीय खोला तर्न बाध्य हुन्छन् ।

यस क्षेत्रबाट जितेर गएका सांसद मन्त्री बने पनि सबैले बेवास्ता गरेको स्थानीयको गुनासो छ । बरियारपट्टीका ८० वर्षीय लक्ष्मी यादव भन्छन्, “नेताहरूलाई पटक–पटक भत्किएको बाँध पुन: निर्माण गर कि अर्को बाटो भएर बगेको खोलामाथि पुल निर्माण गर भन्यौँ । कसैले हाम्रो कुरा सुनेनन् ।” उनका अनुसार हिउँदमा जसोतसो यातायात सुचारु हुँदा १४ किलोमिटर दूरीको सदरमुकाम क्षणभर पुगिन्छ ।

सदरमुकाम सिरहा बजार मात्र होइन, औरही गाउँपालिकाको १ देखि ५ वडाका बासिन्दालाई गाउँपालिका केन्द्र पुग्न पनि गागन खोला तर्नैपर्छ । खोलाबाट गाउँपालिका पुग्न सवा किलोमिटर दूरी मात्रै छ । वर्षामा एउटै गाउँपालिकाका बासिन्दालाई यतादेखि उता आउ–जाउ गर्न धौधौ पर्छ । “वर्षामा स्थानीयले बनाएको बाँसको फाटकबाट १० देखि ५० रुपैयाँसम्म तिरेर खोला वारपार गर्नुपर्छ,” कमलपुरका रामलखन ठाकुर भन्छन्, “त्यो पनि बाढीको भेल ठूलो हुँदा तर्न सकिन्न ।” हुलाकी राजमार्ग बन्यो भने यस क्षेत्रको आर्थिकलगायत विकासले फड्को मार्ने र यो सडक भएर भारतको लदनिया, जयनगर बजार पुग्न सहज हुने ठाकुरको भनाइ छ । 

“यो सडक निर्माण भए जिल्लाको दक्षिणवर्ती भगवानपुर, ठाडी, इनरुवा, नवराजपुर, बरियारपट्टी, औरहीलगायत चार दर्जन बस्तीका बासिन्दालाई सदरमुकाम सिरहा बजार आउजाउमा सहज हुन्छ,” उनी भन्छन्, “यो सडक जीर्ण र गागन खोलामा पुल नभएकै कारण यस भेगका बासिन्दा पूर्व–पश्चिम राजमार्ग हुँदै ५० किलोमिटर दूरी तय गरी सदरमुकाम सिरहा बजार पुग्न बाध्य छौँ ।”

सिरहाअन्तर्गत बलानदेखि कमला नदीसम्मको २९.८८ किलोमिटर खण्डमा तीन वर्षभित्र पक्की हुलाकी सडक निर्माण गर्न स्वच्छन्द–रोशन–महादेव खिम्ती जेभी कम्पनीले १ अर्ब २० करोड २० लाख रुपैयाँको बोलपत्र सकारेको छ । पुरानो, जीर्ण भएका र बन्न बाँकी गरी १ सय २० कल्भर्ट उक्त सडक खण्डमा निर्माण गरिने योजना थियो । तर ठेकेदार कम्पनीले समेत केही महिना माटोको काम गरेर छाडेको स्थानीयको दुखेसो छ । 

औरही गाउँपालिका अध्यक्ष सिद्धार्थदास यादवले हुलाकी राजमार्ग भएर बग्ने सबै खोलानालाको एकै पटक लागेको ठेक्कामा यो खोलामाथिको पुल पनि परेको बताउँछन् । “सबैतिरको खोलानालाको पुल र कल्भर्ट बनिसक्यो तर यो खोलाको काम भने सुरु भएको छैन,” उनी भन्छन्, “हुलाकी राजमार्गमा कालोपत्रे, पुल, कल्भर्ट निर्माण गर्ने जिम्मेवारी हुलाकी सडक डिभिजनले लिए पनि हामीलाई कुनै जानकारी दिइएको छैन ।” 

प्रकाशित: मंसिर ११, २०७६

×