आलम काण्डका साक्षीको चिन्ता : हाम्रो रक्षा हुन्छ कि हुँदैन ?

  • फलोअप 

- मनबहादुर बस्नेत 

छातीसम्म झुन्डिएका सेताम्मे लामा दाह्री । मुडुलो टाउको । लामो अनुहार । उनका चिम्सा आँखा र खोपिल्टा परेका दुवै गालामा गहिरो चिन्ताको छाप प्रस्टै झल्किन्छ ।

सुरुमा त नौलो मानिस देख्नासाथ उनी झस्किए । परिचय दिएपछि भने बिस्तारै सामान्य देखिए । तर एक घन्टाको कुराकानीको दौरान उनी पटक–पटक विह्वल बने । 

सर्लाही गोडैता नगरपालिकाका सफी अहमद साता दिनअघि भेटिँदा यही हालतमा थिए, जो १२ वर्ष पुरानो रौतहटको राजपुरस्थित फरहदवा बमकाण्डका साक्षी र पीडित हुन् । 

उनलाई अहिले प्रहरीले विशेष ‘सुरक्षा’ दिएर राखेको छ । नेपालसितको कुराकानीमा यी मुस्लिम वृद्ध पटक–पटक भक्कानिए । नभक्कानिऊन् पनि किन ? एकातिर प्रहरीले उनलाई सुरक्षाका नाममा नियन्त्रणमा राखेको छ भने अर्कातिर सर्लाहीको गाउँमा रहेको आफ्नो परिवारको हालत कस्तो छ भन्ने यकिन छैन ।

“एसपी (रौतहट प्रहरी प्रमुख भूपेन्द्र खत्री) सापले हरेक दिन फोन गरेर सबैलाई ठीक छ भन्ने जानकारी दिनुहुन्छ,” सफी भन्छन्, “तर के थाहा हजुर ? ठीक छन् कि छैनन्, आँखाले देखेको छैन ।” यति भनेर उनी दुई हातले अनुहार छोपेर मुर्छित बने ।

१२ वर्षअघिसम्म सफी नेपालबाट गाईवस्तु र बाख्रापाठा खरिद गरेर अवैध बाटोबाट भारत पुर्‍याउँथे । २७ चैत ०६४ को दिन भने उनका लागि यो काम पनि अन्तिम बन्यो । उक्त साँझपख उनी राजपुर हुँदै चौरको बाटोबाट गाईवस्तु धपाएर भारतीय सीमावर्ती गाउँतिर लाग्दै थिए । उनका भारतीय साहू शेख मन्सुर पनि सँगै थिए तर मोटरसाइकलमा ।

राजपुर बजारमा पुगेपछि बाटो छेउमा मानिस उभिरहेका देखे, सफीले । प्रहरी पनि थिए । एक सिपाहीले उनलाई रोके । “म त साहूको कामदार,” उनले पछाडि आइरहेको मोटरसाइकलतिर देखाउँदै प्रहरीलाई भने, “साहू उनै हुन् ।”

साहू शेख मन्सुर आएपछि प्रहरीले दुवैलाई जान भन्यो । यसबीच गाईगोरु पर पुगिसकेका थिए । मन्सुर मोटरसाइकलमा हुइँकिए । 

सफी गाईवस्तु भेट्याउन लामो–लामो पाइला सार्दै अगाडि बढे । बाटोदेखि २ मिटरजति पर दुई मानिस आपसमा धकेलाधकेल गरिरहेको सफीले देखे । त्यतातिर हेरेका मात्र के थिए, त्यहाँ अचानक ठूलो आवाजमा केही पड्कियो ।

“उता धुवाँ उड्यो । यता म लडेँ ।  पेटमा छाम्दा रगत बगिरहेको थियो । मानिस यताउता भागिरहेका थिए । हत्तपत्त आफ्नै गलाको गम्छाले रगत बगिरहेको पेटमा बाँधेर साहू भएको ठाउँ पुगेँ,” उनी सम्झन्छन् । 

त्यसपछि के भयो, उनलाई थाहा छैन । रगत बगेपछि उनी बेहोस बनेछन् । होस खुल्दा भारतको मोतीहारी अस्पतालमा पाए, आफूलाई । उनकी पत्नीले भनेपछि पत्तो पाए, ब्युझँदा १९ दिन बितिसकेको रहेछ । साहू शेख मन्सुरले मोटरसाइकलमा राखेर मोतीहारी उपचारका लागि पुर्‍याएपछि उक्त दुर्घटनाबाट बाँचेका हुन्, उनी । राजपुरमा बम बनाउने क्रममा भएको विस्फोटमा सफी घाइते भएका रहेछन् । उनी चार महिना अस्पताल बसे ।

घाउ लागेको ठाउँमा देब्रे तिघ्राको मासु काटेर पुरिदिए चिकित्सकले । उनको तिघ्रामा मासु काटेको खत अझै देखिन्छ । पेटको खत त सायद जीवनभर चिनो हुनेछ । सफीले निको भएर गाउँ आएपछि भने उक्त घटनामा दुई जनालाई जिउँदै जलाएको हल्ला सुने । “मलाई पनि घाइते भएर त्यहीँ भेटेको भए जलाउने रहेछन्,” उनी भन्छन्, “उनीहरू बडो खतरनाक मान्छे रहेछन् ।” 

चिकित्सकले सफीलाई भनेका छन्, ‘चाँडो–चाँडो र थोरै–थारै खाइरहनू । पेट डम्म हुने गरी नखानू । जोडेको ठाउँ चुँडिन सक्छ ।’ विस्फोटबाट उनको ठूलो आन्द्रा छिनेकाले अप्रेसन गरेर जोडिएको रहेछ । त्यही भएर तीन–तीन घन्टामा उनी खानेकुरा खाइरहन्छन्, थोरै–थारै । एक वर्षसम्म ‘फलोअप’ का लागि मोतीहारी धाइरहे उनी ।

घाउ बिस्तारै निको भए पनि सफी पुन: कहिल्यै गाईवस्तु खरिदबिक्री गर्ने आफ्नो पुरानो पेसामा फर्कन सकेनन् । आफ्नो खेती गर्ने जमिन थोरै भएपछि परिवार पाल्न पशु खरिद बिक्रीमा लागेको सफीको भनाइ छ । “दुर्घटनामा परेपछि मेरो परिवारको बिचल्ली भयो,” उनी फेरि भक्कानिए, “छोराछोरी पढाउन सकिएन ।” 

सफी दम्पतीका दुई छोरी र चार छोरा छन् । दुवै छोरीको विवाह भइसकेको छ भने दुई छोरा विवाह गरेर भारततिर बस्छन् । उक्त दुर्घटनामा आफू नपरेको भए छोराछोरीलाई पढाएर उनीहरूको भविष्यको बाटो देखाइदिने सफीको ठूलो इच्छा थियो । तर परिवारको मियो नै थलिएपछि उनका केही सन्तानले एसएलसीसम्मको पढाइसमेत पूरा गर्न सकेनन् । “मैलेजस्तै मेरा सन्तानले दु:ख नपाऊन् भन्ने चाहना थियो,” उनी भन्छन्, “तर उक्त घटनाले हाम्रो जीवन नै कहाँ पुर्‍याइदियो ।” 

सफीले १२ वर्षअघि लागेको उपचार खर्चको ऋणसमेत छिन्न सकेका छैनन् । साढे ३ लाख भारतीय रुपैयाँ अस्पतालमै खर्च भएको थियो भने त्यसबाहेक १ लाखजति खुद्रा खर्च भयो । २ लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको सफीले बताए । 

प्रहरी स्रोतका अनुसार सफीको परिवार अहिले भारतमा आश्रय लिएर बसेको छ । विस्फोटका साक्षीको रूपमा सफीलाई प्रहरीले लगेपछि घटनाका योजनाकार मानिएका पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्षबाट त्रास हुने भन्दै उनको परिवार लुक्न भारत पुगेको हो । सुरुमा प्रहरीले समेत सफीलाई घटनाको साक्षीका रूपमा सार्वजनिक गरेको थिएन । 

प्रहरीको भनाइमा सुरुदेखि नै उनलाई सुरक्षाका लागि छुट्टै राखिएको हो । आलम पक्षलाई सफी उक्त घटनामा घाइते भएकोसमेत कहिल्यै जानकारी भएन । रौतहट प्रहरी प्रमुख भूपेन्द्र खत्री भन्छन्, “आलम समूहले प्रभावमा पार्न सक्ने वा नमाने उसको सुरक्षामै तलमाथि हुने भएपछि प्रहरीले सुरक्षा दिनुपरेको हो ।” 

रौतहट जिल्ला अदालतले समेत साक्षीको सुरक्षा गर्न आदेश दिएको छ । आलम पक्षका केही व्यक्तिले आफूलाई बन्धक बनाएर अदालतमा बयान फेर्न दबाब दिएको घटनाका अर्का प्रत्यक्षदर्शी एवं घाइते गौरीशंकर रामले सार्वजनिक गरेका थिए । चार दिनसम्म एउटा घरको कोठामा थुनेर आफू बम विस्फोटमा नभई स्टोभ पड्केर घाइते भएको बयान दिन दबाब दिएको गौरीशंकरले २६ कात्तिकमा रौतहटमा सार्वजनिक गरेका थिए । यही बेहोरा उल्लेख गरी गौरीशंकरको नाममा जिल्ला अदालतमा निवेदनसमेत परेको थियो । तर अदालतले यसलाई प्रमाणको रूपमा लिन अस्वीकार गरिदियो ।

विस्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तरकी पत्नी अमना खातुनले समेत पति विदेशबाट नफर्किएको भन्दै अदालतमा निवेदन दिएकी थिइन् । साक्षीले अस्वाभाविक रूपमा यसरी निवेदन दिएपछि अदालतले उनीहरूको सुरक्षामा ध्यान दिन आदेश दिएको हो । 

२९ कात्तिकमा न्यायाधीश दीपक ढकालको इजलासले गरेको आदेशमा ‘कसुरको गम्भीरतालाई विचार गर्दा जाहेरवाला, पीडित र साक्षीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने आवश्यकता देखिएको’ उल्लेख छ । साक्षी संरक्षणात्मक आदेश शीर्षकको खण्डमा सरकारको नाममा चार बुँदे आदेश जारी गरिएको छ, जसमा उनीहरूको व्यक्तिगत बासस्थान सुरक्षा गर्नुपर्ने, उनीहरूलाई संरक्षणगृहमा राखिनुपर्ने र सुरक्षामा खलल पुर्‍याउनेलाई कारबाही गर्नुपर्ने उल्लेख छ । 

अदालतको आदेशलगत्तै प्रहरीले गौरीशंकर रामलाई पनि सफी भएकै ठाउँमा ल्याएको छ । तर उनीहरूलाई एउटै चिन्ता छ, कति दिन प्रहरीकहाँ आश्रय लिएर सुरक्षित हुने ? अदालतले आफतावलाई पुर्पक्षका लागि थुनामा पठाए पनि साक्षीहरूलाई एउटै डर छ, उनी निस्किए भने हामी फेरि प्रहरी कार्यालयमा शरण लिन जानुपर्ने त होइन ? सफी भन्छन्, “कानुनी प्रक्रिया त टुंगिएला, त्यसपछि हाम्रो रक्षा हुन्छ कि हुँदैन ?” 

सायद, कानुनी राज्यको अनुभूति गौरीशंकर र सफी प्रहरी निगरानीबिनै आफूखुसी दिनचर्या बिताउन थालेपछि हुनेछ । 

प्रकाशित: मंसिर ११, २०७६

×