विनयशील जीवनको अन्त्य

कसजूको जीवन्त विनयशीलता र जुझारु प्रयोगवादबाट नेपाली समाजले धेरै सिक्नेछ । 

- भास्कर गौतम

ढिलोछिटो प्रत्येक जीवनको अन्त्य अपरिहार्य रहने सत्यलाई सकार्दै सञ्चारकर्मी एवं साहित्यकार विनय कसजूको विनयशील जीवनले सदाका लागि विश्राम लियो । १० मंसिर ०७६ मा ७२ वर्षे उनको इहलीला सकियो । कसजूको जीवनसँगै नेपाली सञ्चार एवं साहित्यले एक दुरुह प्रयोगवादी स्रष्टा गुमाएको छ । 

०५३ सालमा ग्रामीण पत्रिका देउरालीको सयौँ अंक निस्केपछि पत्रपत्रिकामा विनय कसजू र उनका सहकर्मीका कार्यबारे समाचार छापिए । लेखहरू प्रकाशित भए । त्यसैबेला मैले कसजूबारे पहिलो पटक थाहा पाएँ । ०५७ सालमा मार्टिन चौतारीका सहकर्मीहरूसँग मिलेर जब मैले काठमाडौँबाहिरका मिडियाको अवस्थाबारे शोधकार्य थालेँ, कसजूसँग पहिलो पटक भेट भयो । त्यो भेटघाट थोरै बाक्लियो । त्यसपछि उनीसँगको परिचयले यदाकदा निरन्तरता पाइरह्यो । उनका कामबारे थप जान्ने मौकासमेत मिलिरह्यो । 

०२४ सालमा भैरहवाबाट निस्कने दैनिक निर्णयको संवाददाताबाट कसजूले पत्रकारिता थाले । तर ०४० सालमा पाल्पामा थालेको सत्य साप्ताहिक सञ्चालन गरिरहँदा उनले सञ्चारकर्मीको पहिचान बनाए । त्यस समयका बहुदलवादी पत्रकारहरूले जे गर्थे, सत्यमार्फत उनले पनि त्यही गरे । पञ्चायती व्यवस्थाको स्वेच्छाचारितालाई प्रश्न गर्दै निर्भीक पत्रकारिता गरे । बहुदलको पक्षमा रुझान बढाए तथापि ०२४ सालको छोटो अनुभवले गर्दा अन्य धेरै पत्रकारभन्दा उनको पृष्ठभूमि पृथक थियो । एक वर्षका लागि उनी रुरु गाउँ पञ्चायत गुल्मीको प्रधानपञ्च भएका थिए । निवर्तमान प्रधानपञ्चले पद छोड्न बाध्य हुँदा केवल २१ वर्षको उमेरमा उनले निर्विरोध पद समाल्ने मौका पाए । त्यो अनुभवले उनमा दुई किसिमको चेत पलायो । उनकै शब्दमा ‘जनताको सेवा नभई प्रभावशाली व्यक्तिहरूको स्वार्थपूर्ति’ नै पञ्चायती व्यवस्थाको उद्देश्य थियो । उनीजस्तो व्यक्ति ‘स्वच्छ र स्वाभिमानी भएर बाँच्न’ पञ्चायती व्यवस्थामा ठाउँ थिएन । त्यसैले उनले साहित्य एवं पत्रकारिता रोजे । बहुदल स्थापनामा सघाए । उनले सत्यमा लेखेका सम्पादकीयमध्ये छानिएकाहरू साँचो कुरा पुस्तकमा पढ्न पाइन्छ । 

पत्रकारितामा कसजूको विशिष्ट योगदान ग्रामीण विकासमा केन्द्रित रह्यो । ०५१ वैशाखदेखि उनी संलग्न ग्रामीण विकास पाल्पाले देउराली निकाल्न थाल्यो । देउराली प्रत्येक सप्ताह निस्कने ग्रामीण पत्रिका हो । पहिलो तीन वर्ष कसजूले सम्पादन गरेको देउराली त्यसपछि मेघराज शर्माको सम्पादनमा अघि बढ्यो । २७ वर्षमा चलिरहेको देउराली पछिल्लो एक वर्षदेखि सोमनाथ अर्यालको सम्पादनमा निस्कन्छ । 

सुरुदेखि नै देउरालीका केही विशेषता थिए । गाउँबासीको जीवनयापन, तिनका प्राथमिकता र ग्रामीण जीवनलाई उन्नत बनाउने ध्येय देउरालीले बोक्यो । स्थानीय स्तरमा महत्त्व राख्ने नियमित समाचारबाहेक देउरालीका विषयवस्तुका चार पाटा छन् । ग्रामीण विकास पहिलो पाटो हो । यहाँ कृषि तथा सिंचाइ, खानेपानी, ग्रामीण बिजुली, वन–जंगल, ऋण तथा बचत, शिक्षा र विद्यालय व्यवस्थापन, वातावरण र वायोग्यास एवं सामुदायिक विकास पर्छन् । सार्वजनिक स्वास्थ्य दोस्रो पाटो हो । यहाँ एचआइभी एड्स, अन्य यौनजन्य रोग, प्रजनन स्वास्थ्य, गर्भनिरोधक उपाय, स्वास्थ्य शिविर र पेटजन्य रोगबारे समाचारले महत्त्व पाउँछन् । महिला र लैंगिक सवाल तेस्रो पाटो हो । यहाँ महिला अधिकारबारे समाचार छापिन्छन् । महिला उद्यमीका प्रेरणादायी संघर्षहरूले ठाउँ पाउँछन् । ग्रामीण जीवनमा महत्त्वपूर्ण भूमिका खेलेका प्रेरणादायी व्यक्ति वा गाउँकेन्द्रित जीवनयापनलाई सार्थक बनाएका व्यक्तिका कथाहरू चौथो पाटो हो ।

झट्ट हेर्दा यी विषय नौला होइनन् । राष्ट्रिय पत्रपत्रिकामा समेटिएकै छन् तर यी सबै विषयवस्तुको रचनात्मक प्रस्तुतिलाई देउराली विशेष ध्यान दिन्छ । काठमाडौँकेन्द्रित नभएर गाउँकेन्द्रित दृष्टिकोणलाई पत्रिकाले आधार बनाएको छ । सामान्य साक्षरले समेत बुझ्ने गरी पढून् भन्ने हेतु भएकोले समाचार लेख्दा भाषाशैलीमा विशेष ध्यान दिइन्छ । ग्रामीण जनलाई सशक्त बनाउने उद्देश्य जो छ । 

कुनै समय ४२ जिल्लामा पुग्ने देउराली अहिले मूलत: पाल्पा र प्रदेश पाँचको गाउँठाउँ बाहिर विराटनगर, धनकुटा र त्यस भेगवरिपरिबाट भारतका विभिन्न ठाउँमा कार्यरत नेपालीभाषीको नियमित खुराक हो । एफएम रेडियोको आगमनसँगै यसका पाठक क्लबहरूको संख्या घट्यो । पत्रिका केवल तीन हजार प्रतिमा सीमित हुन पुग्यो । किसानको घरदैलो र मजदुरको फलानमा गएर गरिने ग्रामीण विकास पत्रकारितामा जुन मिहिनेत छ, त्यसलाई बजारले मात्र टिकाउन सक्दैन । अन्य सहयोग सीमित छन् । त्यसैले ग्रामीण विकास पत्रकारितालाई मर्न नदिनका लागि धेरै दु:खसाथ देउराली चलिरहेको छ । 

०४३ सालमा आफूले लेखेको पाण्डुलिपि लिएर कसजू भारत पुगे, पुस्तक छाप्न । त्यहाँ उनले अचम्मको कुरा देखे । कम्प्युटरमा पुस्तकको लेआउट सकिएपछि क्लिक गर्नासाथ अलिक टाढा राखिएको प्रिन्टरबाट तयार गरिएका पाना दुरुस्त छापिए । उनी अचम्मित भए । प्रविधिको क्षेत्रमा देखेको त्यही चमत्कार उनको मानसपटलमा प्रगाढ थियो । त्यसबेला उनी पाल्पामा प्रेस पनि सञ्चालन गर्थे । पछि काठमाडौँ आएपछि बिस्तारै उनले नयाँ प्रविधिलाई नेपालका गाउँघरमा विस्तार गर्ने ठाने । त्यसैले नवसिकारुलाई सञ्चार–प्रविधिसँग साक्षर गराउने कार्यमा लागे । सञ्चार–प्रविधिको प्रशिक्षक बने । 

ग्रामीण पत्रकारिताको विकास र सञ्चार–प्रविधिको विस्तार गर्ने कार्यले मात्र उनलाई स्थिर बनाएन । उनले सञ्चारको मूल मर्मलाई कदापि भुलाएनन् । उनी प्रेस स्वतन्त्रताका अथक साधक रहिरहे । प्रेस स्वतन्त्रता र मानवअधिकारबीचको अन्योयाश्रित सम्बन्धलाई समेत टेवा दिइरहे । यसका धेरै उदाहरण छन् । ०६१ सालमा उनले दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पाएको सन्दर्भलाई नै हेरौँ । २५ हजारको पुरस्कार रकममा उनले त्यति नै रकम थपेर द्वन्द्व पीडित पत्रकारहरूको बिमा र स्वास्थ्यसेवाका लागि कोष स्थापना गरे । श्रमजीवी पत्रकारहरूको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको निर्भीकतालाई बलियो बनाउन टेवा दिए । 

कसजूको व्यक्तित्व सञ्चारजगतमा मात्र सीमित रहेन । भाषा–साहित्यको क्षेत्रमा उनले विशिष्ट योगदान गरे । उनको जुझारु प्रयोगवाद लघुकथा र बालसाहित्यको क्षेत्रमा समेत सराहनीय रह्यो । ०३० सालमा प्रारम्भ भएको श्रीनगर साहित्यिक पत्रिकासँगै उनको साहित्यिक लेखन र गतिविधि सुरु भयो, पाल्पाबाटै । तर ०३४ सालमा थालेको चौतारो हवाइपत्रिकाबाट उनले लघुकथाको प्रयोग सुरु गरे । बिस्तारै बालसाहित्यलाई उनले कर्मक्षेत्र बनाए । उनले प्रारम्भ गर्दा बालसाहित्यको भाषाशैली परम्परागत नै थियो । विषयवस्तु उपदेशात्मक र नैतिक शिक्षा वरिपरि रुमल्लिएको थियो । धार्मिक र पौराणिक कथा पुनर्उत्पादन भइरहन्थे । उनको लेखनले नयाँ अध्याय थाल्यो । 

कसजूको बालसाहित्य लेखनबारे प्रमोद प्रधानले पुस्तक बालसाहित्यमा विनय कसजू: योगदान र मूल्यांकन लेखका छन् । प्रधानको बुझाइमा कसजूका योगदानका दुई पक्ष छन् । विषयवस्तुको क्षेत्रमा कसजूले नयाँ क्षितिज उघारे । कथावस्तुमा विविधता ल्याए । उनको ग्रामीण पत्रकारिता र सञ्चार–प्रविधिको लगावले यहाँ काम गर्यो । वातावरण, सञ्चार, विज्ञान–प्रविधि, बालबालिकाले भोग्ने तनाव र दुव्र्यवहार तथा बालबालिकाका समसामयिक रुचिवरिपरि उनले कथावस्तु बुने । 

बालसाहित्य लेखनलाई कसजूले कथा लेख्ने कार्यमा मात्र सीमित बनाएनन् । उनलाई यसको सैद्धातिक पक्षमा समेत उत्तिकै रुचि थियो । त्यसैले उनले बालकथा लेखन र बालकथा सम्पादनसम्बन्धी पुस्तकहरू लेखे । ग्रामीण पत्रकारितामा भाषाशैलीलाई प्राथमिकता दिएजस्तै बालकथा लेखनमा सिर्जनात्मक सीपलाई महत्त्व दिए । सिद्धान्त र व्यवहारका यिनै पाटोलाई जोड्न विगत एघार वर्षदेखि उनी बाल वाङ्मय तथा अनुसन्धान केन्द्रमा आबद्ध थिए । सो केन्द्रमार्फत उनले बालसाहित्य लेखनमा नयाँ पुस्ता तयार गर्न प्रशिक्षण दिए । लेखन कार्यशाला चलाए । धेरै नयाँ लेखकका लागि प्रेरणा बने । 

पञ्चायतकालदेखि नै कसजू अनुत्तरदायी शासन व्यवस्थाबाट विरक्तिएका थिए । त्यसैले बहुदल आएपछि नेताका भाषणवाजी, खोक्रो आश्वासन र शक्तिपूजावरिपरि गरिने पत्रकारिताबाट उनी टाढा रहे । सशक्त जनगणको निर्माण नै उनको पत्रकारिता–ध्येय बन्यो । बालसाहित्यमार्फत नयाँ पुस्तामा लगानी गर्ने धून पनि त्यही ध्येयको हिस्सा हो । शासनशैलीमा हाबी विकृति र विसंगतिलाई सुधार्ने दीर्घकालीन उत्तर । बालबालिकामा सार्थक लगानी । आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी राख्नेछ । 

विनज कसजूसँग मेरो उठबस बाक्लो थिएन । हामी सहकर्मी थिएनौँ तथापि उनको व्यक्तित्वमा निहित विनयशीलताले मलाई सदैव आकर्षित गरिरह्यो । प्रत्येक पटक कसजूलाई भेट्दा उनको विनयशीलताले ममा प्रगाढ छाप पारिरह्यो । उनको कर्ममा निहित जुझारु प्रयोगवादप्रति म उत्सुक रहिरहे । कसजूको जीवन्त विनयशीलता र जुझारु प्रयोगवादबाट नेपाली समाजले धेरै सिक्नेछ । 

प्रकाशित: मंसिर १३, २०७६

×