महिलामाथि घरेलु हिंसाको कारक सम्पत्ति जोड्ने लालसा

  • प्रदेश २

- अजित तिवारी/जनकपुर

दाइजोमा मोटरसाइकल नदिएको निहुँमा रौतहट, राजपुर नगरपालिका–७ की २५ वर्षीया सञ्जुदेवी सहनीलाई श्रीमान् रामबाबुले दिएको यातना असहनीय थियो । श्रीमान्बाट कुटपिट र लछारपछार त उनको नियति नै थियो । १९ भदौमा सञ्जुदेवी घरमै मृत भेटिइन् । सञ्जुको घाँटीमा डाम थियो । उनका बुबा अविलास सहनी दाइजोमा मोटरसाइकल नदिएको भन्दै छोरीलाई ज्वाइँ–ससुरा मिलेर हत्या गरेको दाबी गर्छन् । 

जनकपुर–७ की २६ वर्षीया रमिता रायलाई विवाह भएको एक महिनापछि नै उनका श्रीमान् शशि भट्टले यातना दिन थाले । दिनहुँ कुटपिट । कतिसम्म अमानवीय भने छिमेकले थाहा पाउलान् भनेर रमिताको मुखमा कपडा कोचेर कुट्थे, श्रीमान् । श्रीमतीलाई विभिन्न बहाना बनाउँदै कुटपिट गर्ने श्रीमान् भट्टको भने एउटै मनसाय थियो, दाइजो थोरै भयो । 

सञ्जु र रमिताको विवाहमा केटा पक्षले दाइजो नलिएको भने होइन । थोरै भयो भनेर जीवनभर सँगै बस्नुपर्ने श्रीमान्बाटै यी दुई चेलीमध्ये एक मारिए र अर्की यातना खेप्दै छिन् । विवाहमा दाइजो लेनदेनमा कानुनले प्रतिबन्ध लगाए पनि तराई–मधेसमा यो समस्या कहालीलाग्दो छ । ज्यानै जाने गरी छोरी–बुहारीमाथि यातना र अत्याचार हुँदा पनि समाज भने दाइजोलाई अझ बढावा दिइरहेको छ । 

बुहारी आरती घर भित्रिँदा सासू बेचनी चौधरीको खुसी थामिनसक्नु थियो । छोरीझैँ माया पाउँदा आरती पनि दंग थिइन् । विवाहका सुरुआती दिन राम्रै बित्दै थिए । विस्तारै आरतीले सासूको व्यवहारमा फरकपन महसुस गरिन् । श्रीमान् इन्द्रजीत चौधरी पनि बिनाकारण ठुस्स पर्न थाले । नबोल्ने र हेला गर्ने क्रम बढ्यो । 

त्यतिसम्म आरतीले सहेकै थिइन् । श्रीमान्, सासू र ससुरा तीनैतिरबाट तिरस्कार भोग्दा पनि आरतीले हिम्मत हारिनन् । छोरीझैँ माया गर्ने सासू एकाएक किन बदलिइन् ? उनले यही बुझ्न खोजिन् । कारण, दाइजो रहेछ । आरतीलाई आफ्ना बुबा–आमाको हैसियत थाहा थियो । त्यसैले उनले यो मामिला बुबा–आमालाई सुनाएर तनाव थप्न चाहिनन् । बरु सबै तनाव आफैँ झेलिन् । 

दाइजोकै निहुँमा श्रीमान् सासू–ससुरा कुटपिटमा उत्रिएपछि आरतीको धैर्यको बाँध टुट्यो । उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय धनुषा पुगिन् । जनकपुर–१४ का श्रीमान् इन्द्रजीत, सासू बेचनी र ससुरा बिक्रु चौधरीले दाइजो नल्याएको भन्दै कुटपिट गरेको उजुरी दर्ता गराइन्, २१ मंसिरमा । प्रहरीको महिला सेलमा पुगेको उजुरीपछि १ पुसमा छलफलका लागि बोलाइयो । आरती, श्रीमान् र सासू–ससुरासहित टोलका भद्रभलाद्मी समस्याको निकासमा उपस्थित भए । आरतीलाई मिल्न दबाब दिइयो । उनले आफूसित भएको व्यवहार झलझली सम्झिइन् । आरतीको मन दुख्यो । श्रीमान्ले झम्टेको सम्भिँmदा आँखा रसाए । अदालत पुगेको त्यो मुद्दा प्रक्रियामा छ ।

समाजले नै दाइजोलाई अनिवार्य बनाउँदा मधेसमा धेरैको घरपरिवार उजाडिएको छ । नवविवाहितामा कुटपिट, यातना र ज्यानै लिनेसम्मको घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा साउनयता दाइजोका कारण कुटपिट भएको उजुरी बोकेर जाने हिम्मत जनकपुरकी आरती र विदेहकी मानषीले मात्र देखाएका छन् ।

कुटपिट, खान–लाउन नदिएको, मानसिक यातना र गालीगलौजका उजुरी महिला सेलमा बढी आउने गरेका छन् । “दाइजोकै कारण बदमासी भएका उजुरी कम आउँछन्,” महिला सेलकी प्रहरी भन्छिन्, “कुटपिट, खानलाउन नदिएको, यातना र गालीगलौजका धेरैजसो उजुरी छानबिन गर्दा दाइजो पनि कारण देखिन्छ ।” 

जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटमा दाइजोकै कारण घटना भएको एउटा पनि मुद्दा छैन । तर यसको प्रताडना यहाँ उच्च छ । दाइजो नै किटान गरेर मुद्दा आउँदैन । मुख्य कारण दाइजो भए पनि मुद्दा फरक प्रकृतिको आउँछ । महिला हत्या र आत्महत्यामा दाइजो कारण रहे पनि त्यसलाई लुकाइन्छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्की मधेसमा दाइजोकै कारण घरेलु हिंसा बढेको बताउँछन् । “घरेलु र महिला हिंसा यहाँ डरलाग्दो छ,” डीआईजी कार्की भन्छन्, “यो स्थितिमा सुधार ल्याउन समाज नै जागरुक हुनुपर्छ ।”

३० पुसमा जनकपुर–४ सरन्चियाकुटीकी २५ वर्षीया सीमा शर्माले आफू र २ वर्षकी छोरी गौरीलाई विष पिलाएर ज्यान फालिन् । घटनालगत्तै श्रीमान् समीर मिश्रा फरार भए । माइती पक्षबाट किटानी जाहेरी परेपछि प्रहरीले ससुरा श्यामसुन्दर र सासू किरणदेवीलाई पक्राउ गर्‍यो । दाइजोका कारण छोरीलाई तनाव दिएको र विष खुवाएर मारेको माइती पक्षले आरोप लगाए । महोत्तरी लोहरपट्टी–७ का सीमाका दाजु सुजित शर्माले ३ माघमा कर्तव्य ज्यान कसुरमा धनुषा प्रहरीमा किटानी जाहेरी दर्ता गराए । 

जनकपुरका समिर र सीमाबीच २९ वैशाख ०७० मा मागी बिहे भयो । शर्माका अनुसार दाइजोमा ८ लाख रुपैयाँ नगद, २ लाख ३६ हजारको पल्सर मोटरसाइकल र २ तोला सुनको औँठी दिइयो । “विवाहपछि पनि बहिनीलाई दाइजो माग्दै यातना दिइयो,” शर्मा सम्झन्छन्, “पछि २ तोला सुनको औँठी र आधा किलो चाँदी पनि दियौँ । जति माग्दा पनि दिँदो रहेछ भन्ने बुझेछन् । फेरि डिमान्ड आयो, १ लाख रुपैयाँ र एउटा वासिङ मेसिन ।” घटनालगत्तै पत्रकार सम्मेलन गर्दै शर्माले भने, “१ लाख र वासिङ मेसिन नदिँदा बहिनी–भान्जीको ज्यान लिइयो ।” सीमाका देवर शशि मिश्राले भने दाइजो मागिएको अस्वीकार गरे । र, सीमा आफैँले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरे । जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि सासू–ससुरालाई जेल पठाएको छ । श्रीमान्लाई प्रहरीले खोजिरहेको छ ।

२७ माघमा महोत्तरी मनरासिसवा–८ सहसराममा २१ वर्षीया धनमन्ती महतोको हत्या आरोपमा प्रहरीले उनका श्रीमान मनोज महतो र जेठानी अनिता देवीलाई नियन्त्रणमा लियो । हत्यापछि हतारमा शव जलाउनै लाग्दा पुगेको प्रहरीले शवसहित श्रीमान् र जेठानीलाई नियन्त्रणमा लियो । धनमन्तीको घाँटी र पाखुरामा नीलडाम थियो । माइती पक्षले हत्याको आरोप लगाए । प्रहरीले शवको पोस्टमार्टम गरायो । श्रीमान् र जेठानीमाथि कानुनी कारबाही अघि बढ्यो । 

धनुषा, बटेश्वर–२ का धनमन्तीका बुबा बद्री महतोले दाइजोकै कारण छोरीको हत्या भएको दाबी गरे । “छोरीलाई यातना र धाकधम्की दिइरहेको सुइँको पाएको थिएँ,” बद्री भन्छन्, “ज्यानै लिएछन् ।” ३ वैशाख ०७४ मा धनमन्तीको मनोजसँग बिहे भएको थियो । उनीहरूका २ महिने छोरा छन् । माइती पक्षले विवाहमा मोटरसाइकल, २ लाख नगद, दुई तोला सुन, फर्निचरलगायत सामान दाइजोमा दिएका थिए ।

समाजमा दाइजोका कारण हुने घटना बढी सुनिए पनि कानुनी उपचार खोज्ने न्यून रहेको सरकारी वकिलको कार्यालय धनुषाका न्यायाधिवक्ता शम्भु गौतम बताउँछन् । “दाइजो लेनदेनलाई कानुनले बन्देज गरे पनि लिए–दिएको मुद्दा आए कुन सजाय गर्ने, त्यो प्रावधानै छैन,” गौतम भन्छन्, “हत्या–हिंसा, आत्महत्या, कुटपिट र यातनाका धेरैजसो घटना दाइजोसँग जोडिएका हुन्छन् ।” 

प्रकाशित: मंसिर १५, २०७६

×