(पुस्तक समीक्षा) रूपेशका रुमानी कविता

पुस्तक : घिन्ताङ घिसी ट्वाक | कवि : रुपेश श्रेष्ठ | प्रकाशक : बुकहिल पब्लिकेसन | पृष्ठ : ९५ | मूल्य   : ३०० रुपैयाँ | 

- राजकुमार बानियाँ

स्रष्टाको संख्या थपिँदै गए पनि उति सारो सिर्जनशीलता नदेखिने विडम्बना छ, नेपाली साहित्यमा । नयाँ कृतिका नामै हेर्दा पनि त्यो लज्जाबोध हुन्छ । अधिकांशले एक शब्दमा त कसैकसैले बढीमा दुई शब्दका नाम राख्छन् । सिर्जनशीलता एक वा दुई शब्दमा बन्दी हुन सक्दैन । समाचारवाचक रुपेश श्रेष्ठले आफ्नो पहिलो कविता किताबको नाम तीन शब्दमा जुराएका छन्, घिन्ताङ घिसी ट्वाक । यस्तो पो सिर्जनशीलता !

किस्नमानको जिन्दगीमा त/सागैसाग मात्रै छ/त्यसबाहेक कुनै उत्सव छैन/

छ त केवल प्रकृतिको पूजा र जात्राहरु/र सालिन्दा आउने/मृत्युको एक सुन्दर उत्सव/घिन्ताङ घिसी ट्वाक !

भक्तपुरे (सायद) किसान किस्मान कुटूको पोट्रेटमा हरियो रङ चम्केको छ । उसको समय भनेको हनुमन्ते खोलाको पानी मात्रै हो । उसको जीवनको अर्थनीति हो, हरियो साग । निनी (फुपू) ले कपाल खौरेर गुठियारले देवल घुमाई मेल्वा (व्रतबन्ध) गरिदिएपछि बाले नामसारी गरिदिएको खर्पन बोकेर जिन्दगी चलाइरहेको एक पाको पात्र ।

‘घिन्ताङ घिसी ट्वाक’ भक्तपुरको सुन्दर सांस्कृतिक विम्ब हो । बर्सेनि गाईजात्रामा परम्परागत नेवारी बाजा धिमे घन्काएसागै लौरी ठोक्काएर निकालिने ताल अनि झाँकीलाई रुपेशले कविताको मौलिक कथ्य बनाएका छन् । गाईको प्रतीकलाई धिमेको धुनसँगै दिवंगत आत्माको शान्तिको कामना गर्दै नगर परिक्रमा गराउने परम्पराको जमिनमा उभिएको छ, कविता । कुनै चामत्कारिक काव्यिक अभिव्यक्ति नभए पनि यसले एउटा नवीनता र ताजापन देखाएको छ । काव्यनायक किस्नमानका माध्यमबाट पीँधका मान्छेका आवाज प्रस्फुटन भएको छ ।

जीवन र संगीत, उत्सव र संगीत अनि लोक जीवन र कविताको सम्बन्ध निकट हुन्छ । यस्तै मसिना अनुभूति उनेर कविता लेख्न सिपालु छन्, रुपेश । कविमा गाउँप्रति अतिशय प्रेम छ । रुमानी भँगालोका कवितामा प्रेम मात्रै फुलिरहने सपनाको सातै रङ खुलेको सुन्दर गाउँको चिया पसलमा भुनभुनाइरहने स्वर पनि समेटिएका छन् । सहरतिर पसेपछि कविलाई लाग्छ, को हिाड्छ होला यो बाटोमा आजभोलि ?

काँठ कस्तो औपचारिकतामा रमाइरहेको छ भन्ने रोचक कविता हो, ‘ छिमेकी’ । पुरुषोत्तम दाइ बिहानको भान्साअगाडि बरन्डामा हात धुन निस्कन्छन् र भान्सा भयो भनेर कविलाई सोध्छन् । र, खाना खान बोलाउँछन् पनि । कवि सधैँ हुन्छ भन्छन् तर जाँदैनन् । पुरुषोत्तम पनि कर गर्दैनन् । 

साँझ खाइसकेर कवि पनि आागन अघिल्तिर चुठ्दै पुरुषोत्तमलाई भान्सा भए–नभएको सोध्छन् अनि खान बोलाउँछन् । उनी पनि हुन्छ भन्छन् तर आउँदैनन् र कवि पनि उस्तो बल गर्दैनन् । पुरुषोत्तम कविका छिमेकी हुन्, कवि पुरुषोत्तमका छिमेकी । छिमेकको बयानबाजीमै रुपेशको अभिव्यक्ति शैली थाहा हुन्छ । ‘नेपाल यातायात’ मा कवि सार्वजनिक यातायातको बेथिति चित्रण गर्छन् । यात्रुलाई सम्मानजनक व्यवहार हुन नसकेको चिन्ता जनाउँछन् । कवि भन्छन्, ‘ओ नेपाल यातायात ! अलिक सुस्त हिँड, जिन्दगी लामो छ, टक्क चोकमा रोक, ठिक्क यात्रु बोक, बजाऊ नारायणगोपाालको कुनै मीठो गीत, सिकाऊ सहचालकलाई थोरै मीठो लवज । हाँसेर बोलाऊ आउनेहरुलाई, हाँसेरै बिदा गर जानेहरुलाई ।’ कविता सामान्य छ तर यसले आम आदमीका आकांक्षा बोलेको छ ।

संग्रहका ४२ कविता उस्तै कोटिका भने छैनन् । तिनमा बौद्धिकताभन्दा ज्यादा कोमल भावना नै फक्रिएका देखिन्छन् । उनका प्राय: कविताले सभामा सुनाउने र थपडी पाउने हक राख्छन् । त्यसो त कविले आत्माको भाषा पनि नपक्रेका होइनन् । एक्लोपन सुसेलिरहेको वृद्धावस्थाको चित्रण छ, ‘रामसिंह बूढा’ मा ।पुँजीवाद र बजारीकरणको अभिव्यक्ति हो, ‘जिन्दगी सेलमा’ । ‘ अखबार’ कविताले मुलुकको विसंगतिलाई पटाक्षेप गरिदिएको छ । ‘सालिक’ कवितामा चरम राजनीतिक विस्मय छ । 

रुपेशका कवितामा लालित्य मात्र छैन, व्यंग्य र प्रतिरोध पनि छ । समाज, शक्ति र सत्तासँगका प्रश्न छन्, जीवन र जगत्का फरक–फरक आयाम छन् अनि सामाजिक यथार्थ र मिथकीय प्रयोग पनि । मुख्यत: जनमनका संवेदना मुखरित भएको छ । सचिन यगोल श्रेष्ठको उम्दा आवरण चित्रकारिताले पनि यसलाई ज्यान दिएको छ । 

कविता न तमसुक हो, न त खबर मात्रै । स्वस्फूर्त उच्च रसात्मक अभिव्यक्ति भएकाले कवितालाई कुकुर छुट्टीमा/पुलिस भट्टीमा मार्का तुकबन्दीमा सीमित गर्न सकिँदैन । कतिपय कविताको आरम्भ गतिलो भए पनि अन्त्य सोहीअनुसार गहकिलो हुन सकेको छैन । पेसाले सञ्चारकर्मी भएकाले कवितामा समाचारको प्रभाव ज्यादा छ । समाचार र सिर्जना अलग गर्न सकेको खण्डमा उनका कविता अझ अग्लिन सक्छन् । 

प्रकाशित: मंसिर १९, २०७६

×