नहरमाथि महल

  • प्रदेश ५ 

- अमृता अनमोल

नहरमा के हुन्छ ? तपाईंलाई लाग्ला पानी । तर बुटवलको धेरै नहर क्षेत्रमा ठूल्ठूला महल बनेका छन् । यस कारण यहाँको सोह्र–छत्तीस संयुक्त सिँचाइ प्रणाली साँघुरिँदै र मेटिँदै जान थालेको छ भने नहरको पानीमा आश्रित किसानका खेतबारी सिँचाइविहीन बन्न थालेका छन् । 

रूपन्देहीस्थित सात हजार हेक्टर खेतमा सिँचाइ गरिने सोह्र–छत्तीस संयुक्त सिँचाइ प्रणाली पुरेर नहरछेउका बासिन्दाले कुलो–घर मात्र निर्माण गरिरहेका छैनन्, नहरमाथि होटल, पार्टी प्यालेस र संघ–संस्थाका घर निर्माण भएका छन् । व्यक्तिले नहर मिचेर घडेरी फराकिलो बनाएका छन् । समुदायद्वारा व्यवस्थित दक्षिण एसियाकै नमुना मानिएको नहर अतिक्रमण रोक्न कसैले चासो दिएका छैनन् । “नहर जोगाउन पटक–पटक जिल्ला प्रशासन र स्थानीय तहमा गएका छौँ,” सिँचाइ प्रणालीका अध्यक्ष यज्ञप्रसाद गैरे भन्छन्, “उनीहरूको बेवास्ताले अतिक्रमित क्षेत्र खाली गर्न सकेका छैनौँ ।”

बुटवल उपमहानगरपालिकास्थित तिनाउ नदीको कन्येढुंगाबाट मूल नहर सुरु हुन्छ । इटियाभोट (इँटाभट्टी) बाट अर्को मुहान मिसिन्छ । दक्षिण बग्दै पश्चिममा तिलोत्तमा नगरपालिकाको टिकुलीगढ र पूर्वमा मक्रहर पुग्छ । सोह्र–छत्तीस मौजा जोडेर नहरको मूल लम्बाइ २७ किलोमिटर छ । यसबाट निस्किएका ४४ वटा सहायक कुलोसमेत गरी पाँच सय किलोमिटर लामो छ । झन्डै १ सय ६४ वर्षअघि निर्माण भएको नहरको क्षेत्र ४० फुट कायम गरिएको थियो । नहर १४ फुट चौडाइको छ । त्यसमा चिस्यान, हरियाली, सफाइ र सडकका लागि अन्य क्षेत्र छाडिएको थियो । अहिले नहर छेउको जग्गा अतिक्रमणले सकिएको छ । नहरभित्रबाट समेत पर्खाल लगाएर घर निर्माण गरिएकाले सहज रूपमा पानी बग्नसमेत सकेको छैन । 

बुटवलस्थित नहरको कन्येढुंगा बाँधदेखि योगीकुटीसम्मको करिब दुई किलोमिटर क्षेत्रमा धेरै अतिक्रमण छ । यहाँ नहरको जग्गामा महल बनेका छन् । सुकुम्बासी भन्दै नहर छेउमा झुप्रा बनाएकाले अहिले ठूल्ठूला पक्की घर ठड्याएका छन् । स्थानीय तहले नहर अतिक्रमित क्षेत्रमा घर बनाउनेलाई समेत पानी, बिजुलीजस्ता आधारभूत सुविधा पुर्‍याएकाले अतिक्रमण गर्नेको मनोबल बढेको छ । बाँकी रहेको भागमा छेउछाउका जग्गाधनीले संरचना थपेका छन् । कन्येढुंगा आसपास, इँट्टाभट्टी र होराइजन चोकका ठूल्ठूला घर कुलोबाटै पर्खाल ठड्याएर बनाइएका छन् । 

निजी प्रयोजनका लागि मात्रै होइन, सामुदायिक र सरकारी संरचना बनाउँदासमेत सोह्र–छत्तीस सिँचाइ प्रणाली अतिक्रमित भएको छ । बुटवल–९, तीनकुनेमा ज्येष्ठ नागरिक किरियापुत्री घर छ । बुटवल उपमहानगरको सहयोगमा बनेको यस घरले नहरको आधा भाग ओगटेको छ । त्यसको नजिकै ९ नम्बर वडा कार्यालय छ । उक्त कार्यालयसमेत नहर क्षेत्रमा बनेको छ । ग्लोरियस कलेज, न्यु होराइजन मावि, मणिमुकुन्द कलेज र सात वटा मन्दिर नहर क्षेत्र ओगटेर बनेका छन् भने मणिमुकुन्द क्षेत्रमा जनजागृति मावि, सिद्धार्थ आधारभूत विद्यालयलगायत आठ शैक्षिक संस्था र नौ वटा मन्दिर नहरमाथि छन् । बुटवल क्षेत्रमा सिँचाइ हुने खेत घर बनेर सकिएको छ । सिँचाइ प्रणालीका सल्लाहकार रोमणीप्रसाद पाठक आफूलाई नहर आवश्यक नपरेपछि त्यसको अतिक्रमण गर्ने क्रम बढेको सुनाउँछन् । 

नियमत: उपमहानगरपालिका क्षेत्रमा घर बनाउँदा जग्गाको लालपुर्जा राखेर घरको नक्सा पास गराउनुपर्छ । मापदण्ड नै नभए पनि बुटवल उपमहानगरले बिजुली, पानीलगायत सुविधा दिने गरेको छ । “सुरुमै अतिक्रमण रोक्नुपथ्र्यो, सकिएन,” नगर प्रमुख शिवराज सुवेदी भन्छन्, “अब पानी–बिजुली रोक्ने होइन । समय दिएर बिस्तारै हटाउने हो ।” चालू आर्थिक वर्षमा मुख्य सडकको अतिक्रमण हटाउन लागेकाले आउँदो वर्ष नहर अतिक्रमण हटाउन योजना बनाइने उनले बताए । 

बुटवलको अतिक्रमण नहटाउँदा तिलोत्तमा नगरपालिकाको योगीकुटी, शारदा स्कुल, डिंगरनगर क्षेत्रमा नहरमाथि घर बनेका छन् । “नहर साँघुरिएको छ । पहिलेजस्तो पानी आउँदैन,” शंकरनगरका धनप्रसाद सुवेदी भन्छन्, “यसले गर्दा पानीको पालो पाउन पनि समस्या परेको छ ।” नहरका सात फुट चौडाइका सहायक कुलोसमेत मिचिएका छन् । दुई वर्षअघि आएको बाढीले नहरको कन्येढुंगामा रहेको बाँध भत्काएको थियो । पछि मर्मतका लागि संघीय सरकारले करिब १२ करोड रकम विनियोजन गरेपछि उपभोक्ताले नहरको साविक क्षेत्रफल कायम गर्न खोज्दा स्थानीयसित झडप भएको थियो । किसान गुहार माग्दै प्रशासनमा पुगेका थिए । प्रशासनले तत्काल बचेको भागमा मात्रै काम गर्न सुझाव दियो । यसले नहर अतिक्रमण गर्नेको मनोबल अझ बढेको ठान्छन्, अध्यक्ष गैरे । 

नहर अध्येता युवराज कँडेल नहर आसपासमा जमिन नहुँदा नहरमा पानी सोसिन छाडेको बताउँछन् । “वरपर पक्की पर्खाल बनाएर नहर बगाउनु गलत हो,” उनी भन्छन्, “नहरको अस्तित्व बचाउन साविक क्षेत्रफल कायम गरेर मात्रै मर्मतसम्भारका काम गर्नुपर्छ ।” नहर पक्की बनाइएपछि जमिनमुनिको पानीको स्रोतसमेत सुक्दै गएर खानेपानी अभाव देखिन थालेको कँडेलको कथन छ ।

बुटवलबासीले नहरलाई डम्पिङ साइडका रूपमा प्रयोग गरेका छन् । फोहोर फालिँदा नहर थुनिने र बन्द हुने समस्याले प्रयोगकर्ता किसान हैरान छन् । पानीसँगै सिसा, सिरिन्ज तथा प्लास्टिकजन्य वस्तु खेतबारीमै जाने गरेका छन् । यसलाई रोक्न तिलोत्तमा नगरपालिकाले नगर प्रवेश क्षेत्र योगीकुटीमा जाली लगाएको छ । हिउँदमा नहरमा पानी कम हुँदा जालीमा रोकिन्छ । वर्षामा भने त्यसले काम गर्दैन । “हामी हैरान भएका छौँ,” नगर प्रमुख वासुदेव घिमिरे भन्छन्, “नहरको अतिक्रमण रोक्न र फोहर फाल्ने ठाउँ नबनाउन दुवै तहले संयुक्त योजना बनाउनुपर्ने अवस्था छ ।”

विसं १९९३ को सेरोफेरोमा जंगबहादुर राणाले लालमोहर लगाएपछि हालको तिलोत्तमा नगरपालिकाको कानपारा, ठटेरिया, मदरानीलगायत थारु गाउँका खेत सिँचाइका लागि नहर बनाइएको थियो । पूर्व क्षेत्रमा बस्ती बसेपछि ००४ मा बुटवलको कालिकानगरबाट नहर विभाजन गरिएको थियो । यसपछि नहरमा आएको पानी ४० प्रतिशत सोह्र मौजामा र ६० प्रतिशत छत्तीस मौजामा बाँडिएको छ । सिँचाइ प्रणाली संगठित हुँदा ३६ वटा मौजा अर्थात् गाउँ मिलेर बनाइएकाले छत्तीस मौजा र १६ गाउँ मिलेर बनाइएकाले सोह्र मौजा राखिएको हो । “सोह्र–छत्तीस मौजा रूपन्देहीको कृषि उत्पादनका लागि मुटु हो,” प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी भन्छन्, “स्थानीय तहले अतिक्रमण हटाउने हो भने अन्य मर्मत–सम्भारका काम प्रदेशबाटै हुनेछन् ।” 

प्रकाशित: मंसिर २३, २०७६

×