जोडिँदै उत्तरी नाका

- माधव घिमिरे/विराटनगर

संखुवासभाको भोटखोला गाउँपालिका–१ का किमाथांका र आसपासमा दैनिक उपभोग्य सामग्री चिनियाँ क्षेत्रबाटै आउँछ । स्थानीय रूपमा आलु र कोदो मात्र उत्पादन हुन्छ । अरू सबैजसो सामग्री चीनबाट ल्याउँछन् । तर अब उत्तर–दक्षिण कोसी योजनाले त्यो अवस्थामा हेरफेर ल्याउन सक्छ ।

खाँदबारी–किमाथांकाको दूरी १ सय ६२ किलोमिटर छ । त्यसमध्ये १ सय ४४ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ । “१४ किलोमिटर सडक निर्माणका लागि चट्टानी क्षेत्रमा विस्फोट गराएर ट्रयाक खोल्नुपर्ने अवस्था छ,” योजना प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठ भन्छन्, “हिउँदमा १ सय १३ किमि सडक खण्डसम्म टयाक्टर र अरू साना सवारी साधन पुग्छन् ।”

उद्योग वाणिज्य महासंघका उद्योग तथा वाणिज्यतर्फका केन्द्रीय उपाध्यक्ष किशोरकुमार प्रधानका अनुसार किमाथांकासम्म नाका खोल्न चेपुवादेखि किमाथांका बीच पर्ने शंखेभीरमा ६, महभीरमा ५ किलोमिटर सडक र आसपासका साना भीरका कारण अप्ठेरो छ । “सडक चौडा र व्यवस्थित नभएसम्म ढुवानीका ठूला साधन चल्न सहज छैन,” उनी भन्छन्, “चीनबाट आउन सक्ने ठूलो भार क्षमताका साधन सहज चल्न सक्ने बनाइहाल्नुपर्छ ।”

भोटखोला गाउँपालिका अध्यक्ष तेमछेदी भोटे सडक पूरा भए नेपाली उत्पादन गाउँसम्मै ल्याएर उपभोग गर्न सकिने अवस्था रहेको सुनाउँछन् । यो सडक निर्माणमा काम गरिरहेको उत्तर–दक्षिण कोसी योजनाले संखुवासभा सदरमुकाम खाँदबारीबाट १ सय ३३ किलोमिटर र किमाथांकाबाट १० किलोमिटर कच्ची सडक निर्माण भइसकेको जनाएको छ । अब १४ किलोमिटर सडक छिचोलिएपछि किमाथांका जोडिनेछ ।

प्रदेश १ का दुई हिमाली जिल्ला उत्तरी छिमेक चीनसँग चाँडै सोझो सडक सम्पर्कबाट जोडिने क्रममा छन् । केही स्थानमा देखिएको चट्टानी पहरा फुटाएर ट्रयाक खोलेपछि जोगबनी–किमाथांका मार्ग हुँदै बन्ने नयाँ नाकाले भारतको जोगबनीदेखि चीन सीमासम्म जोड्नेछ । 

सरकारले चट्टान भएको क्षेत्र सेनालाई जिम्मा दिएर चाँडै खुलाउने तयारी गरेको छ । व्यापारिक महत्त्वको यो सडक मोरङ सीमावर्ती जोगबनीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ  । दक्षिणी नाकालाई उत्तरी नाकासँग जोड्ने करिब ३ सय ४० किलोमिटर दूरीको सडक अब केही किलोमिटर मात्र खुल्न बाँकी छ ।

उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन्  । किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन्  । मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा उक्त नाका हुँदै चीनको नाकाबाट ठूला उद्योगका लागि कच्चापदार्थ ल्याउन सकिने र जडीबुटीलगायत वस्तु निर्यात गर्न सकिने औँल्याउँछन् । संखुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमका अनुसार यो सडक नेपाल, भारत र चीन जोड्ने ‘त्रिदेशीय लिंक’ का रूपमा रहेकाले सरकारले विशेष महत्त्व दिएको छ । 

पूर्वोत्तर हिमाली जिल्ला ताप्लेजुङ र चीनको तिब्बत जोड्ने नाका टिप्तालाभञ्ज्याङ हुँदै अर्को सडक बनेको छ । ओलाङचुङगोलाबाट करिब २४ किलोमिटर दूरीको टिप्तालासम्म तीन महिना लगाएर सडकको ट्रयाक हालै खोलिएको हो । ओलाङचुङगोलामा जन्मेर अमेरिका, बेलायत, काठमाडौँलगायत स्थानमा बसेकाहरूको संस्था वालुङ समाजले नाकालाई चीनसँग जोड्नका लागि करिब ३ करोड रुपैयाँ जुटाएर सडकमा लगानी गरेको छ । सडक विस्तारपछि चीनका गाडी गोलाबस्तीसम्म आउन थालेका छन् ।

उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख राम गुरुङका अनुसार फुङलिङबाट बिस्तार भएको सडक लेलेपको लुङथुङमा पुगेको छ भने गोलाबाट उता पनि विस्तारको क्रममा छ । अब १४ किलोमिटर ट्रयाक खुल्न बाँकी छ । सडक सञ्चालनमा आएपछि नुनदेखि सुनसम्म तिब्बतबाट ल्याउन सकिने र नेपालका जडीबुटी, तरकारीलगायत वस्तु निर्यात गर्न सकिने उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेको विश्वास छ । 

प्रकाशित: मंसिर २५, २०७६

×