थुनुवा नं १५ 

- शालिकराम सापकोटा

म नेपालगन्जमा कानुन व्यवसाय गर्थें । तत्कालीन पुनरावेदन बार एसोसिएसनको अध्यक्ष थिएँ । २८ फागुन ०५८ मा शिवरात्रिको बिहान लगभग ३ बजेको समय हुँदो हो । ठूली छोरी वर्ष ७ की आयुषी र म एउटै पलङमा सुतिरहेका थियौँ । नेपालगन्ज नगरपालिका वडा–१२ स्थित राजु भट्टराईको घरमा मेरो डेरा थियो । म बस्ने डेरासँगै बाँके जिल्ला अदालतको परिसर जोडिएको थियो । बाटोपारि पुनरावेदन अदालत र शाही नेपाली सेनाको फिए गुल्म रहेको छ । 

बिहानपख म मेरी श्रीमती र छोरी सुतिरहेको कोठामा लगातार ढकढकको आवाज आयो । उठेर ढोका खोलेँ । एक हुल सैनिक मेरो कोठाभित्र छिरे । त्यसमध्येका पछि नाम खुलेका अजित थापा भीमकाली गुल्मका मेजर, क्याप्टेन रमेश स्वाँर रहेछन् । ढोका खोल्नेबित्तिकै मलाई मेजर थापाले निर्घात कुटपिट गरे । मेरी श्रीमतीले प्रतिवाद गर्दा उनलाई पनि बुटले हाने । उनी ढलिन् । छोरी आयुषी रोएर कराउँदा मुख थुनिदिए । अनि मलाई बाहिर निकालेर बरन्डामा बस् भनी घुँडा टेकेर बस्न लगाइयो । मेरा घरबेटी राजु भट्टराईको सम्पूर्ण घर उनीहरूले सर्च गरे । उनीहरूलाई पनि मानसिक यातना दिए । उनीहरूले पिकअप टाइपको जीप ल्याएका रहेछन् । कुटपिटले उठ्नै नसक्ने अवस्थामा पुगेको मलाई उचालेर जीपमा हालियो । जीपको भुइँमा मेरो हात पछाडिपट्टि फर्काएर बाँधियो र सुताइयो । ममाथि ३ जना सैनिक बसे । बिहान ३ बजे नेपालगन्जबाट लगेकामा मलाई बिहान ९ बजेतिर कोहलपुर उत्तर सुर्खेतरोडस्थित चिसापानी ब्यारेक पुर्‍याइयो । मेरो आँखामा घाँटीसम्म पुग्ने गरी पट्टी बाँधियो । हात पछाडि फर्काएर हत्कडी लगाइयो । २९ गते १२ बजेको हुँदो हो, मलाई थुनेर राखेको कोठाबाट बाहिर निकालेर लगियो । त्यहाँ चरम यातना दिने ठाउँ रहेछ, ‘तैँले माओवादी, प्रचण्ड, बाबुराम र जिल्लाका नेताहरूबारे जानेको जति भन्, नत्र यहीँ समाप्त पारिदिन्छौँ’ मेजर थापाले भने । 

मलाई केही थाहा छैन भन्दा आफ्ना सिपाहीलाई ‘जा त भीमे लिएर आइज, यसलाई भीमले ठीक पार्नुपर्छ’ भने । भीमे भनेको त कटबाँसको लौरोलाई चारैतिर रबरले बाँधिएको लाठी रहेछ्र । भीमकाली गुल्मको नाउँमा त्यस लाठीको नामकरण गरी ‘भीमेलाठी’ भनिएको रहेछ । उक्त भीमेलाठीले हान्दा जिउ छियाछिया हुने, बाहिर रक्तस्राव नहुने तर भित्र अत्यधिक पीडा र रक्तस्राव हुने खालको लाठीले निर्घात रूपमा शरीरभरि पिटियो । लिंगमा समेत यातना दिइयो । चर्को यातनाले मैले रगत बान्ता गरेँ । म उठ्न सकिनँ । मलाई त्यो ठाउँबाट घिसारेर ट्रेन्च खाल्डोमा लगेर राखे । 

त्यसको २ दिनपछि ट्रेन्चबाट निकालेर बोका थुन्ने निकै साँघुरो निस्सासिने, कतैबाट हावा, प्रकाश नछिर्ने कोठामा लगेर थुने । कुटपिट र यातनाले देब्रे खुट्टामा नराम्रो संक्रमण भएको थियो । त्यसैले म उठेर हिँड्न सकिनँ । दिसापिसाब शरीरभरि भयो । हातखुट्टा दुवैमा हत्कडी थियो, आँखामा पट्टी थियो । थुनाको पाँच दिनपछि मलाई त्यहाँबाट झिकेर बाहिर निकालियो र मेरो बिग्रेको घाउमा औषधी लगाइदिए । बल्लबल्ल बस्न सक्ने भएँ । उठेर दिसा बस्न दस दिन लाग्यो । दिसा गर्ने सामूहिक शौचालय रहेछ, पालैपालो थुनुवा दिसा बस्न जाँदा केही थुनुवा बन्दीहरूलाई चिनेँ । त्यहाँ नेपालगन्जका व्यापारी, वन कार्यालयका सहायक वन अधिकृत, शिक्षक, विद्यार्थी, डाक्टरलाई ल्याइएको रहेछ्र । दिनहुँजसो बाहिर निकाल्ने र यातना  दिने गरिरहन्थे । चरम यातनाले राम्ररी हिँड्न नसक्ने अवस्थामा समेत कुटपिट गरिरहन्थे । 

थुनामा राखेको १५–१६ दिन हुँदो हो, मलाई बाहिर चौरमा निकालेर राखियो । आँखाको पट्टी हटाइएन । हत्कडी पनि खोलिएन । एक जनाले सोधे, ‘तँलाई आतंककारी विध्वंसात्मक अपराध र सजाय ऐन, २०५८ को दफा ९ बमोजिम किन नमार्ने ? सफाइ पेस गर ।’ मैले ‘तपाईँहरूले घरमा सुतेको नि:शस्त्र मानिसलाई अपहरण गरेर कब्जामा राखेर हत्या गर्नु भनेको गैरन्यायिक हत्या हो । यस्तो अवस्थामा दफा ९ लागू हुँदैन’ भन्दै थिएँ । मुखमा बेस्सरी ढुंगाले हानेजस्तो भयो, बुटले हानिएको रहेछ्र । त्यसपछि मलाई निर्माणाधीन बंकर लगेर राखियो । बंकरमा अँध्यारो नै अँध्यारो थियो । त्यहाँ बन्दीहरूलाई हत्या गर्ने गरिँदो रहेछ । हत्यापछि बाहिर लगेर गाडिँदो रहेछ । त्यो बंकर चिसापानी ब्यारेकको मध्यभागमा छ्र । मलाई दुई दिनसम्म त्यही बंकरमा राखियो । आँखा खोलिदिएपछि थाहा पाएँ, बंकरमा मारिएका बन्दीहरूका लाश सँगै राखिएको रहेछ ।

चिसापानी ब्यारेकमा मुख्यत: ३ प्रकारका ज्यादती भए । गैरकानुनी थुना, गैरन्यायिक हत्या, अपहरण शैलीमा पक्राउ गर्ने र फिरौती लिएर छाड्ने । बलात्कारजस्ता डरलाग्दा घटना पनि भए । थुनुवाको हत्या गर्दा त्यहाँको कोड ‘खाजा खाने’ राखिएको थियो । आज यति जनाको खाजा खाइयो भनेपछि आज यति जना मारिए भनेर बुझ्थ्यौँ । यति क्रूर ढंगले शारीरिक तथा मानसिक यातना दिइन्थ्यो कि बाँचेर फर्किने आशा मारिसकेको थिएँ । अन्यत्र भएको भिडन्तबाट उत्तेजित भएर ब्यारेकमा यातना दिइन्थ्यो । मरणासन्न हुने गरी पिटिन्थ्यो । 

दुई महिनापछि मलाई थुनुवा नं १५ को ट्याग लगाइयो । नेपाल बार एसोसिएसन, अन्तर्राष्ट्रिय बार एसोसिएसन, आईसीआरसी, एमनेस्टी इन्टरनेसनललगायत अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको पहलमा मेरो जीवनरक्षा भयो । आईसीआरसीका प्रतिनिधिको रोहवरमा १ असार ०५९ मा मलाई मेरो परिवारको जिम्मा लगाइयो, रिहा गरियो । चिसापानीस्थित भीमकाली गुल्ममा मलाई दिएको यातनाको कारणले शरीरको देब्रे भाग, हातखुट्टा र ढाड झम्झमाउने, चिसोमा दुख्ने, बसेर उठ्न गाह्रो हुने समस्या भइरहन्छ । तत्कालीन शाही नेपाली सेना भीमकाली गुल्ममा भएको क्रूर यातना कुनै पनि बन्दीले भोग्नु नपरोस् । अपराधीहरूले सजाय पाऊन्, दण्डहीनता अन्त्य होस् । 

यो पनि पढ्नुहोस् : बर्दीका अपराधलाई उन्मुक्ति 

प्रकाशित: मंसिर २६, २०७६

×