‘पुराना कलाकार पाउनै मुस्किल’

-  मनबहादुर बस्नेत

नाटकको मूल तत्त्व मानिन्छ, संवाद । तर निर्देशक आशान्त शर्माले बिनासंवाद नाटक बनाए, बुलेट एन्ड द बुद्ध । उनको यो शैलीले निकै तारिफ पनि पायो । शिल्पी थिएटरमा मञ्चित नाटकबारे शर्मासँगको कुराकानी :

नाटकलाई संवादरहित बनाउनुको कारण फरकपन दिन मात्रै हो वा अरु विशेष कारण छ ? 

नियमित नाटक हेर्नेले सधैँ संवाद सुन्छन् र त्यो संवाद दिमागमा लिएर फर्किन्छन् । यो एकै खाले शैलीलाई फेरौँ भनेर मैले संगीत र परफर्मेन्सको माध्यमबाट नयाँ शैली दिन खोजेको हुँ । नाटक हेरेर फर्कने दर्शकको मुख उज्यालो पाएको छु । प्रयोग गरेर दु:ख दिने काम गरिनछु भन्ने भाव मनमा आएको छ ।

नाटकका पात्र जीवनमा एकदमै अलमलिएको देखाइएको छ । तिनमा आध्यात्मिक चेत नभएको तपाईंको निष्कर्ष हो ? 

मानिसले प्रकृतिबाट सिक्छ । ऊ प्रकृतिसँग नजिक हुन्छ र अन्तत: जीवनमा बुद्धत्व प्राप्त गर्न सक्छ । तर कुनै पनि शिक्षा वा विचार जबर्जस्ती थोपरिन्छ भने उसमा द्विविधा उत्पन्न हुन्छ । दिमागमा असन्तुष्टि जम्मा हुन्छ र त्यो पड्किन सक्छ । आध्यात्मिक वा प्राकृतिक चेत अभावमा मानिसको जीवनमा जटिलता थपिइरहेको छ ।

तपाईं आफूचाहिँ लादिएको कुराको सिकार बन्नुभएको छ कि छैन ? 

किन नहुनु ? पढाइ र वादहरु पटक–पटक लादिए, कहिले घरपरिवारबाट, कहिले समाजबाट । हाम्रो शिक्षा र व्यवहार प्रकृतिसम्मत छैन ।

नाटकमा विम्बको बढी प्रयोग भएको छ, नाटकले भन्न खोजेको ठ्याक्कै बुझ्न कठिन हुँदैन ? 

दर्शकले यही रुपमा बुझून् भन्ने ध्येय मेरो होइन । यदि त्यस्तो हुन्थ्यो भने नाटकमा म संवाद राख्थेँ । जसरी बुझ्छन्, बुझून् भनेर खुला दृष्टिकोण बनाउने ठाउँ छाडिदिएको छु । दर्शकलाई यही बुझ्नुपर्छ भनेको छैन । अमूर्त पेन्टिङबाट प्रभावित भएर यो नाटक बनाएको हुँ । त्यस्ता पेन्टिङलाई फरक–फरक तरिकाले बुझ्न सकिन्छ । 

कठिन आसन प्रयोग गरिएको छ । तयारी गर्न कति समय लाग्यो ? 

शारीरिक तालिम गर्न चार–पाँच महिना लाग्यो । लामो समय लाग्ने भएकै कारण स्थापित कलाकारलाई राख्न सकिएन । दुई–तीन जनासँग कुरा गर्दा त्यति धेरै समय दिन सकिँदैन भने । स्थापित कलाकार खोज्न मुस्किल भएपछि नयाँ भाइबहिनीबाटै काम गर्नुपर्‍यो । 

प्रकाशित: पुस १०, २०७६

ट्याग: ५ प्रश्न
×