साताका ७ तस्बिर

- नेपाल संवाददाता

उत्तरी काठमाडौँको जगडोलको झण्डा पार्कमा देखिएको साँझको दृश्य । काठमाडौँ उपत्यका नियाल्न सकिने भएकोले तस्बिर लिन र रमाउन पर्यटकहरू यहाँबाट पुग्ने गरेका छन् । तस्बिरः दीपक केसी

काठमाडौंको स्वयम्भूबाट देखिएको सूर्यग्रहण । छिमेकी मुलुक भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट यसलाई 'एनुलर' (रिङ आकार) सूर्यग्रहणका रूपमा देख्न सकिन्छ । भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिन्छ ।  तस्बिर : इलिट जोशी

सल्यानको कुपिन्डे तालमा राष्ट्रिय झन्डासहित देखिएको डुंगा । यो तालमा २० भन्दा बढी डुंगा सञ्चालनमा छन् । यहाँ घुम्न आउनेहरूले ताल एक फन्को घुमेको १०० रुपैयाँ र आधामात्र घुमेको ५० रुपैयाँ शुल्क तोकिएको छ ।  भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटकलाई लोभ्याउन यहाँका सबै डुंगामा राष्ट्रिय झन्डा फहराइएको छ । सरोज बैजुले खिचेका सल्यानका थप तस्बिरहरू हेर्नुस्ः कर्णाली जानू, सल्यान नघुमी नफर्कनू [१५ तस्बिर]

२६ मंसिर साँझदेखि लगातार हिमपात भएपछि हुम्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविमा तीन फिटसम्म हिउँ पर्‍यो । विद्यार्थीहरूले आगो तापेर परीक्षा दिए । उत्तरी हुम्लाका धेरैजसो बासिन्दाले यसअघि नै गाउँ छाडिसकेका छन् । जनकबहादुर शाहीका थप तस्बिर तथा स्टोरी पढ्नुहोस्ः आगो ताप्दै परीक्षा

रुपन्देहीको धकधही क्षेत्रसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा दिनरात डोजर, एस्क्याभेटर, टिपर, रोलरलगायत उपकरणसहित मजदुर कार्यरत छन् । वर्षायाममा नेपालतर्फ पानीको प्राकृतिक बहाव प्रभावित पार्ने गरी भारत सरकारले दसगजानजिकै चार लेनको सडक धमाधम तयार पार्दै छ । भारतीय प्रधानमन्त्री सडक परियोजनाअन्तर्गतको उक्त संरचना निर्माणबारे भारतीय पक्षले नेपाललाई जानकारी गराएको छैन । न त पूर्वस्वीकृति र अनुमति नै । माधव ढुंगानाको रिपोर्ट विस्तृतमा पढ्नुस्ः नेपालको सहमतिबिनै सीमा क्षेत्रमा भारतीय सडक 

सल्यानको लेखपोखराबाट देखिएको सिस्ने हिमाल । रुकुम जिल्लामा पर्ने सिस्ने हिमाल दर्शनावलोकन पर्यटकहरूको अर्को आकर्षण हो । हिमाल वर देखिएको डाँडा छत्रेश्वरी गाउँपालिकाको गुराँसे गाउँ हो । तस्बिरः सरोज बैजु

सराङकोटबाट तुवाँलोबीच देखिएको विश्व शान्ति स्तुप । पोखरा जाने अधिकांश विदेशी पर्यटकहरूको मात्र होइन, आन्तरिक पर्यटकहरूको समेत पहिलो रोजाईमा यो स्तुप पर्छ । तस्बिरः हेमन्त श्रेष्ठ

प्रकाशित: पुस ११, २०७६

×