‘बाहिर देखिने मात्र सौन्दर्य होइन’

- मनबहादुर बस्नेत

अछाममा जन्मिए, टीकापुरमा हुर्किए, डा सन्तोष उपाध्याय, २८ । यसपालिको मिस्टर नेपालमा २१ प्रतिस्पर्धीलाई उछिने । उनी ललितपुरस्थित लुभुको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत हुन् ।

तपाईंलाई मिस नेपालजस्तो चर्चा मिस्टर नेपालमा हुँदैन भन्ने लाग्छ ? 

लाग्ने भन्दा पनि यो त सत्य हो नि । 

किन चर्चा कम ? 

केटाहरुको सौन्दर्य प्रतियोगिता भनूँ वा मिस्टर नेपालको इतिहास नै छोटो छ । २००१ देखि सुरु भयो । २००३ देखि ७ वर्षसम्म टुट्यो । सौन्दर्य प्रतियोगिता भन्नासाथै महिलासँग जोडिएर आउँदो रहेछ ।

तपाईं आफूचाहिँ सौन्दर्य केलाई मान्नुहुन्छ ? 

हेर्दा जे देखिन्छ, त्यो मात्र होइन । भित्री सौन्दर्य झन् महफ्वपूर्ण हुन्छ । 

भित्री सौन्दर्य भन्नाले ? 

मानिसको बोली, व्यवहार, समाजप्रति उसको दायित्व । समाजमा हामीले सुन्दरता र व्यवहारकै आधारमा मानिसलाई आदर्श मान्छौँ । यी दुवै कुरालाई यस्तो प्रतियोगितामा सँगै लैजानुपर्छ । 

तैपनि मिस नेपालको भन्दा चर्चा कम हुँदा अलि खल्लो लाग्दैन ? 

बिलकुल लाग्दैन । आफूलाई कसरी अगाडि लैजाने भन्नेमा भर पर्छ । विस्तारै महिलासँग मात्रै जोडिने सुन्दरताको धारणा बदलिँदै छ । मिडियाले पुरुषको सौन्दर्य प्रतियोगितालाई प्राथमिकता नदिएर पनि ओझेल परेको हो । 

तपाईं त चिकित्सक, ग्ल्यामरस दुनियाँमा केले तान्यो ? 

पहिलेदेखि नै फरक काम गर्न रुचाउँछु । फुटबल, पेन्टिङ, भिडियोग्राफी, फोटोग्राफीमा रुचि छ । भिडियोग्राफीको देशव्यापी प्रतियोगिता पनि जितेको छु । अछाममा दुइटा पुस्तकालय खोलेँ । सिन्धुपाल्चोकको दुबाचौरमा भूकम्पका बेला आशाको किरण संस्थामार्फत १३ वटा घर बनाइयो । सामाजिक काममा अझ बढी लाग्न मिस्टर नेपालमा भाग लिएको । 

मिस्टर वल्र्डमा आफूलाई कसरी प्रस्तुत गर्छु भन्ने लागेको छ ? 

सबै प्रतिस्पर्धीको लक्ष्य जित्ने हो । मैले त्यहाँ मेडिकल क्षेत्रमा आफूले गरेको कामको छाप छाड्छु भन्ने छ । 

के छाप हो त्यस्तो ? 

मेडिकलका विभिन्न संगठन चलाएँ । त्यस क्रममा २६ देशमा प्रतिनिधि, सहभागी र पाहुना बनेर पुगेँ । नेपालमा इस्ट एसियन मेडिकल स्टुडेन्ट कन्फरेन्स गराएँ, त्यो दक्षिण एसियामै पहिलो थियो । यिनै कुराले आफूलाई प्रमाणित गर्नेछु । 

प्रकाशित: पुस १७, २०७६

×