जेएनयूमा जे भयो

- नेपाल संवाददाता

भारतको राजधानी दिल्लीस्थित जवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक घटनामा कयौँ विद्यार्थी र शिक्षकहरू घाइते भएका छन् । भारतीय मिडियाहरूका अनुसार ठूलो संख्यामा रहेका नकावधारीहरूले आइतबार जेएनयू क्याम्पस तथा होस्टेलभित्र छिरेर विद्यार्थीहरूमाथि सांघातिक हमला गरेका थिए । 

प्रत्यक्षदर्शीहरूलाई उद्‍धृत गर्दै बीबीसी हिन्दीले करिब ५० भन्दा बढीको संख्यामा जेएनयूभित्र छिरेका नकावधारीहरूले रड तथा लठ्ठी बोकेको जनाएको छ । क्याम्पसमा छिर्ने बित्तिकै यी व्यक्तिहरूले विद्यार्थीहरूमाथि हमला गरेका थिए । आक्रमणपछि उनीहरू समूहमै बाहिरिएको भिडियोमा देखिन्छ ।  

दिल्ली सरकारले घाइतेहरूलाई अस्पताल लैजान ७ वटा एम्बुलेन्स पठाएको छ । १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समाचारमा जनाइएको छ । 

जेएनयूको मुख्य द्वारमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । क्याम्पसमा विद्यार्थीहरूमाथि सांघातीक हमला हुँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै दिल्लीस्थित प्रहरी मुख्यालयमा विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका छन् । 

विद्यार्थीहरूमाथि आक्रमण भएपछि जेएनयूको मूल गेटमा जम्मा भएको भीड । तस्बिरः newslaundry

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले प्रहरीलाई उद्‍धृत गर्दै घटनापछि जेएनयू क्याम्पसको अवस्था नियन्त्रणमा रहेको जनाएको छ । 

भारतको गृह मन्त्रालयले ट्‍वीटरमार्फत् गृह मन्त्री अमित शाले दिल्ली प्रहरीलाई घटनाको तत्काल अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका छन् । 

भारतको विदेशमन्त्री जयशंकरले ट्‍वीटरमा भनेका छन्- ‘जेएनयूमा भएको हिंसाको निन्दा गर्दछु । यो विश्वविद्यालय परम्परा र संस्कृतिविरुद्ध छ ।‘ जयशंकर जेएनयूका पूर्व विद्यार्थीसमेत हुन् । 

कसरी भयो घटना ?

जेएनयूको होस्टेलमा हालै भएको शुल्कवृद्धिविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरिरहेका थिए । विद्यार्थी आन्दोलन चलिरहेका बेला शनिबारको हिंसात्मक घटना भएको हो । यो घटनाको कसैले जिम्मेवारी लिएको छैन तर घाइते विद्यार्थीहरूले सत्तारुढ भारतीय जनता पार्टीको निकट विद्यार्थी संगठनमाथि औँला उठाएका छन् ।


यो पनि पढ्नुस्ः असहिष्णुताको बाटोमा जेएनयू


भारतीय समाचार संस्था एएनआईको भिडियोमा क्याम्पसका विद्यार्थीहरू ‘एबीभीपी गो ब्याक’ को नारा लगाउँदै गरेका देखिन्छन् । एबीभीपी अर्थात् अखिल भारतीय विद्यार्थी परिषद् सत्तारुढ भारतीय जनता पार्टीको विद्यार्थी संगठन हो । 

जेएनयूका पूर्व विद्यार्थीसमेत रहेका कन्हैया कुमारले ट्‍विटरमा लेखेका छन्- यो सरकार कति बेसरम छ । पहिला शुल्क बढाउँछ । विद्यार्थीले विरोध गरे पनि प्रहरी लगाएर पिटाउँछ । र, पनि विद्यार्थीहरू झुक्दैनन् । तब आफ्ना गुन्डा पठाएर हमला गराउँछ । 

घाइतेहरूले आफूहरूमाथि अखिल भारतीय विद्यार्थी परिषद्ले आक्रमण गरेको आरोप लगाएको समाचार पोर्टल वायरले उल्लेख गरेको छ । गत शनिबार पनि क्याम्पसमा ढुंगा प्रहार भएको समाचारमा जनाइएको छ । विद्यार्थीहरूलाई उद्‍धृत गर्दै वायरको समाचारमा एबीभीपीका सदस्यहरू क्याम्पसमा शुल्क वृद्धिको विरोधमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई खोज्दै हिँडेका थिए । 

साँझ करिब ६ बजेर ५० मिनेट होस्टेलमा तोडफोड सुरु भएको र आफूले २५/३० जनालाई त्यहाँ देखेको ज्योति नामकी विद्यार्थीले एउटा भिडियोमा बताएकी छन् । 

घाइते विद्यार्थीहरूले भारतीय जनता पार्टीको विद्यार्थी संगठन घटनामा संलग्न भएको आरोप लगाए पनि सत्तारुढ भाजपाले ट्‍वीटरमार्फत घटनाको भत्सर्ना गरेको छ । 

‘जेएनयू क्याम्पसमा भएको हिंसाको हामी भत्सर्ना गर्दछौँ । आफ्नो खस्किएको राजनीतिक पदचिह्न जोगाउन अराजक शक्तिले विद्यार्थीहरूलाई शिकार बनाउन खोजेको छ । विश्वविद्यालयहरू शिक्षा र सिकाइका केन्द्र रहनुपर्छ ।‘ भाजपाको ट्‍वीट कोप्रति लक्षित हो प्रष्ट छैन ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले समेत अध्ययनको पवित्र स्थललाई जोगाउँ भन्दै ट्‍वीटर गरेका छन्। भट्टराई पनि जेएनयूका पूर्व विद्यार्थी हुन् ।  

प्राज्ञिक अनुसन्धान र खुला अन्तरक्रियामा ख्याति कमाएको जेएनयू सत्तामा भारतीय जनता पार्टीको उदयसँगै पटकपटक निशानामा पर्दै आएको छ ।  

प्रकाशित: पुस २०, २०७६

×