चियामा न्यानो माया
चियाको बढ्दो लोकप्रियतालाई काठमाडौँमा एक समूहले समाज सेवाको माध्यम बनाएको छ ।

जाडोको साथी भन्नासाथ सबैलाई चिया याद आउँछ । बच्चादेखि वृद्धसम्म कसैले नाइँनास्ती गर्दैनन् । अझ युवा पुस्तामा चियाको रौनक बेग्लै । घन्टौँसम्म एक कप चिया पिएर बहस गर्ने युवाको छुट्टै जमात छ । चियाको बढ्दो लोकप्रियतालाई काठमाडौँमा एक समूहले समाज सेवाको माध्यम बनाएको छ ।
बेलुकीपख बानेश्वरतिर घुम्दा–फिर्दा देख्न सकिन्छ, सानो टेबल, टेबलमाथि चिया पकाउने भाँडो, पाक्दै गरेको चिया अनि ५–६ जनाको समूह । ‘तपाईंको चियापान, बालबालिकालाई न्यानोपन‘ को ब्यानरमा समूहले एक सातादेखि बानेश्वरमा चिया बेचिरहेको छ । सुरुमा गुल्मीका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्न २५ रुपैयाँ कपमा चिया बेच्न थालिएको हो । यसलाई ‘न्यानो माया अभियान’ को नाम दिइएको छ । जाडोयामभर चिया बेचेर महोत्तरी, धनुषालगायत जिल्लाका विपन्न बालबालिकालाई न्याना कपडा वितरण गर्ने योजना छ ।