(पुस्तक समीक्षा) निर्वाणान्दले छाडेको चप्पल

- राजकुमार बानियाँ

जीवन के हो ? सुख के हो ? बुद्धत्व के हो ? ब्रह्मत्व के हो ? यी प्रश्नको मूर्त जवाफ सायद कसैसँग छैन । शास्त्रोक्त परिभाषा सत्य हुन् निजी जीवनको अनुभवकै कसी ? शैलेन्द्र अधिकारीको निर्वेदले यावत् प्रश्नको व्याख्या भोगाइमै लगेर टुंग्याएको छ । आखिर भोगाइ नभए के हो त जीवन ?

नेपाली आख्यानका क्षेत्रमा शैलेन्द्र अधिकारी नयाँ हुन् तर बजारु प्रभावबाट सर्वथा मुक्त छन् । आफूलाई पढ्न मन लागेको युवा जोगीको आख्यान अरु कसैले नलेखेपछि आफैँले लेखेको उनको स्वीकारोक्ति छ । 

कम्युनिस्ट जार्गन फलाकेर युवाकाल बिताएका शैलेन्द्रले पूर्वीय वेदान्त दर्शनको परिपथ समाउनु आफैँमा कायाकल्प हो । वेदान्त दर्शनलाई आख्यानमा प्रस्तुत गर्ने नवीनतम प्रयास निष्फलै पनि भएको छैन, पढिसकेपछि मनको अन्तरकुन्तरमा युवा जोगीको स्थान रहन्छ नै ।

जोगी–जीवनको रहस्य के छ ? सायद यही प्रश्न आख्यानको रचनागर्भ हुँदो हो । खरानीभेषी र जटाधारी जोगी हुलिया मात्र हो कि जीवनदर्शन वा चिन्तन पनि ? के सामाजिक जीवनबाट निवृत्त जोगी–जीवन सजिलो छ ?

विश्वविद्यालयमा शोधरत चौबीस क्यारेटको भोगी ठिटो जोगीपन बुझ्ने लालसामा आर्यघाट र पशुपति क्षेत्रका वैदिक ऋचा र भक्तिसंगीतको रङमा भुल्छ, साधु, स्वामी, बाबा र वैरागीको संगत गर्दै जीवनका विस्मय तफ्वबोध गर्न थाल्छ । गुरु निर्वाणानन्दसँगै हरिद्वार पुग्छ । अघिल्लो दिन सँगै रहेका गुरु चप्पलको निशानी छाडेर हराउँछ । त्यही चप्पल नै आख्यानले भेटाएको सानदार जीवनदर्शन हो । 

मसानदेखि ज्ञान वैराग्यसम्मको विमर्श छ, उपन्यासमा । म पात्रको वैराग्य र मोक्षप्राप्तिको मानसिक संघर्ष पनि छ । जोगीलाई बुझ्न मात्र प्रेयसीसित बिदा मागेर आश्रम छिरेको व्यक्ति संन्यासीहरुकै मायावी दुनियाँमा कसरी फस्यो ? त्यो प्रसंग रोचक छ । सँगसँगै नानीको जवानीको पछि लागेको नमराज तीन महिनामै स्वामी निर्वाणानन्द बनेको कथा पनि । उपन्यासमा आदर्श, गरिमा, व्यक्तित्व र स्वयंप्रतिको आत्मसम्मानबाट स्खलित समाज पनि सचित्र आएको छ ।

पाशुपत क्षेत्र, शिवपुरी जंगल हुँदै हरिद्वारसम्मको फराकिलो क्यान्भासमा छ, निर्वेद । मुख्य पात्र मात्र नभएर सहायक पात्रहरु पनि स्मरणीय छन् । भौतिकवाद र अध्यात्मवादबीचको आत्मसंघर्ष यसमा जीवन्त भएर आएको छ । पूर्वीय ज्ञानको अरुणिमा देखाउनु यस आख्यानको सामर्थ्‍य हो ।

आख्यानमा केही सामयिक प्रश्नहरू पनि छन् । घरपरिवार त्यागेर हिँडेका संन्यासीले आश्रममा सम्पत्ति किन, केका लागि र कसरी सञ्चय गरे ? आश्रमको वैभव के संन्यासको विपरीत छैन ? घाटका शवासनहरु किन मौन छन् ? यिनको मौनता किन लाउड छ ?

औपन्यासिक अर्थमा ‘निर्वेद’ भन्नु वैराग्य हो । ज्ञान, विचार, भाव, सुख–दु:ख, परिवार, मान–अपमान आदिबाट विरक्त अवस्था । नाम, उपाधि, राग, वासना, विषय र भावको शून्य स्थिति । निर्वेद मोक्षसम्म पुग्ने अनिवार्य खुट्किलो हो । भावमा अभावको, उपस्थितिमा अनुपस्थितिको, ज्ञानमा अज्ञानको बोध वैराग्य अर्थात् निर्वेद हो । निर्वेद त्यो बिन्दु हो, जसबाट बटुवा आफ्नो गन्तव्यको आभा दर्शन गर्छ ।

उपन्यासका सम्पूर्ण घटनाक्रम शृंखलाबद्ध छन् । यसको मेनुमा घाट, चिता, मृत्यु, नैराश्य जीवनका तमाम विषय अटाएका छन् । यसले काव्याख्यान या काव्यान्यासजस्तो भान पनि दिन्छ । भाषा, शैली र शिल्प मौलिक छ । शैलेन्द्र अधिकारीले एउटा आख्यानात्मक सम्भावना देखाएका छन् ।

पूर्वदीप्ति शैलीमा लेखिएको यो उपन्यासको वाचन बलियो छ तर पाठकले अन्त्यको भेउ पहिल्यै पाइसक्छन् । नमे अर्थात् नमराज योगी निर्वाणानन्द बनेको कथा त्यति विश्वासिलो छैन । कथामा ट्वीस्ट दिन सक्नु पनि सिर्जनशील लेखकको प्रतिभाको द्योतक हो । 

आध्यात्मिक कथावस्तुको निबन्धात्मक वर्णन भएकाले कथा अलि अमूर्त पनि लाग्छ । संस्कृत पृष्ठभूमि र आध्यात्मिक रुझान नभएका पाठकलाई अलमलाउन पनि सक्छ । निर्वेद नेपाली आख्यानको चल्तीकै भूमरीमै अलमलिएको छ कि साँच्चै पृथक छ ? त्यो त पुस्तक हातमा लिएपछि नै पक्का हुन्छ । 

पुस्तक :निर्वेद

लेखक : शैलेन्द्र अधिकारी

प्रकाशक : शिखा बुक्स

पृष्ठ : २५१

मूल्य : ३५० रुपैयाँ

प्रकाशित: पुस २३, २०७६

×