बस्ती–बस्तीमा उद्यम : १३ हजार उद्योगमा ७३ हजारको रोजीरोटी

पछिल्लो समय रूपन्देहीका बस्ती–बस्तीमा घरेलु तथा लघु उद्यम सुरु भएका छन् । लघु उद्यमले हजारौँलाई रोजीरोटीसमेत जुटाइदिएका छन् ।

- अमृता अनमोल

बुटवलकी वसन्ती खत्री अहिले मासिक ६० देखि ९० क्विन्टलसम्म अचार बनाउँछिन् । अचार बनाउनैका लागि पूर्णकालीन १८ र स्टलमा लैजाने थप २८ आंशिक कामदार छन् ।

५२ थरी अचार बनाउने वसन्तीले २५ थरीकै व्यावसायिक कारोबार गर्छिन् । मासिक १२ लाखभन्दा बढीको कारोबार गर्छिन् । वसन्तीको अचार ४५ जिल्लामा बिक्रीका लागि जान्छ भने देशबाहिर कोसेलीका लागि पनि लैजाने थुप्रै छन् ।

उनले २८ वर्षअघि ५० रुपैयाँको सामग्री किनेर अचार बनाउन थालेकी हुन् । “अमिलो, कागती, मूला, गाजर, सिमी, बोडी, अमला, बयर, खुर्सानी, करेला, तामा, इस्कुस, लसुनलगायत अचार बनाउँछु,” उनी भन्छिन्, “विदेश जानेले कोसेलीका रूपमा पनि मासिक एक क्विन्टलजति लैजान्छन् ।”

अचारबाट वार्षिक २२ लाख बराबरको कारोबार हुने सुनाउँछिन्, वसन्ती । उनले तालिम दिएका २५ महिला अचारकै कारोबार गर्छन् । 

सात वर्षअघि शुद्धोधन गाउँपालिका फर्साटिकरमा भगवती चुरा उद्योग खोलिन्, यमुना चापागाईंले । ८ हजार रुपैयाँबाट उद्योग सुरु गरेकी चापागाईंले बुटवलदेखि पोखरा र काठमाडौँसम्म चुरा पुर्‍याउँछिन् । उद्योगमा १८ महिलाले रोजगारी पाएका छन् । उनले तालिम लिएका २० भन्दा बढीले चुरा तथा पोते उद्योग खोलेका छन् ।

बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालित घरेलु तथा साना उद्योगमा काम गर्दै महिला ।

आफूले सिकेको सीप प्रयोगमा आउने, आर्थिक उपार्जन हुने, कम लगानीमा स्थापना गर्न र घरपरिवार मिलेरै चलाउन सकिने भएकाले पछिल्लो समय रूपन्देहीका बस्ती–बस्तीमा घरेलु तथा लघु उद्यम सुरु भएका छन् । लघु उद्यमले हजारौँलाई रोजीरोटीसमेत जुटाइदिएका छन् ।

१ लाखदेखि १० करोड रुपैयाँसम्म लगानी भएकालाई लघु, घरेलु तथा साना उद्योगमा सूचीकृत गरिएको छ । 

गत आर्थिक वर्षमा मात्रै रूपन्देहीमा १ हजार ८ सय नयाँ उद्योग थपिएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीको तथ्यांकअनुसार जिल्लामा १३ हजार ६५ वटा उद्योग दर्ता भएका छन् । तिनमा २१ अर्ब ८९ करोड ५५ लाख ४० हजार रुपैयाँ लगानी भएको छ । यसबाट ७३ हजार ७४ जनाले रोजगारी पाएका छन् । 

सबैभन्दा धेरै ६ हजार १ सय ९७ उद्योग उत्पादनमूलक छन् । यसमा ४७ हजार ५ सय ९४ जनाले रोजगारी पाएका छन् । 

दोस्रोमा ३ हजार ७ सय एक सेवामूलक उद्योग छन् । तिनमा ३ अर्ब ७९ करोड १५ लाख ४३ हजार लगानी छ । यसबाट १७ हजार ७ सय ६७ जनाले रोजगारी पाएका छन् । जिल्लामा २ हजार १ सय ३४ पर्यटन उद्योग छन् । सबैभन्दा कम पर्यटन क्षेत्रमा ४ हजार ५६ जनाले रोजगारी पाएका छन् । 

०३२ मा बुटवल औद्योगिक क्षेत्र स्थापनासँगै यहाँ साना तथा मझौला उद्योग खुल्न थालेका हुन् । बुटवल औद्योगिक क्षेत्रमा ६३ वटा उद्योग सञ्चालनमा छन् । त्यसैबेला खुलेको बुटवल टेक्निकल इन्स्टिच्युटबाट सीपयुक्त कामदार उत्पादन हुने र उनीहरूले नै उद्योग खोल्ने क्रम सुरु भएको हो । 

पछिल्लो समय होटल, प्लास्टिक, स्टिल, पाइप, चाउचाउ, बिस्कुट, दाल, मैदा, औषधी, बियरलगायत उद्योग थपिँदै गएका छन् ।

रूपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारीे सहज भारतीय नाका, सडक सञ्जाल र उद्योगी तथा मजदुरबीचको सुमधुर सम्बन्धले जिल्लामा उद्योग खोल्ने क्रम बढेको बताउँछन् । 

“कच्चा पदार्थ आयातका लागि दूरीका हिसाबले सबैभन्दा नजिक र सहज नाका बेलहिया हो । मधेस आन्दोलन र नाकाबन्दीको समयमा समेत यस नाकाबाट सहज रूपमा आयात–निर्यात भयो,” उनी भन्छन्, “उद्योग स्थापनाका लागि सहज वातावरण देखेपछि त्यसयता अन्यत्रका औद्योगिक घरानासमेत जिल्लामा आकर्षित भएका छन् ।” 

उद्योगमैत्री नीति र वातावरण, औद्योगिक क्षेत्र र तिनको पूर्वाधार विकास, चौबीसै घन्टा विद्युत आपूर्ति, रुग्ण उद्योगको पुनर्स्थापना र दक्ष जनशक्तिको व्यवस्था गर्न सके दोब्बर उद्योग बढ्न सक्ने उनी बताउँछन् । 

बुद्धजन्मस्थल लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले समेत रूपन्देहीमा उद्योग खुल्ने क्रम बढेको हो । 

बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालित घरेलु तथा साना उद्योग

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने लुम्बिनीको बढ्दो प्रचारले पर्यटन र सेवामूलक उद्योगमा बाहिरी जिल्लाका मात्रै होइन, बाह्य मुलुकको लगानीसमेत बढ्दै गएको बताउँछन् । “अन्यत्रको तुलनामा भौतिक र लगानी दुवैको सुरक्षानुभूति छ । यसले सर्वसाधारणमा समेत औद्योगिक चाहना बढेको पाइन्छ,” उनले भने, “तीव्र रूपमा भौतिक पूर्वाधार र विकास निर्माणका काम हुँदै गर्दा उद्योग खुल्ने क्रमसमेत बढेर गएको छ ।”

बाह्य तयारी खाजाको आयातले कुनै बेला बन्द भएका रूपन्देहीका खाद्य उद्योग अहिले खुलेका छन् । उत्पादनको शैली र स्वाद फेरेर उद्योग स्थापना भएका हुन् । घरेलु तथा साना उद्योग रूपन्देही कार्यालयमा ३ सय ५० खाद्यान्न उद्योग छन् । “उत्पादन, उपभोग र वितरण तीनै हिसाबले जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि छ,” बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल भन्छन् ।

खुला सीमाका कारण घरेलु उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु, लघु उद्यमीको लघुवित्तसम्म पहुँच नहुनु, बैंकको ब्याज उच्च हुनु, सीपयुक्त जनशक्ति नपाउनु, बजारसँगको सम्बन्ध बलियो नहुनुले कतिपय परम्परागत उद्योग अझै पनि खुम्चिएका छन् ।

प्रादेशिक योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमका अनुसार त्यस्ता उद्योगको संरक्षण र विस्तारका लागि नीति बनाइएको छ । “उद्योगीका लागि सरकारले दिने अवसरसँगै आफैँले पूरा गर्नुपर्ने चुनौती देखिएका छन्,” उनी भन्छन्, “उद्योगीले पनि उत्पादनमा गुणस्तर कायम गर्न, प्रतिस्पर्धी बनाउन, रुग्ण हुन नदिन र नवीनतम प्रविधि भित्र्याउन भूमिका खेल्नुपर्छ ।”

प्रकाशित: पुस २४, २०७६

×