किसान आन्दोलन पछिको तीतो चिया

- सुरेश किरण

सधैँजस्तो बिहानी । सधैँको जस्तो चिया । पकाउने पनि सधैँकै जस्ती श्रीमती । तर एक सुर्को खाएपछि लाग्यो, चियाको स्वादचाहिँ सधैँको जस्तो थिएन । कारण थियो, श्रीमतीले चिनी हाल्न बिर्सेकी रहिछन् । 

‘प्रिय, तिमीले आज पनि चियामा चिनी हाल्न बिर्स्यौ । के भएको यस्तो ?’

उनले सम्झने कोसिस गर्दै भनिन् ‘हैन, चिनी त हालेकै हो ।’ उनले आफूले पनि एक सुर्को तानिन् । हो, चिनी त नभएकै रहेछ । चिनी नभएको मात्र होइन, तीतोसमेत थियो ।

उनी उठेर गइन् । चिनी लिएर आइन् । दुवैको कपमा एक–एक चम्चा हालिन् । घोलिन् । सुरुप्प तान्छु तर चिया त पटक्कै गुलियो छैन । तीतोको तीतै । दुवै छक्क । के भएको यो ? 

उनले फेरि अर्को एक चम्चा चिनी हालिन् । राम्ररी चलाइन् । फेरि तान्छु । तर अहा, स्वाद त फेरि तीतोको तीतै । एक कप चियाले तीन चम्चा चिनी खाइसक्यो तर पनि स्वाद भने अझै दिएको छैन । के हुँदै छ यो ? 

उनले फेरि चिनी थपिन् । स्वाद लिन्छु, तीतै । त्यसपछि एक एक चम्चा मैले पनि थपेँ । तर अहँ, चिया पटक्कै गुलियो भएन । 

‘यो त जादू टुनामुना गरेजस्तो पो भएछ । के भएको ?’ मैले सोधेँ ।

‘खोइ । हिजोसम्म यही चिनी प्रयोग गरेकी हुँ । ठीकै थियो । आज अचानक के भएछ ?’ उनले पनि मलाई सोधिन् । 

‘कतै भारतले गुलियो जम्मै झिकेर दाना मात्रै त पठाएन ?’ मैले प्रश्न राखेँ ।

हामी छलफल गर्दै थियौँ, अचानक बाहिरबाट आएको कोलाहलले ‘डिस्टर्व’ गर्‍यो । झ्यालबाट बाहिर हेर्छु, सडकमा जुलुस आएको रहेछ, उखु किसानको । 

प्रकाशित: पुस २८, २०७६

ट्याग: परिहास
×