कमरेड जाने कार्यक्रममा जुत्ता निषेध गरौँ !
अब आइन्दा कमरेड जुन कार्यक्रममा जान्छन्, त्यो कार्यक्रममा जुत्ता निषेध गर्नुपर्छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि भएको जुत्ता प्रहारले म मर्माहत भएको छु । जसले प्रहार गरेको भए पनि यो राम्रो काम भने भएन । एउटा भूतपूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिमाथि जुत्ता हान्ने ! यसमा त पार्टी सतर्क हुनैपर्छ । फेरि–फेरि पनि यस्तो जुत्ता प्रहारजस्तो कार्य नहोस् । त्यसैले अब आइन्दा कमरेड प्रचण्ड जुन कार्यक्रममा जान्छन्, त्यो कार्यक्रममा जुत्ता निषेध गर्नुपर्छ । अर्थात्, कार्यक्रम स्थल जानुअघि जुत्ताचाहिँ बाहिरै फुकालेर जाने । यसो गर्यो भने कमरेड प्रचण्डमाथि पुन: जुत्ता प्रहारजस्तो कार्य नहोला कि ?
म यस्तै कुरा सोचिरहेको थिएँ । मित्र भजनलालले मलाई आएर भन्यो, ‘जुत्ता प्रहार एकदम गलत भएको छ ।’
विचार त मेरो पनि त्यही हो । भजनलालले भनेपछि विचार झन्सु दृढ भयो । भनेँ, ‘हो, प्रहार एकदम गलत हो ।’
‘म त भन्छु, यो एकदम खराब प्रहार हो ।’ भजनले भन्यो ।
‘म पनि त्यही भन्छु, प्रहार खराब नै हो ।’ मैले पनि थपेँ ।
मेरो र भजनको कुरा समानान्तर हिसाबले मिलिरहेको थियो ।
‘त्यति जाबो नजिक बसेर पनि टाउकोमा निशाना लगाउन नसक्नु साह्रै खराब थियो । त्यति निशाना पनि लगाउन नसक्नेले किन हानेको होला ?’
भजनको यो लाइनपछि भने मैले बुझेँ, खराब प्रहारको हाम्रो परिभाषा अलग–अलग दिशातिर जाँदै थियो ।
थ्यांक यु कोरोना !
कोरोना भाइरसले दुनियाँलाई नोक्सान पुर्याए पनि नेपाली कांग्रेसलाई भने राहतै दिलाएको छ । कोरोनालाई नै कारण देखाएर नेपाली कांग्रेसले भर्खरै एउटा निर्णय गरेको छ– अब
पार्टीले कुनै पनि ठूलो सभा, सम्मेलनहरु नगर्ने !
यो त पार्टीका लागि ठूलो राहत पो भएछ । सरकारले जे गर्दा पनि कांग्रेसले बोलेन भन्ने गुनासो आइरहेको थियो । कोही–कोही त देशमा कांग्रेस पार्टी भन्या कुनै चरो छ कि छैन यहाँ भनेरसमेत सोध्न थालेका थिए । तर कांग्रेसले बोलेर के गर्नु ? सभा र आमसभा गरेर पनि के गर्नु ? आफ्नै कार्यकर्ता आउँदैनन् ।
सरकारको विरोध गर्नुपर्यो कि कांग्रेसलाई गोकुल बाँस्कोटाको अनुहार याद आइहाल्छ कि क्या हो ! विरोध नगरी चुप लागिहाल्छन् । त्यसैले सरकारको विरोधमा कुनै कार्यक्रम गर्ने अवस्थासमेत पार्टीमा छैन । यस्तो अवस्थामा कोरोना आइदियो । कोरोनाले दुनियाँलाई त्राहिमाम बनाइसक्यो तर कांग्रेसलाई भने हाइसन्चो पारिदियो । आखिर कोरोनाकै निहुँ बनाएर भए पनि आमसभा–सामसभा त गरिरहनु परेन नि । अनि भएन त हाइसन्चो ? यसका लागि कोरोनालाई थ्यांक यु किन नभन्ने ?
हालै मात्र एउटा समाचार आएको थियो, राष्ट्रिय सभामा कांग्रेस फितलो भयो रे । वास्तवमा कांग्रेस कुनचाहिँ सभामा फितलो भएको छैन र ?
राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभा । सबै सभामा फितलो छ । अलि बलियो हुने भनेको उही आमसभा र कोणसभामा हो । अब त्यही आमसभा र कोणसभासमेत नगर्ने भनेपछि कांग्रेसले गर्छचाहिँ के त ?
टेपमा तोडमरोड

पूर्वसञ्चारमन्त्री कमरेड गोकुल बाँस्कोटाले आफ्नाबारे भनी सार्वजनिक भएको टेप नै नक्कली भएको दाबी गरेका छन् । दाबी मात्र कहाँ हो र ! उनी त अदालतै पुगेका छन् । गोकुलको जिकिर हो, उनको आवाजमा सार्वजनिक भएको त्यो टेप नक्कली हो । त्यसमा सबै कुरा तोडमरोड गरिएको छ ।
गोकुल कमरेडको दाबी आफैँमा अनौठो थियो । मलाई सोध्न मन लाग्यो, यदि त्यो टेप नक्कली हो, सक्कली अर्कै पो छ कि ? मैले उनका एक भूतपूर्व सहयोगीलाई सोधेँ, ‘के हो कमरेड, गोकुलजी त टेपै नक्कली हो भन्छन् ।’
उनले भने, ‘हो, त्यो टेप नक्कली नै हो । त्यसमा जम्मै कुरा तोडमरोड गरिएको छ ।’
‘के तोडमरोड भएको छ ?’
उनैले भने, ‘हेर्नुस्, टेपमा मन्त्रीज्यूले ७० करोड माग्नुभएको कुरा आएको छ । त्यो कुरा नै मिल्दैन ।’
‘किन मिल्दैन ?’
‘मन्त्रीज्यूले वास्तवमा माग्नुभएको १ अर्ब हो । त्यहाँ तोडमरोड गरेर ७० करोड बनाइएको छ । पूरै झुठमुठ हो ।’
‘हो र ?’ म चकित भएँ ।
‘अनि के त ?,’ पूर्वसहयोगीले थप्दै गए, ‘त्यहाँ मन्त्रीज्यूले कर्मचारीमाथि मु... वाला शब्द प्रयोग गरेको भनिएको छ । वास्तवमा मन्त्रीज्यूले प्रयोग गर्नुभएको मा..... वाला शब्द हो । त्यो पनि तोडमरोड नै हो । यति धेरै तोडमरोड भएपछि अब अदालत जानेबाहेक अर्को विकल्प पनि रहेन नि । रह्यो त ?’
सहयोगीजीको प्रश्न मेरो नाकमा आएर ठोकियो ।
ओली–गौतम सांगीतिक संवाद
वामदेव गौतम :
गाली त पुग्यो, अब ताली मन पर्यो
राष्ट्रिय सभावाला एक सिट खाली मन पर्यो
खाली मन पर्यो, मलाई खाली मन पर्यो
केपी ओली बा एक सिट खाली मन पर्यो ।
केपी ओली :
सधैँ खडा बानी तिम्रो कडा मन पर्यो
डाङडुङ गर्ने शैली मलाई बडा मन पर्यो
बडा मन पर्यो, बानी कडा मन पर्यो
तैपनि मलाई भने खतिवडा मन पर्यो ।