सन्दकपुरको झुल्के घाम
टाढाटाढाबाट सूर्योदय दृश्यावलोकन गर्न सन्दकपुर आएका पर्यटक भ्यु प्वाइन्टमा टेन्ट टाँगेरै अघिल्लो दिन बेलुकादेखि तस्बिर खिच्ने चाँजोपाँजो मिलाउँछन् ।
मंसिर–पुसको शीत र तुषारोसँगै ठिही लाग्ने चिसो । चिसोको वर्णन गरिसाध्य छैन । तैपनि बिहान ४ बज्दा नबज्दै हुलका हुल बाँधेर सूर्योदय हेर्न पुग्नेहरूको भीडले जाडोको कुनै पर्वाह गर्दैन । यो सिजन मौसम खुलेकाले पनि सूर्योदय अवलोकन गर्न आउनेको संख्या दैनिकजसो बढिरहेको छ ।
इलाम र पाँचथरलाई भारतको पश्चिम बंगालसँग सिमाना जोड्छ, सन्दकपुरले । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा अवस्थित सन्दकपुरबाट सूर्योदय हुँदै गरेको दृश्य हेर्न यतिखेर नेपालसहित बंगलादेश, चीन र भारतका विभिन्न स्थानबाट आन्तरिक र बाह्य पर्यटक ओइरिएका छन् ।
मिर्मिरे उज्यालो हुनु एक घन्टाअगावै डाँडाकाँडामा घामको टहकले पूरै उज्यालो हुने, विस्तारै उत्तरी मोहडामा रहेको कञ्चनजंघा र कुम्भकर्ण, त्यसपछि सगरमाथाको चुचुरामा टहक पार्दै झुल्किने घाम । त्यो बेलाको दृश्य साँच्चिकै मनमोहक र लोभलाग्दो हुन्छ । त्यही भएर टाढाटाढाबाट सूर्योदय दृश्यावलोकन गर्न सन्दकपुर आएका कतिपय पर्यटक भ्यु प्वाइन्टमा टेन्ट टाँगेरै अघिल्लो दिन बेलुकादेखि तस्बिर खिच्ने चाँजोपाँजो मिलाउन थाल्छन् ।
सन्दकपुर क्षेत्रबाट देखिएका कञ्चनजंघा र कुम्भकर्ण हिमशृंखला
कोही त खुला आकाशमुनि कम्बल ओढेरै सूर्योदय हेर्न पर्खिरहेका भेटिन्छन् । मानव बस्तीबाट टाढा रहेको सन्दकपुरमा नेपालीले सञ्चालन गरेका तीन र भारत सरकारले सञ्चालन गरेका गरी दर्जन होटल सञ्चालनमा छन् । त्यसबाहेक छेउछाउका गोठमा पनि यतिखेर पर्यटकले बस्ने ठाउँ पाउन मुस्किल हुन्छ ।
सन्दकपुर बजारमा सञ्चालित भारतीयका होटलमा प्रयोग हुने पानी नेपालका कन्काईमाईको शिरबाट ल्याइन्छ । ती होटलमा बालिने दाउराको स्रोत पनि नेपालकै जंगल हो । यति मात्रै होइन, सन्दकपुर पुग्न पर्यटकले इलामको माई जोगमाई र पाँचथरको फालेलुङ गाउँपालिकाका सडक प्रयोग गर्छन् ।
सन्दकपुरका भ्यु प्वाइन्टमा सूर्योदयको प्रतीक्षा गर्दै पर्यटक ।
भारततिरबाट यहाँ आउन ब्रिटिस सरकारले खनिदिएको ग्राभेल सडक छ । यो चौँरीपालन क्षेत्र र दुर्लभ प्रजातिको वासस्थान तथा जडीबुटीको पकेट क्षेत्र पनि हो ।
विविधतायुक्त क्षेत्रमा घुम्न आउने पर्यटक नेपाली भूमिमा घुमे पनि पर्याप्त होटल र लज सञ्चालनमा नरहेकाले नेपाली भूमि घुमेर रमाए पनि आम्दानीचाहिँ नेपालले लिन सकिरहेको छैन ।
सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न होटल–लजसँगै सञ्चार र विद्युत्जस्ता पूर्वाधार विकास आवश्यक रहेको सन्दकपुरका होटल व्यवसायी पिासाङरिञ्जी शेर्पा टिप्पणी गर्छन् ।
सूर्योदय हेर्ने तयारी ।
शेर्पाका अनुसार सन्दकपुरमा सिजनमा पाँच सय जनासम्म पर्यटक पुग्ने गरेका छन् । सोही कारण सिजनमा यस स्थानका होटल पर्यटकले भरिभराउ हुन्छन् ।
सन्दकपुर आसपासमा चारराते, महलेकोठी, फालौट, तीनसिमाना, जलजले, भैँसेपोखरी, आहालभन्ज्याङ र गोरुवालेजस्ता पर्यटकीय गन्तव्य छन् । सन्दकपुरमाथिको भ्यु प्वाइन्टबाट नेपालका पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, झापा, मोरङ र सुनसरी हुँदै कोसी ब्यारेजसँगै भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका विभिन्न स्थान सहजै देख्न सकिन्छ । ६१ किलोमिटर दूरीमा रहेको भारतको दार्जिलिङ बजारमा राती बल्ने बत्तीको सौन्दर्यले पर्यटकको मन अझै आकर्षित गर्छ ।
पर्यटकको चहलपहल हुने सन्दकपुरलाई पाँचथरको फालेलुङ तथा इलामको सन्दकपुर र माई जोगमाईले सिमाना छोएका छन् । यस क्षेत्रमा होटल–लज, रेस्टुराँ, भ्यु प्वाइन्ट र होमस्टे तथा गोठस्टे सञ्चालन व्यवस्थितसँग गर्न सके तीन वटै पालिकाको आम्दानी बढ्ने सम्भावना छ । त्यसैले फालेलुङ गाउँपालिकाले इलामका दुइटै स्थानीय तहसँग समन्वय गरी सामूहिक लगानीका लागि सम्भाव्यता अध्ययन सुरु गरेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ बताँउछन् ।
सन्दकपुर क्षेत्रमा रहेका चौँरीगोठमा चौँरी दुहिँदै र चर्दै गरेका चौँरी
यो क्षेत्र झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर हुँदै सन्दकपुर, फालौट, चिवाभन्ज्याङ र तिम्बुङ पोखरी हुँदै कञ्चनजंघा पुग्ने पदमार्ग पनि हो ।
पदमार्ग व्यवस्थित गर्दै ठाउँठाउँमा पर्यटकका लागि पूर्वाधार बनाउन सके मेचीका इलाम, पाँचथर र ताप्लेजुङको समृद्धिमा टेवा पुग्ने केही समयअघि सन्दकपुर पुगेका भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ सम्भावना औँल्याउँछन् ।
सन्दकपुर बजारमा पर्यटकहरूलाई लक्ष्य गरी होटलहरू बन्ने क्रम पनि जारी छ ।
तीन वटै जिल्लाका स्थानीय तहले दिगो विकासका लागि सामूहिक कार्ययोजना बनाएर प्रस्ताव पेस गरे पदमार्ग निर्माणका लागि लगानी वातावरणमा सहजीकरण हुने नेम्वाङको तर्क छ ।
सन्दकपुर क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यलाई थप व्यवस्थित गर्दै थप पूर्वाधार बनाउन सके यस क्षेत्रमा थप पर्यटक आकर्षित हुने पक्का छ ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...