नजिकको तीर्थ हेलाँ
के नेपाली भाषाका मौलिक नाटक आजको रंगमञ्चमा मञ्चन गर्न योग्य छैनन् ?

अहिले नेपाली रंगमञ्च ‘गोल्डेन एज’मा छ । राजधानीका मुख्य चारवटै निजी नाट्यशाला मण्डला, थिएटर मल, शिल्पी र थिएटर भिलेजमा नबिराई नाटक मञ्चन भइरहेका छन् । तर, अधिकांश विदेशी अनूदित नाटक नै हुन्छन् । थिएटर भिलेजले मञ्चन गरेको यर्मा, मालिनी र भर्खरै प्रदर्शित ह्यामलेट रूपान्तरित नाटक हुन् ।
यर्मा स्पेनिस नाटक हो भने मालिनी नोबल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरको कथाको नाट्य रूपान्तरण । भर्खरै प्रदर्शित ह्यामलेट सेक्सपियरको नाटक हो । यी सबै नाटकको निर्देशन विमल सुवेदीले गरेका थिए । थिएटर भिलेजले एक्टर्स स्टुडियोको सहकार्यमा पनि विदेशी नाटकहरू मञ्चन गरेको थियो । अनुप बरालको निर्देशनमा प्रस्तुत कोर्ट मार्सल, थर्टी डेज इन् सेप्टेम्बर र केही हिन्दी कथाको नाट्य रूपान्तर सबै विदेशी (भारतीय) नाटकको रूपान्तरित प्रस्तुति थियो ।
उता शिल्पीले पनि विदेशी नाटकहरूलाई नै केन्द्रमा राखेर घिमिरे युवराजको निर्देशनमा बर्नाड शको द एप्पल कार्टको रूपान्तरण उलार, र इब्सनको पिलर्स अफ सोसाइटीको रूपान्तरण समाजका नाइके, गंगा तिवारीको निर्देशनमा मोलिएरको तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला र प्रवीण खतिवडाको निर्देशनमा इब्सनको दी हेड्डा ग्याब्लर, र जीवन बरालको निर्देशनमा मोलिएरको मिसेस अफ दी इनको रूपान्तरण पाहुना घरकी साहुनी प्रस्तुत गर्यो । शिल्पी थिएटरले नै सुनील पोखरेलको निर्देशनमा सेक्सपियरको मिडनाइट अफ समर–सपना हालै मञ्चित गर्यो ।
यी नाटकघरमा प्रदर्शित नाटकहरूको संख्या गन्ती गर्दा थिएटर भिलेजले जगदीश घिमिरेको उपन्यास सावितीलाई सुनील पोखरेलको निर्देशनमा, सत्यमोहन जोशीको नाटक चारुमती, अभि सुवेदीको सान्दाजुको महाभारत र सञ्जीव उप्रेतीको मकैको अर्कै खेती विमल सुवेदीको निर्देशनमा मञ्चन गरेको देखिन्छ । यसमा पनि साविती उपन्यासबाट नाट्य रूपान्तकृत प्रस्तुति हो ।
शिल्पीले भवानी भिक्षुको कथा ‘हारजित’ र उपेन्द्र सुब्बाको कथा ‘लाटो पहाड’बाहेक सबै नाटकहरू विदेशी नाटकबाट अनुवाद गरिएका देखिन्छन् भने नेपालीमै प्रस्तुत गरिएका नाटक पनि मूल नाटक नभई कथालाई नाटकमा ढालेर प्रस्तुत गरिएका हुन् । सुनील पोखरेलद्वारा निर्देशित नाटक रसोमन जुन मण्डला नाटक घरमा मञ्चन गरिएको थियो, पनि जापानी लेखक रियोनुसुकेको कथाको नाट्य रूपान्तरण थियो ।
दुई दर्जनजति नाटक गरिसकेका मण्डला थिएटरका राजन खतिवडा आफ्नो नाट्यघरमा हिन्दीको चरणदास चोर, अंग्रेजीको एपिसोड इन दी लाइफ अफ एन अथरको नेपाली रूपान्तरण र माइलो र मिस जुली तीन नाटक विदेशी नाटकबाट अनुवाद गरी मञ्चन गरिएको बताउँछन् ।
अब प्रश्न उठ्छ– के नेपाली भाषाका मौलिक नाटक आजको रंगमञ्चमा मञ्चन गर्न योग्य छैनन् ? अग्रज नाटककार सत्यमोहन जोशी विदेशी नाटक प्रदर्शन गर्ने प्रचलनलाई ठाडै अस्वीकार गर्छन् । “विदेशी नाटकलाई अनुवाद गरेर मञ्चन गर्न सकिने तर मौलिक नाटकलाई प्रश्रय नै नदिने कुरा ठीक होइन ।” उनका विचारमा मौलिक नेपाली नाटक मञ्चीय दृष्टिले कलात्मक त छन् नै साथसाथै विदेशी नाटककै तुलनामा व्यावसायिक पनि हुन सक्छन् । उनी आफूले त्यसैबेला पनि फर्केर हेर्दा नाटकको मञ्चन गरेर स्याबासी कमाएका थिए ।
जोशी फर्केर हेर्दा या अनि देउराली रुन्छ जस्ता त्यसबेलाका औधी लोकप्रिय नाटकहरू फेरि मञ्चन गर्दा आजका दर्शकले पनि रुचाउनेमा ठोकुवा गर्छन् । अहिलेका निर्देशक र कलाकार पहिलेका भन्दा तुलनात्मक रूपमा बढी रंगमञ्चीय शिक्षा र ज्ञान आर्जन गरेका छन् । यिनले ती नाटक गरे भने अझ सशक्त हुन सक्छ भन्ने उनको तर्क हो । भन्छन्, “विदेशी नाटक नै किन गर्नुपर्यो ? पुरानै नेपाली नाटकहरू गर्दा पनि हुन्छ, नयाँ नाटककारलाई लेखाएर मञ्चन गराउँदा पनि हुन्छ ।”
बालकृष्ण समको नाटकमण्डलीदेखि आजका पुस्ताका रंगकर्मीहरूसँग समेत समान रूपमा सहकार्य गर्दै आइरहेका रंगमञ्च समालोचक एवं निर्देशक हुन्, प्रचण्ड मल्ल । उनी सम, गोपालप्रसाद रिमाल, गोविन्द मल्ल, विजय मल्ल या भीमनिधि तिवारी सबैका नाटकहरू आज पनि त्यत्तिकै सान्दर्भिक र मञ्चनयोग्य रहेको बताउँछन् । “दुई–तीन सय वर्षअघि विदेशीले लेखेको नाटक हाम्रो रंगमञ्चमा सामयिक हुन्छ भने सात–आठ दशकअघि लेखेको समको मुकुन्द–इन्दिरा या प्रेमपिण्ड किन मञ्चनयोग्य नहुने ?” उनी भन्छन्, “अझ मुकुन्द–इन्दिरा त पहिलो मञ्चित नेपाली मौलिक नाटक
भएकाले आजका रंगकर्मीले झन् महत्त्वका साथ मञ्चन गर्नुपर्छ ।”
आजका पुस्ताले नेपाली रंगमञ्चको इतिहास बनाउने नाटकहरू हेर्न चाहन्छन्, त्यसबेलाको नाट्यपरिवेश, समाज र नाटकको स्वरूप कस्तो थियो भन्ने कुरा देखाउनलाई पनि हाम्रै नाटकहरूको मञ्चन गरिनुपर्ने उनी सुझाव दिन्छन् । उनी आफूले तीन दशकअघि नै समको प्रेमपिण्ड मञ्चन सम्भव भयो भने आजको प्रविधिसम्पन्न रंगमञ्चमा जुनसुकै नाटककारको नाटक पनि प्रदर्शन गर्न
सकिने बताउँछन् ।
अर्का अग्रज रंगमञ्च निर्देशक एवं अभिनेता हरिहर शर्माका भनाइमा विदेशी नाटकलाई रूपान्तर गरी प्रस्तुत गरिनु नराम्रो होइन । यसले नेपाली दर्शक र रंगमञ्चको अध्ययन गर्नेलाई विदेशी नाटकहरूको प्रवृत्ति, तिनको साहित्यिक मूल्य, नाटककारले गरेका प्रयोग, शैली, भाव आदिको ज्ञान गराउँछ । साथै, विश्वप्रसिद्ध नाटकहरूको तुलनामा हाम्रा नाटकको स्तर र बुनोट कहाँ छ भन्ने कुरा पनि जान्ने मौका मिल्छ । “तर, विदेशी नाटक मात्र गरिरहनु उचित होइन,” शर्मा भन्छन्, “विदेशी नाटकका लागि गरिने मिहिनेत, लगानी र शिल्प नेपाली नाटकमा प्रयोग गरियो भने बढी सार्थक ठहर्छ ।” उनको तर्कमा यसबाट युवा पुस्ताका नेपाली नाटककारहरूलाई पनि नयाँनयाँ नाटक लेख्न प्रोत्साहन मिल्छ र समग्र नाटक साहित्यकै पनि विकास हुन्छ ।”
‘सर्वनाम’ नाट्य समूहका संस्थापक–निर्देशक अशेष मल्ल विदेशी नाटकको बढ््दो मञ्चनले दु:खी देखिन्छन् । विदेशी नाटक गर्दै गर्नु हुँदैन भन्ने आग्रह उनको होइन तर मञ्चनयोग्य नेपाली नाटक नै छैन भन्ने भान हुने गरी एकोहोरो विदेशी नाटक मात्र मञ्चमा उतार्नु हुँदैन भन्ने तर्क उनको हो । “यो प्रचलन समदेखि अहिलेको पुस्ताका नाटककारहरूको समेत अपमान हो,” उनी भन्छन्, “यहाँ सेक्सपियरका नाटक मञ्चन हुन सक्छन् भने समका नाटकहरू किन मञ्चन हुन सक्तैनन् ?” उनका भनाइमा हाम्रा नाटकघरमा सेक्सपियरका नाटक पचासौँपटक देखाउँदा हुन्छ भने सम या अरू नाटककारका नाटकहरू दसपटक देखाउँदा के बिग्रिन्छ ?
तर, आरोहणका निर्देशक सुनील पोखरेल यी कुरामा सहमत छैनन् । उनी आफ्नो ब्रह्मले खुट्याएको नाटक मात्र मञ्चन गर्न चाहेको खुलासा गर्छन् । त्यसमा स्वदेशी या विदेशीको ‘लेबल’ लगाएर मूल्यांकन गरिनु किमार्थ न्यायोचित होइन भन्ने तर्क उनको हो । भन्छन्, “रंगमञ्चमा आफ्नो शैली निर्माण गर्न या रंगमञ्चीय निरन्तरताका लागि उनीहरू जुनसुकै नाटक गर्न पनि स्वतन्त्र छन् ।”
नाटककार जोशी आफूतिर नफर्की नेपाली रंगमञ्चको विकास नहुने ठोकुवा गर्छन् । “आफूतिर फर्किनु भनेको ती पुराना कालजयी मौलिक नेपाली नाट्यकृतिहरूलाई मञ्चन गर्नु हो,” भन्छन्, “लेखिएकै मौलिक नाटकहरू पनि कालजयी छन् । यदि कसैलाई नयाँ नाटक नै चाहिएको छ भने आजका पुस्ताका नाटककारले त्यो पनि लेखिदिन सक्छन् । तर, प्रोत्साहन र टिमवर्क मुख्य कुरा हो ।” जोशी आफूले प्रोत्साहनकै कारण फर्केर हेर्दा नाटक लेखेको प्रसंग उठाउँछन् । उनी अलि हतास भावमा भन्छन्, “तर खै किन हो सबै विदेशी नाटकको मात्र मुख चिहाइरहेछन् ।”
प्रचण्ड मल्लका अनुसार कुनै समय हाम्रा नाटकले विदेशी नाटकहरूसँग मज्जाले प्रतिस्पर्धा गर्थे । तर, अहिलेको रंगमञ्च विदेशी नाटकको धरातलमा उभिएको प्रतीत हुन्छ । नाटक भनेको मञ्चनका माध्यमले कुनै कथा मात्र भनिने होइन । यसले त आफ्नो राष्ट्रको समकालीन वस्तुस्थिति, समाज, जनजीवन आदि समग्र पक्षलाई अभिव्यक्त गरेको हुन्छ । मल्ल भारतको उदाहरण दिँदै भन्छन्, “भारतीय रंगमञ्च हामीभन्दा कता हो कता माथि छ तर त्यहाँ पनि विदेशी होइन, हिन्दी या अन्य प्रादेशिक भाषाका नाटक नै बढी मञ्चन गरिन्छन् ।”
शर्माका अनुसार उनीहरूमार्फत विदेशी रंगमञ्चमा हाम्रा मौलिक नाटकहरू प्रस्तुत भए भने अझ सार्थक हुन्छ । यसका माध्यमले नेपाली रंगमञ्चको मौलिक शैली पनि निर्माण हुन्छ र नेपाली नाट्य साहित्य, समाज, संस्कृति तथा नेपाली जनजीवन अन्तर्राष्ट्रिय रंगमञ्चमा प्रतिविम्बित हुन पुग्छ । साँचो अर्थमा त्यो नै पूर्ण र मौलिक नेपाली रंगमञ्च पनि हुन पुग्छ ।” त्यसैले अनूदित नाटकहरू सँगसँगै मौलिक नेपाली नाटक पनि मञ्चन हुनुपर्छ । उनको अध्ययनमा नेपालमा अझै ५० वर्षलाई पुग्ने मौलिक र सशक्त नेपाली नाटक छन् ।
र, अहिले अशेष मल्ल यस्तै नाटककारहरू जन्माउन तल्लीन भएर लागिपरेका छन् । उनको गुनासो यति मात्र हो– सम, मल्ल बन्धु या अग्रज नाटककारहरूले आफ्नो ‘लिगेसी’ नाटककार जन्माएनन् । त्यसैले तिनीहरूले आफनो जीवनकालमा जे गरे फेरि अर्को पुस्ताले तिनलाई पछ्याउन सकेन । तर, उनी सर्वनाम नाट्य समूह अन्तर्गत नाटक–लेखन विधामा डेढ दर्जनजति रंगकर्मीलाई नाटक लेखनको प्रशिक्षण दिइरहेका छन् । “मेरो उद्देश्य सानै किन नहोस् तर नयाँ पुस्ताका रंगकर्मीले नाटक पनि लेख्न सिकून् भन्ने हो,” भन्छन्, “अहिले २० मिनेटको नाटक लेख्न सक्नेले भोलि सजिलै दुई घन्टाको नाटक लेख्न सक्छ ।”
तर, सुनील पोखरेलको मत एकदम भिन्न छ । उनी आफ्नो रहरले नाटक गर्छन् । त्यसैले विदेशी नाटक गर्नु कुनै अनर्थ होइन । “हामीलाई सरकारले या भगवान्ले अह्राएर नाटक गरिरहेका छैनौँ,” भन्छन्, “म आफूलाई मन परेको र मेरो आत्माले स्वीकारेको नाटक गर्न स्वतन्त्र छु । यसमा कसैले भाँजो हाल्न सक्तैन । अब मलाई विदेशी नाटक नै गर्न मन लाग्छ त म के गरूँ ?” उनी रंगमञ्चलाई जीवन्त
राख्न चाहन्छन् ।
शिल्पी थिएटरका घिमिरे युवराजको अनुभवमा हामीकहाँ देश, काल र परिस्थिति सुहाउँदा र मञ्चनमा लैजानका लागि भनेजस्ता नाटक नै छैनन् । जति नाटक छन्, ती आजको समय र परिवेशसँग सान्दर्भिक नै छैनन् । यिनले आजको नेपाली समाजलाई प्रतिनिधित्व र समयलाई प्रतिविम्बित नै गर्दैनन् । “विदेशमा दुई सय वर्षअघि लेखिएका नाटकहरूलाई हामी हाम्रै परिवेशमा ढालेर अनुवाद गर्छौं र मञ्चन गर्छौं । यस्ता खालका नाटकले आजको हाम्रो समाजको ठ्याक्कै चित्रण गर्छन्,” घिमिरे भन्छन्, “हाम्रा पुराना नाटकको समस्या के भने यिनले आजको समय बोल्नै सक्तैनन् । अनि, कसरी नेपाली नाटक मञ्चन गर्नू ?” उनको बुझाइमा उत्कृष्ट मानिएका पुराना चर्चित नेपाली नाटकमा ठूलो समयान्तर छ ।
तर, अशेष मल्ल यो कुरा स्वीकार्न तयार छैनन् । बेलायतले सेक्सपियरलाई नाटकमा आफ्नो भगवान् नै मान्छ र विश्वको कुनै न कुनै स्थानमा प्रत्येक दिन उनका नाटकलाई गीताजस्तो मानेर मञ्चन गरिन्छ । यो सेक्सपियरलाई सम्मान दिएका कारण सम्भव भएको हो । उनी प्रश्न गर्छन्, “अब हामीले समलाई नेपाली नाटकको भगवान् किन नमान्ने ? हामी विश्वभरि नै जहाँजहाँ हाम्रो प्रस्तुति लैजान्छौँ, त्यहाँत्यहाँ समका नाटक देखाउन सक्छौँ भन्ने प्रण किन नगर्ने ?”
(तस्बिरहरू : केशव थापा)