नाटकघरमा उज्यालो फर्केला ?
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस

सामाजिक सञ्जालका भर्चुअल पर्दामा नाट्य मेला गर्नुपर्ला भनेर सोचेका पनि थिएनन्, रंगकर्मी केदार श्रेष्ठले । कोभिड–१९ को महामारीपछि जारी लम्बेतान लकडाउनमा त्यो अनुभव लिनैपर्ने बाध्यता पर्यो । उनलाई हेक्का नभएको होइन, नाटक हमेसा दर्शकसँगै रहेर प्रत्यक्ष अभिनय गरिने विधा हो । कहाँ सिनेमा ! कहाँ नाटक !
विश्व रंगमञ्च दिवसका छेको पारेर कीर्तिपुरस्थित थिएटर मल रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा ०७६ को १४ चैतदेखि २९ सम्म ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ चल्यो । हरेक साँझ ५ बजे २० वटा नाटक फेसबुकमा लाइभ स्ट्रिमिङ भए ।
११ चैतमा सरकारले घोषणा गरेको लकडाउन ५६ औँ दिन पनि जारी छ । १५ दिने थप किस्ताको घोषणा भइसकेको छ । गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइनमा पसेका रंगकर्मी उकुसमुकुसिएर त्यत्तिकै बसेनन् । सम्झिरहे आफ्ना प्रिय दर्शकलाई ।
लकडाउनपछि लाखौँ स्कुले बालबालिका घरेलु क्वारेन्टाइनमा छन् । तिनीहरूलाई मनोरञ्जन गराउने कोसिस पनि तिनै रंगकर्मीले गरे । स्कुल थिएटर नेपाल र लालाबालाको आयोजनामा फेसबुक लाइभमै ‘मेरै घर, मेरो मञ्च’ नामक बाल नाट्य महोत्सव भयो, ३ वैशाखदेखि १२ सम्म ।
महोत्सव निर्देशक टंक चौलागाईंका अनुसार महोत्सवमा बिहान र बेलुकी ३५ प्रतियोगी र १० अप्रतियोगी छोटा भिडियो नाटक देखाइए । एउटै सेटमा, पज–एडिट नगरी, दुई जना कलाकारले अभिनय गरेका ती नाटकमध्ये उत्कृष्ट पाँच छनोट हुने क्रममा छन् ।
“देशभरिका मात्र होइन, श्रीलंकाबाट पनि नाटकको भिडियो आयो, धेरैजसोले कोरानाकै विषयमा आफ्नो कला र सिर्जनशीलता देखाए,” चौलागाईं भन्छन्, “पाँच मिनेटसम्मका नाटकमा उत्साही बालबालिका मात्रै नभएर अभिभावकले पनि अभिनय गरेका थिए ।” महोत्सवका निम्ति २० चैत ०७६ मै नाटक आह्वान गरिएको थियो ।
“लकडाउनको बेला घरभित्र रहनुजत्तिकै जरुरी छ, रचनात्मक काममा अभ्यस्त रहनु,” लालाबालाका प्रकेश सिन्धुलीय थप्छन्, “यस्ता कार्यक्रमले बालबालिकाको अभिनय कला निखार्नुका साथै पढ्ने, लेख्ने, बुझ्ने र बोल्ने कला अभिवृद्धिमा सघाउँछन् ।”
त्यसो त भर्चुअल नाटकको अभ्यास नेपालमा पहिलो हो । भारत र अमेरिकामा भर्चुअल नाटक भइरहेकै छन् । यसले रंगमञ्च र देशविदेशका दर्शकबीच सामीप्य बढाएको छ नै । भिडियोमार्फत नाटक हेर्दा आफ्ना कमीकमजोरी जान्ने मौका मिलेको अनुभव रंगकर्मीहरूको छ ।

भर्चुअल प्लेटफर्मको चमकदमक कति छ भने शिल्पी थिएटरले लकडाउनमै आफ्ना पूर्वप्रदर्शित १० वटा नाटक युट्युब च्यानलमा राखेको छ । बाथटब, कोमा : अ पोलिटिकल सेक्स, समाजका नाइके, पाहुनाघरकी साहुनी, एलो कमेडी, हेड्डा ग्याब्लर आदि नाटकले थुप्रै भ्युज पाइरहेका छन् ।
पहिले हेरिसकेका दर्शकले नाटकमा फिल्मी स्वाद पाएका छन् भने नाटकघर नगएका दर्शकका निम्ति नौलो अनुभव । थिएटर मलका निर्देशक केदार श्रेष्ठ नाटकलाई नै भर्चुअल रुपमा प्रस्तुत गर्नु दुस्साहस नै भएको स्वीकार्छन् । “नाटक भर्चुअल माध्यम होइन तर अहिले रंगकर्मीसँग अन्य विकल्प पनि छैनन्,” केदार भन्छन्, “थुप्रैले लकडाउन खुलेपछि नाटकघरमै आएर नाटक हेर्ने वाचासमेत गरेका छन् ।”
त्यसो त भर्चुअल माध्यममा राखिएका नाटक मर्नुभन्दा बौलाउनु निको भनेजस्तै हो । मात्र अभिलेखनका लागि एउटै क्यामेरा एंगलमा सामान्य रुपमा खिचिएका छन् । तर नाटकका शक्ति विम्बात्मक रुपले देखाउनुमै छ । सिनेम्याटिक तरिकाले खिचेपछि त्यसको मर्म मर्छ नै ।
अनलाइनबाटै आगामी नाटकको तयारी पनि गरिरहेको बताउँछन् केदार । अनलाइन ग्रुप कन्फरेन्सबाट नाटकका स्क्रिप्ट पठन र विश्लेषण गरिरहेका छन् । एक्टर्स स्टुडियोका अनुप बरालको अर्को नाटकको तयारी पनि यसरी नै भइरहको छ ।
“रंगमञ्च सदैव मानव सभ्यता र मानवीयताको पक्षमा उभिँदै आएको छ, दर्शकसँग प्रत्यक्ष, सार्थक, सीधा र तीखो संवादका माध्यमबाट । तर अहिलेको परिस्थितिमा त्यो सम्भव छैन,” बरालको सन्देश छ, “यो संकटको समयमा नआत्तिऔँ । सतर्कताचाहिँ अपनाऔँ । दुष्कर र अँध्यारो समय छिट्टै जाला र एक दिन उज्यालो आउला ।” अनुपले पोखराबाटै एक्टर्स स्टुडियोको अनलाइन कक्षा लिइरहेका छन् ।
कौसी थिएटरकी आकांक्षा कार्की ‘एनिमल फार्म’ प्रदर्शनको सुरसारमा थिइन् । जर्ज अरवेलकृत उपन्यासको नाट्य रुपान्तरणमा लाग्दालाग्दै लकडाउन भइहाल्यो । तर नाटकको हुटहुटी कारण अनलाइन रिहर्सल जारी राख्न चाहिन् तर सुस्ते इन्टरनेटले त्यति साथ दिएन ।
‘योनिका कथाहरू’ की निर्देशक आकांक्षाको आत्मसमीक्षा के छ भने पछिल्लो समय नाट्य क्षेत्र सुस्ताएकै थियो । नयाँ प्रयोग खासै भएका थिएनन् । औसत नाटक मात्रै देखाइएका थिए । लकडाउनको बिसौनीले नाटकमा थप ऊर्जा, निखार र गुणस्तर देला कि भन्ने आशा छ उनलाई ।
आफ्नै घरको कौसीलाई नाटकघरमा बदल्ने यी साइकोलोजिस्टको आकलनमा नाटकघरहरू साविक स्थितिमा आउन कम्तीमा पनि १०–१२ महिना लाग्न सक्छ । “लकडाउन हट्दैमा नाटकघरका ढोका खुल्दैनन् । नाटकघर खुल्ने भनेको सबैभन्दा अन्तिममै हो,” उनी भन्छिन्, “यस्तो बेला दर्शकलाई नाटकघरमा बोलाउनु पनि गैरजिम्मेवारी हुन्छ । नाटकको जतिसुकै नियास्रो लागे पनि वा गर्छु भनेर ढिपी कसे पनि सम्भव छैन ।” त्यसैले रंगकर्मीहरूलाई गुजाराका लागि वैकल्पिक बाटो सोच्न उनको सुझाव छ ।

देशभरिमा १२ वटा नाटकघर छन् । राजधानीमा सर्वनाम, मण्डला, शिल्पी, शैली, थिएटर मल, कौसी र कुञ्ज थिएटर छन् । तीमध्ये सर्वनाम, कौसी र थिएटर मलबाहेक अरु भाडामै छन् । तिनले मासिक रुपमा ६०–७० हजारदेखि एक लाखसम्म भाडा बुझाउँदै आएका छन् । राजधानीबाहिर पोखरामा गन्धर्व, विराटनगरमा गुरुकुल र झोराहट र काँकडभिट्टामा परिवर्तन र दमकमा कदम थिएटर छन् ।
“कौसी थिएटर आफ्नै घरमा भएकाले भाडा तिर्नु पर्दैन । कोही जागिरे पनि छैन,” आकांक्षा भन्छिन्, “नाटकघर बनाएको ऋण छ । मान्छेहरू रोगले भन्दा भोकले मर्ने बेलामा सरकारसित पैसा देऊ भन्न कुन नैतिकताले जाने ?”
लकडाउनका कारण शिल्पी नाटकघरमा तीन प्रशिक्षार्थी अड्किएका छन् । प्राय: रंगकर्मी बिखर्ची छन् । तिनीहरू रंगकर्मका अतिरिक्त रेडियो नाटक, सिनेमा, विज्ञापन, स्कुल, कलेज आदिमा आंशिक काम गरेर गुजारा चलाउँथे । अहिले ती सारा काम ठप्प छन् । आकलझुक्कल सरकारी, गैरसरकारी संस्थाका विकासे काम गरे पनि बचत छैन ।
भूकम्पपछि मुख्य सहरबाट कीर्तिपुर सरेको थिएटर मलका केदार श्रेष्ठको शब्दमा अलिअलि माहोल पनि कोरानाले शून्यमा झारिदिएको छ । अब पुनर्जागरणका लागि लामो समय लाग्छ । धन्न उनकोनाटकघरले कीर्तिपुरको राराहिल मेमोरियल स्कुलको सहकार्यमा नि:शुल्क भवन पाएको छ । त्यसबापत रंगकर्मीले विद्यालयको अतिरिक्त क्रियाकलाप (ईसीए) मा सघाउँछन् ।
शिल्पीका घिमिरे युवराज संस्कृति मन्त्रालय, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान आदि सरोकारवालाले रंगकर्मीहरूको समस्या समाधानमा ठोस पहल लिनुपर्ने जिकिर गर्छन् । यसबाहेक कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्यासम्बन्धी नाटक लिएर ओपन थिएटरमा जान सकिने उनको विश्वास छ ।
“साहित्य, कला, संगीत समाजका सफ्टवेयर हुन् । सरोकारवालाले यसै रुपमा बुझ्ने हो भने पुनर्जागरण सम्भव छ,” उनी भन्छन्, “अहिले त हामीभन्दा पनि संकटमा परेका मानिसहरू छन् । तिनका अगाडि हाम्रो समस्या त्यति ठूलो होइन ।”
वरिष्ठ रंगकर्मी अशेष मल्ल लकडाउनमा पनि अनलाइन प्रशिक्षणमा व्यस्त छन् । नेपालकर्मीले सम्पर्क गर्दा उनी ग्लोकल स्कुलको अनलाइन एक्टिङ क्लासमा थिए । उनी अहिले रंगमञ्चबारे त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता देख्दैनन् ।
“अहिले हामीले रंगकर्मीभन्दा पनि नागरिक भएर सोच्नुपर्ने बेला छ । मानव अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने परेका बेला रंगमञ्च बाँच्छ कि बाँच्दैन भन्ने प्रश्न गौण हो,” अशेषको कथन छ, “आज जीवनरक्षा भयो र भोलि सामान्य अवस्थामा फर्क्यौँ त कविता लेखौँला, चित्र बनाउँला, कलाकर्म गरौँला नि ।”