इरफानको शक्तिशाली समय
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउटा फिल्मजस्तो छ ।
जिन्दगीमा छ नै के कुरा ? आनन्द नभएमा यात्राको के अर्थ ? यात्रामा निस्किएपछि दर्शकहरू घर फर्किनै नचाहुन्, उनीहरू यात्रामै आनन्दित भएर बसिरहन पाउन् ।
यात्रामा निस्किने सिनेमाको विशेषता दर्शकलाई यात्रामै लगिरहन सक्नु हुन्छ । ‘कारवान’ यही यात्राको दर्शनलाई बोकेर बनेको फिल्म हो ।
सिनेमाको एउटा जोडदार पक्ष इरफान खानको अभिनय छ भने अर्को संवाद । पटकथाले बोकेको अन्तरकथा, यात्राको सुखानुभूति । ‘रोड’ सिनेमाजत्तिको गुणस्तरको नभएपनि ‘कारवान’ कतिपय पक्षबाट सुन्दर देखिन्छ । संवादमा जोडदार पकड भएका इरफानका सिनेमामध्ये 'कारवान' पनि एक हो । इरफानकै कारण एउटा गम्भीर यात्रा गम्भीर मात्रै रहँदैन, मनोरञ्जनात्मक बनिदिन्छ ।
एनएसडीमा अभिनयमा सिकेपछि पहिलो पटक ठूलो पर्दामा १९८८ मा देखिएका थिए इरफान । सिनेयात्राको दौडमा उनको पहिलो पाइला मात्र १ मिनेट ३० सेकेन्डको भूमिकामा थियो । मात्र २१ वर्षका इरफानलाई सायदै ‘सलाम बम्बे’ मा कसैले याद गरेको थियो त्यो बेला । डेब्यु सिनेमामा देखिएको डेढ दशकसम्म इरफानको यात्रामा ब्रेक लाग्यो ।
ठूलो पर्दामा खेलेको पहिलो भूमिका नै ‘अन–नोटिस्ड’ भएको डेढ दशकपछि ‘हासिल’ फ्लिममा पुनः देखिए इरफान । २००३ मा तिग्मान्सु धुमिलले निर्देशन गरेको सिनेमा ‘हासिल’मा गरेको अभिनयमार्फत बल्ल सिनेक्षेत्रमा नोटिस्ड भए । तर, ठूलो पर्दाको अभिनयमार्फत नोटिसमा आउनुभन्दा अगाडि नै टिभी सिरियलमार्फत उनको नाम चर्चामा आइसकेको थियो ।
डेढ दशकसम्म टेलिभिजनको अभिनय यात्रामा दौडिरहेका इरफानको खास अभिनय शिल्प ‘हासिल’मा देखिएको थियो । रणविजय सिंहको भूमिकामा देखिएका थिए उनी । सिनेमा घरमा त्यो बेला लागेको ‘अरमान’ सँगसँगै ‘हासिल’ पनि फ्लप भयो । तर, जब सिडी प्लेयर, ल्यापटप, इन्टरनेटको जमाना आयो, हासिलको एकपटक फेरि पुर्नजन्म जस्तै भयो । यो सिनेमालाई नयाँ माध्यमबाट अत्याधिक हेरिएको थियो ।
‘हासिल’ सिनेमामा रणविजयको भूमिकामा इरफानले निकै हलुकासँग अभिनय गरेका छन् । एकातिर अभिनयमा ‘नेचुरल एक्टिङ्ग’ छ भने अर्कातिर दृश्यलाई तुलनात्मक रुपमा न्याय गरेका छन् । त्यो समयमा जुन रुपमा स्थापित भएका कलाकारहरूको अभिनय थियो, त्यो भन्दा विलकुल फरक अभिनय इरफानले गरेका छन् । हासिलकै अभिनयलाई हेर्दा पनि इरफानको अभिनय त्यत्ति बेला अन्य कलाकारको भन्दा स्तरीय लाग्छ । जुन रुपमा संवादलाई प्रवाह गर्ने शैली इरफानको छ, त्यो चलिआएको शैलीभन्दा विलकुल फरक छ ।
पहिलो सिनेमा खेलेपछि डेढ दशकको समय इरफानले चन्द्राकान्त जस्ता टिभी सिरियलमा बिताएका थिए । बलिउडमा स्थापित रहेको नातावादभन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्षको आफ्नै कथा छ । पहिलो सिनेमामा पाएको डेढ मिनटको भूमिकापश्चात उनले टिभी सिरियलमा अभिनय गरेर लामो समयपछि मात्रै अर्को सिनेमा पाएका थिए । भुइँबाट अभिनय यात्रा सुरु गरेर बलिउडमा स्थापित हुन र हलिवुडसम्म पुग्नु कत्ति संघर्ष आवश्यक पर्छ भन्ने प्रश्नमा इरफानको जीवननै जवाफ हुन सक्छ ।
२००३ पछि नियमित सिनेमामा देखिएका इरफान अभिनित ‘बिल्लु बार्बर’ २००९ मा प्रदर्शन आएको थियो । २००७ मा प्रर्दशनमा आएको मलेयाल्म सिनेमा ‘कधा पारायुम्बोल’को एडप्टेसन भएतापनि ओरिजिनल सिनेमामा मुख्य कलाकारको रुपमा मलायम एक्टर श्रीनिवासनले गरेको अभिनयभन्दा हिन्दीमा इरफानले गरेको अभिनयले भूमिकालाई न्याय गरेको छ ।
दुई छोरी र श्रीमतीलाई आफूले साहिर खान (शाहरुख खान)लाई चिनेको कथाबाट सुरु हुने सिनेमा अन्त्यमा साहिर खान र बिल्लुको पुर्नमिलनमा टुंगिएको छ । बिचमा रहेको अभिनयमा सामान्य जीवन बाँचिरहेको नाईको भूमिकामा आफूलाई पूर्ण रुपले अपनाएको देखिन्छ इरफानले । भूमिकामा अभिनय गरेको नभएर आफैं नाई भएको महसुस गराउने अभिनय बिल्लु बार्बरमा इरफानले गरेका छन् ।
२०१० मा निस्किएको सिनेमा ‘पान सिंह तोमर’ मा इरफानको अभिनय शिल्पको कलात्मकता देखिन्छ । ‘आई वान्ट टु इन्टरटेन पिपल, बट विथ सब्टेन्स’ अर्थात ‘म दर्शकलाई मनोरञ्जन त दिन चाहन्छु, तर केही रस सहित’ भनेजस्तै यो सिनेमा इरफानले रस सहितको मनोरञ्जनात्मक अभिनय दिएका छन् । अभिनयलाई लिएरै यही सिनेमामार्फत् उनले फ्लिम फेयर अन्तर्गतको ‘क्रिटिक्स अवार्ड बेस्ट एक्टर’ पाएका थिए ।
इरफानले रुदारको भूमिका निर्वाह गरेको २०१४ को फ्लिम ‘हैदर’ले कश्मीरमाथि हेर्ने भारतीय नजरिया केही मात्रामा परिवर्तन गरेको थियो । सामान्यतः भारतीयहरू कश्मीरलाई आफ्नो उपनिवेशको रुपमा हेर्छन् । तर, हैदरमा निर्देशक विशाल भर्दवजले एक फरक भाष्य निर्माण गर्ने प्रयास गरेका थिए, जसमा कश्मिरीहरूको स्वतन्त्रताको चाहना मुखरित गरिएको थियो ।
चलचित्रमा हैदरको दिशा निर्देशक (पाथ सोवर) को रुपमा देखिएका रुदार (इरफान) ले एउटा स्वतन्त्रता चाहने क्रान्तिकारी कश्मिरीको भूमिका निर्वाह गरेका छन् । यस भूमिमाको माध्यमबाट 'डिरेक्टर्स भ्वाइस' का रुपमा प्रस्तुत गरिएको रुदार पात्रले मानिसहरू स्वतन्त्रताका लागि जुनसुकै विन्दुसम्म पनि पुग्न सक्ने सन्देश बोकेका छ । रुदार पात्रको भूमिकामा जस्तै इरफानले आफ्नो जीवनमा पनि सत्यको खोजी गर्दै आफूलाई विश्वमञ्चमा एक मानववादीका रुपमा उभ्याएका छन् । उनले भनेका थिए- ‘म कुनै धर्मका पालक वा मसियाहरूको पछाडि नलागेर उनीहरूले गरेका गल्तीको विरोध गर्न पनि पछि हट्ने छैन । र, हरेक मानवले मानवताका लागि गरेको राम्रो कामको पक्षपाति भएर सरहाना गर्न पनि पछि पर्ने छैन ।’
इरफानले आफ्नो व्यक्तिगत जीवनलाई निर्देश गरेजस्तै एक सामान्य तर मानवीय चरित्रको रुपमा उनलाई ‘लञ्चबक्स’ सिनेमामा देख्न सकिन्छ । २०१३ मा प्रदर्शनमा आएको रितेश वत्रा निर्देशित सिनेमामा इरफानको अभिनय सामान्य मानिसको छ । मुम्बईमा जीविकोपार्जनका लागि संघर्ष गरिरहेको एक सामान्य कारिन्दा र एक गृहिणीको भेट लञ्चबक्सको माध्यमबाट अकल्पनीय रुपमा कसरी हुन्छ र उनीहरू बीचमा आदनप्रदान हुने सञ्चारले कसरी विभिन्न माध्यमबाट उनीहरूको जीवनशैली तथा मानवीय प्रकृतिमा प्रभाव पार्छ भन्ने कुरालाई सिनेमामा मानवतावादी कोणबाट देखाइएको छ ।
इरफानका फ्लिम छनोट तथा व्यक्तिगत जीवनशैलीले पनि उनी आफैं सामान्य मानवीय जीवन बाँचिरहेका थिए भन्ने प्रष्ट देखिन्छ । बलिउडमा सामान्यतः तपाईं यदि निरन्तर स्क्रिनमा देखिने पात्रको रुपमा भूमिका निर्वाह गरिरहनुभएको नायक वा नायिका हुनुहुन्छ भनेपनि गाडी, ड्राइभर, भाडाकै भएपनि आलिसान लाग्ने मकान, र दैनिक जसो क्याफे, होटल, रेस्टुरेन्ट चहार्न सक्ने वजानदार खल्ती तपाईंका सामान्य आवश्यकता हुन् । यति भनिरहँदा यदि कुनै व्यक्तिले सामान्य जनजीवनको बारेमा कथा भन्न चाहन्छ, तर सँगसँगै ऊ आफू अवसर प्राप्त गर्नकै लागि भएपनि बुर्जुवा जीवनशैली बिताउन बाध्य छ भने तपाईंले भन्ने वा निर्वाह गर्ने कथ्य र तपाईंको सोचबीचमा कदापी मेल हुन सक्दैन् ।
यसको अर्थ यो भने होइन कि इरफान बलिउड जीवनशैली निर्वाह गर्दैनथे । तर, उनले सिनेमामा उठाएको आवाजले मात्रै पनि सैयौं सामान्य जनजीवनबाट सिनेमामा भविष्य खोज्दै मुम्बई, कलकत्ता, दिल्ली, हैदराबाद, चेन्नाई वा बैंगलोर आइपुगेका सपनाहरूको प्रस्फुटनमा धेरै सहयोग पुगेको छ ।
इरफानले टिभी सिरियलबाट हिन्दी चलचित्र हुँदै बलिउडसम्म प्रभाव पार्नुमा केही कारणहरू छन् । हलिवुडमा ‘स्लम डग मिलियनिर’, ‘इन्फेर्नो’ जस्ता सिनेमा खेलेका इरफानको अभिनय तीमध्ये एउटा कारण हो । मेथोडिक शैलीको उनको अभिनय निकै प्रभावशाली छ । अर्कातिर, बलिउडमा स्थापित रहेको नकरात्मक भूमिकामा खेल्दा आवश्यक पर्छ भन्ने भाष्य विपरीत इरफान कतिपय नेगेटिभ रोलहरू गरेका छन् । उनको अर्को प्रभावशाली पक्ष डायलग डेलिभरी हो । नाटकीय रुपमा नभएर दृश्यलाई न्याय गर्ने किसिमले उनले प्रवाह गर्ने संवादहरूले उनको अभिनयमा थप जिवन्तता थपिदिएको छ ।
बलिउडको विशाल सिनेक्षेत्रमा भएका थुप्रैमध्येमा तुलनात्मक रुपमा केही राम्रा कलाकारहरू छन् । तीमध्ये केहीचाहिँ सर्वोत्तम मान्न मिल्ने छन् । तीमध्ये इरफान पनि एक हुन् । तीन दिनअघि आमाको निधन हुँदा कोरोना भाइरसको कारण लकडाउन भएकाले अन्तिम संस्कारमा उनी जान सकेका थिएनन् । विगत केही समयदेखि अस्वस्थ्य रहेका इरफानलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको थियो ।
भारतीय सिनेक्षेत्रमा भएका सर्वोत्तममध्येका एक र भुईँबाट अभिनय सुरु गरेर हलिवुडसम्ममा राम्रो छाप छाडेका इरफान, अब रहेनन् ।
अलबिदा इरफान !
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...