सिनेमामा गन्धको प्रस्तुति
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको देखाउन सुरुआतबाट निर्देशकीय कलाको प्रयोग गरिएको छ
दु:ख होस् वा खुसी, पीडा होस् वा हाँसो, मानवीय संवेदना र इन्द्रियका विशेषताहरूलाई पर्दामा देखाउन सकिन्छ । निर्देशकको खुबी भए यी संवेदनाको प्रस्तुति निकै कलात्मक हुन जान्छ । हाँसोको कुरा गर्दा त्यसलाई कुन रूपमा साधारण राख्ने वा असाधारण भन्ने विषय पात्रको प्रकृतिमा आधारित हुन्छ । पीडाको कुरा गर्दा चिच्याहटपूर्ण रोदन आवश्यक नपर्न सक्छ, यदि त्यसलाई निर्देशकले कुनै फरकपनमा प्रस्तुत गर्न सक्छन् ।
थिओ एगलोपोलस निर्देशित सिनेमा टोपियो स्टिन ओमिच्लीमा प्रमुख पात्र भौलाको बलात्कारपछिको पीडालाई निर्देशकले रोदनबिनै प्रस्तुत गरेका छन् । बलात्कारपछि उनको यौनांगबाट बगेको र हातमा लागेको रगतलाई उनले जुन किसिमले हेर्छिन्, त्यसले पीडाबोध गराउँछ । भौला पात्र कति सिनेमाभर जुन रूपमा निरीह भएर बाँचिरहेको छ भन्ने प्रस्तुत गरेको छ ।
यो लेखमा दुई पाटाहरूलाई चर्चा गरिएको छ । पहिलो– सिनेमाको दृश्यमा पात्रले महसुस गरिरहेको गन्ध दर्शकलाई पनि महसुस गराउनका लागि कस्ता–कस्ता प्रविधि प्रयोग भए भन्ने विषय लिइएको छ । दोस्रो– एक सिनेमा, जसमा मानिसमा भएका इन्द्रियहरूमध्ये सुँघ्न सक्ने इन्द्रियको विशेषतालाई कसरी प्रस्तुत गरिएको छ भन्नेमा केन्द्रित छ ।
‘स्मेल–ओ–भिजन’ को असफलता
सुँघ्ने क्षमता भएको पात्र विषयमा सिनेमा बन्दा प्राय: उसमा भएको क्षमताको मनोविज्ञानभन्दा बढी कथामा अरू कुरा हावी देखिन्छन् । सन् १९९२ को सेन्ट अफ अ वुमन सिनेमामा प्रमुख पात्रमध्येका एक कर्नल (अल प्याचिनो अभिनीत) सँग गन्धलाई महसुस गर्ने क्षमता हुन्छ । तर मूल कथा फरक भइदिँदा उनको यो क्षमताको मनोविज्ञान भने सिनेमामा प्रस्तुत भएको छैन ।
त्यसो त विश्वभरको सिने जगत्मा सिनेमामा देखाइएको दृश्यमा पात्रले जुन गन्ध महसुस गरिरहेको हुन्छ, दर्शकले पनि त्यही गन्ध महसुस गरे मात्रै कथालाई बुझ्ने धारणा बनाएर केही सिनेमा प्रविधिहरू विकास भएका थिए । स्मेल–ओ–भिजनदेखि अरोमारोमा जस्ता प्रविधिअनुसार थिएटर वा हलमा दर्शकदीर्घमा एक किसिमको गन्ध प्रवाहित गरिन्थ्यो, जुन गन्ध सिनेमाको दृश्यमा हुन्थ्यो । दृश्यमा पात्रले महसुस गरेकै कुरा दर्शकले महसुस गरून् भनेरै यो प्रविधि अपनाइयो ।
यसरी विभिन्न वस्तुको गन्धलाई प्रवाह गर्न थुप्रै प्रविधिहरू आए, जुन मुख्यत: माथिका दुई सिद्धान्तमा आधारित थिए । मानिसको सुँघ्ने क्षमताका अनुसन्धानकर्ता अभेरी गिलवर्ट लिखित पुस्तक ह्वाट द नोज नोजमा सिनेमामा आएका यी किसिमका सबै प्रविधि असफल भएको लेखेका छन् । यी ट्याक्निकलाई हलिउडको इतिहासमा नै सबभन्दा अस्वाभाविक र अप्राकृतिक प्रविधि भएको गोल्डेन टर्की अवार्डमा समेत बताइएको थियो ।
सन् १९६० मा पहिलो पटक यसको प्रयोग गरिएको थियो । प्रयोगकै कुरा गर्दा सन् १९८१ मा आएको पोलियस्टर सिनेमाका निर्माताहरूले स्मेल–ओ–भिजन प्रविधिलाई पुन: सिने क्षेत्रमा ल्याउन खुब प्रयत्न गरेका थिए । फिलाडेल्फियाको थिएटरमा पोलियस्टरको प्रदर्शन हुँदा दर्शकलाई एक किसिमको गन्धयुक्त कागज दिइएको थियो । गिलबर्टले आफ्नो पुस्तकमा यो प्रसंगबारे सिनेमाका निर्देशक जन वाल्टर्सलाई उद्धृत गर्दै लेखेका छन्, ‘विश्वभरका दर्शकले मलाई पादको गन्ध लिन पैसा तिरेका थिए ।’ दर्शकको हातमा दिइएको कागजलाई दृश्यमा सिनेमाकी पात्र फ्रान्सिन फिसपावले बिस्तरामा निदाउँदा सुँघ्न भनिएको थियो ।
दर्शकलाई कागज दिनेदेखि एयरकन्डिसनमा सिनेमामा पात्रले प्रयोग गरेको वा देखाइएको अत्तर छर्किने हुँदै निश्चित ठाउँमा अगाडिको सिटमा राखिएको सानो फ्यानबाट बास्ना निस्किने र केही समय हराउनेसम्मका प्राविधिक प्रयोग सिनेमा भए । यी सबको ध्येय भने दर्शकलाई सिनेमा अझ मजाले महसुस गराउन सक्नु भन्ने थियो । तर गन्ध र दृश्यलाई लिएर गरिएका यस्ता सम्पूर्ण प्रयोगहरू असफल भएका थिए । पोलियस्टरमा यो प्रयोग असफल भएसँगै सेन्ट अफ अ वुमनमा यो प्रयोगको पुनर्जन्म हुने अनुमान गरिएको थियो । तर सेन्ट अफ वुमनमा यी प्रविधिलाई पूर्वअनुमान विपरीत प्रयोग नै गरिएन ।
‘फर्फ्युम : अ स्टोरी अफ मर्डरर’
सिनेमाको आफ्नै भाषा हुन्छ । दृश्य र श्रव्य माध्यमसँगै अन्य सिनेमाका भाषिक तत्त्वहरूको प्रयोग गरेर दर्शकलाई सिनेमामा देखाइएको दृश्यको गन्ध कुन रूपको छ भन्ने कुरामा मानसिक कल्पना गर्ने स्वतन्त्रता हुन्छ । निर्देशकले आफ्नो निर्देशकीय छनोटलाई पर्याप्त प्रयोग गरेर दृश्यहरूबाटै सिनेमाकै भाषामा दर्शकलाई गन्धको महुसस गराउन सकिन्छ । सिनेमामा देखिने दृश्यको गन्ध दर्शकलाई महसुस गराउन विभिन्न प्रविधि प्रयोग असफल हुँदा सन् २००६ मा प्रदर्शनमा आएको सिनेमा फर्फ्युम : अ स्टोरी अफ मर्डररले यस्ता प्रविधिको प्रयोगबिनै पनि दर्शकको मनोविज्ञानमा दृश्यको गन्धलाई अटाउन सक्ने कलात्मकता अपनाएको थियो ।
यो सिनेमा सन् १९८५ मा यही नाममा निस्किएको प्याट्रिक ससकिन्डको उपन्यासमा आधारित छ । लेखकले लामो समयसम्म आफ्नो पुस्तकको कपिराइट कुनै पनि निर्देशक वा निर्मातालाई दिएकी थिइनन् । कारण, जुन रूपमा पुस्तकमा प्रमुख पात्रमा भएको अद्भूत सुँघ्ने क्षमता छ, त्यसलाई दृश्यमा देखाउँदा न्याय नहुने डर थियो, उनलाई । लेखकलाई तत्कालीन समय बनिरहेका सिनेमाका कारण यो डर भएको थियो ।
सन् २००० मा उनले आफ्नो पुस्तकलाई सिनेमामा अनुशरण गर्नका निम्ति बन्र्ड इचिनगरलाई १० मिलियन डलरमा बेचेकी थिइन् । सन् २००६ मा प्रदर्शनमा आएको सिनेमालाई जर्मन निर्देशक टम् ट्वाइकरले निर्देशन गरेका थिए ।
उपन्यासमा आधारित सिनेमा जोन बाप्टिस्ट ग्रनोई पात्रसँग भएको अद्भूत सुँघ्न सक्ने क्षमतामा आधारित छ । सँगै आफ्नो अस्तित्व खोजीका क्रममा उसले जानीनजानी गर्न पुगेका अपराधको विषयमा केन्द्रित छ । यो लेख सिनेमाका अन्य पक्षभन्दा बढी गन्ध र सुँघ्न सक्ने क्षमतालाई सिनेमामा कसरी प्रस्तुत गरिएको छ भन्नेमा केन्द्रित छ ।
सुरुआतमा मुख्य पात्रको जन्म हुँदा देखाइएको दृश्यमा फोहोर माछा बजारलाई देखाउन जुन रूपको ‘मोन्टाज’ प्रयोग गरिएको छ, त्यसमा उक्त बजारको गन्ध महसुस गर्न नसके पनि दर्शकले एक किसिमको घीनलाग्दो महसुस गर्छन् । ग्रनोईको जन्मपछि उसलाई आमाले कुनामा लुकाएर माछा काटिरहँदा मोन्टाज सटमार्फत माछाको टाउको काटिएको, झिँगा भन्किएको, मुसा र कीराहरू फोहोरमा फैलिएको दृश्य खिचिएपछि बच्चा पहिलो पटक रोएको देखाएर निर्देशकले वातावरणमा भएको एक किसिमको फोहोर गन्ध र ग्रनोईमा भएको सुँघ्न सक्ने अद्भूत क्षमताको वर्णन गरेका छन् ।
मोन्टाज सटलगत्तै बच्चाको चिच्याहटले पनि उसमा भएको सुँघ्ने क्षमतालाई सम्बोधन गरेको छ ।
अनाथाश्रममा रहँदा पाँच वर्षको ग्रनोई बोल्ने नसक्ने न्यारेटरले दर्शकलाई बताउँछन् । सँगै, उसले स्याउको दाना, एउटा हाँगा र पातलाई सुँघेको दृश्यलाई ‘क्लोजअप सट’ मार्फत देखाइन्छ । तीनै कुराको गन्ध लिएपछि एकै ठाउँ स्याउ, हाँगा र पातलाई राखेर ग्रनोई आँखा बन्द गर्छ । दृश्यमा पूर्ण स्याउको रूखलाई देखाइन्छ । उसमा भएको सुँघ्ने ल्याकतले विभिन्न गन्धहरूको समिश्रण गरेर एउटा पूर्ण गन्धको विकास गर्न सक्ने क्षमतालाई यो दृश्यले सम्बोधन गर्छ । सँगै पछाडिबाट फ्याँकिएको स्याउ आफ्नो आँखाले नहेरी गन्धले नै थाहा पाएर टाउकोमा लाग्नबाट छलेको दृश्यले पनि उसमा भएको सुँघ्ने क्षमतालाई सम्बोधन गरेको छ ।
अर्कातिर बोली फुट्नुअगावै ग्रनोईले अवचेतन मनबाट आफूमा भएको क्षमता प्रयोग गरेर ‘फर्फ्युम’ बनाउने विषयलाई सुरुआतमै उल्लेख गरिएको छ ।
सिनेमामा प्रमुख पात्रमा भएका सुँघ्ने क्षमतालाई सम्बोधन गर्ने यस्ता थुप्रै दृश्यहरू छन् । ग्रनोईले आलुबखडा बेचिरहेकी पहिलो युवतीलाई देख्दा उसको बास्नालाई पछ्याउँदै ऊ गएको ठाउँसम्म पुग्छ । युवतीको शरीरबाट निस्किएको मोहक बास्नालाई प्रस्तुत गर्न दृश्यलाई केही ब्लर गरेर ग्रनोईको अनुहार, त्यसमा पनि नाकमा फोकस गरेर देखाइन्छ, जहाँ उसको अनुहारमा बास्नाको प्रकृति कुन रूपमा मोहक छ भन्ने झल्किएको छ ।
युवतीको शरीरबाट आइरहेको बास्नालाई देखाउन दृश्यमा पूर्ण रूपले उनको शिर पछाडिको भाग, कम्मर, छातीलगायतलाई फोकस गरेर देखाइन्छ । ‘कलर कन्ट्रास्ट’ को प्रयोगसँगै क्लोजअप सटले बास्नाको प्रकृतिलाई सम्बोधन गरेको छ । युवतीको शरीरलाई दृश्यमा इन्सर्ट सटमार्फत देखाउनुले उनमा भएको बास्नाको प्राकृतिक स्वरूप र ग्रनोईको अनुहारको क्लोजअप सटले भीडभाडको बीचमा पनि आफ्नो अद्भूत क्षमताका कारण युवतीको शरीरबाट प्रवाह भइरहेको बास्नालाई कति शुद्ध रूपमा महसुस गरिरहेको छ भन्ने प्रस्तुत गरेको छ ।
यो देखाउनुको अर्थ ग्रनोईले तमाम गन्धहरूका बीचमा पनि निश्चित गन्ध छुट्याउन सक्छ भन्ने हो ।
आफूले पहिलो पटक महसुस गरेको मनमोहक बास्ना सिनेमाभर नै ग्रनोईसँग जोडिरहन्छ । आलुबखडा बेच्ने युवतीलाई ऊ आफ्नो शरीरमा कुनै पनि गन्ध नभएको ज्ञात हुँदा सम्झन्छ । ग्रनोईको आफ्नो शरीरमा कुनै पनि गन्ध नभएको प्रस्तुत गर्न निर्देशकले उसलाई सुरुआतमा आफ्नो एउटा हातको बास्ना लिइरहेको दृश्यमा क्लोजअप सटमार्फत देखाउँछन् भने अर्कोमा आफ्नो कपडाको गन्ध लिइरहेको दृश्यमा । कपडामा माटो, बालुवालगायतको गन्ध हुन्छ तर उसको आफ्नो शरीरमा भने कुनै गन्ध हुँदैन ।
ग्रनोई आफूलाई आफ्नै शरीरमा कुनै गन्ध नभएको विश्वास नलागेको सम्बोधन गर्न दृश्यमा ऊ नुहाएको र त्यसपछि शरीरको हरेक भागलाई सुँघेको देखाइन्छ ।
आफूले अत्तरका तेह्र वटै अद्वितीय सुरहरू बनाइसकेपछि पक्राउ परेको ग्रनोई तिनै सुरको प्रयोग गरेर अद्भूत अत्तर बनाउँछ । उसले बनाएको अत्तर यति शक्तिशाली हुन्छ कि सारा विश्वलाई नै त्यसले वशमा पार्न सक्छ । उसलाई मृत्युदण्ड दिइएको ठाउँमा सारा ग्रासबासी उपस्थित हुँदा घोषणाविपरीत उसलाई अबोध र इमानदार भएको बताउन थाल्छ । यो दृश्यमा ग्रासबासी, ग्रनोईलाई फाँसी दिन बसेको व्यक्ति, चर्चको पपलगायतको अनुहारमा केही बेरअघिको क्रोध हटाएर बेग्लै किसिमको हाँसोलाई प्रस्तुत गरिएको छ ।
ग्रनोईले प्रयोग गरेको अत्तरको प्रभाव देखाउन निर्देशकले क्यामेराको एंगललाई मानिसहरूको माथिबाट स्लो मोसनमा चलाएका छन् । दृश्यमा प्रयोग भएका प्रब्स र वरपरको वातावरणले पनि अत्तरले पारेको प्रभावलाई देखाउँछ । यहाँ केही छनक ‘मिज अन सिन’ को प्रयोग भएको पाइन्छ । जुन गतिमा क्यामेराको चाल देखाइएको छ, त्यसले हावामा फैलिएको त्यो अद्भूत अत्तरको प्रकृतिलाई देखाउने चेस्टा गर्छ । बीचबीचमा ग्रासबासीहरूको शरीरको क्लोजअप सटले उनीहरूमा अत्तरले पारेको प्रभावलाई देखाउँछ । उनीहरूको शरीर र अनुहारको डिटेललाई दृश्यमा प्रस्तुत गरिन्छ ।
गन्धलाई सिनेमाभर नै प्रस्तुत गरिएको छ । प्राय: ठाउँमा क्लोजअप सटबाट अनुहारलाई देखाएर नाकले बास्ना लिएको दृश्यमा ट्याईकरले सुँघ्ने क्षमतालाई सम्बोधन गरेका छन् भने आलुबखडा बेच्ने युवतीको शरीरबाट आएको बास्नालाई देखाउन प्रयोग गरेका सटहरूबाट युवतीहरूका शरीरबाट निस्किएको मनमोहक बास्नालाई सम्बोधन गरेका छन् ।
ग्रनोईले अत्तरका १२ वटै सुरहरू निर्माण गरिसकेपछि अन्तिम सुर निर्माण गर्नलाई ग्रास क्षेत्रमा पुगेपछि उसले पहिलो पटक महसुस गरेको सबभन्दा मोहक बास्ना १३ औँ सुरको रूपमा प्रयोग गरेको देखाइएको छ । यो बास्ना लरा रेचल (र्याचेल हर्ड–वुड अभिनय) को शरीरको हुन्छ र बास्नालाई सम्बोधन गर्न उसलाई अरूभन्दा सुन्दर देखाइएको छ । अन्तिम सुर बनाउनका लागि ग्रनोईले रेचेलकै शरीरलाई लिएको देखाउनुको अर्थ उसको शरीरको बास्ना अरूको भन्दा मोहक छ भन्ने हो । सँगै, ग्रासबाट बुबासँग बाहिरिएकी रेचेललाई खोज्न निस्किँदा ग्रनोईले द्वारको पालेले बताएविपरीत उत्तरतर्फ नगएर दक्षिणतर्फ जान्छ, र उसलाई डोहोर्याउने रेचेलकै शरीरको बास्ना हुन्छ ।
फर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको देखाउन सुरुआतबाट निर्देशकीय कलाको प्रयोग गरिएको छ । जन्मसाथ आमाको मृत्यु, अनाथाश्रमबाट बेचिनसाथ उक्त आश्रम सञ्चालिकाको मृत्यु, आफ्नो मालिक ग्रिमलबाट अत्तर बनाउने बाल्डिनीसँग बेचिनसाथ ग्रिमलको मृत्यु, बाल्डिनीबाट छुट्टिएर ग्रासका निम्ति यात्रा सुरु गर्नासाथ बाल्डिनीको मृत्यु । सिनेमाभर नै ग्रनोई मृत्युको नजिक छ, र अन्यमा आफू पनि मृत्युमै समाहित भएको छ । शरीरको आत्माको रूपमा अत्तरलाई प्रस्तुत गरिएको छ र ग्रनोई आफूसँग आत्मा नभएको कारण आफ्नै अस्तित्वको अभावमा गुफामा भौतारिएको छ । यी सब दृश्य र घटनालाई प्रस्तुत गर्दा ग्रनोई आफूले नजानी मृत्युलाई लिएर हिँडिरहेको भान हुन्छ । अत्तर बनाउन युवतीहरूको शरीरको बास्नाको प्रयोग गर्ने क्रममा पनि उसको ध्येय मार्ने हुँदैन । तर पहिलो पटक वेश्या युवतीलाई प्रयोग गरेर उसको शरीरको बास्ना लिन खोज्दा नमानेपछि ग्रनोईले क्रमश: युवतीहरूको हत्या गर्दै जान्छ ।
प्रविधि कि कला महत्त्वपूर्ण ?
१९६० मा अमेरिकामा सेन्ट अफ मिस्ट्री प्रदर्शनमा आउँदा सिनेमाकी नायिकाले प्रयोग गरेको फर्फ्युमदेखि उसले पिउने वाइनसम्मको गन्धलाई दृश्य र श्रव्यसँगै दर्शकले भौतिक रूपमा पनि महसुस गरून् भनेर थिएटरमा तीस किसिमका गन्धहरूलाई प्रवाह गरिएको थियो । दर्शक बस्ने कुर्सीमा बनाइएको प्वालबाट यी गन्धहरू दृश्यमा देखिने घटनाअनुसार प्रवाह गरिएको थियो । यो प्रयोग पनि स्मेल–ओ–भिजनकै एउटा किसिम थियो ।
तर सिनेमाको प्रदर्शनमा गरिएको प्रयोगलाई दर्शकले रुचाएका थिएनन् । अभेरी गिलबर्टले आफ्नो पुस्तकमा यस किसिमको प्रयोग एउटा स्क्रुड्राइभर र अत्तरको बट्टालाई उपयोग गर्ने माध्यम मात्रै भनेको बताएका छन् । उनी लेख्छन्, ‘यो किसिमको प्रयोगको व्यापक सुरुआत सन् १९५८ मा भयो र १९६० सम्ममा अन्त्य भइसकेको थियो । प्रयोग गर्न खोजिएको हो तर कलामा यो किसिमको प्रयोगले अर्थ राख्दैन ।’
मानिसअनुसार गन्धले पार्ने प्रभाव र त्यसले उत्पन्न गराउने मनोविज्ञान फरक हुने गिलबर्टले उल्लेख गरेका छन् ।
सिनेमामा देखाइएको दृश्यअनुसारको गन्धलाई भौतिक रूपमा नै प्रवाह गरिँदा गलबर्टले भनेजस्तै मानिसको सोच फरक हुन जान्छ । कुनै अत्तरकै कुरा गर्दा त्यो केहीलाई मन पर्न सक्छ, केहीलाई अति मन पर्न सक्छ र केहीलाई त्यसले नकरात्मक प्रभाव पार्न सक्छ । सिनेमामा गन्धलाई प्रयोग गर्दा पात्रको मनोविज्ञानलाई केन्द्रमा राखिएको हुन्छ । फर्फ्युम सिनेमा यसको उदाहरण हो । सिनेमामा घीनलाग्दो गन्ध र मनमोहक गन्धलाई प्रस्तुत गर्न फरक–फरक सिनेमाका भाषाको प्रयोग गरिएको छ । हेर्ने दर्शकले पनि काल्पना गर्न सक्छन्, दृश्यमा पात्रलाई गन्धले कुन रूपको असर गरिरहेको छ । तर त्यही गन्धलाई भौतिक रूपमा प्रयोग गर्दा सिनेमामा देखाइएको भावको महसुस फरक पर्न जान्छ ।
गन्धलाई महसुस गर्दा सिनेमाको दृश्यलाई गरिने प्रस्तुति नै महत्त्वपूर्ण हुन्छ । सेन्ट अफ अ वुमनमा अल पिकानोले रेस्टुराँमा युवतीले प्रयोग गरेको साबुनको गन्धबाट नाम बताएको दृश्य देखाइन्छ । कर्नेलको रूपमा अभिनय गरेका प्याचिनोले युवतीको कपालबाट आएको स्याम्पुको गन्ध र नुहाउँदा प्रयोग गरेको साबुनबाट ऊ सुन्दर भएको बताउँछन् । फर्फ्युममा सिनेमामा ग्रनोईको संवादलाई कम राखिएको छ र उसको सुँघ्ने क्षमतालाई सम्बोधन गर्ने विषयमा दृश्य बढी केन्द्रित छ ।
सिनेमामा आफ्नै किसिमको भाष्य हुन्छ । लेखनमा दृश्यहरूको वर्णन मिहीन ढंगले गर्न सकिए पनि कुनै विशेष दृश्यको वर्णन गरिरहँदा त्यो दृश्य पाठकले महसुस गरेभन्दा निकै फरक हुन सक्छ । लेखकले वर्णन गरेको र पाठकले कल्पना गर्ने दृश्य फरक पर्न सक्छ । सोही कारण लेखक र पाठकबीचमा संवादको कमी हुन सक्छ । त्यस्तै, लेखनमा श्रव्य, गन्ध आदि इन्द्रियका संवेदनाहरूलाई वर्णन गरिरहँदा यिनमा कम्युनिकेसन ग्याप हुन सक्छ । सिनेमामा श्रव्य–दृश्यको माध्यमबाट यही कुरा देखाइरहँदा यस्ता खाले दृश्य, श्रव्यलगायत माध्यमको वर्णन तुलनात्मक रूपमा राम्रोसँग गर्न सकिन्छ ।
माथि उल्लिखितजस्तै फर्फ्युमको पात्र ग्रनोईले महसुस गर्ने गन्धको मनोविज्ञानलाई दृश्यको माध्यमबाट देखाउन सक्ने यो किसिमको क्षमता सिनेमाको माध्यममा मात्रै हुन सक्छ । गन्धले पार्ने मनोविज्ञान फरक हुनाले भौतिक रूपमा यसको प्रयोग सफल र स्वाभाविक हुन सक्दैन । बरु, दृश्यमा पात्रले अभिनयमार्फत आफूलाई गन्धले पारेको प्रभावले नै दर्शकलाई त्यो महसुस गराउन सक्छन् ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...