'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो

सूर्यलाई हेर अस्ताउँदै छ है सुनौलो साँझमा
त्यो जूनलाई हेर चम्किँदै छ है अँध्यारो रातमा
सपना बोकी आएँ समुद्रपारि म सुखको आशैमा
मन मायाले भर न
आशाको चित्र कोर न...
‘ग्रहण’ एल्बमको आफ्नै स्वर र शब्दमा दिवेश पोखरेल उर्फ आर्थर गनले जीवनको लक्ष्य पहिले नै भरिसकेका रहेछन् । गीतमा भनिएझैँ ६ वर्षपछि समुद्रपारि आफ्नो अनमोल सपना पूरा गर्दैछन् ।
सिंगिङ रियालिटी सो अमेरिकन आइडलको १८ औँ शृंखलामा प्रतिस्पर्धा गरिरहेका दिवेश जितको नजिक पुगिसकेका छन् । भोलि आइतबार हुने फाइनलका लागि उनी तम्तयार छन् ।
सुरुमा सहभागी हुनु नै ठूलो कुरा ठानिरहेका दिवेशमा अहिले प्रतिस्पर्धा नै जित्ने आत्मविश्वास जागिसकेको छ । भन्छन्, “यति धेरै माया र हौसला दिनुभएको छ । अस्तिदेखि जित्छु नै भन्ने लागेको छ ।”
२२ वर्षे ठिटो दिवेश ६ वर्षअघि अमेरिका पढ्न गएका थिए । दिदी उतै बस्ने भएकाले उनका बुबाआमा पनि पछि अमेरिकातिरै लागे । अमेरिकाको क्यानसस राज्यको विचिटामा बस्दा उनी अमेरिकन ब्लुज र लोकसंगीतको नजिक पुगे ।
सानैदेखि गाउन मनपराउने उनी अमेरिका पुगेपछि भविष्य नै बनाउने सोचले संगीतमा लागे । बार र कफी हाउसमा गाउन थाले । हो, त्यहीँ गाउँदागाउँदै उनलाई साथी तथा शुभेच्छुकहरुले ‘यति राम्रो गाउँछौ, तिमी आइडलमा सहभागी होऊ’ भन्दै प्रेरित गरे । र, उनले सहर्ष स्वीकार गरे ।
दिवेशले गायन र गिटार बजाउन कतै तालिम लिएका छैनन् । तर उनको स्वरलाई आइडलका जजदेखि दर्शक–श्रोताले खुब मन पराएका छन् । क्रिडेन्स क्लियरवाटर रिभाइभल (सीसीआर) दिवेशलाई मन पर्ने रक ब्यान्ड हो । कति फ्यानले उनको स्वरलाई सीसीआर र ७० तथा ८० को दशकका अमेरिकी रक सिंगरहरुसँग दाँजेका छन् । स्वर तिखार्न उनले धेरै मिहिनेत गरे । गायन शैली बनाउन जहाँ मौका पर्यो, त्यहीँ गाए । मेन्टरहरुले स्वर बनाउन यो गर र त्यो गर भन्थे । उनी त्यसलाई पछ्याइहाल्थे । भन्छन्, “केही मेन्टरहरु हुनुहुन्छ, जसले मलाई सिकाउनुभयो । मैले यस किसिमको स्वर बनाउन धेरै रियाज गरेँ । गाउन पाउने कुनै ठाउँ छोडिनँ ।”
सीसीआरको गीतबाट दिवेश निकै प्रभावित छन् । त्यसैले उनले पहिलो अडिसन राउन्ड सीसीआरकै ‘ह्याभ यु एभर सिन द रेन’ (तिमीले कहिल्यै झरी परेको देखेका छौ ?) गाए । जजहरु केटी पेरी, लियोनल रिची र ल्युक ब्रायनले खुब तारिफ गर्दै हलिउडको गोल्डन टिकट दिए ।
उनले आफ्नो नाम दिवेश बताउँदा ‘द बेस्ट’ भन्थे, अमेरिकनहरु । त्यसैले केटी पेरीले उनलाई कार्यक्रममा ‘द बेस्ट’ भन्दा हाँसो उठेको थियो रे । दिवेश आइडललाई उच्च स्तरको राम्रो प्लेटफर्मका रुपमा हेर्छन् । भन्छन्, “मेरो जीवनमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । यो प्रतिस्पर्धाबाट मैले धेरै कुरा सिकेको छु र यसले मेरो जीवनभरि प्रभाव पार्नेछ ।”
सानैदेखि संगीतमय वातावरणमा रमे दिवेश । संयुक्त परिवारका कान्छा छोराले कति लाडप्यार पाए भने बिहानै साथीको घरमा गएर साँझ फर्किंदा पनि कुनै समस्या थिएन । रमाइलो वातावरणमा बितेको बालापन सम्झिन्छन्, “साथी र वरिपरिको छिमेक सबै नै गीतसंगीत मन पराउँथे । जीवनको एउटा क्षणमा आएपछि सबैभन्दा बढी लगाव संगीतमा रहेको चाल पाएपछि संगीतलाई नै पेसा बनाउने सोचेँ ।”
धेरैलाई लाग्छ, अमेरिकन जीवन स्वतन्त्र छ, बिन्दास छ । तर दिवेश अमेरिकन जीवनलाई स्वतन्त्र मान्दैनन् । भन्छन्, “केयर फ्री हुने, नहुने भन्ने व्यक्तिमै भर पर्छ । कुनै पनि ठाउँको जीवनशैली केयर फ्री हुन्छ जस्तो लाग्दैन ।”
जीवनको महत्त्वपूर्ण क्षण भोगाइ लाग्दो रहेछ, दिवेशलाई । भोगाइले मानिसको जीवनमा फरकपन ल्याउने उनको अनुभव छ । भन्छन्, “कुन स्तरको अनुभव बोकेको छ, जीवन त्यतै मोडिन्छ । संगीत मात्र नभई हरेक कुरामा यिनै अनुभवले जीवनमा सबैभन्दा बढी प्रभाव पार्छन् ।”
क्यानससको सूर्यास्त दिवेशलाई सबैभन्दा प्रिय लाग्छ । समतल भूभागमा सूर्य डुब्दै गरेको हेर्दा उनलाई आत्मीक शान्ति मिल्छ रे । कहिले एक्लै, कहिले साथीसँग सूर्यास्त हेर्दै उनले कैयौँ दिन बिताएका छन् । सूर्यास्त हेर्दै गर्दा उनी समय बितेको चालै पाउँदैनन् । उनको ‘समुद्रपारि...’ बोलको गीतमा ‘अस्ताउँदो सूर्यको सुनौलो साँझ’ शब्द यही पलबाट प्रेरित भएको होला ।
दिवेशलाई मानिससँग कुराकानी गर्न मन लाग्छ । अझ जीवनको गोरेटोमा भेटेका मान्छेहरु विशेष लाग्छन् रे । सम्बन्ध गाँसिएका मान्छेबारे बुझ्न त झन् इच्छा लाग्छ रे । भन्छन्, “यो मान्छे कस्तो रहेछ, कसरी सोच्दो रहेछ भन्ने बुझ्न मन लाग्छ । अहिलेको हार्ड एन्ड फास्ट सोसाइटीमा मान्छेलाई हाई–हेलो–बाई भनेर टार्न नि सकिन्छ । तर म त्यतिमै चित्त बुझाउँदिनँ ।”
दिवेशले आफ्नो जीवनको प्रिय साथीलाई नै समर्पण गरी गाएका थिए, ‘न्यानो घर...’ । अहिले भने दिवेश सिंगल नै छन्, संगीत साधनामै व्यस्त छन् ।
नेपाली लोकगायक झलकमान गन्धर्व, आधुनिक गायक अरुण थापादेखि पाश्चात्य संगीतका ब्लुज, रक, लोक सबै संगीत सुन्छन्, दिवेश । ‘समुद्रपारि...’ गीतमा झलकमान गन्धर्व र बब डिलन दुवैको शैली झल्किन्छ पनि । फरक फरक शैलीको संगीत सुनेकाले नै उनको संगीतप्रतिको बुझाइ भिन्न छ । भन्छन्, “सबै कलाकार एकै प्रकारको लाग्छ । गाउने, लेख्ने वा जीवन बाँच्ने शैली सबै कलाकारको एउटै हुने रहेछ ।”
पश्चिमा कलाकारले आफ्नै भोगाइ संगीत र शब्दमा रच्छन् । नेपालमा पनि त्यस्तै गरिने दिवेशको दाबी छ । त्यसैले उनलाई नेपाली लोक र अमेरिकन फोक उस्तै लाग्दो रहेछ । भन्छन्, “भाषा हटाइदिने हो भने भावना एउटै छ । यसले मानिसलाई निकटताको भावना महसुस गराउँदो रहेछ । मैले झलकमान गन्धर्वको गीत सुनेर जुन भाव महसुस गरेँ, त्यस्तै भाव मैले अमेरिकन फोक गीत सुन्दा पनि अनुभूति गरेको छु ।”
भविष्यबारे दिवेश खासै सोच्न चाहँदैनन् । बरु अहिले संगीतमै केन्द्रित हुन चाहन्छन् । परिवारको पूरै हौसला छ उनलाई ।
अमेरिकी आइडलका जज लियोनल रिचीले दिवेशलाई ‘बब मार्लीको स्पिरिट छ’ भन्दै तारिफ गरेका थिए । उनी यी सब कुरालाई मीठो अनुभवका रुपमा लिन चाहन्छन् । आइडलको यात्राका सहयोगी नेपाली मुुटुप्रति पनि उनी आभारी छन्, “सधैँ यस्तै सहयोग गर्नुस् । यो सुन्दरता कायम राख्नुस् ।”
सामान्य जीवनयापनमा पनि भोगाइहरुले प्रभाव पार्ने ठान्ने दिवेश संगीतको सागरमा सपना पछ्याउँदै छन् । हेरौँ, गीतमा भनिएझैँ मन मायाले भरिन्छ कि भरिँदैन ? आशाको चित्र कोरिन्छ कि कोरिँदैन ?