सेलिब्रिटीका लकडाउन सिर्जना
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म

सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखेजस्तो हुन्न जीवन
दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीको स्वरमा सजिएको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ । ११ चैतदेखि देश पूर्ण लकडाउनमा छ । गाउँ होस् या सहर । चोकबजार, सडक, चौतारा होस् या पार्क, थिएटर, सपिड मल, होटल रेस्टुराँ सबै चकमन्न छन् ।
लकडाउनले कहिल्यै नसुत्ने न्युयोर्क, टोकियो, लन्डन मात्र होइन, पर्यटकले व्यस्त रहने पोखरा, काठमाडौँलाई पनि निर्जीव बनाइदिएको छ । हिजो मानिसले व्यस्त जीवनबाट केही क्षण भए पनि समय निकालेर आफ्ना रहर पूरा गर्न हप्ते बिदा कुर्नुपथ्र्यो । तर आज केही अति आवश्यक पेसाबाहेक बाँकी फुर्सदै फुर्सद ।
हिजो खाना खान र सुत्न पनि समय नहुने व्यस्त व्यापारीदेखि कलाकार, नेता सबै आजभोलि फुर्सदिला भएका छन् । लकडाउनले मानिसलाई आफ्नै जीवनसँग एक पटक पुन: साक्षात्कार गराएको छ ।
रचनाकार अधिकारीले यसै भनेका होइन रहेछन्, जीवन सोचेजस्तो हुन्न । र, देखेजस्तो त हुँदै हुन्न ।
पटक–पटक थपिएको लकडाउनको समयले कति सर्वसाधारणले दिक्क भएको टीकाटिप्पणी सामाजिक सञ्जालमा गरेको देखिन्छ । एक्लै बस्दा मान्छे आत्तिन सक्छ, भविष्य अन्धकार लाग्न सक्छ । आफू पनि रमाइलो गर्न र अरूलाई पनि रमाइलो गराउन विश्वभरि नै कलाकार तथा मनोरञ्जनकर्ताहरू सामाजिक सञ्जालमा छाइरहेका छन् । केही सेलिब्रिटीहरू लकडाउनको समय आफ्ना अभिरुचि पूरा गर्न खर्चिरहेका छन् ।
सबै कुरा ठीकठाक भएको भए, कोभिड– १९ ले विश्व नै आक्रान्त नबनाएको भए गायक योगेश्वर अमात्य, संगीतकार न्ह्यु वज्राचार्य र जेम्स प्रधान अहिले अस्ट्रेलिया टुरमा हुन्थे । तर लकडाउन नै एउटा मियो बन्यो– गायक योगेश्वर अमात्यका निम्ति, स्वर्गीय रचनाकार क्षेत्रप्रताप अधिकारीलाई श्रद्धासुमन दिन । करिब एक दशकअघि क्षेत्रप्रताप अधिकारीको रचनामा गाएको क्या बोर भयो गीत निकै हिट भयो । यस पटक योगेश्वरले सोही गीत गाए तर साथीहरू संगीतकार न्ह्यु वज्राचार्य, गायक जेम्स प्रधान र सुन्दर महर्जनसँग ।
उनले नयाँ वर्ष ०७७ को पूर्वसन्ध्यामा गीत रेकर्ड गराएका थिए । सुरुमा लाइभ रेकर्ड गर्ने भनिए पनि भिडियोको गुणात्मक राम्रो नहुने भएपछि जेम्सले सबैलाई गीत गाएर भिडियोमा रेकर्ड गर्न लगाएका थिए । भन्छन्, “भिडियो बनाउन हामीलाई २४ घन्टा पनि लागेन । रेकर्ड गर्यौँ । जेम्सले भिडियो जोडी अपलोड गरिदिए । क्षेत्रप्रताप दाइको सम्झनाका साथै भिडियोमा मेसेज पनि छ– सबै घरमा बसेर एक्लैएक्लै गाएको । लकडाउनको पालना गरेको ।
क्या बोर भयो भिडियोमा न्ह्यु र जेम्स गितार बजाइरहेका छन् भने सुन्दर कोन्गा । गायक योगेश्वरले सुरुमै यो ज्याम अप मात्र हो भन्दै न्ह्युलाई श्रीगणेश गर्न लगाएका छन् । जेम्सले आफ्नो युट्युब च्यानलमा हालेको भिडियो गीत दर्शकले पनि खुबै रुचाइरहेका छन् र प्रतिक्रिया पनि राम्रो आइरहेको छ ।
भिडियो पुन: यस्तो चर्चित होला भन्ने नसोचेको गायक योगेश्वर बताउँछन् । पहिलेदेखि घरमै बसेर काम गरिरहेका उनी लकडाउनले पनि खासै असर नपरेको सुनाउँछन् । भन्छन्, “पहिलेदेखि म मध्याह्नपछि उठ्छु । त्यसपछि लन्च खान्छु । आफूलाई मन परेको काम गर्छु । पहिले घुम्न निस्कन्थेँ, अहिले पाएको छैन ।”
लकडाउनलाई सदुपयोग गर्न उनी दर्शक तथा श्रोतासमक्ष आफूलाई रुचि लागेका काम गर्न सुझाउँछन् । इतिहासमा रुचि राख्ने योगेश्वर गीतका अलावा इतिहासका किताब पढ्ने र त्यससम्बन्धी चलचित्र पनि हेरिरहेका छन् ।
कमेडीका साथै सामाजिक कार्यमा पनि सक्रिय धर्मुस–सुन्तली उर्फ सीताराम कट्टेल र कुञ्जना घिमिरे कोभिड– १९ बारे जनचेतना फैलाइरहेका छन् । तर लकडाउन सुरु भएपछि फुर्सदलाई सदुपयोग गर्न यो हास्य जोडी पनि दोहोरीमा रमिरहेका छन् । भिडियोमा कुञ्जनाले जाई फूलको बासनामा भाका हालेको देखिन्छ । कुञ्जना गाउँछिन्, कोरोनाले विश्वलाई थर्कायो र तिमलाई पनि घरैमा फर्कायो, जाई फूलको बासना सबै जना क्वारेन्टिनमा बस न ।
सामुन्ने बसेका सीताराम जवाफ दिन्छन्, परिवारसँग रमाइलो गर्ने हो । भीडभाडमा गएपछि सर्ने हो । जाई फूलको बासना क्वारेन्टिनमा बस न । परिवारसँग बसेर बनाएको धर्मुस–सुन्तलीको भिडियो युट्युबमा चर्चित भइरहेको छ ।
प्राय: शान्त बस्न रुचाउने नायक राजेश हमाल लकडाउनमा प्रशन्न मुद्रामा देखिन्छन् । सामाजिक सञ्जालमा आएका कुनै भिडियोमा उनी व्यायाम गरिरहेका देखिन्छन् भने कुनैमा रोमान्टिक डिनर गरिरहेका । खाना खाँदै गर्दा तिम्रो नै माया लाग्छ साइँली बोलको गीत मोबाइलमा बजाउँदै, औँला पड्काउँदै नायकसँगै गाउँदै गरेको देखिन्छ ।
नेपाली लोकगीतलाई कभर गीत गाउँदै आधुनिक पुस्तामा चर्चित बनिरहेका आर्को मुखर्जीका गीत राजेशलाई मन पर्नेमध्येमा पर्छन् । पत्नी मधुले तपाईँ (राजेश) लाई यो भर्सन खुब मन पर्छ है भन्दै गरेको भिडियोमा देख्न सकिन्छ ।
युट्युबर, डान्सर एवं निर्देशक सविन कार्की उर्फ सविन विस्टले युट्युबमा नयाँ भिडियो ल्याए, झ्याउ लाग्छ । सविनको आफ्नै स्वर, शब्द र संगीत रहेको भिडियोमा लकडाउनमा घरमा बस्दाबस्दा दिक्क लागेकोबारे ठट्यौली पाराले देखाइएको छ । अपलोड गरेको ३ दिनमै युट्युबको नेपाल ट्रेन्डिङमा २३ मा रहेको गीतले दर्शकको मन जितिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालमा मात्र होइन, बलिउड र हलिउडका कलाकार पनि कोभिड– १९ का कारण फुर्सदमा छन् । यस्तोमा कलाकार एवं कार्यक्रम प्रस्तोता घरमै बसेर आफ्नो र दर्शकको पनि ‘टाइम पास’ गरिरहेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ ।
दर्शकलाई मनोरञ्जन दिन द कपिल शर्मा शोका होस्ट एवं कमेडियन कपिलले घरको बाल्कोनीमै बसेर बाजा बजाई गीत गाउँदै दर्शकको मनोरञ्जन गरेका थिए । यस्तै, फेमिली मुभी भन्दै अमिताभ बच्चनदेखि रजनी कान्त, आलिया भट्टदेखि रणवीर कपुर अभिनीत सर्ट फिल्म युट्युबमा हेर्न सकिन्छ ।
कालो चस्मा खोज्न सुरु भएको फिल्ममा सबै कलाकार आफ्नै घरमा बसेर भिडियो तयार पारेका हुन् । लकडाउनमा भाइरसबाट बच्न घरमा बस्नु महत्त्वपूर्ण छ भन्दै भिडियो बनाइएको छ ।
बेबी गीतबाट ग्लोबल स्टार बनेका जस्टिन बिबरले टिकटकमा यमी गीतको बोलमा भिडियोमा खाँदै रमाइलो गरेको देखिन्छ । यस्तै, माइली साइरस, जोनाज ब्रदर्सदेखि अभिनेता रक टिकटकमा भिडियो बनाउँदै ‘टाइम पास’ गरिरहेका छन् ।
द डेल्ली सोका ट्रिभर नोहा घरमै बसेर कार्यक्रम चलाइरहेका छन् । समसामयिक विषयमा व्यंग्य हालेर रमाइलो गरी चलाइने कार्यक्रमको नाम लकडाउन सुरु भएयता द डेल्ली सोसल डिस्ट्यान्सिङ सो (सामाजिक दूरी कार्यक्रम) नामकरण भएको छ ।
यसैगरी आफ्नै नामको कार्यक्रम चलाइरहेका अर्का चर्चित टेलिभिजन कार्यक्रम जिम्मी किमेल लाइभमा घरमै बसेर कार्यक्रम चलाइरहेका छन् । सेलिब्रिटीलाई अनलाइन भिडियो अन्तर्वार्ता लिँदै लकडाउनमा पनि टेलिभिजन कार्यक्रम सहजै प्रस्तुत गरी घरमै बसेर स्तरीय काम गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । कामबाट किमेल आफैँ लाभान्वित हुने नै छन्, साथै दर्शकलाई पनि मनोरञ्जन गराइरहेका छन् ।