शिल्पी थिएटरका नाटक अब युट्युबमा
शिल्पी थिएटरमा मञ्चन भइसकेका पुराना नाटक अब युट्युबमा हेर्न सकिनेछ ।

सिनेमाघरमा चलचित्र हटेपछि टेलिभिजन, डीभीडी या युट्युब तथा नेटफ्लिक्समा हेर्न मिल्छ । तर नाटकको हकमा भने त्यस्तो हुँदैन । थिएटरमा मञ्चन भएको बेला हेरे हेर्यो नत्र ठन्डाराम । तर शिल्पी थिएटरले भने दर्शकका लागि सहज बनाइदिएको छ । मञ्चन भइसकेका पुराना नाटक अब युट्युबमा हेर्न सकिनेछ ।
अहिलेसम्म ५ वटा नाटक युट्युबमा हालिसकेको निर्देशक घिमिरे युवराज बताउँछन् । प्रतिमहिना २ वटा नाटक युट्युबमा हाल्ने योजना शिल्पीको छ । घिमिरे भन्छन्, ”विदेशमा भएका साथीहरुलाई नाटक हेर्न सजिलो होस् र पुराना नाटक दर्शकले मन लागेका बेला हेर्न पाउन् भनेर हो ।” नयाँ नाटक या पुन: अभिमञ्चन हुने नाटक भने युट्युबमा राखिने छैन ।
सहरमा कोरोनाभाइरस कोभिड १९ को त्रासले भीडभाड हुने कार्यक्रम भएका छैनन् । सरकारले नै यस्ता कार्यक्रम गर्न रोक लगाएकाले नाटक मञ्चन नगरेको घिमिरे सुनाउँछन् । कोरोनाको सन्त्रास सकिनेबित्तिकै उनी दर्शकमाझ भोपालका नाटककार उज्ज्वल सिंहको निर्देशनमा तयार भएको गोल (लक्ष्य) नाटक प्रस्तुत गर्दै छन् । बालबालिकासम्बन्धी यो नाटकपछि घिमिरे स्वयंको नेतृत्वमा पनि चर्चित उपन्यासमा नाटक मञ्चन हुँदै छ । त्यतिञ्जेललाई शिल्पी थिएटर नेपाल युट्युबमा पुरानै नाटक हेरेर चित्त बुझाउनु होला ।