फ्लपमा ह्याट्रिक ?
अब हेर्नुछ, राधेले फ्लप फिल्मको ‘ह्याट्रिक’बाट निखिललाई बचाउला त ?

आफ्नो फिल्मको ओइरो लाग्दा पनि कुनैले लोभलाग्दो व्यापार नगरेपछि निराश हुँदै मुम्बई भासिएका थिए, निखिल उप्रेती । तर, न भोजपुरी फिल्ममा उनले आफ्नो अदा पस्कन सके, न बलिउडमै । त्यसपछि नेपाल फर्कनुको विकल्प रहेन उनीसँग । आफ्नो करिअरको दोस्रो इनिङ्समा निर्देशकका रुपमा पनि देखापरे, भैरवमार्फत । अनि, भन्न थाले कि कम तर राम्रा फिल्म मात्र खेल्छु । दुर्भाग्य ! उनको यो बोली दुई वर्ष पनि टिक्न सकेन । पहिलेझैँ ‘ पाएजति खेल्ने’ पथमा लम्किरहेका छन् ।
जबकि, उनका पछिल्ला फिल्म किङ र निर्भयले बक्स अफिसमा हावा खाइसकेका छन् । त्यसअगाडि लुटेराले बल्लतल्ल लगानी उठाएको थियो । तैपनि, रिलिज हुन बाँकी निखिलका फिल्मको लाइन लाग्न थालेको छ । १ वैशाखमा राधे प्रदर्शन हुँदै छ । अब हेर्नुछ, राधेले फ्लप फिल्मको ‘ह्याट्रिक’बाट निखिललाई बचाउला त ?