काम चलाउ दार्जिलिङे कोसेली (फिल्म समीक्षा : आप्पा)
निर्देशक अनमोल गुरुङले बजारको बिकाउ मानसिकताबाट माथि उठेर बाबु–छोराको प्रेमलाई इमानदार ढंगले पस्कने प्रयास गरेका छन् । तर सम्बन्धको भावनात्मक पाटोको गहिराइसम्म पुग्न सकेनन्, सपाट पटकथाका कारण ।
सिक्किम–दार्जिलिङले नेपाली फिल्मलाई अनेक कोसेली दिएको छ । तुलसी घिमिरे, निरुता सिंह, उत्तम प्रधान, शम्भु प्रधानजस्ता उताका फिल्मकर्मीको योगदान कहाँ भुल्न सकिन्छ र ? भाषा र रहनसहनले हामीलाई जोडेको छ । नयाँ फिल्म आप्पा त्यसकै निरन्तरता हो । फिल्म शतप्रतिशत दार्जिलिङ वरपर खिचिएको छ । निर्देशक अनमोल गुरुङले बजारको बिकाउ मानसिकताबाट माथि उठेर बाबु–छोराको प्रेमलाई इमानदार ढंगले पस्कने प्रयास गरेका छन् । तर सम्बन्धको भावनात्मक पाटोको गहिराइसम्म पुग्न सकेनन्, सपाट पटकथाका कारण । यसले आप्पालाई अब्बल हुनबाट रोकेको छ । शीर्ष भूमिकामा दयाहाङ राई छन् । कमजोर कन्टेन्टका बाबजुद प्राविधिक पक्षमा फिल्मले मान राखेको छ ।
पर्यटकलाई गाडीमा घुमाउने काम गर्छन्, बिर्खे (दयाहाङ) । सोझा र मायालु छन् तर हरपल रक्सी घुट्काउँछन् । एक दिन अचानक उनको गाडी दुर्घटना हुन्छ । बिर्खे र एउटा बालक सिद्धार्थ (सिद्धान्तराज तामाङ) बाँच्छन् । सिद्धार्थका सबै आफन्त मर्छन् । एक्लो बिर्खेले बालकलाई सँगै राख्न खोज्छन् तर पढाइले गर्दा छुट्टिनु पर्छ । लामो समयपछि सिद्धार्थसँग भेट हुन्छ । तर सिद्धार्थले बिर्खेलाई बाबुको रुपमा अपनाउलान् ? यही सम्बन्धको उतारचढावमा केन्द्रित छ, फिल्म ।
रगतभन्दा भावनाको नाता गहिरो हुन्छ भन्ने मान्यतालाई निर्देशक गुरुङले पर्दामा उतार्ने प्रयत्न गरेका छन् ।बिर्खे त्यसका लागि उपयुक्त पात्र हो । सुरुआती एकाध दृश्यबाटै बिर्खेलाई स्थापित गरिएको छ । तर यही अनुपातमा बिर्खे र सिद्धार्थको प्रेम अनुभूत गर्न पाइन्न । छुट्टिनुपर्ने र भेट्न नपाउने कारण पनि उतिविघ्न विश्वासिलो लाग्दैन । पात्र र घटनासँग दर्शकलाई आत्मीय बनाउने मामलामा पटकथा चुकेको छ । फादर (तुलसी घिमिरे) को बारम्बारको उपस्थिति सार्थक छैन ।
दार्जिलिङका मनोरम दृश्य, पात्रहरुको बोलीचाली, झर्रो पार्श्व संगीतले भने राहत दिन्छ । दार्जिलिङ/कालिङपोङ क्षेत्रको खाँटी स्वाद चखाइएको छ । झारो टार्ने नियत निर्देशकमा देखिन्न तर समस्या उही–मूलकथाप्रति उनको कमान्ड खुकुलो छ । मध्यान्तरपछि अझ खस्कँदै जान्छ । तन्नेरी सिद्धार्थको प्रवेश,उनी र काव्या (अलोना कबो लेप्चा) को प्रेमको बीजारोपण, उनीहरुका साथीहरुको व्यवहार, काव्याकी आमाको रैवया आदि ‘क्लिसे’ लाग्छ । लामो समयपछि भएको बिर्खे र सिद्धार्थको भेट पनि फिस्स लाग्छ । यसो हुनुमा सिद्धान्तको अपरिपक्व अभिनयको पनि भूमिका छ । बाबु–छोराभन्दा सिद्धार्थ–काव्याको प्रेममा बढी फोकस हुनथालेपछि त फिल्मको लय पूरै बिथोलिन्छ । ‘ट्वीस्ट’ले मात्र त्यसको पुर्ताल गर्दैन ।
भनिहालियो, फिल्मको मूलमर्म नै बाबुछोराको प्रेम हो । तर आफ्नै प्रस्तुतिसँग विश्वास नभएर हुनुपर्छ, निर्देशकले अन्तिमतिर हरेक पात्रलाई त्यही कुरा दोहोर्याउन लगाउँछन्, संवादबाट । यसले आप्पाको वजन घटाएको छ । फादरको चरित्र सुरुदेखि अन्त्यसम्म नियाल्दा क्रिस्चियन धर्म प्रचारको नियत पो हो कि भन्ने शंका पैदा हुन्छ । तर बिर्खेलाईचाहिँ हलबाहिर निस्केपछि पनि भुल्न सकिन्न । खासमा दयाहाङ राई बिर्खेको ‘पर्फेक्ट कास्टिङ’ हुन् । हुलिया, आनीबानी, लवजसँगै मनोविज्ञानबाट पात्रलाई जीवन्तता दिएका छन् । अरुणा कार्कीसदाझैँ आफ्नो भूमिकामा निपुण छिन् । डेब्यु हिरो सिद्धान्तले चाहिँ अभिनयलाई करिअर बनाउन औधी मिहिनेत गर्नुपर्छ । तुलनात्मकरुपमा अलोनाले चरित्रलाई आत्मसात गरेकी छन् ।
हामीकहाँ बन्ने अधिकांश फिल्ममा गीत आएपछि कथा ‘जर्क’ हुन्छ तर आप्पामा गीतलाई कथावाचनकै सहायकको रुपमा प्रयोग गरिएको छ । उत्तिकै श्रुतिमधुर छन् । हरेक गीतअर्थपूर्ण र मार्मिक छन् । पार्श्व संगीत हाम्रो सन्दर्भमा नवीन र ताजा लाग्छ । दृश्यको भावअनुकूल क्यामरा चलाएर शैलेन्द्र डी कार्की तारिफको हकदार बनेका छन् । आप्पाबाट निर्देशक गुरुङको वाहवाही गर्न सकिन्न तर आशा राख्न सकिने ठाउँचाहिँ छोडेका छन् । यसपटक उनलाई पटकथाले धोका दियो । बरु गीत लेखन र कम्पोजमा उम्दा लाग्छन् ।
समय र मुड हुँदा हेर्ने फिल्म हो, आप्पा । दयाहाङ राईका फ्यानलाई पनि प्रिय लाग्नसक्छ तर कथा र प्रस्तुतिमा विशेष अपेक्षा राख्नेचाहिँ निराश हुनुपर्छ । भनूँन, कामचलाउ मात्र छ आप्पा ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...