शिल्पकला विमर्श
यसै साता नेपाली परम्परागत शिल्पकला विषयक गोष्ठी भयो, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ।

१९ औँ शताब्दीमा कलाका लागि कला नारा प्रख्यात भएको थियो । पश्चिमा मुलुकले कलाको विकास र विस्तारका लागि विभिन्न समय कलादर्शन प्रतिपादन गरे । पछिल्लो समय नेपालमा पनि कलाबारे खुबै चर्चा-परिचर्चा हुने गरेको छ ।
यसै साता नेपाली परम्परागत शिल्पकला विषयक गोष्ठी भयो, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा । 'परम्परागत शिल्पकला परिचय, प्रभाव र प्रस्तुति' विषयक कार्यपत्रमा कला लेखक ज्ञानेन्द्र विवशले सम्पूर्ण कला विधाको मूल आधारभूमि नै शिल्पकला भएको बताए । "अनेक जातजातिका मौलिक पहिचानका रुपमा रहेका पहिरन, गरगहनामा शिल्पकलाको पक्ष अत्यन्त प्रबल हुन्छ," उनले भने ।
परम्परागत कला तथा पौभा, थांकामा शिल्पकलाको गहकिलो संलग्नताले नै ती कलाको परिचय रहँदै आएको छ । यिनले राष्ट्रकै कला र सांस्कृतिक सम्पदाको समृद्धिलाई सशक्त रुपमा सम्बोधन गरे । कार्यपत्रमाथि देवेन्द्र थुम्केली, मुकेश मल्ल, कुलपति केके कर्माचार्य, परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धि गुरुङलगायतले टिप्पणी गरे ।