१९७४ एडी को पुनर्जन्म
विख्यात संगीत समूह १९७४ एडीको रियुनियनबारे गोकर्ण गौतमको रिपोर्ट
मान्छेको जीवन, विचित्र अनौठो
कथाहरुको संगम हो
यसमा तिमी पनि छौ, म पनि छु
तिमी कता म कता, सबै कता-कता
भाग्यले जुरायो, समयले बोलायो
सबैको भावनालाई, एकै साथ ब्युँझायो
चार महिनाअघि यी शब्द लेख्दा अमेरिकामा थिए, फिरोज स्याङ्देन । उतिखेरै नेपाल आउन चाहन्थे तर चाँजोपाँजो मिलेन । त्यसैले शब्दमै सही, भावना पोखिहाले । त्यो यादगार क्षण थियो, १९७४ एडीको 'रियुनियन' । यता, एडि्रयन प्रधान, निराकार याक्थुङ्बा, मनोज केसी र सञ्जय श्रेष्ठ ब्यान्डको नयाँ यात्राका लागि एक हुँदै थिए । उता, फिरोज ब्यान्डकै उतारचढावलाई कागजमा कोर्दै थिए ।
केही समयपछि फिरोज नेपाल आए, गीत रेकर्ड भयो र ब्यान्डको नयाँ एल्बम 'निरन्तरता' मार्फत बजारमा आइसकेको छ । यो चार महिनामा उनीहरुले अरु आठ गीत रेकर्ड गरे, जसमध्ये दुइटा पछिका लागि साँचेका छन्, सात वटा 'निरन्तरता' मा छ । झम्सिखेलस्थित ब्यान्डको अभ्यास कक्षमा भेटिएका निराकार भन्दै थिए, "पहिले-पहिले एउटा एल्बम तयार पार्न चार-पाँच वर्ष लाग्थ्यो तर यस पटक लामो समयपछि सँगै काम गरेकाले हुनुपर्छ, ऊर्जाको बाँध फुट्यो ।" उनका अनुसार यस एल्बममा यस्ता गीत छन्, जुन १९७४ एडीबाट श्रोताले अपेक्षा राख्छन् । अर्थात्, ब्यान्डको मौलिक स्वादका सिर्जना ।
नेपालमा यस्तो एउटा पुस्ता छ, जो १९७४ एडीको गीत सुन्दै हुर्कियो । रक-पप पारखीको त ढुकढुकी नै हो, यो समूह । फोक, ज्याज, फंक, रेगे र ब्लुजहरु पनि गाए । १३ एल्बम निकाले, देश-विदेशमा सयौँ कन्सर्ट गरे । तर चार वर्षअघि ब्यान्डले 'ट्रयाजिडी' भोग्यो, लिड भोकलिस्ट एड्रियन अलग भए । उनी आफैँ निक्लिए या ब्यान्डले निकाल्यो, स्पष्ट भएन तर फ्यान निराश भए । सामाजिक सन्जालमा व्यक्त प्रतिक्रियाको आशय एउटै हुन्थ्यो, 'न एड्रियन बिना ब्यान्ड पूर्ण हुन्छ, न त ब्यान्डबिना एड्रियन।' सन् २००९ मा भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन अमेरिका जाँदा फ्यानको मन पोलेको थियो, एड्रियन पनि बाहिरिएपछि घाउमा नुनचुक छरेझैँ भइहाल्यो ।
पाँच वर्षको छटपटीपछि ब्यान्डले सन् १९९८ मा स्थापना हुँदाकै लाइनअप पाएको छ । त्यो भनेको, एड्रियन ड्रम र भोकल, फिरोज गिटार र भोकल, निराकार र मनोज गिटार अनि सञ्जय पर्कसन (मादल, धिमे, तबला आदि) । अहिले सँगै गाउँदा सुरुआती दिन सम्झन्छन्, कहिले भावुक हुन्छन्, कहिले रमाउँछन्, आफ्नोपन र आत्मीयता महसुस गर्छन् । एड्रियन भन्छन्, "हामी छुटिँदा फ्यानहरु बुबा-आमा डिभोर्स भएका सन्तानझैँ दुःखी थिए । अहिले बुबा-आमा फेरि मिलेझैँ खुसी भएका छन् । यो प्रेमले हामीमा ऊर्जा र उत्साह थपेको छ ।" शिखर चुमेको ब्यान्ड किन टुक्रियो ? अहिले किन मिल्यो ? निराकारसँग यसको जवाफ छ, "समयले मिलायो, समयले छुटायो ।" त्यसो भए, त्यो समय र परिस्थिति कस्तो थियो ?
ब्यान्डका सुरुआती सदस्य हुन्, फिरोज र निराकार । उनीहरुले हिट हुन ब्यान्ड खोलेकै थिएनन् । आफ्नो धित मर्ने गीत गाउने उद्देश्य मात्र थियो, पछि एड्रियन र मनोज थपिए । उस्तै शैलीका गीत सुन्दा-सुन्दा वाक्क भएका श्रोतालाई यो ब्यान्डले हुरुक्कै बनायो । पहिलो एल्बम सम्झी बस्छुका १३ वटै गीत रुचाइए, 'परेलीमा...', 'छुँदैन तिम्रो मायाले...' आदि-आदि । कन्सर्टबाट अफर आउन थाल्यो तर त्यति होइन, जति उनीहरुका गीत हिट थिए । कारण, ब्यान्डमा धेरै सदस्य हुने भएकाले व्यवस्थापन गर्न आयोजकलाई थोरै असहज हुन्थ्यो, त्यसैले सोलो गायक नै बोलाइन्थे । यहीबीच एड्रियनले आफ्नो व्यक्तिगत करिअर पनि सुरु गरे । कारण यसरी सुनाउँछन्, "ब्यान्डको कमाइले मात्र जीवन चलाउन धौ-धौ भयो, त्यसैले ब्यान्डलाई असर नपर्ने गरी एक्लै गाउनुको विकल्प भएन ।" ब्यान्डमा तुषको बीजारोपण यहीँबाट भयो ।
असमझदारी पाखा लगाउँदै ब्यान्डले एल्बम निकालिरह्यो, गीत लोकप्रिय भइरहे, कन्सर्ट गरिरहे तर बाहिर ब्यान्डको जति चर्चा हुन्थ्यो, भित्री एकता त्यति बलियो थिएन । मनोज सम्झन्छन्, "पारिवारिक दायित्व बढ्दै गयो तर गीत चल्दा पनि ब्यान्डले प्रतिफल दिन सकेन । त्यसैले ब्यान्ड खुकुलो हुँदै गयो, कता-कता मियो नभएजस्तै ।" आर्थिक उन्नति नभएकै कारण फिरोज अमेरिका जानुपर्यो । उनी गायक मात्र थिएनन्, असली सर्जक पनि थिए । उनको अभाव पूर्ति गर्न ब्यान्डलाई असाध्यै मुस्किल भयो, गायन एड्रियनले मात्र धान्नुपर्यो, ड्रम छाडेर गिटार बजाउनुपर्यो । एड्रियनलाई लाग्दो रहेछ, गीतको गुणस्तर यहीँबाट खस्कन गयो । त्यसको प्रमाण हो, फिरोजबिना निकालेको आठ अठार एल्बम । निराकार स्वीकार्छन्, "फिरोजको अनुपस्थितिले एल्बम औपचारिकतामा मात्र सीमित भयो, श्रोतालाई रिझाउन सकेनौँ, हामीलाई पनि मज्जा भएन ।"
फ्यानको अपेक्षा र प्रेमको चाङ यति अग्लो थियो, ब्यान्डले विश्राम लिने अवस्थै थिएन । तर ब्यान्डभित्रको कलह र असन्तुष्टि बढ्दै थियो । एड्रियनले समय दिन नसक्दा कति कन्सर्ट गर्न पाएनन् । सोलो करिअरले पनि गति लिएकाले ब्यान्डलाई पूरै समय दिन सक्ने स्थितिमा एड्रियन थिएनन् । एड्रियन भन्छन्, "सँगै बस्दै जाँदा हामीमा प्रतिशोध जन्मियो, त्यसलाई निराकरण गर्न सकेनौँ, जसले विछोड निम्त्यायो ।" त्यसपछि ब्यान्डमा भित्रिए तीन नयाँ सदस्य, भोकलिस्टद्वय रोहित जोन क्षत्री र प्रज्ज्वल मुखिया अनि टम्बोन वादन प्रतीक बानियाँ । यो नयाँ लाइनअपलाई पुरानै गति दिन ब्यान्ड जोडतोडले लाग्यो । हजार सपना एल्बम निकाले तर यसको हालत आठ अठारभन्दा भिन्न रहेन । कन्सर्ट पनि गरे तर ब्यान्डको 'सिग्नेचर' स्वाद पस्कन नसकेको आभास हुन थाल्यो । मनोज भन्छन्, "तर अगाडि बढ्नुको विकल्प थिएन हामी सँगै बढिरह्यौ तर सन्तुष्टि मिलिरहेको थियो, केही छुटेको महसुस हुन्थ्यो ।"
एड्रियनले पनि ब्यान्डलाई खुब 'मिस' गरिरहेका थिए । जहाँ जान्थे, एउटै सामना गर्नुपथ्र्यो, 'ब्यान्ड किन छाडेको ?, अब कहिले र्फकने ?' फिरोज अमेरिकाबाट फर्किएर उनीहरुले एकसाथ कन्सर्ट गरे तर मन भरिएन । एड्रियनको ब्यान्डसँग सम्पर्क टुटेको चार वर्ष भइसकेको थियो । भन्छन्, "नढाँटीभन्दा त्यस अवधिमा हामीबीच हाईहेल्लो पनि भएन ।" तर एउटा इभेन्टमा निराकारसँग संयोगले भेट भयो । एकअर्काको कमजोरी र नहुँदाको पीडा सेयर गरे । दुवै निष्कर्षमा पुगे, 'हामी फेरि मिल्नुपर्छ र त्यसले मात्र ब्यान्ड ब्रान्ड जोगिन्छ ।' निराकार भन्छन्, "त्यही भेटपछि हामीले रियुनियनका लागि गृहकार्य गर्यौँ । मुख्य कुरा, पहिले ब्यान्डको व्यवस्थापक नभएर डाँवाडोल भएको रहेछ । त्यसैले अब व्यवस्थित र व्यावसायिक ढंगले अगाडि बढ्ने योजना बनायौँ ।"
यो खबर सुनेपछि अमेरिकामा रहेका फिरोज पनि फुरुंग भए । ब्यान्डका भोकलिस्ट रोहितले एकल गायनमै भविष्य देखे, सायद । बाँकी दुई नयाँ सदस्य विदेश गइसकेका थिए, जसले एड्रियन-फिरोजको पुनरागमनलाई सहज तुलाइदियो । अहिले उनीहरुले ब्यान्डको म्यानेजर राखेका छन्, फुर्सद हुँदा सबैले आ-आफ्नो काम गर्न पाउँछन् । जस्तो, फिरोज अमेरिकामा हुन्छन्, कन्सर्ट हुँदा नेपाल आउँछन् । एड्रियनले एकल गायकको रुपमा कन्सर्ट गर्न पाउँछन् । सञ्जयको अर्को रेगे ब्यान्ड छ अनि निराकारको ज्याज । मनोजचाहिँ काठमाडौँ ज्याज कन्जर्भेटरीमा आबद्ध छन् । पुनर्मिलनपछि काठमाडौँ, चितवन र पोखरामा कन्सर्ट गरे । सन् २०२० मा १९७४ एडीको 'वल्र्ड टुर' हुनेछ, दक्षिण कोरियादेखि अमेरिका, अस्ट्रेलियासम्म । ब्यान्डका प्रोड्युसरसमेत रहेका मनोज भन्छन्, "अहिले हामीबीच पर्याप्त समझदारी छ, प्रतिशोध शून्य छ, जोश छ । यसलाई ब्यान्डको पुनर्जन्म भन्दा हुन्छ ।"
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...