फिल्म साउथएसिया : बन्देजविरुद्ध वृत्तचित्र
"आज हामी दक्षिण एसियाली नागरिक मस्तिष्कमा स्वतन्त्र होलाऔँ तर हामी सबैले बाँधिएको महसुस गरेका छौँ । हाम्रो दायित्व हो, नेपाली समाजलाई खुला राख्नु र विदेशीको नजरमा उदाहरण बन्न सक्नु ।”

फिल्म साउथएसिया २०१९ सुरु भएको छ । १२ औँ संस्करणसम्म आइपुगेको वृत्तचित्र महोत्सव हरेक दुई वर्षको अन्तरालमा हुने गर्छ । यसपल्टको थिम ‘ह्वेर द माइन्ड इज फ्रि’ हो, जुन भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरको सोही शीर्षकको कविताबाट लिइएको हो ।
महोत्सवको थिमबारेमा बताउँदै फिल्म साउथएसियाका अध्यक्ष कनकमणि दीक्षितले भने, "स्वतन्त्रता पत्रकारिता, साहित्य र चलचित्रको स्पन्दन हो । आज हामी दक्षिण एसियाली नागरिक मस्तिष्कमा स्वतन्त्र होलाऔँ तर हामी सबैले बाँधिएको महसुस गरेका छौँ । हाम्रो दायित्व हो, नेपाली समाजलाई खुला राख्नु र विदेशीको नजरमा उदाहरण बन्न सक्नु ।”
२८ कात्तिकबाट सुरु भएको महोत्सवमा नेपथ्यका लिड सिंगर अमृत गुरुङले उद्घाटन गरेका थिए । उद्घाटनमा उनले भने, “जब सत्तामा कला, जात, धर्म, कर्मको सीमितता वा बन्देजको गन्ध आउन थाल्छ, त्यो अधिनायकवादउन्मुख हुन्छ । आजको संसारमा यो गन्ध आइरहेको छ। हाम्रो बोली त बन्द गराइएला तर चरालाई चुप लगाउने दुष्साहस कसले गर्न सक्छ?”
उद्घाटनलगत्तै पाकिस्तानको वृत्तचित्र इन्दुज ब्लुज देखाइएको थियो । मानव सभ्यताको उद्गमस्थल इन्दुजमा कसरी लोक बाजा र गीत पलायनको भयो भन्ने कथा चित्रित छ ।
शुक्रबार १८ वटा फरक विषयमा चाखलाग्दा डकुमेन्ट्री देखाइँदै छ । वृत्तचित्र पाटनको यलमायाकेन्द्रको मजलिस, बग्गीखाना र गौशाला गरी ३ वटा हलमा देखाइनेछ । शुक्रबारको सेसनमा संस्कृति, सिनेमा र पत्रकारिताजस्ता विविध विषयमा केन्द्रित वृत्तचित्र देखाइँदै छ । शुक्रबार जोन ल रले निर्देशन गरेको अफिम वार देखाइएको हो । अफिमको सहज पहुँच र त्यसमा लठ्ठिएको युवाको कहानी म्यानमारको काचिन राज्यको पृष्ठभूमिमा बनेको हो ।
यस्तै, बग्गीखाना हलमा स्वीमिङ थ्रु द डार्कनेस देखाइएको छ । सुप्रिया सेनले निर्देशन गरेको वृत्तचित्रमा आँखा राम्ररी नदेख्नेले पौडी खेल्दा के–कस्ता चुनौतीको सामना गर्नुपर्छ भन्ने जीवन वृतान्तको चित्रण गरिएको छ ।
गौशाला हलमा सफल ध्वनि कलाकारको जीवनमा आधारित द साउन्ड म्यान मंगेश देसाई देखाइएको छ । नातावाद र कृपावादबाट मात्र कोही व्यक्ति बलिउडमा सफल हुनसक्छ ‘कसको को’ बीच मंगेशको सफलता वृत्तचित्रको विषय बनेको छ ।
वी आर विथ डाक्टर केसी ९० मिनेटको लामो वृत्तचित्रमा डाक्टर गोविन्द केसीले मेडिकल माफियाविरुद्ध ५ वर्षमा एक सय दिन गरेको अनशनलाई प्रस्तुत गरिएको छ । यस वृत्तचित्रलाई गोपाल शिवाकोटी र गोविन्द शिवाकोटीले निर्देशन गरेका छन् ।
यस्तै, निडर पत्रकारिता गर्दा ज्यान गुमाएकी भारतीय पत्रकार गौरी लंकेशको जीवनीमा आधारित प्रदीप केपीले निर्देशन गरेको आवर गौरी पनि देखाइँदै छ । यीबाहेक दक्षिण एसियाकै चर्चित फिचर, वृत्तचित्र पनि शुक्रबार देखाइँदै छ । मंसिर १ गतेसम्म चल्ने महोत्सवमा टिकटको मूल्य ५० रुपैयाँ रहेको छ ।