फिनिक्सको जादू
फिनिक्सले यस वर्षको प्रतिष्ठित अमेरिकी ओस्कार अवार्डको उत्कृष्ट अभिनेता अवार्डसमेत हात पारेका छन् । चार पटक मनोनीत भइसकेका फिनिक्सले पहिलोपल्ट ओस्कार जितेका हुन् ।

एक जोकरको नैराश्य र उसको ट्रयाजेडीलाई विषय बनाएर पस्किएको चलचित्र जोकरले विश्वभरि नै तहल्का मच्चायो, सन् २०१९ मा । विश्वकै बक्स अफिसमा राज गरेको जोकरले नेपालमा मात्रै २ करोड आम्दानी गर्यो ।
यसका मुख्य अभिनेता हुन्, वाकिन फिनिक्स । भिलेनको भूमिका रहे पनि फिनिक्सको अभिनयले दर्शकको मन जित्यो । त्यसैले होला, मनोवैज्ञानिकको आलोचनाका बाबजुद दर्शक र चलचित्र समीक्षकले फिल्म खुब मन पराए । मेथड एक्टरका रुपमा चिनिने जोकरको भूमिका निखार्न फिनिक्सले ५२ पाउन्ड तौल घटाएका थिए ।
त्यही मिहिनेतको फल आज उनी खाँदै छन् । फिनिक्सले यस वर्षको प्रतिष्ठित अमेरिकी ओस्कार अवार्डको उत्कृष्ट अभिनेता अवार्डसमेत हात पारेका छन् । चार पटक मनोनीत भइसकेका फिनिक्सले पहिलोपल्ट ओस्कार जितेका हुन् । उनले लियोनार्दो डि क्याप्रियो, एन्टोनियो ब्यान्डरासजस्ता कलाकारलाई पछि पार्दै सो अवार्ड हात पारे ।
जितपछि भावुक हुँदै उनले यो पल असाधारण भएको बताए । कलाकार भएकाले आफू आवाजविहीनको आवाज बन्न पाएकामा उनले खुसी व्यक्त गरे । रमाइलो त के भने फिनिक्सले जोकरबाटै यसअघि गोल्डेन ग्लोब र बाफ्टा अवार्ड जितिसकेका छन् । सन् १९८१ को अमेरिकाको ’डिप्रेसन एज’ को पृष्ठभूमिमा बनेको जोकर एक असफल स्ट्यान्डअप कमेडियन आर्थर फ्लेकको कथा हो । उनको पागलपन र शून्यवादले बुर्जुवा संस्कृति हटाउन प्रेरित गर्छ ।