नोटबुक
मेरो प्रस्ताव छ, मुग्लिङ–नारायणगढ सडक खण्डलाई प्रचण्डपथ नामकरण गरौँ ।
ठाउँमा काम !
मोहन मैनालीको पुस्तक मान्ठा डराएको जुगमा एक पात्र छन्, लालबहादुर रावत । बाजुराको अंगउपानी, पाण्डुसेनका रावतले द्वन्द्वकालमा २१ वर्षे नाति तुला गुमाए । ०५८ मा ‘लालसेना’को खानु पिटाइ खाएका तुला ०५९ मा गाउँ आइपुगेको सेना–पुलिसको जत्थाबाट मारिए । घरभित्र छिरेर ६ जना युवालाई त्यहीँ मारिदिए । तुला र उनका साथीहरु माओवादी थिएनन् । तुलालाई अलि तल ओखरको बोटसम्म लगेर गोली हानेर मारे । मोहन मैनाली द्वन्द्वकालमा दुईचोटि त्यहाँ पुगेका थिए । द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपियाँ दिइएको थियो । प्रचण्ड प्रधानमन्त्री भएका बेला ०६५ मा तेस्रोचोटि त्यहाँ पुगेका मैनाली लालबहादुरको कुरा सुनेर छक्कबक्क पर्छन् । लालबहादुरको परिवारले पैसा लिएन । लालबहादुरले मैनालीसँग भनेका छन्, ‘सरकारको नोक्सान किन गरौँ, भोलि त्यो पैसा अर्काे ठाउँमा काम लाग्ला ।’
अभाव र तनावले टाक्सिएका, त्यसमाथि द्वन्द्वको दबाब र प्रभावले थिलथिलो भएका लालबहादुरले वैधानिक रुपले पाउनुपर्ने पैसा पनि लिएनन् । मानव विकास सूचकांकको पुछारमा रहेका निर्धा, निमुखा, निरक्षर, नि:सहाय, निरीह लालबहादुरहरुले ‘सरकारको किन नोक्सान गरौँ’ भन्दै तिरिदिएको तिरो महागरिब/महाभिखारी ‘विशिष्ट’हरुले पाएका छन् । अलकत्रै पचाउने ‘विशिष्ट’हरु गरिब कि कात्रै किन्ने पैसा नहुँदा पनि ‘सरकारको नोक्सान नगर्ने’ लालबहादुरहरु गरिब ? मानिस गरिब मनले हुन्छ, धनले हुँदैन क्यारे !
प्रचण्डपथ
नयाँ बसपार्क गोंगबुबाट बेलुका ४ बजे छुट्नुपर्ने बस साढे चारमा छुट्यो । कमिलाको ताँती यति सुस्त कि बल्लतल्ल साढे ८ बजे थानकोट पुगियो । गोंगबुबाट थानकोट पुग्नै चार घन्टा । गजुरीमा खाए खा नखाए घिच पारामा एक्लो होटलमा हुलेपछि निद्राले च्यापि त हाल्यो । सुस्तरी सही, गाडी चलेपछि निद्रा लागिहाल्छ मलाई । मुग्लिन पुगेपछि बिउँझिएँ, भन्नै परेन गाडी रोकिएको भनेर । कमिलाको ताँती त पूरै ठप्प । अन्य कुरा यथावत् रहे बिहान झिसमिसेमै दाङ पुगिसक्नुपर्ने तर भाग्यमा लेखेपछि कसको के लाग्छ, नारायणगढमै उज्यालोमै चिया पिउने सौभाग्य पाएँ । बढीमा १० घन्टा लाग्ने यात्रा दशा लागेर होला, २० घन्टामा दाङ पुगियो । घर जाँदा सास्ती त पाइएको थियो थियो, काठमाडौँ फर्किंदा पनि उही ताल । शत्रुलाई पनि नसराप्नुहोला, नारायणगढ–मुग्लिनको बाटो हिँड्न परोस् भनेर ।
प्रचण्ड नेतृत्वको जनयुद्धमा जति मान्छे मरे, सडक दुर्घटनामा त्यो भन्दा बढीको ज्यान गइसकेको तथ्यांक छ । आफ्नो जिल्लामा पर्ने त्यो सडक खण्डमा प्रधानमन्त्री प्रचण्डका आँखा गडेदेखि म उनलाई ठूलै सम्मान गर्ने थिएँ । मेरो प्रस्ताव छ, मुग्लिङ–नारायणगढ सडक खण्डलाई प्रचण्डपथ नामकरण गरौँ । त्रिभुवन राजपथ, बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग हुन्छ भने प्रचण्डकै जिल्लाको प्रचण्डझैँ ‘ खतरनाक’ बाटोलाई प्रधानमन्त्रीको नाम दिँदा कसैको नोट अफ डिसेन्ट ? प्रचण्ड‘पथ’को पनि स्तरोन्नति हुने, हामीलाई पनि सजिलो !
आप्ना मुनले चायापछि...
बेतालमाण्डौँ बजार बाह्रबिस–७, बाजुरा लेखेको धमिलो बोर्डमुनि उभिएका दलबहादुर रावल, ६३, दुई श्रीमती र आठ सन्तानका ‘ हाकिम’ पनि हुन् । सानैमा बुबा बितेकाले गाउँलेहरुले उनलाई ‘राँडीको छोरा’ पनि भने । ११ वर्षको हुँदा १६ वर्षे केटीसित विवाह बन्धनमा बाँधिए उनी । बड्डी श्रीमतीको डर मानेर उनी नजिकै पर्दैनथे रे सुरुमा । तर, उनी १५ वर्षको हुँदा पहिलो सन्तान चक्रबहादुर जन्मिई त हाल्यो । खै, के कुचक्र परेर हो, चक्रबहादुर नौ वर्षको उमेरमा बार्जुगाडमा डुबेर बिते ।
दलबहादुर ०३६ सालमा कांग्रेसतिर लागे, वडाअध्यक्ष पनि भए । जम्मा गरेर २२ वर्ष इन्डियामा मजदुरी गरे । एक रात मैले उनकैमा खाना खाएँ, रात बसेँ । लामै भलाकुसारीपछि सुत्ने ठाउँ बनाइदिए । भुइँमा पसारिदिएको कुनाको ओछ्यानमा ढलान भएँ । निद्रा लागेको थिएन, डायरी टिपटाप गर्दै थिएँ । उनी कोठामा आए । म सुतेकै अर्काे कुनामा ओछ्यान पसारे । बाहिरिएका उनी हातमा कापी बोकेर भित्रिए ।
मक्किसकेको, धूवाँले रंगिएको कापी मभन्दा पनि जेठो रहेछ । १२ चैत ०४१ को मितिमा लेखेका छन्, ‘मेरो मया पिरतीको अगाध समझना ।’ अर्काे छ : ‘सुनबाडा सुनार्नी सुनाकी गइ सती, बउदल आयो फर्कने हुन् कति !’ ०४२ को मितिमा : ‘राजाले तितरा मार्यो डब्बाभरि मासु, बाझकली सम्झ्याका बेला छातीभरि आँसु । उकाली भोक लागीजाली, भुटी लैजाऊ खाजा, आप्ना मुनले चायापछि क्या भुन्या हो राजा !’
रातैभरि न उनी सुते, न म । उनका प्रेम–कहानी, राजनीति–कहानी, परिवार–कहानी, माओवादी–कहानी पढ्न/सुन्न पाएर म दंग ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...