नोटबुक
उनले भनी पनि हालिन्, ‘खाली छ भन्दैमा महिला शौचालयचाहिँ नछिर्नूस् है भाइ !’
राधा रुपाखेती र आमाहरू
कलंकीबाट वाग्मती यातायात चढेर थापाथली जाँदै थिएँ । सिटमा एक जना महिला पर्नुभो । हँसिली र रसिली राधा रुपाखेती, ५०, एकोहोरो निरन्तर बोलिरहनुभयो । उहाँको बोलीको टेप हैन, सम्झना उतार जस्ताको तस्तै : हेर्नूस् त बाबु ! मैले कार्ड नबनाएर पूरा भाडा तिर्नुपर्ने भयो । मेरो घर धादिङ हो । अहिले आँखा जँचाउन त्रिपुरेश्वर जान लाकी छु । बाहिर जाने काम पर्दैन भनेर मैले कार्ड बनाइनँ । म पाँच कक्षामा पढ्छु बाबु । एक कक्षादेखि पढेकी हुँ । अनि छ नि बाबु, पत्रिकामा मेरो फोटो पनि आएथ्यो ।
कक्षाबाहिर जो मेरो उमेरका साथी हुन्, कक्षाभित्र म तिनीहरुका छोराछोरीकी साथी हुँ । ‘तिमीले गर्दा हाम्रा छोराछोरीको पनि पत्रिकामा फोटो आयो’ भने । सर/मेडमले पनि ‘तिमीले गर्दा हाम्रो स्कुलको नाम आयो’ भन्नुभो । अँ बाबु, मलाई अंग्रेजी धेरै गाह्रो लाग्छ । अहिले त नेपालीबाहेक सबै विषय अंग्रेजीमै पढाउँछन् हेर्नूस् न !
नेपालमा त नेपालीबाटै पढाए भइजान्नथ्यो र ? पढ्न धेरै गाह्रो रहेछ बाबु तर धेरै नम्बर ल्याउन नसके पनि म सबै विषयमा पास त हुन्छु । पहिले मैले छोराछोरीलाई ‘ आज शुक्रबार त हो, नजाओ स्कुल’ भन्थेँ । त्यस्तो भन्नु नहुने रहेछ बाबु, एक दिन पनि छोड्न नहुने रहेछ स्कुल त । बूढी भएँ भनेर पढ्न नथालेकी भए म अहिले एक्लै अस्पताल आउन सक्ने थिएँ त ? नेपालीमा लेखेका सबै साइनबोर्ड पढ्न सक्छु म अहिले ।
बोल्दाबोल्दै राधा दिदीको ओर्लिने ठाउँ आइहाल्यो । पढाइले उहाँमा जगाइदिएको निश्छल उत्साह देखेर मेरो मन साँच्ची फुरफुर भयो । मैले सल्यानमा रहेकी मेरी आमालाई सम्झेँ, एसएलसी दिएको वर्ष मैले जिल्ला शिक्षा कार्यालय सल्यानको कार्यक्रम अन्तर्गत ६ महिना प्रौढ शिक्षा पढाएको थिएँ गाउँमा । र, मेरी पहिली विद्यार्थी हुनुहुन्थ्यो, मेरी आमा र आमाहरु । ‘अब हामीले ल्याप्चे लाउन परेन, सही गर्न सक्ने भयौँ’ भन्दा आमाहरु यति खुसी देखिनुभएको थियो कि राधा रुपाखेती दिदीजस्तै । वाह ! पढाइको हँसाइ !
महिला सिट कि शौचालय !
भक्तपुरको सिद्ध पोखरीतिर डेटिङ जाँदै थिएँ । राजधानीको सबैभन्दा सुन्दर बाटो माइतीघर—बानेश्वर हुँदै ठूलै बस चढेर । बसमा उभिनु कसैलाई परेको थिएन र सिट पनि भरी नै थिए । मीनभवनमा एक जना महिला चढिन् । म महिला सिटमा बसेको थिएँ । उनी बसमा चढ्नेबित्तिकै उठिहालेँ । यात्रामा जोसँग पनि बोलिहाल्नुपर्ने म, उनीतिर फर्केर हाँस्दै भनेँ, ‘महिला सिट खाली भएर बसिहालेको है दिदी म त !’
उनले भनी पनि हालिन्, ‘खाली छ भन्दैमा महिला शौचालयचाहिँ नछिर्नूस् है भाइ !’
अघि मेरो सिटपार्टनर र अब उनको सिटपार्टनर बनेकी मेरी प्रेमिकाले खित्का थाम्न सकिनन् !
स्मार्ट कन्डक्टर
कीर्तिपुर जाने माइक्रोबस । ५०/५५ जति उमेरका देखिने एक जनाले कालीमाटी पुगेपछि १० रूपियाँको नोटसँगै स्टुडेन्ट कार्ड झिके । कन्डक्टर भाइले कार्ड र ती अधबैँसेको मुख पालैपालो हेरे र मुसुक्क हाँस्दै भने, ‘ल अंकल, हजुर त म्याथमा एमए पढ्नुहुँदो रहेछ, त्यो पनि सेन्ट्रल डिपार्टमेन्ट अफ म्याथम्याटिक्स टीयूमा, एउटा क्वेसन सोध्छु है, ए प्लस बी को होल स्क्वाएर सिकाइदिनु न मलाई !’
कन्डक्टर भाइले यति भन्दा भन्दै ती ‘म्याथम्याटिसियन’को अनुहार लाजले रातो भइहाल्यो । उनले खल्तीबाट पाँच रूपियाँ निकाल्नु र आफू पनि बसबाट निक्लिनु सँगैसँगै भयो ।
१० कक्षा पढ्दै गरेका ती कन्डक्टर भाइ स्कुल बिदा भएकाले बस मालिक/चालक बाबुलाई सघाइरहेका रहेछन् । नक्कली विद्यार्थी चिन्ने उनको काइदा गजब रहेछ । साइन्स कार्ड देखाए एचटूओ, नेपालीको देखाए महाकवि देवकोटाको जन्म, अंग्रेजीको देखाए सेक्सपियरको देश, यस्तैयस्तै सोध्ने रे ! क्या स्मार्ट कन्डक्टर !
‘बच्चा छ’
द्वन्द्वकालमा दाङ–सल्यान अर्थात् मामाघर–घर गर्दा झोला बोकेर दसौँ ठाउँ ओर्लिनुपथ्र्याे र कडा चेकिङमा लाइन लाग्नुपथ्र्यो । छुकछुके मलाई यसरी ओर्लिरहन पाउँदा चाहिँ मज्जै आउँथ्यो । मभन्दा अघिल्लो सिटमा दुई महिला थिए, एक जनाको काखमा बच्चा पनि । कपुरकोटको चेकिङमा उनीहरु ओर्लेनन् । बस गुडेपछि उनीहरुले सुनाएको कुरा रोचक/घोचक छ । सेनाले ‘किन नओल्र्या’ भनेर हप्कायो । ‘देख्नुभएन ? काखमा बच्चा छ,’ बच्चा हुनेले भनिन् । सेनाले अर्कीलाई सोध्यो, ‘ए ठीक छ अनि तिमी किन नओल्र्या ?’ बान्ता गर्दागर्दा थकित उनी तपाईं सम्बोधन तिमीमा झरेको सुनेर कडै जवाफ दिइन्, ‘मेरो पनि बच्चा छ ।’ खाउँलाझैँ गरेर हप्कायो सेनाले, ‘खै कहाँ छ तेरो बच्चा ?’ उनले पेट देखाएर भनिन्, ‘ई ह्याँ छ ।’
वास्तवमा उनको बिहे भएको थिएन र बच्चा पनि थिएन पेटमा । तर, उनले असंवेदनशील (अ)सुरक्षाकर्मीलाई बोलीले हैन, गोलीले दिएको जवाफ बडो घत पर्यो मलाई ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...