स्वदेशीलाई विभेद
सिनेमा अभिव्यक्तिको माध्यम हो । त्यसैले संविधानमै अभिव्यक्ति स्वतन्त्रता भएको नेपालमा सेन्सर परिकल्पना हुँदैन । तर सिनेमा सेन्सरको पञ्जाबाट मुक्त छैन ।
अहिले हलमा तीन फिल्म चलिरहेका छन्, नेपाली छ माया छपक्कै, हिन्दी वार र अंग्रेजी जोकर । वारमा ऋतिक रोशन र टाइगर श्राफ बिनाहेल्मेट बाइक कुदाउँछन् । तर स्क्रिनमा लेखिएको हुन्न- 'ट्राफिक नियमको पालना गरौँ ।' जोकरका मुख्य अभिनेता जोक्युन फोनिक्स चुरोट तानेको तान्यै गर्छन् तर वैधानिक चेतावनी छैन । छ माया छपक्कैमा दीपकराज गिरी र जितु नेपालले पनि बाइक चलाउँदा हेल्मेट लगाएका छैनन् । त्यहाँ 'बिनाहेल्मेट सवारी चलाउनु ट्राफिक नियमविपरीत छ' भनेर बडेमाको अक्षर देखिन्छ । मदिरापानका दृश्यलाई निर्बाध छाडिएको छैन । जबकि यी तीनै फिल्मको सेन्सर गर्ने निकाय चलचित्र सेन्सर बोर्ड हो ।
सिनेमा अभिव्यक्तिको माध्यम हो । त्यसैले संविधानमै अभिव्यक्ति स्वतन्त्रता भएको नेपालमा सेन्सर परिकल्पना हुँदैन । तर सिनेमा सेन्सरको पञ्जाबाट मुक्त छैन । त्यसमाथि स्वदेशी फिल्मलाई बढी चेपिन्छ, विदेशीलाई छाडा छाडिन्छ । स्क्रिनमा अक्षर आउँदा दर्शकको ध्यान दृश्यबाट बिथोलिन्छ । नेपाली फिल्ममा रगतपच्छे भएका दृश्य सकेसम्म सेन्सरले काट्छ, नत्र 'ब्लर' गर्न लगाउँछन् । तर जोकरका रगताम्य दृश्यलाई सेन्सरले आँखा चिम्लिएको छ ।
विभेद यत्तिमै सीमित छैन । नेपाली फिल्मको नाम दर्ता गर्न नै चलचित्र विकास बोर्डले लफडा गर्छ, कथासारदेखि कलाकार र प्राविधिकसम्मको लम्बेतान सूची बुझाउनुपर्छ । कहिलेकाहीँ सेन्सरका पदाधिकारीको समय नपाएर सास्ती झेल्नुपर्छ । तर बिहीबार आएका विदेशी फिल्मको रातारात सेन्सर गरेर शुक्रबार रिलिज गरिन्छ । यस्तो विभेद गर्दा पनि नेपाली फिल्मकर्मी सहेरै बसिरहेका छन्, सामूहिक प्रतिरोध छँदै छैन । नेपाली फिल्मको उन्नतिका लागि के-के न गर्छु भनेर कुर्लिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आवाज पनि सुक्दै गएको छ ।
कहिले आउला चेत ?
बहुसंख्यक नेपाली फिल्ममेकर फिल्म बनाउनभन्दा चलाउन हतार गर्छन् । नाम तय भएको हुँदैन, रिलिज मिति तोक्न हानथाप हुन्छ । अशोक शर्मा यही कोटिमा पर्छन् । अघिल्लो दसैँमा जय भोले रिलिज हुनासाथ घोषणा गरे- अर्को दसैँमा रातो टीका निधारमा चलाउँछु । आफ्नो वितरण कम्पनी डीसीएन र प्रदर्शक चेन क्युएफएक्समा पहुँच भएकाले शर्मासँग प्रायः फिल्ममेकर हच्कन्छन् । हलको शो वितरणमा पनि हालीमुहाली हुन्छ । घोषणा गरेजस्तै यो दसैँको मुखमा रातो टीका निधारमा चलाए । दसैँमा एकल रिलिज पाउनु नै भाग्य हो । दुर्भाग्य ! प्रचारप्रसार बढ्तै गरिए पनि पहिलो दिनबाटै हलमा सुक्खा लाग्यो ।
छक्का-पञ्जाले बनाएको कमेडीको बजारको ब्याज खानेबाहेक फिल्मको अर्को खास नियत देखिँदैनथ्यो । साम्राज्ञीराज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झाजस्ता चिनिएका कलाकारको डफ्फा हुँदा पनि दर्शकले सीधै 'रेड कार्ड' देखाए । आशा थियो, शर्माले आत्मालोचना गर्नेछन्, कमजोरी सुधार्ने प्रण गर्नेछन् । तर त्यस्तो कहाँ हुनु, उल्टै उपयुक्त रिलिज डेट चयनमा चुकेकाले फिल्म नचलेको जिकिर गरे । दसैँमा एकल रिलिज पाउँदा पनि यस्तो काइते तर्क !उनै शर्माले अर्को दसैँमा अल्लारे २ चलाउने घोषणा गरिसकेका छन् । उनकै समकक्षी एक निर्देशक भन्छन्, "चेत नखुले र रिलिजको राजनीतिभन्दा कन्टेन्ट बलियो बनाउन समय तथा दिमाग खर्चिएनन् भने फेरि यही नियतिको सिकार हुन्छन् ।"
किशोरीको दुर्दशा
दसैँ सकेर राजधानी र्फकंदै गर्दा मन खल्लो भयो । सुमोका अन्य यात्रुबाट थाहा पाइयो, नजिकै गाउँकी १५ वर्षीया किशोरीले भागेर बिहे गरिछन्, त्यो पनि आफूभन्दा दोब्बर उमेरका विवाहित पुरुषसँग । परिवारले स्वीकृति दिएछ । कानुनमा २० वर्ष नपुगी विवाह निषेध छ । बहुविवाह पनि गैरकानुनी हो ।
तामाङ थरकी ती किशोरी मकवानपुरको बकैया गाउँपालिकाकी बासिन्दा हुन् । यो दुर्गम भेग पनि होइन, प्रदेश ३ को राजधानी हेटौँडाबाट २५ किलोमिटर दूरीमा पर्छ । नजिकै स्कुल र गाउँपालिका पदाधिकारीको घर छ । तर त्यति कलिलै उमेरमा दुलही बन्न केहीले छेकेन ।
स्थानीय सरकारको दायित्व विकास निर्माण मात्र पक्कै होइन, चेतनास्तर वृद्धि गरेर समुन्नत समाज बनाउनु पनि हो । तर स्थानीय तहमा बिदा दिन, मनलाग्दी कर असुल्न, सेवासुविधा बढाउन अनि आफ्ना मान्छेलाई ठेक्का दिलाउनबाहेक गाउँपालिका पदाधिकारीको ध्यान अन्त नहुने रहेछ । बकैयामा ती नानीजस्तै सानै उमेरमा बिहे गर्ने अरु धेरै रहेछन् । तर गाउँपालिकाले तिनलाई लक्षित कुनै अभियान चलाएकै छैन । बरु उनीहरु नदेखेझैँ गर्दा रहेछन् ।
बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सी प्रथा, महिला हिंसाजस्ता कुप्रचलन निर्मूल पार्नु स्थानीय निकायको प्राथमिक दायित्व हो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...