महिला हिंसा देखाउने दाँत
कार्यक्रमको समापनका बेला झन्डै ५ मिनेटको महिला हिंसाविरुद्धको अभियानको भिडियो सन्देश देखाएको राखेपले महिला खेलाडीलाई बिनाजानकारी शपथ लिनबाट हटाउँदाचाहिँ हिंसा भयो कि भएन होला !
१३ औँ दक्षिण एसियाली खेल नेपालमै आयोजना हुँदा सबैभन्दा खुसी खेलाडी नै थिए । अझ उद्घाटन समारोहमा राष्ट्रिय झन्डा बोक्ने र खेलाडीका तर्फबाट शपथ लिन पाउने भाग्यशाली खेलाडीको खुसीको त सीमा नै भएन । राखेपले उद्घाटनको केही दिनअघि राष्ट्रिय झन्डा क्रिकेटका पारस खड्काले बोक्ने र शपथ तेक्वान्दोकी आयशा शाक्यले लिने जानकारी गराएको थियो । उद्घाटनको ग्रान्ड रिहर्सलमा पनि आयशाले नै शपथ लिएकी थिइन् । तर उद्घाटनको दिन बिहान झन्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्ने समाचार आयो । प्रतियोगितामा सहभागिता जनाउने खेलाडीमध्ये ओलम्पियन भए उसैले झन्डा बोक्ने प्रचलनअनुसार कमललाई त्यो मौका दिइयो । तर पारसलाई अब के गर्ने ? राष्ट्रिय खेलकुद परिषद् समस्यामा पर्यो । झन्डा बोक्न नमिलेपछि राखेपले पारसलाई शपथका लागि तयार बनायो । उद्घाटन सुरु हुनुअघिसम्म पनि आयशा यसबारे बेखबर थिइन् ।
खेलाडीका तर्फबाट शपथ लिन पारस ट्रयाक सुटमा गए । मन्त्रीहरुलाई समेत दौरासुरुवाल कोट उपलब्ध गराएको राखेपले शपथ लिने खेलाडीका लागि पोसाकको व्यवस्था गर्न सकेन । साडीचोलोमा आएकी आयशा हेरेको हेर्यै भइन् । कार्यक्रमको समापनका बेला झन्डै ५ मिनेटको महिला हिंसाविरुद्धको अभियानको भिडियो सन्देश देखाएको राखेपले महिला खेलाडीलाई बिनाजानकारी शपथ लिनबाट हटाउँदाचाहिँ हिंसा भयो कि भएन होला !
प्रहरीले खेल हेर्ने कि दर्शकको सुरक्षा गर्ने ?
खेलकुदका ठूला प्रतियोगिता आयोजना गर्दा खेलस्थल सुरक्षाको जिम्मा प्रहरीलाई दिने नेपाली चलनै हो । यस पटकको सागमा पनि व्यापक संख्यामा प्रहरी परिचालन भए । प्याराफिटमा खटिएका प्रहरी दर्शकको सुरक्षामा कम र खेल हेर्नमा बढी व्यस्त हुन्थे । विदेशतिर सुरक्षाका लागि खटिनेहरु दर्शकतिर फर्केर बसेका हुन्छन् तर हामीकहाँ भने सबै सुरक्षाकर्मीको नजर खेलस्थलमा हुन्छ । हजारौँका संख्यामा खटाइएका भनिएका स्वयंसेवकको अत्तोपत्तो नहुँदा दर्शकले सिट खोज्न प्रहरीको सहयोग लिन खोज्दा पनि उनीहरुलाई त्यसबारे जानकारी हुन्नथ्यो ।
अझ बर्दी लगाएपछि सुरक्षाकर्मीलाई रंगशाला छिर्न पनि सजिलो र आफूसँगै चिनेजानेका लागि छिराउन पनि सहज भएको थियो । टिकट काटेर लाइन बसेका दर्शकलाई कुटुँलाझैँ गर्ने प्रहरीचाहिँ आफन्तलाई भने चोरबाटोबाट छिराइरहेका भेटिए ।
कहीँ नभएको जात्रा समापनमा
नियम मान्ने हो भने फुटबलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा मैदानमा एक साताअघि नै कुनै पनि खेल गर्न पाइन्न । ओलम्पिक, एसियाड र सागजस्ता प्रतियोगितामा ट्रयाक एन्ड फिल्डका स्पर्धा हुँदा रंगशालाको ट्रयाकको प्रयोग मात्रै गर्न पाइन्छ । मैदानमा खेल्न पाइन्न । तर १३ औँ सागको समापनअघि नेपाल र भुटानबीच स्वर्ण स्पर्धा हुनुअघि दशरथ रंगशालामा रातारात मैत्रीपूर्ण फुटबल आयोजना भयो । त्यो पनि सांसद र संसद् सचिवालयका कर्मचारीबीच ।
सांसद र कर्मचारीलाई पहिल्यै रंगशालाभित्र छिराएर पासको टन्टाबाट राखेप मुक्त हुन खोजेको हो कि भन्ने भान परेको छ ।
त्यस्तै समापनका बेला नाइटिंगल स्कुलका विद्यार्थीले पनि मनमोहक प्रस्तुति दिए । तर काठमाडौँको चिसोमा कोरियोग्राफरले विद्यार्थीलाई अर्धनग्न भेषभूषामा उतारेर उनीहरुको सातो लिने काम गरे । झन्डै एक घन्टा चिसोमा कठांग्रिएका विद्यार्थी आफ्नो प्रस्तुति सकिएपछि बाक्लो र न्यानो कपडा खोज्न हतारिएका थिए । छात्राहरुलाई फुल स्लिभमा नचाउन मिल्दा छात्रहरुलाई चाहिँ किन अर्धनग्न पार्नुपर्ने रहेछ ? कहीँ नभएको जात्रा हाँडीगाउँमा यस्तैलाई पो भन्ने हो कि ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...