नेता जुध्ने, गोरु नजुध्ने
गोरुलाई बारीको पाटामा ल्याइयो तर अचम्म कुरा गोरु जुध्दै जुध्दैनन् । दुवैले एकअर्कालाई नहेरेर बारीको कान्लाको घाँस पो चपाउन थाले ।
यसपालि माघे संक्रान्तिमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाको घलेभन्ज्याङमा गोरु जुधाइ हेर्ने मौका जुर्यो । गोरु जुधाइको पाँचौँ संस्करण आयोजना गरेको गाउँपालिकामा ८ हल गोरु मात्रै सहभागी भए । पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैँ नाम गोरु जुधाइ भने पनि सांस्कृतिक कार्यक्रम र जादू प्रदर्शन मिसाइएको रहेछ ।
कार्यक्रममा दलका केन्द्रीयदेखि जिल्ला र स्थानीय तहका नेतासमेतलाई आधा घन्टाजति लगाएर उद्घोषकले आसन ग्रहण गराए । मञ्चमा १५ वटा मात्रै कुर्सी थिए । जो पहिले बोलाइए, उनैले कुर्सीमा बस्ने मौका पाए । पछि बोलाइनेहरु मञ्चमा एकछिन उक्लिए अनि पुन: झरे ।
अब गोरु जुधाउने पालो आयो । पहिलो हल गोरुलाई बारीको पाटामा ल्याइयो तर अचम्म कुरा गोरु जुध्दै जुध्दैनन् । दुवैले एकअर्कालाई नहेरेर बारीको कान्लाको घाँस पो चपाउन थाले । निर्णायकहरुले गोरुलाई आमनेसामने पार्ने निकै प्रयास गरे तर भए विफल । ८ हलमध्ये २ हल गोरु मात्रै जुधे, त्यो पनि मुस्किलले १ मिनेटजति ।
बारीमा गोरु नजुधे पनि मञ्चमा आसन नपाएको भन्दै नेताहरु भने गाँड कोराकोर गर्दै थिए । कोही फलानोलाई भन्दा मलाई किन पछि बोलाएको भन्दै आयोजकसँग बाझाबाझ गर्दै थिए । यो दृश्य देखेर काठमाडौँबाट गएका पत्रकार भन्दै थिए, ‘आगामी वर्षदेखि नुवाकोटमा गोरु हैन, नेताहरु जुधाउने प्रतियोगिता राखे भो ।’
अन्य पनि जुधाउने
भिजिट नेपाल २०२० को ब्यानर प्रयोग गरेपछि गोरु जुधाउने कार्यक्रममा पनि पर्यटन बोर्डले आर्थिक सहयोग गर्दो रहेछ । विभिन्न गाउँपालिकामा आयोजना गरिएका गोरु जुधाउने कार्यक्रममा भिजिट नेपाल २०२० का ठूल्ठूला ब्यानर राखिएका थिए । पञ्चकन्यामा चाहिँ गोरु नजुधेपछि कार्यक्रममा सहभागी पर्यटन व्यवसायी र टुर अपरेटरहरुले सुझाव दिए– अर्को वर्षदेखि गोरुसँगै भाले र खसी बोका पनि जुधाउने प्रतियोगिता राख्ने । केहीले कुस्ती पनि थप्न सल्लाह दिए । भाषण गर्ने मौका पाएकाले पनि गोरु मात्रै नभएर अन्य पशु पनि जुधाउन पर्ने तर्क गरे । यसो हुँदा पर्यटक भित्र्याउन मद्दत पुग्ने उनीहरुको दलील थियो । स्पेनमा हुने बुल फाइटकै जस्तो प्रतियोगिता गर्नुपर्नेसमेत उनीहरुले बताए ।
तर विश्वमा अहिले ‘इथिकल टुरिजम’ को प्रवर्द्धन भइरहेको र त्यसमा कुनै पनि जीवजन्तु वा पशुपन्छीको अनुचित प्रयोग, झैँझगडा बन्देज गरिएको सबैले बिर्से । नेपालमा हुँदै आएको हात्तीपोलो पनि बन्द भइसकेको छ । पशु अधिकारकर्मीले छावा फुटबलको पनि विरोध गर्दै आएका छन् । तर पर्यटन वर्ष सफल पार्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन व्यवसायीकै सोचमा परिवर्तन आउन नसकेको कुरा पञ्चकन्यामा छताछुल्ल भयो । यस्तो सोचले पूरा होला त भिजिट नेपाल २०२० को लक्ष्य ?
होमस्टे र मोटरसाइकल
नुवाकोटमा अहिले खुबै चलेको शब्द हो– होमस्टे । काठमाडौँबाट नजिक भएकाले संघीय राजधानीमा आउने विदेशी पर्यटकलाई गाउँ लैजाने योजना बनाउनु नराम्रो होइन । तर पूर्वाधार र योजनाबिनै स्थानीय तहले एक गाउँ एक होमस्टेको अवधारणा सार्वजनिक गर्न थालेका छन् । एउटा स्थानीय तहले होमस्टेलाई प्रवर्द्धन गर्ने भनेर उद्घोष गर्नासाथ अरुले पनि त्यही सिको गर्ने । होमस्टे के हो, पर्यटकलाई कसरी आकर्षित गर्ने । उनीहरुलाई के देखाउने, कहाँ घुमाउने भन्ने कुनै खाका छैन तर होमस्टे प्रवर्द्धन गर्ने भनेर नारा घन्काइहाल्ने ।
पहिले–पहिले गाउँघरतिर सबैको घरमा एक हल गोरु र दुहुना गाई–भैँसी अनिवार्यजस्तै थियो तर बाटो खन्न थालिएपछि हिँड्न सजिलो भएर पशुपन्छी लाखापाखा लागेका हुन् कि के हो गाउँमा पनि दुधालु भैँसी र गाई भेट्न मुस्किल हुन थालेछ । होटलहरुमा पनि दूध–दहीभन्दा बरु कोक, फ्यान्टा र अनेक थरी जुस सर्वसुलभ ।
गोठ रित्ता तर सबैका आँगनमा थोत्रो नै सही, एउटा मोटरसाइकलचाहिँं हुँदो रहेछ । मोटरसाइकल नहुने घर त भेट्नै मुस्किल । मान्छेको आर्थिक समृद्धिको मापक हुन थालेछ, मोटरसाइकल । पहिले–पहिले काँठ क्षेत्रमा देखिएजस्तै बारीमा दाउरा काट्नदेखि पर्म जानसमेत मान्छेले मोटरसाइकल प्रयोग गर्न थालिसकेछन् । कोदालीलाई क्यारिएरमा अड्याएर सरर मोटरसाइकलमा हुइँकिएर खेत खन्न जानेहरु पनि टन्नै भेटिँदा रहेछन्, अचेल । समृद्धि हाम्रै पालामा भनेको यही हो कि सायद ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...