रैथानेमारा निकुञ्ज
“हामी बसेको थलोमा निकुञ्ज आएको हो, निकुञ्ज भएको ठाउँमा हामी गएको होइन ।” एकातिर सरकारी नीतिको प्रहार, अर्कोतिर वन्यजन्तुको आक्रमण । दुवैको मारबाट पिल्सिएका छन्, यहाँका आदिवासी ।
हामी देशका निकुञ्ज घुम्छौँ, रमाउँछाैँ । वनजंगल घुम्छौँ । डुंगा सयर गर्छौं । हात्ती चढ्छौँ । सफारी गर्छौं । तर हामीमध्ये कसैले त्यही निकुञ्ज लाई आश्रय बनाएर जीवन निर्वाह गरिरहेका रैथानेबारे कहिल्यै सोचेका छाैँ ? जस्तो, चितवन राष्ट्रिय निकुञ्ज नै पुगौँ न । सिकार खेल्न आएका राजा वीरेन्द्रलाई यहाँका आदिवासी थारु समुदायले डुंंगा सयर गराउँथे, कुनै बेला । थारु समुदायलाई राजाले एक पटक तिमीहरुलाई अरु जग्गा चाहिन्छ भनेर सोधेछन् । उनीहरुले भनेछन्, ‘सरकार ! जग्गा होइन, वनजंगल र खोलानाला भए पुग्छ ।’ राजाले हुकुम प्रमांगी गरेर उनीहरुको चाहना पूरा गरे । यो ०२९ सालको कुरो थियो ।
तर त्यसको एक वर्षपछि विदेशी दातृसंस्थाको दबाबमा आफैँले दिएको वनजंगल र खोलानालाको उपभोग गर्न नपाउने गरी वीरेन्द्रले उनीहरुबाट खोसे । त्यहाँ निकुञ्ज बन्यो । रैथाने समुदायका कष्टका दिन त्यहीँबाट सुरु भए । झन्डै ९ सय ६४ वर्गकिमि क्षेत्र रैथानेबाट खोसियो । चितवन, मकवानपुर, पर्सा र नवलपरासीका केही भूभागमा पर्ने यो ठाउँलाई निकुञ्ज घोषणा गरिएपछि पुस्तौँपुस्तादेखि चुरे क्षेत्रदेखि नारायणी, रिउ र राप्ती नदी बसोबास गरिरहेका थारु समुदायलाई त्यहाँबाट अलग गरियो ।
३ कात्तिक ०७६ मा नेपालमा प्रकाशित आवरण कथामा सहकर्मी यम बमले चितवन पुगेर गरेको स्थलगत रिपोर्टको सार थियो, बस्ती जोगाउने कि वन्यजन्तु ? अर्थात्, जीवजन्तुले बालीनाली सखाप पारेकै छन् । स्थानीय वन्यजन्तु आक्रमणको त्रास खेपेका छन् । अंगभंग भएका छन् । मृत्यु भोगेका छन् ।
सौराहाको एक होटलमा वेटर रहेका स्थानीय कुशवेन्द्र चौधरीले केही समयअघि मलाई भनेको अझै सम्झिन्छु । उनले भनेका थिए, “हामी बसेको थलोमा निकुञ्ज आएको हो, निकुञ्ज भएको ठाउँमा हामी गएको होइन ।” एकातिर सरकारी नीतिको प्रहार, अर्कोतिर वन्यजन्तुको आक्रमण । दुवैको मारबाट पिल्सिएका छन्, यहाँका आदिवासी ।
कसका लागि निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्जका रैथाने समुदायको जीवनशैली वनजंगल र खोलानालामा निर्भर छ । उनीहरुका लागि कन्दमूलदेखि माछामासु अनि दाउरापातको स्रोत नै यही हो । तर जब उनीहरुको बस्तीमा निकुञ्ज पुग्यो, जीवनशैली क्षतविक्षत भयो । पश्चिमाले सिकाएअनुसार बनाइएको निकुञ्जमा सेनाको आवश्यकता भयो तर पुस्तौँदेखि बस्दै आएको समुदायको रत्तिभर पनि आवश्यकता बोध गरेन, निकुञ्जले ।
आफ्नै भूगोलमा यो समुदायलाई राज्य र दातृ निकाय लागेर सीमान्तकृत बनाइयो । के रैथाने समुदायको जीवनस्तर उकास्न निकुञ्ज बनाएको हो ? होइन, जैविक विविधता जोगाउने भनिए पनि राजपरिवार, पैसावाल र पावरदार विदेशीलाई सिकार खेल्न बनाइयो, निकुञ्ज । निकुञ्ज निर्माणका सकारात्मक पाटा पनि छन् तर रैथाने समुदायलाई साथमा लिएर चलाउँदा बढी प्रभावकारी हुन्थ्यो । रैथानेको जीवनशैलीमाथि हमला गर्नु पर्दैनथ्यो । तर सत्ताको घैँटोमा घाम नलागेपछि के नै गर्न सकिन्छ र !
सेनाको सास्ती
लामो समयदेखि प्राकृतिक स्रोत व्यवस्थापनको अध्ययन, अनुसन्धान र वकालतमा संलग्न सोमत घिमिरेले लेखेको जुर्मुराएको बखतमा निकुञ्जसँगै बस्ती छिरेको सेनाले रैथानेहरुको जीवन कसरी दुरुह बनाएको छ भन्ने केही घटना उल्लेख गरेका छन् । बस्ती–बस्ती डुलेर अनि रैथानेसँग भेटेर उनले तयार पारेको यो पुस्तक पढ्दा थाहा हुन्छ, चितवन राष्ट्रिय निकुञ्जमा सेनाले रैथानेमाथि गर्दै आएको अत्याचार । यो भूगोलमा माछा मारेर जीवन गुजारा गर्ने माझी जाति पनि छन् । सेनाले उनीहरुलाई माछा मार्न दिन्छ तर मारेको माछामाथि भने उसको हक चल्छ । घिमिरे लेख्छन्, ‘स्थानीयलाई माछा मार्न नदिनेभन्दा पनि माछा खोस्न बसेको छ, सेना ।’ त्यसरी खोसिएको माछा सेनाको अफिसर मेसमा जर्साबको खान्की बन्न पुग्छ । माछा मारेर फर्किएकी युवतीको हातबाट माछा खोसेर सजायस्वरुप नांगै नचाएका नमीठा पल पनि थुप्रै छन् ।
घरेलु प्रयोजनका लागि वनमा घाँसपात, दाउरा लिएर फर्कंदा सेनाको बुट बजारिनु यहाँका लागि नयाँ घटना होइन । बिरामी हुँदा वनबाट जडीबुटी ल्याएकै कारण तस्करको नाममा थुनामा जाकिएका छन्, रैथाने । हजुर ! वनजंगल र नदीनालामा रैथानेलाई प्रवेश निषेध छ । यो भूमिसँग जीवनको साइनो जोडिएको छ, भूमि सन्तानहरुको । तर यस्तो साइनो तोड्न सरकारले जंगलमा सेनाको परेड खेलाएको छ ।
यत्तिमै सेनाले दिने सास्ती सकिँदैन । सेनाका जवान रैथानेका घर–घर डुल्छन् । युवतीसँग मायाप्रेम गर्छन् । युवती गर्भवती हुन्छन् । सन्तान जन्मिन्छन् । त्यतिबेला सेनाका यस्ता जवानको कतै सरुवा भइसक्छ अनि पिताविहीन सन्तान जन्मिन्छन् । युवती र बच्चा अलपत्र पर्छन् । बाबुको पहिचान नपाएका यस्ता सन्तान समाजका लागि समस्या हुन्छन् । यसबारे सैनिक मुख्यालयलाई थाहा नभएको होइन । तर किन–किन यस्ता घटना अहिले पनि घटेका छन्, चितवनका जंगलमा ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...