मालदिभ्सका नेपालीमा कोरोनाले निम्त्याएको अन्योल
कुनै न कुनै रूपमा पर्यटन उद्योग सम्बद्ध क्षेत्रमा कार्ययरत नेपालीहरूको रोजगारी संकटमा छ ।
के तपाईँको सरकारसँग मध्यम तथा निम्नवर्गीय परिवारका लागि राहत दिन सक्ने केही ठोस कार्यक्रम छन् ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
सबैभन्दा पहिले स्वास्थ्यलाभको कामना ! धेरैपछि टेलिभिजनको पर्दामा हजुरको पुष्ट अनुहार देख्दा खुसी नै लाग्यो । म यहाँ यत्ति भन्न मात्रै आएको होइन, यौटा नागरिकका रुपमा मेरा केही प्रश्नहरू हजुरसामु छन्, जुन म खुला रुपमा राख्न चाहन्छु ।
अहिले विश्व अकल्पनीय संकटबाट गुज्रिरहेको छ । समग्र विश्व सँगसँगै हामी पनि त्यसको चपेटामा छौँ । तर के हामी सही अवस्थामा छौँ त ? मंसिर १ मा पहिलो पटक छिमेकी राष्ट्रमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएर संसारभर यात्रा गर्दा हामी तयारीमा कहाँनेर चुक्यौँ ? त्यो महसुस गर्नुभएको छ हजुरले ?
चीन महामारीमा लड्दै गर्दा हजुरकोे सरकारका आशालाग्दा भनिएका वरिष्ठ मन्त्री 'देशलाई कोरोना फ्री जोन घोषणा' गरेर टुर प्याकेज गराउनमा व्यस्त थिए । चीनमा महामारी फैलिँदै गर्दा जिम्मेवार भनिएका स्वास्थ्य मन्त्रीको नाम धेरैलाई थाहा थिएन ।
छिमेकी राष्ट्र त्यस्तो संकटमा हुँदा हामी उसलाई सहयोग गर्न सक्ने हैसियतमा त छँदै थिएनौँ तर उसको लडाइँबाट हामीले सिक्ने अवसर थियो । त्यो किन उपयोग गरेनौँ हामीले ? त्यसका लागि कूटनीतिक समन्वयको इच्छाशक्ति मात्रै भए पुग्थ्यो तर दुःखको कुरा त्यही समयमा समन्वय गर्न सक्ने शक्तिकेन्द्रहरू सिक्नेभन्दा पनि काम गरिरहेका राजदूत झिक्ने अभियानमा लागिरहे ।
त्यस्तो संकट झेल्दै नजिकबाट अवलोकन गरिरहेको आफ्नो समयको उत्कृष्ट ब्युरोक्र्याट अनि सही तरिकाले नै काम गरिरहेको राजदूतले राष्ट्रका लागि सही अर्थमा योगदान दिन सक्थ्यो भन्ने हजुरलाई लागेन ? त्यस्तो बेला नै राजदूत परिवर्तन गर्नुको अर्थ कसरी बुझ्ने जनताले ? के सरकार भनेको केही सीमित स्वार्थ भएका मुठ्ठीभरका मानिसहरूको मात्रै हो ? जनताले अभूतपूर्व बहुमत दिएको यसकै लागि हो ?
जब निर्वाचन सकियो, हजुरहरू 'दुई तिहाइ बहुमत छ, अब हामीलाई कसले सक्ने' भनेर उन्मत्त भैरहँदा पनि जनता शालीन भएर एउटा सुखद भविष्यको आशामा थिए । हजुरलाई लाग्दैन, यो जे भइरहेकोे छ, गलत भइरहेको छ ?
व्यक्तिगत रुपमा भन्नु पर्दा हजुर प्रधानमन्त्री बन्दै गर्दा म निकै आशावादी थिएँ । मजस्तै आम सर्वसाधारणले कहिल्यै सोचेको थिएनन्, नाकाबन्दीताकाको मेरो प्रधानमन्त्री इच्छाशक्तिभन्दा पनि परिस्थितिको उपज थियो भनेर चित्त बुझाउनुपर्ने दिन आउनेछ । खैर यी कुरा बितेर गइसके । नाकाबन्दीको बेलाजस्तै दृढ इच्छाशक्ति भएको प्रधानमन्त्री सम्झिनु भनेको हजुरकैै भाषामा भन्नु पर्दा 'मूतको न्यानो' मा रमाउन खोज्नुजस्तै हो । म मात्र होइन, अधिकांश गरिखाने वर्ग हजुरको त्यो बेलाको अनुहार सम्झेर दुःखी हुन्छन् नै ।
३० वर्षे उमेरमै मैले नेपालको इतिहासमै ठूलो अर्थ राख्ने राजनीतिक घटनाक्रमलाई नजिकबाट देख्ने अवसर पाएँ । राजनीतिक परिवर्तनपछि शासनको केन्द्रमा जति जना पनि पुगे, उनीहरूको भाषामा भन्नु पर्दा त्यो नाफाको जिन्दगी थियो । हजुरहरूले पाएको नाफाको जिन्दगीको सदुपयोग उचित तरिकाले भइरहेको छ त ? हजुर यसरी स्वस्थ र दृढ भएर कुरा गर्ने हुनुमा मजस्तै समग्र देशवासीको शुभेच्छा अनि प्रार्थना कारण थिएन ?
यो पनि पढ्नुस
कुनै न कुनै रूपमा पर्यटन उद्योग सम्बद्ध क्षेत्रमा कार्ययरत नेपालीहरूको रोजगारी संकटमा छ ।
अचेल मध्यमवर्गीय परिवारलाई समाचारमा रुचि हुन छाडेको छ । प्रत्येक दिन समाचारपत्रका हेडलाइन कुनै न कुनै घोटालाका खबरले भरिन्छन् । टेलिभिजनका रिपोर्टहरूमा स्टिङ् अपरेसनका अडियो र भिडियो छाउँछन् । आफ्नो नेतृत्वमा रहेका मन्त्रीको करोडौँ रकम बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक हुँदै गर्दा छानबिनको आदेश दिन कुन शक्तिले रोक्छ हजुरलाई ?
यस्तो अवस्थामा छानबिन गर भन्ने हो कि राजीनामा दियो, सक्किहाल्यो भन्ने हो ? यही घटना यदि हजुर प्रतिपक्षमा भएको भए सामान्य तरिकाले लिनुहुन्थ्यो ? भलै यतिखेर नेपाली कांग्रेसको हालत कस्तो छ, त्योे कुराको हजुर नै बढ्ता जानकार हुनुहुन्छ । बाहिर मिडियासामु गर्जेर बालुवाटार छिरेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई चिया बिस्कुटमा भुलाएर विषय प्रवेश नै गर्न बिर्सने बनाएर फर्किंदा अँगालो हालेर फर्किने बनाउने हजुरको क्षमताको म प्रशंसक हुँ । तर सरकारले खबरदारी नगरीकन काम गर्ने अवस्था नआउनु राम्रो हो र ?
अब कुरा गरौँ, अहिलेको अवस्थामा हामीसँग कोरोनाविरुद्ध लडाइँको तयारीका लागि पर्याप्त समय थियो । त्यो बेला हामीले गर्न सकेनौँ । जब भारतले संकट नजिक आएको थाहा पाएर जनता कर्फ्यू घोषणा गर्यो, अनि मात्रै हामीलाई संकट दैलोमा आएको महसुस भएको हो र ?
यतिबेला सरकारसँग प्रस्ट बहुमत छ । सरकारले संकट व्यवस्थापन गर्न चाहेको खण्डमा भकाभक निर्णय गर्न सक्छ तर त्यो क्षमता यस्तो संकटको बेला किन उपयोग गरिएन ? चीनबाट अत्यावश्यक सामग्री खरिद गर्दा भ्रष्टाचार भएका समाचार आइरहँदा आफ्ना सल्लाहकारहरूमाथि छानबिन गर्नुपर्छ जस्तो लाग्दैन भन्दै धाप दिँदै बस्नुभयो । दुःखको कुरा यस्तो घोटालामा उनीहरू कुनै न कुनै रुपमा जोडिएका समाचार आइरहेका छन् । मुख्य मुद्दामा चुप रहेर आफ्ना सचिवालयको घेराभन्दा बाहिर जान हजुरलाई कुन शक्तिले रोक्छ ?
त्यसै पनि हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मध्यम अनि निम्नवर्गीय परिवारहरूको जनसंख्या बढी नै हुने गर्छ । अहिले लकडाउनमा सबैभन्दा बढी प्रभावित भनेका तिनै वर्गहरू हुन्, के हजुरको सरकारसँग ती मध्यम अनि निम्नवर्गीय परिवारका लागि राहत दिन सक्ने केही ठोस कार्यक्रमका पाइपलाइन छन् ?
के लकडाउन थपिरहनु अनि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउनुले मात्रै हाम्रो तयारी पर्याप्त छ भने ढुक्क हुने अवस्था छ त ? फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीहरूलाई पर्याप्त पीपीई छैनन्, भएका पनि पहुँच हुनेहरूले हात पारेर फोटो सेसन गरेर बस्दैछन् । चाहे ती गाउँपालिकाका प्रतिनिधि हुन् या विद्युत् प्राधिकरणका कर्मचारी । मुस्किलले हात परेका पीपीई पनि सद्दे अनि पूर्ण छैनन् । विश्व स्वास्थ्य संगठन भन्छ, परीक्षण, परीक्षण, परीक्षण । दुःखको कुरा, हामीसँग पर्याप्त त के जति पनि छन्, ती प्रभावकारी छैनन् । थिए भने पोखरामा पोजेटिभ देखाएको टेस्टिङ किटले काठमाडौँमा नेगेटिभ किन देखाउँथ्यो ?
देश पूर्ण रुपमा लकडाउनमा छ । यतिबेला नै हो, राज्यका निकायहरू पूर्ण रुपमा परिचालित हुनुपर्ने । हजुरलाई लाग्छ, जे भइरहेको छ सही भइरहेको छ ? यतिबेला लाखौँ नागरिक स्वदेश फर्कन तयार भएर बसिरहेका छन् । विदेशमा रहेका नागरिकहरूप्रति राज्यको जिम्मेवारी हुन्छ कि हुँदैन ? भोकै र नांगै सीमामा आइपुगेका नागरिकहरूलाई उतै बस भनेर रोक्ने कि व्यवस्थित गरेर अनिवार्य क्वारेन्टाइनमा राख्ने ?
अहिले देशभर ७ सय ५३ स्थानीय तह छन् । यो विषयमा प्रदेश अनि केन्द्रले समन्वय गर्न सक्दैन भने ती स्थानीय निकायहरूको के अर्थ भयो र ? के ती स्थानीय तहहरू विकासे बजेट बाँडफाँटका लागि मात्रै हुन् ? संकटका बेला उनीहरूको कुनै भूमिका हुँदैन ?