बन्दाबन्दी, लकडाउन र घरबन्दी
भाषालाई माया गरौँ तर यस्तो अतिशयोक्ति पनि नगरौँ, त्यसलाई प्रयोग गर्नुपहिले नै कसैले लघुताबोध गरोस् । ऊ भाषासँग मस्त प्रेममा परोस् । जबर्जस्तीको सम्बन्धमा बस्नु परेजस्तो अमानुषिक भाषिक अनुभूति कसैलाई नहोस् ।

(स्पोयलर कन्टेन्ट: पत्रिकाको सम्पादक भएर झिनामसिना विषयमा भिड्ने भनी फोन, म्यासेज, ट्वीटरबाट आलोचना गर्न सक्ने मित्रहरूलाई पहिल्यै यो अनुरोध छ । प्रधानमन्त्री ओलीले बालुवाटार निवासमा भेट्न आएका चलचित्रकर्मीहरूसँग भन्नुभएको थियो : मानिसहरू विद्वान् देखिनलाई नहाँसीकन गमक्क पर्छन् तर म त्यसो गर्दिनँ ।)
लकडाउन सुरु भएसँगै एउटा गम्भीर चिन्ता थियो– नियमित घर बस्ने बानी कहिल्यै छैन, कसरी पो दिन काटूँ । २०६२ को जनआन्दोलनताका ९० दिनको पुर्जी पाएर इलाम प्रहरीको कभर्ड हलमा २२ दिन थुनिएको अनुभव छाड्ने हो भने कहीँ पनि एकनाश कोचिएर बस्नु परेको सम्झना छैन । अब मलाई चिन्ता थपियो– सरकारको लकडाउनमा बसूँ कि दाइहरूको बन्दाबन्दीमा !
केही दिनसम्म उकुसमुकुस नै भयो । तर दिन बित्दै जाँदा अकस्मात थाहा हुन गयो– आफू त फगत बसिदिए मात्रै पुग्ने रहेछ । दिनहरू आफैँ बित्दै जाने रहेछन् ।
लकडाउन तेस्रो साता सफलतापूर्वक टुंगिन लाग्दा यो ब्लग लेख्न बसेको छु । ब्लगको नेपाली अनुवाद भेट्टाउन असमर्थ भएकामा ‘सरी’ भन्छु ।
तीन साता घर बस्दाका आफ्नै किस्सा छन् । पहिलो साता लकडाउनमा बसियो । दोस्रो साता बन्दाबन्दीमा । तेस्रो साता घरबन्दीमा । त्यस्तो दु:खै बेसाउनुपर्ने गरी गाह्रो हुने कुरै भएन ।
मैले थाहा पाएसम्म पहिलो शब्द ‘लकडाउन’ कतार हुँदै फ्रान्स, बेल्जियम, इटालीतिरबाट आएको हवाइजहाजले संक्रमित गराएको हो । दोस्रो शब्द ‘बन्दाबन्दी’ पत्रकार तथा अभियन्ता कनकमणि दीक्षित दाइले ट्वीटरमार्फत ल्याउनुभयो । शब्दकोशमा पहिल्यै भए पनि कोरोनाकालसम्म पूरै निस्क्रिय बसेको यो शब्द संक्रमणको जोखिम अब उच्च छ । केही मानिसले बन्दाबन्दी भन्ने शब्द अति अप्ठेरो सुनिएको भन्दै असुविधा जनाए पनि यो महामारीमा तिनको केही सीप लाग्ने देखिन्न ।
देशको अवस्था अब - तत्कालै बन्दाबन्दी ।
— Kanak Mani Dixit (@KanakManiDixit) March 23, 2020
नेपाल सरकारको राम्रो निर्णय ।
सबैको भलो होस, कोरोना महामारीबाट हामी सबै सग्लै निक्लिन पाऊँ।
*लकडाउन* नभनी *बन्दाबन्दी* भनौँ।#नेपालबन्दाबन्दी #बन्दाबन्दी #NepalLockdown pic.twitter.com/zdaBP1w158
तेस्रो शब्द ‘घरबन्दी’ अलि ढिलोगरी सीके लालले नेपाल म्यागजिन पोडकास्टमार्फत ल्याउनुभएको हो । यो शब्दलाई मित्र उज्ज्वल प्रसाईले कान्तिपुरको लेखमा एकपल्ट उच्चारण गरेबाहेक तेस्रो व्यक्तिमा संक्रमित भएको छैन । मलाई यीमध्ये सीके दाइको शब्द बढी सहजजस्तो लागे पनि यो सहरमा उहाँका विरोधी धेरै भएकाले आफ्नो सुरक्षाका खातिर त्यो शब्द नलेख्नु जाती ठानेको छु । ज्यानको माया सबैलाई हुन्छ । त्यसैले मचाहिँ तटस्थ मुद्रामा लकडाउनमा छु । कोही उस्ताद भाषाकर्मीले सक्छ भने छिट्टै सर्वस्वीकार्य अनुवाद गरिदेओस्, नत्र मैले यिनै तीनमध्ये एक शब्दले आफ्नो काम चलाउनुपर्ने हुन्छ ।
कोरोना भन्ने चीजै बाहिरबाट आएकाले होला, लकडाउन पनि उतैबाट आयो । देशदेशावरसम्म चीनले आफ्नो प्रभाव फैलाउन अझै बाँकी छ भन्ने सन्देश हो– कोरोनाको उद्गम वुहान भए पनि यो संक्रामक विषाणुले जापानतिरको ‘सुनामी’ आँधीजस्तै चिनियाँ नाम पाउन सकेन । चिनियाँ सरकारले नागरिकहरूलाई मन्डारिन भाषामा थर्काएरै घरभित्र हुल्न सफल भए पनि आखिरीमा त्यो अंग्रेजीको ‘लकडाउन’ भयो । इटाली, स्पेन हुँदै हामीसम्म घुम्दै आउँदा लकडाउन नै चल्यो । त्यसो त मैले ‘कोरोना भाइरस’ मात्रै नभएर ‘कोभिड १९’ समेतलाई नेपालीकरण गर्न नखोजेको होइन । यसमा उत्रो सफलता हातलागी नभएपछि ममा चाहिँदो मात्रामा शब्दभण्डारको कमी रहेछ भन्दै चुपचाप गम खाइरहेको छु ।
स्ट्रक्चरलिस्ट (नेपालीमा संरचनावादी भन्छन् क्यार) हरूको एउटा समस्या हुन्छ– उनीहरू जस्तोसुकै गम्भीर मुद्दालाई पनि शब्द संरचनामा लगेर जकडिदिन्छन् । १९६० को दशकमा अमेरिकामा नारीवादी आन्दोलन चल्यो । सेकेन्ड वेभ फेमिनिस्ट मुभमेन्ट भनेर कालान्तरमा चिनिएको यो आन्दोलनले महिलाको पुरुषसरह राजनीतिक, आर्थिक स्वतन्त्रताको वकालत गर्यो । त्यसअघि चलेका संघर्षहरूभन्दा यसको थप देन थियो, महिलाहरूले सामाजिक र सांस्कृतिक स्पेसमा आफ्नो हैसियत दाबी गर्न पाए । अमेरिकी महिला (चेली नभनियोस्) नउठ्दासम्म बाँकी संसारले महिला मुक्तिको बाटोमा उल्लेख्य सफलता पाएको थिएन । पछि यसैको प्रेरणासमेतमा फ्रान्सेली महिलाहरू संगठित भए । सिमोन दे वुभाएरलगायतले महिलाको विषयमा प्रयोग गरिने भाषा, संकेत आदिमै विभेद रहेको भनेर त्यसतर्फ ठूलो संघर्ष गरे । घरमा व्यक्तिगत स्पेसदेखि पोर्नोग्राफी पढ्न पाउने अधिकारसम्मै पुरुष प्रभुत्व मात्रै रहेको उनीहरूको दाबी थियो ।
यो प्रसंग यहाँ किन आवश्यक भयो भने– फ्रेन्च फेमिनिज्म (फ्रान्सेली नारीवाद ?) को अन्यत्र आलोचना हुँदा उनीहरूले महिलाको वास्तविक समस्यालाई ‘पन्छाएको’ आरोप लाग्यो । महत्त्वपूर्ण राजनीतिक, सामाजिक मुद्दाहरूलाई उनीहरूले हिज्जे, मात्रा, ह्रस्वदीर्घ आदिमा केन्द्रित गरेको भन्नेमा स्वयं महिला अधिकारकर्मीहरू पनि थिए । यसरी आलोचना गर्नेहरूमा अमेरिकी नारीवादी र वामपन्थीहरू बढी थिए ।
अहिले कोरोना विषाणुको महाव्याधिका बेला दुइटा विचार शिविर पहिल्यै खडा छन् । एउटा पक्षले भन्छ : आर्थिक वृद्धिदरमा यसले गम्भीर असर पार्ने भयो । समृद्धिको यात्रामा बालीनालीमा लाग्ने पार्थेनियम हिस्ट्रोफोरसजस्ता मिचाहा फौजी किराहरूले यसै पनि दु:ख दिइरहेथे । अब यो अदृश्य भाइरस पनि प्रधान शत्रु भएर आउने भयो ।
अर्को पक्षले भन्छ : राज्यले अरुसँग ऋण काढेर भए पनि सेना, पुलिस, कर्मचारी, शिक्षकलाई तलब खुवाउला । दैनिक ज्यालादारी मजदुरले के खालान् ? किसानले खेतबारीमा के फलाउलान् ? अकस्मात् देश ठप्प हुन पुग्दा काठमाडौँदेखि धनगढीसम्म हिँड्न तयार मजदुरहरू कसरी घर पुग्न सक्लान् ? सिमानापारि छेकिएकाहरू कसरी सुरक्षित फर्केलान् ? सर्वश्री अनिलकेशरी शाहको घरमा खाद्यसामग्री पुर्याउन भाटभटेनी स्टोरका मालिकै पुग्न सक्छन् । साधारणजनको घरमा ग्यास चामल कसरी सर्वसुलभ होला ?
खैर, मूल विषय यी भए पनि म तिनलाई सम्पूर्ण रूपमा उपेक्षा गर्न चाहन्छु । र, यो बन्दाबन्दी हो कि लकडाउन या घरबन्दी भन्ने गम्भीर सार्वजनिक महत्त्वको प्रस्तावउपर मस्तिष्क विचरण गर्न चाहन्छु ।
शंकर लामिछाने, लैनसिंह वाङ्देलहरू आफ्नो लेखनीमा अंग्रेजी शब्दहरू खुब चलाउँथे । अझ वाङ्देललाई कलाबार लेख्नुपर्दा फ्रेन्च, स्पेनिस र इटालियन पदावली पनि राख्नुपर्ने । घरि इम्प्रेसनिस्टिक भनेको छ । घरि एक्जिस्टेन्सियलिस्ट । सर्रियलिस्ट–दादाइस्ट–के के हो, के के !
बाङ्देल, लामिछानेहरूलाई सायद लाग्यो होला– हाम्रा परापूर्वकालीन विद्वान् ऋषिमुनिहरूको पालादेखि यहाँ चलाउँदै आएका शब्दावलीहरू उनीहरूको कला, साहित्य बुझाउन पर्याप्त छैनन् । अर्थको नजिक पुग्नुलाई शब्दको मूलमा पुग्नु तिनीहरूले ठाने कि, अहिले यो पंक्तिकारलाई ठ्याक्कै हेक्का भएन । लामिछानेका निबन्धपिच्छे अंग्रेजी शब्द छन् । पुस्तकको शीर्षकमै प्याजका पत्रपत्र खाँदेर ‘एब्स्ट्रयाक्ट’ भाषा मिसमास गरे पनि उनले ‘नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याएवापत’ मदन पुरस्कार पाइहाले । पारिजातको शिरीषको फूलदेखि गोपाल पराजुलीको नयाँ ईश्वरको घोषणा, नारायण वाग्लेको पल्पसा क्याफेदेखि झमक घिमिरको जीवन काँडा कि फूलसम्म आइपुग्दा यस्तै रह्यो । ट्वाइलेटको कमोडमा बसेर काखमा ल्यापटप राख्दा नारायण वाग्लेको मुख्य पात्र दृश्यलाई म्यासेज आउँछ– ‘आर यु भर्जिन ?’ उपन्यासकारले यसलाई यसरी पनि लेख्न सक्थे : ‘पाइखानामा बसेर काखे–सुसांख्य चलाइरहेको दृश्यलाई विद्युतीय सन्देश आयो – तिमी कुमार छौ ?’
मदन पुरस्कारको सर्ट लिस्टमा पर्नेमा पछिल्लो समय चल्तीका लेखक कुमार नगरकोटी पनि हुन्, जसको साहित्यलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्ने जोखिम अहिलेसम्म कसैले उठाएको देखिन्न ।
वाग्लेलाई 'पिओर्' नेपाली भाषाको हुर्मत लिएकोमा गाली दिनुपर्ने । उल्टै उही नेपाली वाङ्मयको उन्नयन गरेको भन्दै पुरस्कारको डल्लाले हिर्काएर ठहरै पारियो । अग्लो मान्छेलाई अग्लै पुरस्कार । यति भएपछि अब किन कुनै लेखक भाषा-प्रहरीकहाँ गएर घिच्रो तन्काउँदै मुख हा... गरिरहोस् ! हिँड्दै आउने कफीगफीलाई प्रहरी मेरो साथीले किन पो मापसे जाँच गरिरहोस् !
पारिजातले एउटा अखबारमा लेखेकी थिइन् : वाक्यैपिच्छे अंग्रजी शब्द घुस्न थाल्यो । अब यसो गरौँ– कसैले बोल्दा अंग्रेजी मिसायो भने शब्दपिच्छे पाँच रुपैयाँ तिराऔँ ।
छेवैकोले भनेछ : आम्मामा, पाँच रुपैयाँ ‘फाइन’ त ‘लास्टै’ महँगो भयो यार ।
पारिजातको संगत पाएका लेखक खगेन्द्र संग्रौला लेख्दा होस् या बोल्दा– सयका सय नेपाली बोल्छन् । मनले खाएका इष्टमित्रसँग सन्ध्याकालीन जलसमारोहमा बस्दा कहिलेकाहीँ उनी ‘मेजर नेपाली’ नै ठोकिदिन्छन् । संग्रौला लामो समय अंग्रेजी पढाएका मास्टर हुन् । अंग्रेजी उनको तजबिजको भाषा हो ।
भर्खरै ट्वीटर प्रवेश गरेका लोकगायक बद्री पंगेनीले आज शनिबार साँझ एउटा ट्वीट गरे, जसले मलाई तु. यो ब्लग लेख्न हौस्यायो : ‘केही लेखौँ भनेर सोच्छु । थोरै ह्रस्व मात्रा मिलेन भने पनि सरल, मिश्र, संयुक्त तीनै वाक्यमा गाली खाइन्छ । खोइ, यो ट्वीटरमा पनि बाँच्ने वातावरण नै रहेनछ मजस्तो सोझोलाई । नेपाली पढाउने योगराज अर्याल सरको खुब याद आउँछ बेला–बेला ।’
केही लेखौं भनेर सोँच्छु✍️थोरै ह्रस्व, मात्रै मिलेन भनेपनी सरल,मिश्र, संयुक्त तिनै वाक्यमा गाली खाइन्छ। खोइ !
— Badri Pangeni (@BadriPangeni) April 11, 2020
यो ट्विटरमा मा पनि बाँच्ने वातावरण नै रहेनछ म जस्तो सोझोलाइ😷😷😷 नेपाली पढाउने योगराज अर्याल सरको खुब याद आउँछ बेला बेला।
यति गफ गरिसकेपछि अब एउटा ‘कुरा’ गरौँ ।
हामी जुन भाषामा बोल्छौँ, लेख्छौँ, आफ्नो कार्यव्यापार गर्छौं– त्यसको बारेमा राम्रो जानकारी नहुँदासम्म हामी कुनै पनि कामका लागि योग्य मानिँदैनौँ । अंग्रेजी लेख्न राम्रोसम्म नजान्दा अंग्रेजी अखबारमा काम पाइन्न । हिजोआज त अंग्रेजीको खासै काम नआउने अरु व्यवसाय, पेसामा पनि यसलाई अनिवार्य गरिसकिएको छ । परराष्ट्र सेवाको जागिर होस् या अन्तर्राष्ट्रिय मिसनहरूको– त्यसमा त झन् हाईहाई अंग्रेजी ।
यद्यपि यो भाषाको कम ज्ञान हुँदा सम्बन्धित पक्षले खाएका खप्कीका कथा थुप्रै छन् । सी जिनपिङलाई (चिनफिङ भनेर बीचका वर्षहरूमा भाषा सुधार गरिए पनि चिनियाँले जिनपिङ भन्दारहेछन् भन्ने बल्ल बुझियो । आङ सान सुकी नेपाल आएर फर्किसक्दा सु ची भइसकेकी थिइन् ।) अँ, कमरेड सीलाई प्रचण्डले लेखेको पत्रमित्रता पढिसकेपछि शिक्षकसमेत रहेका पत्रकार धर्म अधिकारीले कापी जाँचे । जाँचे पनि के भन्नु, कापी काटे ।
This will be in my teaching inventory of "how not to write a letter". Students must love it! pic.twitter.com/jqHIRlJzUY
— dharma adhikari (@dharmaadhikari) March 30, 2020
पानाभरि रातो कलमले यति धेरैपल्ट हिज्जे केरमेट गरिदिए कि त्यहाँ कहीँ–कहीँ मात्र सेतो भाग खाली बचेको थियो । अब त्यो रक्तिम चिठी पठाएर पठाइनसक्नु, पढेर पढिनसक्नु । गोकर्ण विष्टदेखि मातृका यादवसम्म अंग्रेजी बोलेर पोडियमबाट झरिसक्दा तिनको राजनीतिक नेतृत्व क्षमताको सर्वस्वहरण भइसकेको थियो ।
कति जनजाति पत्रकार साथीहरू छन्, जसको विषयवस्तुमा पर्याप्त दक्षता हुँदाहुँदै पनि ‘स्ट्यान्डर्ड ल्याङ्वेज’ मेन्टेन गर्न नसक्दा डेस्कको प्राथमिकतामा त्यो उति पर्दैन । फस्ट पेजमा मेजर स्टोरी भएर आउन सक्ने स्टोरी फिलरका रूपमा कुनाकानीमा ठाउँ पाइदिन्छ । त्यसैले म अखबारका भित्री कुनाहरूमा चिहाइरहन्छु, कतै आजको सम्भावित मुख्य समाचार यता कतै लुकिबसेको छ कि ! हाय, भाषाको खेल ! पछिल्लो दशकमा उदाएका भाइबहिनीहरूले भोग्नुपरेको समस्यासमेत चित्रित गर्दै स्तम्भकार दिनेश काफ्लेले काठमान्डु पोस्टमा केहीअघि एउटा लेख लेखेका छन्, जसमा ग्रामर नाजीहरूबाट हैरान हुनुपरेको दुखेसो पोखिएको छ ।
भाषाप्रतिको संवेदनशीलता निश्चय नै सम्मानको कुरा हो । त्यसमाथि विश्वभरि अंग्रेजी भाषाको बोलवालाबीच स्थानीय भाषाहरूले आफ्नो वर्चस्व गुमाउँदै गइरहेको परिप्रेक्ष्यमा भाषाप्रतिको सावधानी निश्चय नै महत्त्वपूर्ण छ । अझ कनीकुथी अंग्रेजी बोल्ने तर नेपाली नजानेकामा गर्व गर्ने प्रवृत्ति सिकाउनेमा हाम्रै महँगा स्कुल, कलेजहरू छन् । मानिसहरू रत्नराज्य क्याम्पसमा जाँदैनन्, पेन्टागन र ह्वाइट हाउसतिर लाग्छन् । मकैलाई घृणा गर्ने, पपकर्नमा रमाउने अनि आलु नखाएर फ्रेन्च फ्राइजमा रमाउने पुस्ता तयार गर्नमा तपाईं हाम्रो पनि योगदान कति होला, एकपल्ट सम्झिहेरौँ ।

याद गरौँ, भाषाको पहिलो सर्त बोलिनु हो, अनि मात्रै लेखिनु । संसारमा भाषा लेख्य रूपमा धेरैपछि मात्रै आएको हो । एक जना नेपाली भाषाकर्मीले दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनका बेला नेपाली भाषाको अधिकार दाबी गर्ने आन्दोलनकारीले खाएको लाठीमा खुच्चिङ गरेको अहिले पनि याद आउँछ । उनले भनेका थिए, ‘ठिक्क पर्यो तिनलाई । अरु बेलाचाहिँ आँच दोजु, रड्डी नगर्नु न हौ भनेर जानीजानी नेपाली भाषा बिगार्ने । अहिलेचाहिँ तिनलाई यसको महत्त्व थाहा भएछ ?’
म नेपाली भाषा सामान्यतया: ‘शुद्ध’ लेख्छु । हुन त यो ‘शुद्ध’ भन्ने शब्दमै पाण्डित्यको ह्वास्स गन्ध आउँछ । यसले अरुलाई अशुद्ध, अछुत करार गर्छ । यसले ठीकठीकै भाषा लेख्नेहरूसामु स्टयान्डर्ड ल्याङ्वेजको नचाहिँदो ध्वाँस दिन्छ । मैले नेपाली राम्रो लेख्छु भनेर फुइँ लाउदै गर्दा छेवैको अर्को मानिस आफूले त्यसो गर्न नसकेकोमा हीनताबोध गरिरहेको हुन सक्छ । आफूले श्रेष्ठता पाएको भाषाको हतियार बोकेर कोही किन अरुमाथि जाइलाग्ने ?
अलेक्जेन्डर पोपले ‘रेप अफ द लक’ भन्ने कविता लेखेका छन् । त्यसमा घन्टौँ लगाएर शृंगार परिधान गरिरहेकी महिलाको अतिशयोक्तिपूर्ण कल्पना गरिएको छ । यस्तो शृंगार– मानौँ, उनी कुनै युद्धका लागि ढाल, तरबार, बन्दुक लिएर निक्लन लागेकी हुन् ।
भाषालाई माया गरौँ तर यस्तो अतिशयोक्ति पनि नगरौँ, त्यसलाई प्रयोग गर्नुपहिले नै कसैले लघुताबोध गरोस् । भाषालाई उसले सम्मान गरोस् । ऊ भाषासँग मस्त प्रेममा परोस् । जबर्जस्तीको सम्बन्धमा बस्नु परेजस्तो अमानुषिक भाषिक अनुभूति कसैलाई नहोस् ।
बढ्ता बोलेको भए क्षमा पाऊँ मेरा दाइहरू ! (यो प्रकरणमा हालसम्म दिदीहरू सम्लग्न नदेखिएकाले) अलिअलि मिसावट हुँदैमा भाषा मर्ने भए आज ल्याटिन भाषाको ठाउँ अंग्रेजीले अनि संस्कृत भाषाको ठाउँ नेपालीलगायत भाषाले लिँदैनथे ।
नेपालीको जय होस् । हाम्रा सबै मातृभाषाहरू जुगजुग बाँचिरहून् ।