लकडाउन साध्य हैन, संक्रमण रोक्ने साधन हो
मान्छेहरूले रोजगारी गुमाएनन् र ज्याला पाइरहे भने उनीहरूसँग खर्चिनका लागि पैसा रहनेछ, जुन अर्थतन्त्रमै खर्च हुने हो । तर यसको विपरीत धेरै जना बेरोजगार भए भने त्यसले अवस्था झन् जटिल हुनेछ ।
अघिल्लो साता नै कोभिड– १९ को संक्रमणसँगै आएका अवसरबारे लेख्ने मन थियो । स्पर्शरहित जीवनशैलीका उपायले कोभिड– १९ जस्ता महामारीका बेलामा पनि जनजीवन केही सहज बनाएकाले तिनका बारे चर्चा गर्न मन थियो ।
स्पर्शरहित भुक्तानी, अन्तर्जालको सहायतामा सञ्चालित दूरशिक्षा प्रणालीहरू, गाडीबाट नओर्लिई र कतै केही नछोएरै खाना किन्न सकिने व्यवस्था, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेर मनोरञ्जनको नयाँ तरिका अपनाइएका कुरा, नाट्यशालामा खाली कुर्सीअघि गरिएका अभिनयलाई वृद्धाश्रममा प्रत्यक्ष प्रसारण गरिएका समाचारलगायत विषयमा लेख्ने मन थियो ।
तर गएका ७ दिनमा धेरै कुरा फेरिए । निशा भण्डारी सोलुबाट काठमाडौँ हुँदै कैलाली हिँडेको, आशाराम र आकाश चौधरीको कथा सामाजिक सञ्जालमा व्यापक प्रचार भयो । सुफल काफ्लेले तयार पारेको, बसेको ठाउँमा खान–बस्न असुविधा भएर ३ दिन लगाएर सिन्धुली पुग्न हिँडेका नारायण विश्वकर्माको आँसुको कथा पनि त्यसरी नै बाँडियो । मधेस हिँडेकाहरूको कथा पनि थुप्रै पढियो र हेरियो ।
फाइनान्सियल टाइम्समा अरुन्धती रोयले मोदी सरकारको कोभिड–१९ संक्रमण फैलँदासम्मको गतिविधिको फेहरिस्त लेखिन् । यता, जनकराज सापकोटाले पनि नेपाल सरकारले गरेका काम–कारबाहीको सूची तयार पारे । सरकारको तर्फबाट पनि आफ्ना कदमको बचाउ जारी रह्यो । यस पटक अर्धबन्दीको अवस्था छिट्टै नटुंगिने ‘हुकुम’ भयो । त्यस्तै, मान्छेले ‘स्वतन्त्रता र जीवनमध्ये एक छान्नुपर्ने’ भएकोसमेत ‘मर्जी’ भएका खबर आए । त्यसैले अवसरका कथाहरू लेख्न खै किन हो सकिएन ।
कोभिड संक्रमणको अवस्था सात दिनमा धेरै फेरिएको छ । संक्रमितको संख्या १० लाखबाट करिब १९ लाखभन्दा बढी पुगेको छ (अप्रिल १४ बेलुकासम्म) । सवा लाखभन्दा बढीले ज्यान गुमाएका छन् भने ४ लाखभन्दा बढी निको भइसकेका छन् ।
कोभिड–१९ को संक्रमणका नयाँ जानकारी बाहिर आउने क्रम जारी छ । विश्व स्वास्थ्य संगठनले थुक, खकार र सिँगानका छिटाबाट कोभिड– १९ को संक्रमण हुने बताएको थियो । त्यस्तै, भाइरस रहेको सतहको स्पर्शबाट समेत यो रोग सर्ने यसअघि नै आइसकेको थियो । हाल आएर कोभिड– १९ को संक्रमणको नयाँ (अथवा तेस्रो) सम्भावित तरिका जापानी वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
सरुवा रोगका लागि जापानी संगठनका सभापति काजुहिरो टाडेटाल १ मिटरमा झर्ने ठूला छिटा मात्रै नभएर अति सूक्ष्म छिटाहरू, जो हावामा २० मिनेटभन्दा बढी र १ मिटरको दूरीभन्दा पनि टाढासम्म फैलन सक्छन्, तिनबाट समेत सर्न सक्ने तर्क अघि सारेका छन् । त्यस्ता छिटाहरू हाच्छ्युँ गर्दा वा खोक्दा मात्रै हैन, बोल्दासमेत हावामा फैलने सूक्ष्म क्यामेराको सहयोगबाट उनले प्रमाणित गरेका छन् ।
त्यसो हो भने बन्द कोठाहरूमा कोभिड– १९ को संक्रमणको सम्भावना बढी हुने र झ्याल खोल्दा त्यो कम हुन सक्ने उनको सुझाव छ । यसै सेरोफेरोमा सार्वजनिक सवारी साधन र हवाईजहाजमा यात्रा गर्दा संक्रमण फैलिने खतरा भीडभाडका बेलाबाहेक नहुने भनेर बीबीसीले २६ मार्चमा प्रकाशित गरिसकेको छ ।
यदि जापानी वैज्ञानिकहरूले पत्ता लगाएको कुरा सही ठहरिए एन–९५ मास्क वा सर्जिकल मास्कले समेत भाइरसको संक्रमण रोक्न सक्ने छैन ।
यी चुनौतीपूर्ण समाचारसँगै केही नयाँ र आशलाग्दा संकेत पनि आएका छन् । जर्मनीको नर्दराइन–वेस्टफालिया बढी संक्रमित उत्तर पश्चिमी राज्य हो । यसै राज्यको गांगेल्ट नामक क्षेत्रमा गरिएको सर्वेक्षणअनुसार २ प्रतिशतमा कोभिड– १९ को संक्रमण देखिएको छ भने १४ प्रतिशतको शरीरमा यसका विरुद्ध लड्ने क्षमता भएका प्रतिशरीर (एन्टीबडी) देखिएको छ ।
बोन विश्वविद्यालयका अनुसन्धाताले यिनै नतिजाका आधारमा जर्मनीमा १५ प्रतिशतलाई कोरोना संक्रमित भइसकेको र जनहप्किन्स विश्वविद्यालयले जारी गरेको मृत्युदर वास्तविक मृत्युदर (०,३७ ) प्रतिशतभन्दा ५ गुणा बढी रहेको जानकारी गराएका छन् । यसले केही आशाको सञ्चार गरे पनि अध्ययनको नतिजा विवादमुक्त भने छैन ।
त्यसैगरी मार्च पहिलो साता प्रत्येक २ दिनमा दोब्बर हुने संक्रमितको संख्या १४ अप्रिल बेलुकी ६:३० सम्म प्राप्त तथ्यांकअनुसार दोब्बर हुन थालेको छ । यी सबै खबरका बीच जनजीवनलाई फेरि सामान्यतर्फ लैजाँदै जाने विषयमा बहसहरू पनि थालिएका छन् । २३ मार्चदेखि लागू गरिएका विभिन्न प्रतिबन्धात्मक व्यवस्थाले गर्दा मानिसले सामान्य रूपमा जीवनयापन गर्न पाएका छैनन् ।
सामान्य जनजीवन सञ्चालनले कोभिड– १९ को संक्रमण विस्तारमा सघाउ पुग्ने हुनाले त्यसमा बन्देज लगाए पनि सरकारले ठूला उद्योग सञ्चालन गर्न दिएको छ । मागमा आएको कमी र आपूर्ति व्यवस्थामा देखिएको कठिनाइका कारण तिनले तलबी बिदा वा काम घटाएर संकटको सामना गरेका छन् । मिल्न सक्ने ठाउँमा घरमै बसेर काम गर्ने अवसर पनि मिलाइएको छ । साना र मानिसको भीडभाड हुने खालका व्यवसाय सञ्चालनमा भने रोक लगाएको छ । रेस्टुराँहरूले बसेर खान नपाइने तर घर लैजान पाइने व्यवस्था अपनाएका छन् । यस्ता सावधानीपूर्वक कदम चाल्दासमेत अर्थतन्त्रमा ठूलो असर परेको छ ।
जर्मन अर्थविद् परिषद् (जर्मन काउन्सिल अफ इकोनोमिक एक्सपर्ट (जीसीइई) ले कोभिड– १९ का कारण जर्मनीको कुल गार्हस्थ उत्पादन २.८ प्रतिशतले कम हुने र २०२१ मा गएर ३.७ प्रतिशतले बढ्ने पूर्वानुमान गरेको छ । त्यस्तै, आर्थिक शोधका लागि जर्मन संस्था (डीआइडब्लु) ले यिनै दर क्रमश: १.५ र ४.५ हुने जानकारी गराएको छ ।
अर्थतन्त्र खस्कन नदिन कम्तीमा २० प्रतिशत आम्दानी गुमाएका कम्पनीका कामदाका लागि जर्मनीले ६० प्रतिशत, बेलायतले ८० प्रतिशत र नेदरल्यान्डले ९० प्रतिशत ज्याला सरकारका तर्फबाट दिने भएका छन् । डेनेमार्कमा त्यो दर ७५ देखि ९० प्रतिशतसम्म रहेको छ । यसरी उद्योगहरूले तलबका लागि पैसा तब मात्रै पाउनेछन्, जब उनीहरूले कुनै कर्मचारीलाई कामबाट निकाल्ने छैनन् ।
अमेरिकाको २० खर्ब अमेरिकी डलरको राहत कार्यक्रम पनि विशेषत: कामदारको ज्यालामै खर्च हुने भएको छ । सबै देशको प्रयास भनेको कोभिड– १९ संक्रमण फैलन नदिन बन्द भएका उद्योगहरूले कर्मचारी निकालेर थप आर्थिक संकट ननिम्त्याउने पूर्वतयारी हो । मान्छेहरूले रोजगारी गुमाएनन् र ज्याला पाइरहे भने उनीहरूसँग खर्चिनका लागि पैसा रहनेछ, जुन अर्थतन्त्रमै खर्च हुने हो । तर यसको विपरीत धेरै जना बेरोजगार भए भने त्यसले अवस्था झन् जटिल हुनेछ । जस्तो, जर्मनीको हकमा ५० करोड युरो ४ दिनको अन्तरालमै कलाकारदेखि संघर्षरत स्वउद्यमीहरूलाई वितरण गरी सकिएको छ । यसरी सरकारहरू कोभिड– १९ ले निम्त्याएको आर्थिक संकटका लागि विभिन्न उपाय अवलम्बन गरेर कमभन्दा कम क्षति गर्ने प्रयासमा छन् ।
कोभिड– १९ को संकट यसको खोप नबनेसम्म सम्भव नहुने विश्व स्वास्थ्य संगठन, बीबीसीलगायत माध्यममा पनि समाचार आइसकेका छन् । यो भनेको लगभग १८ महिनाको अवधि हो । यति लामो समयसम्म लकडाउन सम्भव छैन । १२ अप्रिलमा विश्व बैंकले प्रकाशित गरेको समाचारमा पनि दक्षिण एसियाका सरकारले आफ्ना गरिब र संकटाभिमुख जनसंख्यालाई सघाउने उपाय अपनाउनुपर्ने र आर्थिक सबलीकरणका लागि जुट्नुपर्ने सन्देश जारी गरेको छ । त्यस्तै, क्षेत्रीय वृद्धिदर १.८ देखि २.८ प्रतिशतमा झर्ने बताएको छ, जुन दर विगत ४ दशकयताकै सबभन्दा न्यून हो । यदि लकडाउनको अवस्था अझै लम्बियो भने वृद्धिदर ऋणात्मक हुने चेतावनी पनि विश्व बैंकले दिएको छ ।
नेपालका हकमा वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा झर्ने र संक्रमण लम्बिए यसको असर आव ०२२ सम्मै जाने प्रक्षेपण गरेको छ । स्मरण रहोस्, विभिन्न आर्थिक कार्यक्रम ल्याएर अर्थतन्त्र सबलीकरणमा लागेका जर्मनीलगायतका युरोपियन मुलुकहरूमा आव २०२१ देखि नै सकारात्मक संकेत देखिने पूर्वानुमान गरिएका छन् । लकडाउनलाई साध्य हैन, साधन मानेर सरकारले संक्रमणको गति कम भएको अवधिलाई प्रयोग गरेर अर्थतन्त्र सुदृढ पार्ने बाटोतिर लागेन भने अवस्था झनै जटिल बन्दै जानेमा शंका छैन । आखिर प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँगको टेलिकन्फरेन्समा कोभिड– १९ सँग जितेको भनेको वुहानमा ७६ दिनपछि पनि विद्यालय बन्द नै छ । खुल्ने कहिले, यकिन छैन । त्यसैले लकडाउन नै बाटो हो भनेर जानु गल्ती हुन्छ ।
वुहान चीनको एक सहर मात्रै हो । नेपालले बढी संक्रमित क्षेत्र मात्रै बन्द गरेर अन्य खुला गरेको भए पनि चिनियाँ नीतिसँग हाम्रो नीतिको तुलना गर्न सकिन्थ्यो । हाम्रोमा त सोलुदेखि कैलालीसम्म सबै बन्द छ । त्यसको हेक्का प्रधानमन्त्रीलाई हुनुपर्छ ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक जानकारीअनुसार १३ अप्रिलसम्म १ लाखमा १८ जनाको परीक्षण सम्पन्न गरेको छ । र्यापिड टेस्ट किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण भएको र सबै गरेर ८ हजार ५ सय ५ जनामा परीक्षण भएको देखिन्छ । यो दर प्रति १ लाखमा ३० पुग्न जान्छ । यो दर दक्षिण कोरिया, अमेरिका र स्वीट्जरल्यान्डजस्ता देशमा क्रमश: ९ सय ९९, ८ सय ४ र २ हजार २ सय ३५ रहेको छ ।
नेपालको आर्थिक अवस्थाका कारण त्यसका सीमाहरू पनि छन् । त्यसैले विकसित देशको नीति हुबहु नेपालमा उतार्न कठिन छ । दक्षिण कोरियाजस्तो सरकारको आह्वानमा तुरुन्तै परीक्षण सामग्री उत्पादन गर्न सक्ने उद्योग, कलकारखाना हामीकहाँ छैनन् । संसारभर स्वास्थ्य उपकरण र व्यक्तिगत सुरक्षा सामग्रीको बढेको मागका कारण पनि तिनको व्यवस्थापन चुनौतीपूर्ण छ । आर्थिक अवस्थाका हिसाबले हेर्दा त ब्राजिलका राष्ट्रपति बोल्सोनारो या इमरान खानले लिएजस्तो कोभिड– १९ विरुद्ध सामूहिक प्रतिरोध (हर्ड इम्युनिटी) सिर्जना हुन दिने उपाय नेपालका लागि ठीक हुन्थ्यो । तर त्यसबाट हुन सक्ने जीवनको क्षति कम गर्न संकटाभिमुख उमेर समूहका व्यक्तिलाई सुरक्षित गर्ने उपाय अवलम्बन गरिनुपर्छ ।
युरोपजस्तो बढी उमेर समूहको जनसंख्या धेरै नभएको र भए पनि ती सबै वृद्धाश्रमजस्ता ठाउँमा नथुप्रिएकाले तिनमा कोभिड संक्रमणको उस्तो खतरा छैन ।
हाम्रा शासकहरूले ‘भावनामा नबग्नू’ जस्ता कुरा गरिरहेका बेला जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमायरले कोभिड– १९ को संक्रमणलाई युद्ध हैन, मानवीयताको परीक्षा भएको भनेर बताएका छन् । चान्सलर एन्जिला मर्कल पनि एकान्तबासबाट फर्केर सार्वजनिक सञ्चार माध्यममा सक्रिय भइसकेकी छिन् । बेलायती प्रधानमन्त्रीले कोरोनाको संक्रमणबाट निको भएपछि ट्वीटरमार्फत स्वास्थ्यकर्मीलगायतलाई धन्यवाद दिएका छन् ।
हामीकहाँ भने नयाँ वर्षको पूर्वसन्ध्यामा वर्षको पहिलो दिन बिहानै ८ बजे प्रधानमन्त्रीले राष्ट्रिय गान बजाउने कार्यक्रम मन पराएर अरूलाई पनि त्यसै गर्न आह्वान गरेका छन् । केही दिनअघि भारतका प्रधानमन्त्रीले राती ९ बजेर ९ मिनेटमा दीपावलीको गर्न भनेजस्तै भान हुने यो आह्वानको कुनै तुक देखिँदैन । बरु नयाँ वर्षको सन्देशका क्रममा कोभिड– १९ अन्त नहुँदासम्मको तलब सुविधा नलिने प्रधानमन्त्रीको घोषणाले केहीलाई भने खुसी बनाएको छ । त्यस्तै, स्वास्थ्यकर्मीलगायतलाई ज्ञापन गरिएको धन्यवाद र यसअघि ‘निको’ भइसकेपछिको भन्दा कम विवादास्पद सम्बोधन धेरैलाई निको लागेको छ ।
दु:खको कुरा, यो सम्बोधनमा पनि ठोस कार्यक्रम भने केही घोषणा भएनन् । आशाराम चौधरी र नारायण विश्वकर्माहरूले काम र माम दुवै नपाएर हिँडेरै दूर सुदूरको यात्रा गर्नु परेको अवस्थाले अझै प्रधानमन्त्रीलाई ‘भावुक’ बनाएको छैन । तर प्रधानमन्त्री अलि बढी स्वस्थ देखिएका र सुनिएका छन् ।
आशा गरौँ, आगामी दिनमा केही राम्रा समाचारहरू सुन्न पाइनेछ । नयाँ वर्षमा नयाँ शैलीले कोभिड– १९ को संक्रमण रोकथामको प्रयास हुनेछ । स्टाइनमायरले भनेजस्तै यो मानवीयताको परीक्षामा हाम्रा नेताहरू पनि सफल सिद्ध हुनेछन् ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...