फेरि पनि मुस्लिम समुदायमाथि प्रहार
कोरोना महासंङ्कटमा मुस्लिम समुदायप्रति नै घृणा जगाउने अफवाह
यो कहर मात्रै होइन, यो महामारीबिच कतै सकिँदै र कतै जोगिँदै गरेको मानवता चिन्ने बेला पनि हो ।
‘मुसलमानले नेपालमा कोरोना फैलाउने भए ।’
‘जनकपुरमा कोरोना फैलाउने उद्देश्यले दुई मुस्लिम महिलाले बाटोमा नोट फ्याँके ।’
यस्ता अफवाहलाई स्टाटस र समाचार लिंक बनाएपछि सामाजिक सञ्जाल साम्प्रदायिक विद्वेषद्वारा संक्रमित भयो । कतिपय राजनीतिक नेता, पत्रकार वा समाजमा चिनिएका भनिएका मान्छेले नै फैलाएको यस्तो घृणाको लहरले सर्वसाधारणलाई लपेट्ने नै भयो । फ्रान्सबाट फर्केकी दोस्रो कोरोना संक्रमित महिलालाई सामाजिक सञ्जालमा गरिएको गाली र अपमानबाट सुरु भएको यो शृंखला अहिले अल्पसंख्यक धार्मिक समुदायप्रति लक्षित छ । कति त ‘हाम्रो छिमेकमा पनि मुसलमान छन्, यिनले पनि हामीलाई कोरोना सार्ने त होइनन्’ भन्ने मान्छे समेत भेटिए ।
भारतमा बन्ने मूलधारका प्रायः सिनेमा र हिन्दी न्युज च्यानलका सनसनीखेज खुलासामा हामी विश्वास गर्छौं, ती कति साम्प्रदायिक छन् भन्ने छ्यानब्यान हामी गर्दैनौं । जनकपुरको घटना र उदयपुरमा कोरोना संक्रमित भेटिएको घटनाबारे आएका समाचारहरूको भाषा हेर्दा हाम्रा मिडिया पनि सनसनी पस्कने नाममा भारतीय मूलधारका मिडियाबाट प्रभावित छन् भन्ने प्रष्ट हुन्छ । जनकपुरमा लाञ्छित महिलालाई कोरोना नभएको पुष्टि भइसकेको छ तर अधिकांश मान्छेका सामाजिक सञ्जालमा व्यक्त विचारहरू पढ्दा भने आङै सिरिङ्ग हुन्छ । लाग्छ, यतिबेला महामारीको मुख्य कारण र उपचार फेला परेको छ । त्यो हो जो अल्पसंख्यक छ, उसको टाउकोमा सबै दोष थुपारिदिने ।
अरुन्धती रोयले कोभिड १९ को संक्रमणपछि भारतमा मुसलमानमाथि गरिएको व्यवहारलाई विगतमा जर्मनमा नाजीहरूले यहुदीहरूलाई टाइफस फैलाएको भनेर लगाएको आरोपसँग तुलना गरेकी छन् । भारतीय मिडियाहरूले पनि यतिबेला मुस्लिम समुदायले कोरोना भाइरस जानीबुझी फैलाएको भनेर जोडतोडले प्रचार गरेका छन् । त्यो प्रोपगण्डाको असर नेपालमा नपर्ने कुरै भएन । मोदीपथमा सरकार छ । मोदीभक्तका पथमा यहाँका राजनीतिक कार्यकर्ता छन् । अनि सनसनीखेज खुलासा गर्ने भारतीय मिडियाको सिको गर्न खोज्छन् हाम्रा केही मिडिया । त्यसको परिणाम नेपाली समाज महामारीमा थप मानवीय हुनुपर्ने बेलामा झन्झन् अमानवीय हुने हो कि भन्ने त्रास थपिएको छ ।
घर जान पाउँ भनेर सडकमा रुँदै गरेका मजदुर, सिमानामा अलपत्र नेपाली, विदेशमा काम खोसिएर भयग्रस्त कामदारहरू, उपचारबिना घरमा थुनिएका हजारौं दीर्घरोगीहरू, पर्याप्त व्यक्तिगत सुरक्षा उपकरणबिना जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीहरु एकातिर छन्, अनि अर्कोतिर छ जेसुकै होस् हामीलाई बाल मतलब शैलीको सरकार ! अनि बुज्रुक कहलिएकाहरूलाई सबैभन्दा ठूलो समस्या लागेको छ– मुसलमानहरूका कारण देशमा कोरोना फैलिन सक्छ !
यो पनि पढ्नुस
कोरोना महासंङ्कटमा मुस्लिम समुदायप्रति नै घृणा जगाउने अफवाह
पहिलो संक्रमित देखिएको महिनौंसम्म बिनातयारी आनन्दले सुत्न सक्ने सरकार, नेपाललाई कोरोनामुक्त क्षेत्र घोषणा गरेर लाखौं पर्यटक भित्र्याउँछु भन्ने मन्त्री र महामारीलाई नै भ्रष्टाचार गर्ने मौका ठान्ने उच्चपदस्थहरू आलोचनाका पात्र बन्नुपर्थ्यो । तर जहाँजहाँ कोरोना देखियो, त्यो समुदाय नै लाञ्छित भइरहेको छ । महामारीसँग जुध्न सरकारले के के तयारी गर्नुपर्ने थियो र ऊ कहाँकहाँ चुकेको छ ? सचेत भनिने तप्काले दिशानिर्देश गर्नुपर्ने त्यतातिर थियो । त्यसको सट्टा एउटा अल्पसंख्यक समुदायलाई महामारीको कारण बनाएर यो पंक्तिले सरकारलाई नै हाइसन्चो बनाउन चाहेको देखिन्छ । विश्व स्वास्थ्य संगठन समेतले कोरोना महामारीका लागि कुनै देश, धर्म र समुदायलाई जिम्मेवार ठहर्याउन नपाउने भनिसकेको छ । महामारीका बेलामा आफूभित्रको साम्प्रदायिक संकीर्णता तुष्टि गर्न गलत र भ्रामक सूचनाहरु सम्प्रेषण गर्नेहरुमाथि कारवाही हुनुपर्छ ।
हाम्रो संवेदनहीनता र अमानवीयतालाई छताछुल्ल पार्न कोरोना एउटा माध्यम बनेको छ । कतिले जातीय छुवाछुत र महिनावारीमा हुने छुवाछुत समेतलाई कोरोनासँग जोडेर औचित्य पुष्टि गर्न खोजिरहेका छन् । कतिले परिवार वा छोराछोरी विदेशमा हुनेहरुलाई खुच्चिङ गरिरहेका छन् । कोरोना संक्रमितलाई समेत त्यसरी नै अपमानित अनि छिःछिः र दूरदूर गरिएको छ । रोग जसलाई पनि लाग्न सक्छ । आफूलाई रोग लागिहाल्यो भने सारा दुनियाँलाई रोग सार्छु भन्दै नियतवश कोही हिँड्दैन । तर रोग लागेपछि हुने अपहेलना र अपमानको डरले रोगीले रोग लुकाउने कोसिस चाहिँ पक्कै गर्छ । यस्तो हुनुमा बिरामीलाई दोष दिने कि समाजको संरचनालाई ? अनि सिंगो समुदायलाई गरिने गालीगलौज र बिरामीलाई दिइएको रोगभन्दा पनि भयानक सामाजिक यातना र तनावको क्षतिपूर्ति कसरी हुन्छ ?
त्यसैले यो कोरोनाको कहरको मात्रै होइन, यो महामारीबिच कतै सकिँदै गरेको र कतै जोगिँदै गरेको मानवता चिन्ने बेला पनि हो । अनि सत्ताको वास्तविक अनुहार झन् छर्लंग देखिने समय पनि यही हो । त्यसैले यो बेलामा हामी मान्छेजस्तै देखिऊँ, बचेखुचेको मानवता पनि कोरोनाको निहुँमा नसिध्याऊँ । कोरोनाको आडमा सत्ताले गरिरहेका र भविष्यमा गर्न सक्ने अनुचित र अमानवीय कर्महरूविरुद्ध जागै बसौं, किनभने जनतालाई लकडाउनमा राखेर सत्ताले नचाहिँदा काम गर्न छाडेको छैन ।
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...