कपालमा अल्झिएका प्रेमीहरू
विद्रोह गर्नुपर्छ भनेर सिकाउने अनि विद्रोह गर्यो भने कित्ता निर्धारण गर्ने आम पुरुष प्रवृत्ति ।
‘तपाईंले किन कपाल काट्नुभएको ?’ मेरा पुराना फोटाहरू फेसबुकमा हेरेपछि तक्लु फोटो देख्ने जोकोही आश्चर्यले म्यासेज गर्छन् । अहिले मेरो कपाल लामो भइसक्यो । मान्छेहरू किन विगतमै अल्झिरहन्छन्, म जान्दिनँ । प्रेमीहरू प्रेममा अल्झिनुपर्ने हो तर...
‘छोरी मान्छेले कपाल त्यत्तिकै काट्दैनन् । कतै केही दुर्घटना या अरू केही... मतलब कुनै रोगको कारण...’
‘मन लाग्यो । कपाल पाल्न झ्याऊ लाग्यो अनि काटिदिएँ ।’ मैले सत्य लेखेँ । अहँ पत्याउँदैनन् ।
‘महिला अधिकारकर्मी ?’
‘होइन, मनमौजीकर्मी भन्नुस् ।’ महिला अधिकारबारे थाहा छ । तर यसरी अधिकार पाउनुमा मेरो केही योगदान छैन । बरु महिला दिदीबहिनीहरूले दु:खले लडेर पाएको अधिकारको उपयोग भरपुर गरेकी छु । उहाँहरूलाई धन्यवाद ! नभए म आज पनि सारीको सप्कोले टाउको छोपेर केटा मान्छेको गन्ध परैबाट थाहा पाउनासाथ घोसेमुन्टो लगाउने थिएँ । फेरि कपाल काट्दैमा योगदान गरेको ठान्नुहुन्छ भने त्यो तपाईंको समस्या हो । सबै पुरुषको समस्या हो । तर भन्नुहुन्छ भने छुटचाहिँ छ है ।
‘तपाईंको लामो कपाल किन ? तपाईं पुरुष अधिकारकर्मी ?’ यसो भन्दिनँ म । उनीहरूले आफ्नो सोखले पालेका हुन्छन् । कोही मेरै क्याटागोरीका पुरुष पनि होलान् । काट्न झ्याऊ लागेर कपाल पालिदिने । पन्ध्र–पन्ध्र दिनमा कपाल छोटो बनाइराख्नु पनि झ्याउलाग्दो काम हो नि ।
‘तपाईंलाई तपाईं भनुँ कि तिमी ?’ कुरा गर्दै गएपछि केटाहरू बडो अलमलमा पर्छन् । उनीहरूको पीडा बुझ्छु । सुरुमा तपाईं भनिहालेँ । धेरै कुरा नहोला भन्ने लागेर हुन सक्छ । तर कुरा गर्न थालेपछि मेरो अलि बढी बोल्ने बानी छ । हो भनेर लेखेको म्यासेज धरी रिप्लाइ गर्छु, मुड भयो भने । ‘उम ।’
‘तपाईं भन्नुस् ।’ यसपछि उनीहरूको रिप्लाइको गति यति सुस्त हुन्छ कि मैले दुइटा सर्ट मुभी हेरिसक्छु, यो अन्तरालमा ।
‘मलाई तिमी भनुँ–भनुँ भयो । कस्तो आफ्नै लागेको होला । नजिकको महसुस भयो ।’ कसैले कसैलाई नजिक सोच्नुमा के हानि छ र ? नजिक सोचे भइहाल्यो । तपाईं भन्दैमा टाढा कसरी हुन्छ र मान्छे ?
‘मलाई पनि तिमी भनुँ–भनुँ भयो । म पनि तिमी भन्छु है ?’
‘आर यु किडिङ मी ?’
‘सत्य । रामराम ।’
‘म पनि तपाईं भन्छु । अलिक नजिक भएपछि तिमी भन्छु है ?’
‘हुन्छ, म पनि पछि नै तिमी भनुँला ।’
‘मैले तिमी भन्छु भनेर पो हो ?’ कस्तो स्मार्ट केटो रहेछ । मख्ख पर्छु ।
‘जीवनसाथीलाई तपाईं कसले भन्छ ?’ ऊ कुराको चुरो चपक्कै समात्छ । उसले मलाई म्यासेज त्यत्तिकै गरेको होइन ।
‘तिमी भन्न हामी साथी पनि होइनौँ । कति वर्षदेखिको मित्रता छ र हामीमा ?’
‘खुब घमन्ड रहेछ तिमीमा ।’ सीधै तिमी पो भनिदियो । अघि सोध्दै थियो । आखिर भन्नु नै थियो भने के भनुँ भनेर किन सोध्ने ? भनेको नमान्ने भए नाटक किन गरिराख्ने ?
‘तिमी पनि घमन्डी रहेछौ । मन पर्यो ।’
‘मलाई मन परेन । झन् कति भलाद्मी केटी छे भनेर बोलेको त । यस्ती...’ म मुसुक्क हाँसेको इमोजी पठाउँछु ।
यसपछि हाम्रो कुराकानी बन्द हुन्छ । यो सानो म्यासेज उसको र मेरो परिवारलाई थाहा हुन्छ । राम्रो कुरा गर्दा पनि नपच्ने रहेछ, त्यसलाई । म त्योसँग बिहे गर्दिनँ ।
‘तँ किन चित्त त्यति सानो बनाउँछेस् ? तिमी भन्छन् त । लोग्ने मान्छे हुन् ।’ हजुरआमा सम्झाउनुहुन्छ । तपाईं कुरै बुझ्नुहुन्न । म बोल्दिनँ ।
‘यो नातिनी साह्रै सन्काई भई । छोरा मान्छेसरह बराबर गरेर कहीँ सकिन्छ ?’
कानुनमै लेखेको छ– त्यो पनि मौलिक हकमै । सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक अनि शोषण भएको महसुस गरे शोषणविरुद्धको हक ।
अब अधिकारको सदुपयोग गर्नुपर्यो नि । कसैले अपशब्द बोले मानहानिको मुद्दा पनि लगाउन सकिन्छ । यति धेरै कानुनी उपचार छ । तर हामी डराउनुपर्ने अवस्था छ । परिवारको, समाजको अनि आफैँभित्र रहेको डर, जसले एक्लै लड्नका लागि ताकत दिँदैन । परिवार नै आफ्नाविरुद्धमा लागेपछि के गर्नू ?
‘तपाईंलाई कति मानसम्मान चाहिने हो ?’ बहिनी हजुरआमालाई उछिन्दै बोल्छे । म उसलाई घुरेर हेर्छु । ऊ मुसुक्क मुस्कुराउँछे अनि हजुरआमाको काखमा लुटपुटिन्छे ।
कतै पढेकी थिएँ, ‘सुनेको सबै कुरामा विश्वास नगर्नुहोस् किनकि सबै कथामा आ–आफ्नो दृष्टिकोण हुन्छ । एउटा तपाईंको, उनीहरूको र सत्यको ।’
कपालमा अल्झेको कुरा कता अल्झियो–अल्झियो ।
तपाईं र तिमीको चक्करमा लागेर रेगुलर च्याट बन्द भयो । सुनसान छ । फेसबुकको म्यासेन्जर खोल्नुपर्छ । मलाई घनघोर जंगलभित्र पसेजस्तो अन्धकार र सन्नाटा महसुस हुन्छ । कहीँ–कतै चिरबिर आवाज सुनियो भने त्यो ग्रुप म्यासेजको हुन्छ । नभए त्यो पनि सुनिँदैन कहिले ।
फेसबुक स्क्रोल गर्छु । यति हतारमा स्क्रोल गर्छु कि थाहा छैन, म के खोजिरहेकी छु । के देख्न हतार छ, मेरा आँखाहरूलाई । कसैको पोस्टमा अल्झिउँजस्तो लाग्दैन । कसैको फोटोले तानेर उनीहरूको प्रोफाइल भिजिट गरूँजस्तो लाग्दैन ।
म यसरी फेसबुक स्क्रोल गरेर भर्चुअल दुनियाँमा कतिको टाढा पुगुँला ?
फोटो । बिहेको । प्रेमीको । दुई दिनअघिको । भूतपूर्व प्रेमी ? होइन प्रेमी हो ।
रोकिनका लागि यत्ति काफी हुँदो रहेछ । रोकिएँ ।
‘तिमीलाई बिहे गर्नु नै रहेनछ मसँग ।’
‘म तयार छु । के समस्या छ र ममा । गर्छु भनिराख्या छु ।’
‘अनि यो कपाल ? त्यस्तो लामो कपाल सर्लक्क काट्नुभयो । कसरी विश्वास गरूँ ? बिहे गर्ने मान्छेले यस्तो अव्यावहारिक हुन सुहाउँछ ?’
‘तैँले मेरो कपालसँग बिहे गर्ने हो र ?’ यसो भन्न मन लागेको थियो । तर भनिनँ । विद्रोह गर्न जसले सिकायो, उसैसँग विद्रोह गरेर के गर्नू । जिन्दगी एक्लैले चल्दैन । समायोजन गरेर चलाउनुपर्छ ।
‘सरी । गल्ती भयो । कपाल आइहाल्छ नि । यसैलाई किन यस्तो ठूलो इस्यु बनाउनुभएको ? बिहे गर्ने भए या कपाल नै चाहिने भए नक्कली कपाल जति भए पनि पाइन्छ । हामी त्यस्तो गर्न सक्छौँ । कपालकै कारण बिहेलाई किन अल्मल्याउनुपर्यो । किन कपालमै अल्झिनुपर्यो ?’
‘तिमीसँग त्योबाहेक पनि थुप्रै कमजोरीहरू छन् ।’
‘कमजोरी जोसँग पनि हुन्छ । तपाईं पनि प्रफेक्ट हुनुहुन्न ।’
‘म लोग्ने मान्छे हुँ । जे गर्न पनि छुट छ । तपाईंले सीमा नाघ्नुभयो । मलाई नसोधीकन किन कपाल ताक्लु बनाउनुभयो ?’ मैले टाउको ताक्लु बनाउँदा उसलाई सोधिनँ । मेरो टाउकाको कपाल ताक्लु बनाउँदा किन सोध्ने ? मेरो अधिकार हो, कपाल काट्ने कि पाल्ने भन्ने । मेरो यही बानीले उसको अहंमा पहिलोचोटि ठेस पुगेको थियो । जे कुरा पनि उसलाई सोध्ने । जे पनि सेयर गर्ने मेरो बानी थियो ।
त्यतिबेलाको घटना यस्तो थियो–
‘तपाईं अचेल मलाई समय दिनुहुन्न । गर्लफ्रेन्ड छ, तपाईंको ?’
‘अरे यार केटी । काममा छु । बिजी भएर हो । बुझ्नुपर्छ नि । बच्चाजस्तो नबन्नू ।’
‘दिनमा एक घन्टा पनि समय निकाल्नै नसक्ने भन्ने हुन्छ ?’ उसको बानीमा बदलाव आएको थियो । हामीबीच फेसबुकको पासवर्ड सेयर नभए पनि विश्वासले बाँधिएका थियौँ ।
‘त्यसो भए, तपाईंको फेसबुक हेर्छु । पासवर्ड बताउनू ।’ उसले यस्तो चिताएकै थिएन । ऊ बेस्सरी रिसायो ।
बेलुकातिर उसलाई मेरो तक्लु फोटो पठाएँ ।
‘के गरेकी ? कपाल हुँदा कति राम्री हुनुहुन्थ्यो । सुहाएन है ।’
‘किन सुहाउनुपर्यो । तपाईंको अर्को गर्लफ्रेन्ड भएपछि ।’
‘सरी । म हिजो त्यसरी बोल्न नहुने थियो ।’
‘पासवर्ड दिनू अनि पत्याउँला ।’ उसलाई अविश्वास गरेको पहिलोचोटि थियो, त्यो । उसैले सिकाएको हो, ‘जे कुरामा पनि सन्देह गर्नुपर्छ । प्रश्न गर्नुपर्छ । चुपचाप नियति सम्झेर स्वीकार्ने काम गर्नु हुँदैन ।’
‘मैले बिगारेको हो तपाईंलाई । यसैको पाप लाग्या हो । त्यस्ती सोझी मान्छेलाई यस्तो बनाउने मै हुँ । ठीक पनि मै पार्छु ।’
आफ्नो शरीरमा आफ्नै अधिकार हुन्छ । मैले पनि गल्ती गरिराखेकी हुन सक्छु । हजुरले भन्नु है । नो मिन्स नो । बुझ्नुभयो नि ?
मैले बुझे पनि, नबुझे पनि टाउको हल्लाउँथेँ । जब मैले कपाल काटेँ, उसका सबै कुरा स्पष्ट बुझेँ । उसको क्रान्तिकारी विचारको जग कत्तिको कच्चा रहेछ भन्ने महसुस गरेँ । उसको नकाब लगाएको अनुहार दुरुस्तै एकै पटकमा उतारेर पुरुष अहं राम्रोसँग अनुभव गरेँ । कपालमा यत्ति ताकत हुने रहेछ । मैले कपाल पहिल्यैदेखि सानो बनाउँथेँ । मेरो थाइकट कपाल देखेरै मन पराएको भन्थ्यो, ऊ । मैले नबुझ्ने भाषामा विचित्र–विचित्र वादहरूको कुरा गर्थ्यो । कमला भासिन, तसलिमा नसरिन, अरुन्धती राय अनि अरू पनि थुप्रै नामहरू भनेर मलाई अल्मल्याउँथ्यो । म उसको कुरैमा लठ्ठिन्थेँ । केटा मान्छेहरू पनि यति धेरै स्त्रीमैत्री हुन्छन् ?
कपाल यत्तिकै राख्नू । लामो नबनाउनू ।
लामो पो नबनाउनू भनेको । तक्लु बनाए के भयो र ?
कपाल छोटो बनाउनु र कपाल तक्लु बनाउनुमा कति अन्तर हुँदो रहेछ, मैले महसुस गरेँ । यस्तो महसुस गराउने पनि उहीँ थियो ।
कपाल तक्लु बनाएर मैले आफैँसँग लड्न सिकेँ । उसको आड थियो । त्यो पनि रहेन । कपालकै कारण सधैँ किचकिच । कपाल भनेको कति महत्त्वको कुरा रहेछ, मैले त्यसपछि थाहा पाएँ ।
‘कपाल हुँदा कति राम्री देखिन्थ्यो ।’ मतलब अहिले नराम्रो ? कपाल हुँदा असाध्यै सुन्दर रहेछु, म उनीहरूको नजरमा । कपाल सुन्दर कि म ? कस्तो अल्मलाइदिन्छन् ।
‘अबचाहिँ कपाल नकाट्नू है ?’ मैले उसको कुरा फिस्स हाँसेर उडाइदिएँ । कपाल नहुनुमा एकदम मज्जा रहेछ । कुनै केटाले आँखा लगाउने चान्स नै हुन्न । अनि घरमा बिहेको कुरा पनि चल्दैन । फेरि कतिले यौनिकतामै प्रश्नचिह्न उठाएर दु:ख दिने काम नगर्ने भने होइनन् ।
‘केटी मान्छेलाई राम्री हुन मन लाग्छ । कतै.....छ...क्का...मतलब सम....लिंगी.... मतलब...’ म मुसुक्क मुस्कुराउँछु । मैले टाउको तक्लु बनाउनुको कारण यति धेरै हुन सक्ने रहेछ । के थाहा ? यत्ति थाहा पाउन मैले कपाल गुमाउनुपर्यो ।
क्रान्तिकारी देखिने आम पुरुष प्रवृत्ति । विद्रोह गर्नुपर्छ भनेर सिकाउने अनि विद्रोह गर्यो भने कित्ता निर्धारण गर्ने जमात । तँ यत्ति मात्रै उड् । योभन्दा माथि उड्ने कोसिस गरिस् भने भुइँमा खसालिदिन्छु भनेजस्तो । स्वतन्त्रताको उडान भर्न खोज्दा महिला हुनुको सीमितता महसुस गराउने विद्रोही चेतका पुरुषहरू देखेर म छक्क पर्छु ।
मैले नजानेरै सही । कम्तीमा आफ्नै प्रेम र प्रेमीमाथि विद्रोह गरेँ । प्रेमीको कारणले घरमा विद्रोह गरिआएकै थिएँ । अहिले भने मेरो ताकत म आफैँ बन्नु परेको छ । सिंगो समाजमाथि प्रश्न गर्ने हैसियतमा पुर्याउने उसलाई मैले घृणा के गरिरहनु ? बरु आदर्शको छाता ओढेर हिँडिरहने यो समाजका प्रत्येक पुरुषप्रति घृणा छ, मलाई । सरी । यसमा ऊ पनि पर्छ ।
मेरो कपालले मलाई कम्तीमा यत्ति सिकायो ।
‘तिमी कपाल काटेको बारेमा लेख्नू न । अस्तिको लेख पढ्नुभएन ? कसको हो, बिर्सिएँ । कपाल काटेपछि लेखेका रहेछन् । तपाईं पनि लेख्ने कि ? के भयो त ट्राइ गर्नू न ।’ उसले खिसी गर्दै भन्यो । मलाई पहिलोपल्ट होचिएको महसुस भयो ।
किन आफ्ना अनुभूतिहरू लेख्नै नपाउने गरी किनारा लगाउन खोज्छन् । महिलाका कुराहरू, गन्थनमन्थन मात्रै हो भनेर कसरी निर्लज्ज भन्न सक्छन् ? अन्याय उनीहरू गर्ने ? तिमीहरूले यसो गर्यौ भन्दा महिलाको कुरा । महिलाको गन्थन हुने ?
टाउको तक्लु बनाएपछि म अर्कै आइमाई भएँ । कति कुरा सिक्नका लागि कपाल पनि बाधक बन्दो रहेछ । ‘कपाल किन काट्नुभएको’ भन्ने प्रश्नको जवाफ दिँदादिँदै मैले आफैँमा विद्रोहको, प्रश्नको दियो बाल्न सिकेँ । असन्तोष प्रकट गर्न सिकेँ ।
‘मेरो व्यक्तिगत स्वतन्त्रता हो ।’ मेरो मुखबाट फ्याट्ट जवाफ निस्कियो । कताबाट आयो, मलाई यस्तो भन्न ? मेरो उत्तरले आफैँ मख्ख परेँ ।
मेरो तक्लु टाउको भइन्जेल तनाव पाइराखेँ । कसैले केटी सोचेरै नहेरिदिने । अर्कै ग्रहबाट आएको अनौठो मान्छे जसरी घुरेर हेर्ने । सोधेकाहरूलाई त जवाफ दिन्थेँ । नसोधीकनै आँखाभरि प्रश्न बोकेर मेरो टाउको हेरेपछि छातीमा आँखा पुर्याइहाल्नेलाई के जवाफ दिने ? मैले लगाउने कपडामा पनि पुरुषले लगाउने कपडा हो कि महिलाले हो भनेर घोरिएर हेरिरहने जमातलाई के भन्ने ? मान्छेलाई अल्मल्याउन कस्तो ड्रेस लगाउनुपर्छ भन्ने कुरा पनि मलाई थाहा छ । विष्णु, कुसुम, किरणजस्ता नामहरू केटाका पनि हुन्छन् । केटीका पनि । कुनै कपडाहरू यस्तै हुन्छन् । म त्यस्तै कन्फ्युजवाला ड्रेस लगाउँथेँ । लगाउँछु पनि ।
कपाल लामो हुँदै गयो ।
एकाएक टाढिएका केटा साथीहरू नजानिँदो तरिकाले तानिन थालेँ । तर उनीहरूको प्रश्न उहीँ हो, ‘पहिला तिमीले कपाल किन काटेको ?’
‘अबचाहिँ कपाल नकाट है । लामो कपाल सुहाउँदो रहेछ ।’
‘मिसलाई विद्रोह गर्न पुग्योजस्तो छ नि । हा हा । कपाल लामै भइसकेछ । काट्ने होइन ?’
‘मान्छे सोझी लाग्थ्यो तर होइन रहेछ । कपाल काटेकी रहिछ पहिला । तक्लु बनाएकी रहिछे र पो त्यसले । त्यत्ति छोटो कसले बनाउँछ कपाल ?’
‘ममीबुबालाई तक्लु बनाएको थाहा थियो ? घरकाले गाली गर्लान् नि । काठमाडौँमा बसेर मनलाग्दी गर्छन्, अहिलेका केटीहरू ।’
‘तिमी कपाल यत्तिकै लामो बनाउनुपर्छ ल ?’ उसले पिठ्युँसम्म कपाल पालेकी केटीको फोटो पठाउँछ ।
‘मलाई झ्याऊ लाग्छ ।’
‘तिम्रो कपाल स्याहार्ने जिम्मा मेरो भयो । तिम्रो कपाल कोरिदिने, बाटिदिने, नुहाइदिने । बरु हामी बिहे नगरुन्जेलचाहिँ प्लिज मेरा लागि भए पनि कपाल नकाट है । मलाई तिम्रो लामो कपालमा खेल्न मन छ । राम्री देखिनलाई अलिअलि मिहिनेत गर्नैपर्छ । तिमीलाई अरूले राम्रो भनोस् भन्ने किन लाग्दैन ?’ राम्रो भनोस् । असल भनिदेओस् भन्ने चाहना सबैको हुन्छ । त्यो राम्रोको फ्रेमभित्र बस्न एकदम सकस हुन्छ, मलाई । खराब भनुँन् । तर आदर्श र नियमले थिचिएर मन नपरे हुन्थ्यो ।
‘तिमी पनि कपालमै अल्झिराख ।’
म त खुल्ला सोचको मान्छे हुँ । तर अरूहरूले कुरा काट्छन् । तिम्रो छोटो कपालका कारण मलाई साथीहरूले के–के भनेर जिस्काइराख्छन् । घरमा ममीले तिमीलाई मन पराउनुहुन्न । समस्या तिमीमा होइन । कपाल नभएकामा हो । कतिपय अवस्थामा हामीले अरूको कुरा पनि मान्नुपर्छ । मै एक जनाले तिमीले ठीक गर्यौ भन्दैमा हुन्छ ?
कपाल र पुरुष अहंबीच अन्योन्याश्रित सम्बन्ध छ । महिलाले कपाल छोटो भए पुरुषको अहं पनि छोटिन्छ । महिलाले कपाल लामो राखे पुरुषको अहंतालाई मलजल हुन्छ । कपालभित्र यस्तो गुह्य रहस्य रहेछ र पो, पुरुषहरू यो रहस्य महिलाको चुल्ठोमा पोको पार्न चाहने रहेछन् ।
‘तिमीचाहिँ मान्छेहरूलाई कपालमै अल्मल्याइराख ।’
‘कहिले तिम्रो पछ्यौरीमा अल्झेँ, कहिले तिम्रो चौबन्दीमा अल्झेँ’ गीत रमण घिमिरेले त्यसै कोर्नुभएको होइन रहेछ ।
‘कहिले तिम्रो पर्खाइमा अल्झेँ । कहिले तिम्रो आँखा तर्काइमा अल्झेँ । कहिले तिम्रो हँसाइमा अल्झे । कहिले तिम्रो कुरा गराइमा अल्झेँ ।’
अल्झिन यति धेरै कुराहरू छन् । प्रेमीहरू किन कपालमै अल्झिराख्छन् ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...