अमेरिका लकडाउन नगर्नुको चुरो
अहिलेसम्म अर्थ र शक्तिको विश्व नेतृत्व सम्हालिरहेको राष्ट्रलाई उदाउँदो तर आफू छेउमै आइसकेको चीनले अर्थव्यवस्था र शक्ति नेतृत्व दुवै हत्याउला भन्ने सबभन्दा ठूलो चिन्ता छ

चीनको वुहानबाट उठेको कोरोना भाइरसको भुमरीले पछिल्लो आँकडाअनुसार विश्वका २ सय १५ देशहरूलाई छोइसकेको छ । कति देशहरू त खण्डहरजस्तै बनेर बौरिने प्रयास गरिरहेका छन् । कति पीडा भोगिरहेका छन् भने कति यसको सिकार बन्न थालेका छन् । मानवीय क्षतिको दैनिक आकलन भइरहेको छ । साठी लाख हाराहारी संक्रमितको संख्या पुगिसकेको छ । प्रजातन्त्र, मानव अधिकार र अर्थ व्यवस्थाका बलिया शक्ति राष्ट्रहरूलाई रोगसँग जुध्न हम्मे–हम्मे परेको छ । महाशक्ति राष्ट्र अमेरिका यो रोगले सबभन्दा ग्रसित बनेको छ । अमेरिकामा लगभग बीस लाख मान्छेमा संक्रमण फैलिइसकेको छ भने लाखभन्दा धेरै मानवीय क्षति भइसकेको छ ।
मानव सभ्यतालाई नै विचलन ल्याउने संकेत दिएको यो रोगले कहिले र कतिसम्म सताउने हो, अनुमान गर्न नसकिने अवस्था छ । रोग निदानका उपायहरू खोज्न जगत्का प्राविधिक विशेषज्ञहरू अहोरात्र खटिरहेका समाचारहरूले मानिसमा आशाको त्यान्द्रो बाँकी छ । प्रकृतीसंग क्षमा र गुहार माग्नुको विकल्प मान्छेसंग अहिलेसम्म देखिएको छैन ।
रोग फैलन नदिन कयौँ राष्ट्रहरू लकडाउन गरिएको छ । तर अमेरिकामा केही राज्यहरूका मुख्य सहरी क्षेत्रदेखिबाहेक अरू ठाउँहरूमा साविककै अवस्थामा दैनिक गतिविधि चलिरहेको छ । बन्द गरिएका क्षेत्रहरू पनि ठप्प भने पारिएको छैन । सवारी आवागमन निर्वाध चलिरहेको छ । घरेलु हवाई आवागमन उस्तै नै छ भने अन्तरदेशीय हवाई सेवा एकाध देशहरूबाहेक सबै सुचारु छन् । अति संवेदनशील ठाउँहरू स्कुल, होटल र सार्वजनिक स्थलहरू मात्र बन्द गरिएको छ । तर कर्फ्यु आदेशजस्तो सुरक्षा परिचालन नै गरेर कहीँ पनि ठप्प पारिएको छैन । बरु क्यालिफोर्निया, सिकागोलगायतका सहरमा त अलिअलि बन्द गरिएका व्यवसायहरू पनि खोल्नुपर्ने मागसहितका जुलुसै निस्किएका छन् । अमेरिका अब बन्द गर्ने सम्भावना छैन । अमेरिका बन्द नहुँदा संसारबाटै विभिन्न खाले प्रतिक्रयाहरू विभिन्न माध्यमबाट छताछुल्ल भए । आखिर के छ त, अमेरिका लकडाउन नगरिनुको चुरो कुरो ?
महाशक्तिको साख रक्षा
अहिलेसम्मको बाहिर आएको तथ्यांकअनुसार अमेरिका सर्वशक्तिमान राष्ट्र रहँदै आएको छ । शक्ति र प्रगतिको अथाह भण्डारण रहेको अमेरिकालाई आर्थिक एवं प्राविधिक सामथ्र्यको भरमा यो रोगलाई जित्न सकिन्छ भन्ने अव्यक्त घमन्ड थियो । अरू देशजस्तो अमेरिका कमजोर रहनु हुँदैन भन्ने ‘इगो’ त छँदै थियो नै ।
अमेरिकी इतिहासले कहिल्यै नबेहोरेको लकडाउनको बेइज्जती खेप्नुहुन्न भन्ने निहित सोच पनि छर्लंग भयो । पितापुर्खाले आर्जेको समृद्धि एवं शक्तिको साख बचाउन बन्द गर्नुहुन्न । बरु, रोगसँग लड्नुपर्छ भन्ने जनता र ह्वाइटहाउस प्रशासनको आत्मविश्वास हावी भएको अनुमान लगाउन गाह्रो भएन । हक्की, अभिमानी स्वभावका राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै पुस्ताले नगरेको लकडाउन गरेर ‘महाशक्तिको’ बाजी लगाउन र हारको अपमान खेप्न कहिल्यै तयार भएनन् ।
गम्भीरताको अभाव
लामो व्यापारिक पृष्ठभूमिबाट ह्वाइटहाउस सम्हाल्न पुगेका खर्बपति राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालको सुरुदेखि नै अनेक प्रसंगमा छिटफुट विवादमा रहे । र, राजनीतिक अपरिपक्वता चुहाए । जस्तो, संसारभरका आप्रवासी र संस्कृतिले सुसज्जित देशमा अमेरिकीलाई मात्र पहिलो प्राथमिकता दिनु, ‘मेक अमेरिका अगेन’ को नीतिले उग्र राष्ट्रवाद झल्किनु, मेक्सिको सिमानामा पर्खाल बनाउने अड्डी कस्नु, युक्रेनसँगको मिलेमतोमा चुनावमा झेल गरेको आरोप लाग्नु आदि । पैसाको भरमा सबै कुरा हाँक्न सक्छु भन्ने ‘कन्फिडेन्स’ ले सत्ता छिरेका राष्ट्रपतिमा राजनीतिक अनुभव त थिएन नै । भइपरी आउने आकस्मिक राष्ट्रिय अप्ठेरोलाई काबुमा राख्ने उच्च पारदर्शिता पनि मलीन थियो भन्न सकिन्छ । त्यसमाथि पनि भाइरसको संक्रमणले ल्याउने जोखिम त कसले पो लख काट्न सक्छ । यद्यपि सुरुमै यो समस्यालाई गम्भीर रूपमा लिएर कम्तीमा हवाई मार्ग र क्षेत्रीय राजमार्गहरू केही दिनलाई रोकिदिएको भए यत्तिको संख्यामा संक्रमण र क्षति हुने थिएन भन्ने आलोचनाहरू सतहमा आए ।
अमेरिकाले भाइरसको समस्या सहज रूपमा हल गर्न सक्छ भन्ने गलत र गहिरो विश्वासले संक्रमणलाई फैलन सजिलो भएको हो । सुरुमै समस्याप्रति चिन्तित भइदिएको भए अहिले रोगले यो रूप लिने थिएन ।
खर्बपतिहरूको बोलवाला
१७ मे महिनाको ताजा तथ्यांकअनुसार ३२,९६,५९,५८६ जनसंख्या भएको अमेरिकामा गरिब र धनीबीचको यति ठूलो खाडल छ कि एकातिर निम्न मध्यम वर्गीय मानिसहरू कहिले अर्को तलबको चेक आउँछ र खाने/बस्ने व्यवहार मिलाउँला भनेर पर्खिबसेका हुन्छन् । लगभग असी प्रतिशत मजदुरहरू एउटा तलब चेकदेखि अर्को तलब चेकमा आश्रित भएर जीवन गुजारेका छन् । वार्षिक आम्दानी एक लाख डलर हुने पाँचमध्ये एक अमेरिकी पनि अर्को तलबको चेक पर्खेर बसेको हुन्छ भन्ने सर्वेक्षण छ ।
दैनिक कडा मिहिनेत गरेर थोरै आम्दानीमा कसिलो गरी जीवन चलाउने ठूलो वर्ग छ ।
अर्कोतिर ७ सय ५ खर्बपतिहरूसँग तीन ट्रिलियन डलर ( तीन हजार अर्ब) सम्पत्तिमा कब्जा छ । जुन रकम बराबर अहिले ह्वाइटहाउस प्रशासनले अमेरिकी जनसंख्याको आधाभन्दा धेरैलाई आर्थिक राहत प्याकेज भनेर तल्लो सदनले पास गरेको छ । सिनेटमा प्रस्ताव लगिएको छ । सम्भवत: छलफलपछि यसको निष्कर्ष चाँडै निस्कन्छ र बाँडिन्छ । अघिल्लो प्याकेजमा दुई ट्रिलियन पैसा नै बीस करोडभन्दा बढी जनसंख्यालाई प्रत्येक व्यक्ति बाह्र सय डलर र प्रत्येक केटाकेटी पाँच सय डलरको दरले बाँड्न पुगेको थियो । अमेरिकी ठूला व्यापार व्यवसायमा केवल खर्बपति खेमाको बोलवाला रहेको छ ।
यिनको ठूलो व्यापारमा ल्याउने आर्थिक क्षयीकरणले गर्दा यो समूह लकडाउन नगर्ने पक्षमा अडिग रह्यो । ट्रम्प आफैँ पनि तीन खर्बभन्दा बढी सम्पत्तिको मालिक हुन् । विश्व बजारको ठूलो व्यापारी भएकाले उनी लकडाउनको विपक्षमा उभिनु स्वाभाविकै थियो ।
आफू बसेको राज्य वासिङ्टनबाट भाइरस संक्रमण बढ्दै जाँदा अर्का खर्बपति बिल गेट्सले बन्द गर्दा पनि हुन्छ भन्ने प्रसंग त उठाए तर पछि ह्वाइटहाउसको मनसाय बुझेपछि उनको आवाजले कुनै अर्थ राखेन र फेरि दोहोरिएन ।
आर्थिक पक्षसँग जोडिएको यस्तै खाले कुनै पनि राष्ट्रिय निर्णय गर्नुपर्दा खर्बपतिहरूको भूमिका अहं हुने कुरामा अब कुनै शंका रहेन ।
मानव अधिकार र स्वतन्त्रताको वकालत
अमेरिकीहरूले लकडाउनको विरोध गर्नु, अति संक्रमित क्षेत्रमा घरमै बस्ने ‘स्टे होम’ अडर नमान्नु, व्यक्तिगत स्वतन्त्रताको माग गर्नुले ह्वाइटहाउस प्रशासन जनताको इच्छाविपरीत मानव अधिकार र स्वतन्त्रताको दुहाइ दिन चाहन्नथ्यो । ‘रोगसँग लड्न तयार छौँ तर हामीलाई व्यक्तिगत स्वतन्त्रता चाहिन्छ’ लेखेका प्लेकार्ड बोकेर क्यालिफोर्नियाको सामुद्रिक किनारमा नारा–जुलुसै निस्कियो । सिकागोमा पनि उस्तै दृश्य देखियो ।
यो वर्षको अन्त्यतिर आउँदै गरेको राष्ट्रपतीय चुनावमा रिपब्लिकन र डेमोक्र्याट्स दुवैको स्वार्थ जोडिएकाले कुनै पनि पक्ष जनभावनाविरुद्धमा जान चाहँदैन थियो । बरु सकेसम्म रोगबाट बच्ने सबै उपायहरू खोज्ने, जनतालाई सजग गराउने, सरकारले रोजगारी गुमेका, काममा जान नसकेका, आफू र परिवार जोगाउन स्वेच्छाले घर बसेकालाई आर्थिक सहयोग गर्ने, रोग नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्ने तर लकडाउन नगर्ने रणनीति लियो । घर बस्न चाहने कसैलाई पनि काममा जान बाध्य पारिएन । यो सुविधाले प्राय: सबैको लकडाउन नगर्ने कुरामा मौन सहमति भयो ।
घरमै थुनिएर बस्नुभन्दा बेलाबेला किनमेल गर्न र बाहिर निस्कन पाइने तर काममा जानु नपर्ने सहज भएपछि सामान्य नागरिकले पनि स्वीकार गरे ।
अर्थतन्त्र धराशयको उग्र चिन्ता
२०२० को अन्त्यसम्म बाइस हजार (२२.३२ ट्रिलियन) अर्ब डलरमाथि गार्हस्थ उत्पादन हुने प्रक्षेपण गरिएको देशमा लकडाउनको असरले ल्याउने आर्थिक मन्दीले कहाँ पुग्ने हो भन्ने अनुमान पनि गर्न चाहँदैन, अमेरिका । अति व्यवस्थित प्राविधिक सिस्टम, ऋण प्रणाली, अति ठूला व्यापार व्यवसाय, प्रविधि, सैन्य, उत्पादन र करको ठूलो हिस्सामा चलेको देशले वार्षिक पैँतीस सय अर्ब डलरभन्दा बढी कर उठाउने गर्दछ । लकडाउले ल्याउने बेरोजगारी समस्या, जनताले तिर्ने कर उठ्न नसक्ने अवस्था, सानादेखि ठूला व्यवसायबाट लिने कर र बजारमा अभाव हुने पैसाको तरलताले अमेरिकाको कहालीलाग्दो स्थिति सायदै सरकार सोच्न चाहन्थ्यो । खर्बपतिहरूको व्यापार व्यवसाय धराशयी भए तिनको अर्बौंको हैसियतमा ठूलो धक्का लाग्ने डर उनीहरूलाई उत्तिकै थियो ।
आर्थिक नेतृत्व पारि सर्ने मुख्य डर
उन्नाइसौँ शताब्दीदेखि अर्थतन्त्रमा विश्वलाई नेतृत्व गर्दै आएको अमेरिकाले यो प्रतिष्ठा र सफलता युग युगान्तर कायम राखिरहन चाहन्छ । अहिलेसम्म अर्थ र शक्तिको विश्व नेतृत्व सम्हालिरहेको राष्ट्रलाई उदाउँदो तर आफू छेउमै आइसकेको चीनले अर्थव्यवस्था र शक्ति नेतृत्व दुवै हत्याउला भन्ने सबभन्दा ठूलो चिन्ता छ । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन गर्दा ‘इकोनोमी’ डाँवाडोल हुने र विश्व नेतृत्व सरेर प्रशान्त महासागरपारि स्थायी रूपमा सर्ने लगभग निश्चित छ । अमेरिका यो दुर्भाग्य कहिल्यै बेहोर्न तयार छैन । एकातिर जनतालाई आर्थिक राहत प्याकेज दिने, घरको ऋण पनि अत्यावश्यक राज्यहरूमा तिरिदिने, काममा जान बाध्य नपार्ने र बजार पैसाले तरलीकृत (उनीहरूको शब्दमा ‘सस्टेन्ड क्यास इन्फ्युजन) गरिरहने तर देशलाई बन्द गरेर गरिब नबनाउने भन्ने सबैको सहमति देखिन्छ । यो प्रसंगमा लुक्न नसकेको र प्रत्यक्ष देखिएको कुरा हो, मानवीयताको दुहाइ दिनु ।
‘जनता ठूलो कि पैसा’ भन्ने टड्कारो प्रश्न संवेदनशील छ । उत्तर पनि सजिलो छैन । केही लाख जनता बचाउने कि संसारलाई नेतृत्व गर्दै आएको अमेरिका गरिब बनाएर नेतृत्व पारि सुम्पिने भन्ने जटिल बिलखबन्दमा राष्ट्रपति थिए ।
यही प्रसंगमा ‘हरेक वर्ष फ्लुले पनि लाख मान्छेले अमेरिकामा ज्यान त गुमाएकै छन् । त्यसैले यति मान्छेले ज्यान गुमाउनु स्वाभाविक हो तर देश लकडाउन गरेर अमेरिकालाई गरिबीको भँड्खालोमा हाल्नु हुँदैन’ भनेर मानवीयतालाई कम महत्त्व दिएको राष्ट्रपति ट्रम्पले छर्लंगै पारिदिए । सुन्नमा कठोर अभिव्यक्तिले तत्काल जनतालाई मनाउन खोजे । यस अर्थमा मानवीय हिसाबले हेर्दा राष्ट्रपति क्रुर देखिए पनि भित्री सदीक्षा राष्ट्र बचाउनु नै थियो । देशप्रतिको माया, राष्ट्रियता र देशभक्तिको पक्षमा उनी अडिग रहे । र, लकडाउन गरेनन् ।
अमेरिका किन बन्द नगरेको होला भनेर एकपक्षीय रूपमा हेरिएजस्तो सजिलो छैन । राष्ट्रपति ट्रम्म अत्यन्तै ठूलो ऐतिहासिक अप्ठेरोमा परेको बुझिन्छ । उनीसामु केवल दुइटा विकल्प थिए– रोगसँग लडेर मानवीयतालाई कम महत्त्व दिने कि लकडाउन गरेर अमेरिकालाई कमजोर राष्ट्र बनाउने । उनले दोस्रो विकल्प छाने । देशलाई आर्थिक रूपमा धराशयी पारेनन् । देशलाई दाउमा राख्न न उनी सक्थे, न त उनको इच्छा नै थियो । अमेरिकी शक्ति, सामथ्र्य र समृद्धिको विरासत बचाए । कतिले क्रुर भने पनि उनले त्यो पगरी गुथेर राष्ट्र बचाएको गुन अमेरिकी जनता र इतिहासले दिएको सजिलै महसुस हुन्छ । यद्यपि उनको राष्ट्रपतीय शैली मन नपराउने धेरै छन् । डेमोक्र्याट्सले पनि जनतालाई विभिन्न खाले आर्थिक राहत प्याकेजको प्रस्ताव ल्याएर राष्ट्रपतिको चाहनाअनुसार लकडाउन नगर्ने कुरामा सहयोग गरे । अब चुनावी परीक्षामा हेर्न बाँकी छ, उनले सही गरे कि गलत ।