विभेदको सम्बन्ध
लन्डनमा २२ पुसमा आयोजित एक कार्यक्रममा पठाएको शुभकामना सन्देशमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपाल र बेलायतबीचको सम्बन्ध विश्वमै उदाहरणीय रहेको बताए।

विसं १८७१ मा नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । यस हिसाबले अर्को वर्ष दुई देशबीच सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुग्दै छ। लन्डनस्थित नेपाली दूतावासले दुई वर्षसम्म विभिन्न कार्यक्रमका साथ द्विशतवाषिर्की समारोह मनाउँदै छ। सोही कार्यक्रममा रेग्मी तथा क्यामरुनले दुई देशबीचको सम्बन्ध उदाहरणीय र महत्त्वपूर्ण रहेको सन्देश पठाएका हुन्। बेलायतले पनि आगामी सेप्टेम्बर महिनादेखि दुई वर्षसम्म द्विशतवाषिर्की मनाउँदै छ।
बेलायती सेनामा कार्यरत गोर्खा (नेपाली) सैनिक नै दुई देशबीचको सम्बन्धका सेतु हुन्। तर, दुई सय वर्षदेखि गोर्खा सैनिकले आफूहरू बेलायतबाट विभेद र असमानताको सिकार बनेको गुनासो गर्दै आएका छन्। गोर्खा सैनिकमाथि भएका असमानता र विभेदबारे अध्ययन गर्न गठित बेलायती संसदीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइससमक्ष ९ माघमा ब्रिटिस-गोर्खा सैनिकसम्बद्ध विभिन्न संस्थाले भेदभावको फेहरिस्त नै पेस गरेका छन्। बेलायती सेनामा कार्यरत गोर्खा सैनिकप्रति बेलायतले गरेको भेदभावपूर्ण व्यवहारका सन्दर्भले देखाउँछन्, क्यामरुन र रेग्मीले उल्लेख गरेजस्तो दुई देशबीचको सम्बन्ध उदाहरणीय र महत्त्वपूर्ण छैन।
सन् १९८२ को फकल्यान्ड युद्धका सहभागी बुद्धिराज राईको कथनले पनि बताउँछ कि युद्ध जित्नका लागि बेलायतले गोर्खा सैनिकलाई कसरी प्रयोग गरेको थियो -हेर्नूस्, यसरी जित्यौँ फकल्यान्ड, पृष्ठ २६(२७)। गोर्खालीको इमानदारी र वीरताकै कारण अधिकांश युद्धमा बेलायतको जित भयो। तर, नेपाल र गोर्खालीले चाहिँ बेलायतबाट के पाए ? सन् १८५७ को विद्रोहमा निर्णायक सहयोग गरेर भारतमा बेलायती साम्राज्य जोगाइदिएबापत टिस्टा र काँगडासम्म पुगेको नेपालले केवल बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पाएको थियो। विश्वयुद्ध र अन्य कैयौँ युद्ध गोर्खाली सहभागिताकै कारण जिते पनि गोर्खा सैनिकले भने बेलायतबाट असमानता र भेदभाव मात्र पाए। प्रजातन्त्र र मानव अधिकारको जननी मानिने बेलायतजस्तो देशले उसकै लागि शदीऔँदेखि लडेका गोर्खालीप्रति गरेको यो विभेदले आधुनिककाललाई नै गिज्याइरहेको छ।
पछिल्लो समय गोर्खा सैनिकलाई केही सुविधा दिइएका छन्। त्यो पनि आन्दोलन र कानुनी संघर्षबाट मात्र प्राप्त भएका हुन्। विश्वयुद्धपछिका गोर्खाली अनुभव पढ्ने-सुन्ने हो भने सुखद छैनन्। युद्ध हुँदा नेपालका पहाड-कन्दरासम्म बेलायती गल्लावालाहरू पुगेर भर्ती गर्दै लडाइँका मैदानसम्म पुर्याउँथे। एउटै घर नछाडी युवालाई बेलायती सेनामा भर्ती गरिएका कारण नेपाली गाउँवस्तीहरू युवाविहीन बनेको कुरा सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक त्यस बखतको नेपालमा समेत उल्लेख गरेका छन्। तर, यसरी लगिएका युवालाई युद्धको समाप्तिलगत्तै रित्तो हात फिर्ता पठाइयो। केहीअघिसम्म युवाविहीन गाउँवस्ती अब युद्धमा हातखुट्टा गुमाएका युवाले भरनि थाले।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव महेन्द्रलाल राईका अनुसार युद्ध समाप्तिपछि प्रयोजनहीन बनेका नेपाली युवालाई विनाक्षतिपूर्ति नेपाल पठाइएको थियो। राई भन्छन्, "बेलायती स्वार्थका लागि नेपाललाई प्रयोग नगरिएको भए ऊर्जाशील युवा देशभित्रै रहने थिए, तिनकै बलमा ००७ सालभन्दा धेरै पहिले नेपालबाट राणा शासन समाप्त भइसक्ने थियो।" राईको यो दाबी किन सत्य देखिन्छ भने विश्वयुद्धलगत्तै बेलायती सेनाबाट र्फकेका तिनै नेपाली युवालाई संगठित गरेर नेपाली कांग्रेसले मुक्ति सेना बनाएको थियो र तिनैका अगाडि नेपाली फौज परास्त हुँदा राणा शासनको अन्त्य भएको थियो।
गोर्खालीले बेलायतको समृद्धि र स्वतन्त्रताका लागि गरेको योगदानको बेलायती महारानी एलिजावेथदेखि हरेक प्रधानमन्त्रीले मुक्तकण्ठले प्रशंसा नगरेका होइनन्। तर, ऊर्जाशील जवानी बेलायतका लागि खर्चेका गोर्खा सैनिकको दुःख यस्ता प्रशंसाले मात्र दूर हुन सक्दैनन्। बेलायतका लागि त्यहाँका नागरकिसरह लडेपछि गोर्खालीले बेलायतीसमान सुविधा पाउनुपर्ने थियो। तर, प्रशंसा अनुसारको व्यवहार (सुविधा) त परै जाओस्, 'काम छउन्जेल भाँडो, काम सकिएपछि ठाँडो' भनेझैँ विश्वयुद्ध समाप्त हुनासाथ युवालाई नेपाल पठाइएको थियो। न त कसैले क्षतिपूर्ति पाए, न त पेन्सन नै। जसको जागिर जोगियो, उनीहरूले पनि बेलायती नागरकिको तुलनामा कम तलब र पेन्सन पाए।
बेलायतको तल्लो सदन हाउस अफ कमन्स अन्तर्गतको डिफेन्स कमिटीले सन् १९८९ मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार ब्रिटिस सेनामा कार्यरत कर्पोरल तहका गोर्खा सिपाहीले २२ वर्ष काम गरेपछि पेन्सनबापत वाषिर्क ४ सय २० पाउन्ड मात्र पाउँथे। जबकि, १५ वर्ष काम गर्ने त्यही तहका अंग्रेजलाई वाषिर्क ५ हजार ९ सय ६९ पाउन्ड दिइन्थ्यो। वारेन्ट अफिसर तहका गोर्खा सैनिकले जम्मा ४ सय १४ पाउन्ड पाउने गरेकामा अंग्रेज अफिसरले २० गुनाभन्दा धेरै अर्थात् ८ हजार ६ सय पाउन्ड पाउँथे।
भेदभावविरुद्ध विसं ०५२ देखि आन्दोलन थालेको गेसोले बेलायती अदालतमा मुद्दा दायर गरेपछि गोर्खा सैनिकले पनि ब्रिटिस सेनामा कार्यरत अंग्रेज नागरकिसरह तलब पाउन थालेका छन्। बेलायती उच्च अदालतले विसं ०५८ मा गोर्खा सैनिकलाई पनि बेलायती नागरकिसरह तलब दिनुपर्ने फैसला गरेको थियो। उच्च अदालतको फैसलापछि बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले विसं ०५८ देखि बेलायतीसरह नै तलब पाएका छन्। तर, पेन्सनमा भने अहिले पनि विभेद छ। महासचिव राईका अनुसार हरेक तहका गोर्खाली सैनिकले त्यही तहका अंग्रेजका तुलनामा सात गुना कम पेन्सन पाउँछन्।
मुलुकका लागि मृत्युवरण गर्ने जोखिमसमेत मोल्ने भएकाले सैनिक सेवालाई देशप्रतिको सबैभन्दा उत्कृष्ट सेवा मानिन्छ। यस्तै जोखिम गोर्खालीले बेलायतका लागि मोले। त्यसैले बेलायती नागरकिसरह नै सुविधा र अधिकार पाउनुपर्ने गोर्खा सैनिकको माग हो। तर, स-साना सुविधाका लागि पनि उनीहरूले संघर्ष नै गर्नुपरेको छ। गेसोको संघर्षपछि ३० सेप्टेम्बर २००४ मा गोर्खालीलाई बेलायतमा बसोवासको सुविधा दिइयो। तर, सबैलाई होइन, सन् १९९७ भन्दा पछि बेलायती सेनाबाट अवकाश पाएका गोर्खा सैनिकलाई मात्र। सन् १९९७ भन्दा अघि अवकाश पाएकालाई पनि यस्तो अधिकार दिलाउन गेसोले बेलायतको उच्च अदालत गुहार्नुपर्यो। अहिलेसम्म करबि २० हजार पूर्वगोर्खा सैनिकले मात्र बेलायतमा स्थायी आवास सुविधा प्राप्त गरेका छन्।
मुद्दा दायर भएको चार वर्षपछि सन् २००८ मा बेलायती उच्च अदालतले सबैलाई बेलायतमा आवास सुविधा दिनुपर्ने फैसला मात्र गरेन, बेलायतले गोर्खा सैनिकप्रति गर्दै आएको व्यवहार गैरकानुनी, अवैधानिक र अविवेकी भएको निर्णय पनि सुनायो। उच्च अदालतले फैसलामा 'बेलायती नागरकिसरह नै गोर्खा सैनिकलाई सबै ठाउँमा सुविधा दिन' भनेको थियो। तर, बेलायत सरकारले आवासीय सुविधाबाहेक अरू सुविधा दिने छेकछन्द देखाएन। त्यसैले यो विषय बेलायती संसद्मा पुग्यो।
लामो बहसपछि २१ अपि्रल २००९ मा संसदमा मतदानसमेत भयो। गोर्खालीले बेलायतीसरहका अधिकार र सुविधा पाउनुपर्ने प्रस्ताव २ सय ६७ मत पाएर विजयी भयो। त्यसको विपक्षमा २ सय ४६ मत खसेको थियो। ७२ सांसद् तटस्थ थिए। तत्कालीन सत्तारूढ लेबर पार्टी समान सुविधा र अधिकार दिने कुराको विपक्षमा भए पनि लेबर पार्टीका सांसद 'फ्लोर क्रस' गर्दै गोर्खालीको पक्षमा उभिएका थिए। यद्यपि, गोर्खालीले अझै पनि समान अधिकार पाएका छैनन्। महासचिव राई भन्छन्, "त्यतिबेला समानताको पक्षमा मतदान गर्ने कन्जरभेटिभ र लिबरल डेमोक्रेटिक पार्टी नै अहिले सत्तामा भए पनि क्यामरुन सरकारले संसद्को निर्णय कार्यान्वयन गर्न रुचि देखाएको छैन।"
असमान पेन्सनको समस्या त छँदै छ, प्रायः सबै देशका अवकाशप्राप्त सैनिकले पाउने निःशुल्क औषधोपचारको सुविधा पनि उनीहरूले पाएका छैनन्। आफ्नो सेनामा कार्यरत नेपाली (गोर्खा)लाई भने भारतले नेपालमै निःशुल्क औषधोपचारको सुविधा प्रदान गरेको छ। लामो आन्दोलनपछि बेलायतमै बसोवास र आवतजावतको सुविधा पाए पनि गोर्खा सैनिकका १८ वर्ष पुगेका सन्तानहरू यो सुविधाबाट अझै वञ्चित छन्। यसले आफ्नै बाबुआमाबाट छुट्टएिर बस्नुपर्ने बाध्यता सिर्जना गरेको छ।
यसै गरी दुई विश्वयुद्धताका भर्ती गरेर युद्ध समाप्तिलगत्तै खाली हात फिर्ता पठाइएका झन्डै चार लाख, मलेसिया युद्ध, बु्रनाई विद्रोहताका अतिरिक्त सैनिक भर्ती गरेर युद्ध समाप्तिलगत्तै रित्तो हात घर पठाइएका झन्डै १० हजार गोर्खा सैनिक र तिनका परिवारले पनि अझै क्षतिपूर्ति पाउन सकेका छैनन्। मलाया युद्ध र बु्रनाईको विद्रोह (सन् '६० को दशक) दबाउन भर्ती गरिएका १० हजार गोर्खालीलाई लडाइँ सकिएलगत्तै बाटो खर्चबापत दुई सय पाउन्ड मात्र दिएर फिर्ता पठाइएको थियो।
रित्तो हात फिर्ता पठाइएका गोर्खा सैनिकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग बारम्बार उठे पनि बेलायतले यो मागको पनि सुनुवाइ गरेको छैन। इतिहासकार सुरेन्द्र केसी बेलायतले गोर्खा सैनिकप्रति मालिकले दासप्रति गर्नेजस्तो व्यवहार गर्दै आएको आरोप लगाउँछन्। भन्छन्, "बेलायतले हरेक युद्धमा गोर्खालीको साथ पाएको छ। तर, दुई सय वर्षको इतिहासमा गोर्खालीले बेलायतबाट अपमान र तिरस्कारबाहेक केही पाएका छैनन्।"
बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे भने गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सरकार गम्भीर रहेको दाबी गर्छन्। उनका अनुसार परराष्ट्रसचिव अर्जुनबहादुर थापा र बेलायती विदेश मन्त्रालयको हेड अफ द डिप्लोम्याटिक सर्भिसका सर साइमन फ्रेजरद्वारा २३ पुसमा हस्ताक्षरति द्विपक्षीय परामर्श समन्वयसम्बन्धी सम्झौताबमोजिम बन्ने परामर्श समितिमा गोर्खा सैनिकलगायतका समस्याका सम्बन्धमा गम्भीर छलफल सुरु हुनेछ।
समानताका लागि झन्डै दुई दशक आन्दोलन र कानुनी लडाइँ गरेका गोर्खा सैनिक भने सहजै समान अधिकार पाउनेमा विश्वस्त छैनन्। गेसो महासचिव राई भन्छन्, "बेलायतमा अहिले पनि साम्राज्यवादी अभिमान कायम छ। बिनासंघर्ष समान अधिकार प्राप्त हुने कुरामा हामीलाई कत्ति विश्वास छैन।"
(आवरणसहित तस्बिरहरू ः गोर्खा म्युजियम)
बेलायतका लागि बलिदान
अघिल्लो वर्षसम्म जापान नेपालको सबैभन्दा ठूलो दातृ मुलुक भएकामा यस वर्ष बेलायतले यो ठाउँ ओगटेको छ। बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेका अनुसार बेलायतले यस वर्ष नेपाललाई ११ करोड ५० लाख स्टर्लिङ् पाउन्डबराबरको सहयोग प्रदान गरेको छ।
नेपाल-बेलायत सम्बन्ध स्थापनाको दुई सय वर्ष हुनै लाग्दा बेलायत नेपालका लागि सबैभन्दा ठूलो दातृ मुलुक बन्न सफल भए पनि उसको समृद्धि र स्वतन्त्रताका लागि नेपालले गरेको योगदान कैयौँ गुणा बढी छ। सुगौली सन्धि (विसं १८७१)पछि नेपाल-बेलायतबीच औपचारकि सम्बन्ध सुरुआत भएको हो। दुई देशबीच औपचारकि सम्बन्ध सुरुआत हुँदा बेलायत विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र मानिन्थ्यो, अहिले अमेरिका महाशक्ति भएजस्तै। संसारभर विस्तारति साम्राज्यका कारण बेलायतले 'कहिल्यै सूर्य नअस्ताउने देश'को छवि बनाइसकेको थियो। बेलायती उपनिवेश बन्नबाट दक्षिण एसियामा नेपाल मात्र जोगिएको थियो। उपनिवेश बन्नबाट जोगिएकाले दक्षिण एसियामा बेलायतसँग सबैभन्दा पुरानो सम्बन्ध भएको मुलुक नेपाल नै बन्न पुग्यो।
दुई सय वर्षको सम्बन्धको इतिहासमा बेलायतको हितका लागि नेपालले निकै ठूलो मूल्य चुकाउँदै आएको छ। सिंगो भारतलाई उपनिवेश बनाएको बेलायती शासनलाई जोगाउन पनि नेपाली नै अघि सर्नुपर्यो। सुगौली सन्धिलगत्तै बेलायतले आफ्नो सेनामा गोप्य रूपमा नेपाली युवालाई भर्ती लिन थाल्यो। त्यसयता लगातार नेपाली युवाले बेलायती हित र स्वार्थ रक्षाका लागि लड्दै र आफ्नो जीवन अर्पण गर्दै आएका छन्। अफगानिस्तानमा जारी तालिवानविरुद्धको युद्धमा पनि गोर्खालीले आफ्नो जीवन अर्पण गरेका छन्।
सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त भए पनि नेपालले सहयोग नगरेको भए त्यसभन्दा ९० वर्षअघि नै भारतबाट अंग्रेज उपनिवेश समाप्त भइसकेको हुने बताउँछन्, इतिहासकार सुरेन्द्र केसी। सन् १८५७ (विसं १९१४)मा भारतभर अंग्रेज शासनविरुद्ध भयानक विद्रोह सुरु भयो, जुन भारतीय स्वतन्त्रताको इतिहासमा 'सन् १८५७ को विद्रोह'का रूपमा चर्चित छ। उत्तरी भारत अन्य भागभन्दा बढी प्रभावित थियो। जनता मात्र होइन, ब्रिटिस सेनामा रहेका हिन्दू-मुस्लिमसमेत विद्रोहमा सामेल थिए। भारतमा रहेका अंग्रेज बलले मात्र यो विद्रोह दबाउन सक्ने स्थिति रहेन।
नेपालसँग सीमा जोडिएको उत्तरी क्षेत्र विद्रोहबाट बढी प्रभावित थियो। विद्रोहका कारण भारतमा साम्राज्य जोगाउन हम्मे पर्यो बेलायतलाई। त्यसपछि भारतका लागि बेलायती शासक लर्ड क्यानिङ्ले तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणासँग सहयोग मागे। बेलायतलाई सहयोग दिने-नदिने सम्बन्धमा जंगबहादुरको थापाथली दरबारमा भारदार सभा भयो। जहाँ अधिकांश भारदारले विद्रोही पक्षलाई सहयोग दिएर भारतबाट अंग्रेजलाई धपाउने सल्लाह दिएको इतिहासकार पुरुषोत्तमशमशेर राणा बताउँछन्। राणाले श्री ३ हरूको तथ्यवृत्तान्त पुस्तकमा उल्लेख गरे अनुसार भारतबाट अंग्रेजलाई हटाउन सकेमा राज्य विस्तार अभियान फेर िसुरु गर्न सकिने राय थियो भारदारहरूको। तर, जंगबहादुरले संकटमा परेको ब्रिटिसलाई नै सहयोग गर्ने निर्णय लिए। त्यसपछि १४ हजार सैनिकको नेतृत्व गर्दै उनी आफैँ विद्रोह दबाउन भारततर्फ लागे। ब्रिटिस साम्राज्य समाप्त गर्ने गरी सुरु भएको उत्तरी भारतको विद्रोह नेपालको सहयोगका कारण असफल हुन पुग्यो। यदि नेपालले त्यस बेला अंग्रेजलाई सहयोग नगरेको भए त्यस बेलै भारतबाट अंग्रेज राज समाप्त हुने सम्भावना थियो।
विद्रोह दबाउने क्रममा लखनउलगायत भारतीय सहरमा प्रदर्शन गरेको क्रूर हिंसा र ताण्डवका कारण भारतीय स्वतन्त्रता संग्रामीहरूका दृष्टिमा नेपालको बदनामीसमेत भयो। विसं १८७०-७१ को ब्रिटिससँगको युद्धमा नेपालले पूर्वमा मेचीदेखि टिस्टा र पश्चिममा महाकालीदेखि काँगडासम्मको विशाल भूभाग गुमाएको थियो। तर, बदनामी कमाएर भए पनि ब्रिटिसलाई गरेको सहयोगका बदलामा नेपालले केवल बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मात्र फिर्ता पायो।
सन् १९४७ मा बेलायतले भारत छाड्दा आफ्नो उपनिवेश कायम हुनुअघि स्वतन्त्र रहेका झन्डै ६ सय राज्यलाई स्वतन्त्र छाडेको थियो। अंग्रेजले भारत छाडेपछि प्रधानमन्त्री जवाहरलाल नेहरु र गृहमन्त्री वल्लभभाई पटेलले भारतलाई एकीकृत गरेका थिए। हैदरावाद र जम्मू-कश्मीरलाई एकीकृत पार्न भारतले सेना नै परिचालन गर्नुपरेको थियो। तर, बेलायतले सन् १८१४-१६ को युद्धमा नेपालले गुमाएको भूभाग भने भारतलाई सुम्पिदियो। जबकि, मुस्लिमबहुल पाकिस्तानलाई टुक्र्याएर मात्र बेलायतले भारत छाडेको थियो।
सन् १९१४-१८ को पहिलो र १९३९-४५ को दोस्रो विश्वयुद्ध खासमा बेलायत, जर्मनीलगायत राष्ट्रको स्वार्थका लागि लडिएका युद्ध थिए। ती युद्धसँग नेपालको कुनै सरोकार थिएन। तर, बेलायती स्वार्थका लागि झन्डै पाँच लाख नेपाली युवालाई प्रयोग गरियो। तत्कालीन प्रधानमन्त्रीहरू श्री ३ चन्द्रशमशेर र श्री ३ जुद्धशमशेरका पालामा भएका क्रमशः पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ नेपाली युवा ब्रिटिस सेनामा भर्ती गरिए।
इतिहासकार सुरेन्द्र केसीले गोर्खा भर्ती ः कथा, व्यथा र आन्दोलन नामक पुस्तकमा उल्लेख गरे अनुसार पहिलो विश्वयुद्धमा झन्डै दुई लाख नेपाली युवा बेलायती सेनामा भर्ती भएका थिए, दोस्रो विश्वयुद्धमा झन्डै २ लाख ५० हजार। अघिल्लोमा गोर्खाली बेलायती झन्डामुनि फ्रान्स, अफ्रिका, प्यालेस्टाइन, स्पेन, बलुचिस्तान, पाकिस्तान, इराकलगायतका ठाउँमा युद्ध लड्दै लड्दै पुगे। दोस्रोमा अफ्रिका, इटाली, बर्मालगायत ठाउँमा पुगे। अधिकांश स्थानमा गोर्खा सामेल बेलायती सेनाको विजय भयो।
दोस्रो विश्वयुद्धपछि बेलायती उपनिवेशहरू स्वतन्त्र हुन थाले। भारत पनि स्वतन्त्र भयो। तर, बेलायतले नेपाली युवालाई आफ्नो सेनामा भर्ती बन्द गरेन। ब्रिटिस-भारतमा कार्यरत १० रेजिमेन्टमध्ये चार रेजिमेन्ट गोर्खा सैनिक बेलायतको भागमा परे भने ६ रेजिमेन्ट भारतको भागमा। चार रेजिमेन्टका झन्डै आठ हजार गोर्खा सैनिकलाई सन् '५० को दशकमा मलायाको कम्युनिस्ट विद्रोह रोक्नका लागि पठाइयो। '६० को दशकमा बेलायती उपनिवेश रहेको बु्रनाईका राजाविरुद्धको विद्रोह दबाउन पनि गोर्खा सैनिक नै प्रयोग गरिए।
सन् १९६४ मा मलेसिया र इन्डोनेसियाबीच सीमा युद्ध भयो। यो युद्धमा पनि गोर्खा सैनिक नै अग्रमोर्चामा थिए। मलेसियाबाट प्रतिगोर्खा सिपाही ४ सय ५० डलर लिएको बेलायतले गोर्खालाई चाहिँ प्रतिव्यक्ति ४२ डलर मात्र दिएको केसीले पुस्तकमा उल्लेख गरेका छन्। सन् १९८२ मा बेलायत-अर्जेन्टिनाबीचको फकल्यान्ड युद्धको परिणामलाई बेलायतको पक्षमा पार्न निर्णायक भूमिका गोर्खालीकै रह्यो। सन् १९९७ सम्म बेलायती नियन्त्रणमा रहेको हङ्कङ्को सुरक्षा जिम्मा पनि गोर्खा सैनिकलाई नै थियो।
सन् '९० को दशकयता उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का तर्फबाट भएका युद्धमा समेत गोर्खा सैनिकको सहभागिता रहँदै आएको छ। यसबाहेक गोर्खा (नेपाली)हरूले सन् १९९० को खाडी युद्ध, सन् १९९१ को कोसोभो युद्ध, सन् २००३ को इराक युद्धमा भाग लिए। तालिवानविरुद्ध अफगान युद्धमा पनि गोर्खा सैनिक सहभागी छन्। केसी भन्छन्, "ब्रिटिस सेनामा गोर्खाली सहभागितापछि बेलायतले त्यस्तो कुनै युद्ध लडेको छैन, जहाँ गोर्खा सैनिकको सहभागिता नभएको होस्।"
जहाँ-जहाँ लडे गोर्खा सैनिकहरू
बेलायती साम्राज्यका तर्फबाट
इरान (१९१८ र १९४१)
अफगानिस्तान (१८७९ र १९१९)
भारत (१८१५)
इन्डोनेसिया (१९४६)
मलेसिया (१८७५ र १९४१)
बर्मा (१८४१-१८४५)
भुटान (१८६५)
जापान (१९४६)
चीन (१९००)
तिब्बत (१९०३-१९०४)
इराक (१९१८-१९२०)
सोभियत सेन्ट्रल एसिया (१९२०)
काउकेसस (१९१९)
गेलीपोली (१९१४)
कोसोभो (१९९९)
बेल्जियम (१९१४)
फ्रान्स (१९१४)
इटाली (१९४४)
ग्रीस (१९१९-१९४४)
ट्युनिसिया (१९४४)
साइप्रस (१९७८)
प्यालेस्टाइन (१९४२)
लिबिया (१९४२)
इजिप्ट (१९४२)
बेलिज (१९७०)
बेलायतका तर्फबाट
फकल्यान्ड (१९८२)
कङ्गो (१९६१-१९६२)
इड्ल्यान्ड (१९६२)
खाडी (१९९१)
हङ्कङ् (१९७०)
मलेसिया (१८७५ र १९४१)
ब्रुनाई (१९६३)
सिंगापुर (१९६०)
अफगानिस्तान (२००१)
पि्रथम विश्वयुद्धमा सहभागी गोर्खा सैनिक संख्या
२ लाख (जुन कुल लड्नयोग्य पुरुष नेपाली जनसंख्याको २५ प्रतिशत थियो) मृत्यु ः २० हजार
द्वितीय विश्वयुद्ध
सहभागी ः २ लाख ५० हजार
मृत्यु ः ७ हजार ५ सय ४४
हराएका ः १ हजार ४ सय ४१
तिथ्यांकमा गोर्खा सैनिक
- सन्ः १८१५ अपि्रल २४
गोर्खा पल्टन स्वीकृति
- सन् १८१५ मे १५
ब्रिटिस कमान्डर जनरल अक्टरलोनी र नेपाली सेनाध्यक्ष अमरसिंह थापाबीच गोर्खा भर्तीका विषयमा सहमति
- सन् १८४५-४६
प्रथम अंग्रेज-शिख युद्धमा पहिलोपटक ठूलो संख्यामा गोर्खा सैनिकको प्रयोग
घट्दो संख्या
हाल ब्रिटिस सेनामा झन्डै ३ हजार ५ सय गोर्खा सैनिक छन्। यद्यपि, बेलायतले आफ्नो नियमित कटौतीको प्रक्रियाबाट सन् २०२० सम्म हाल झन्डै १ लाख २ हजारको संख्यामा रहेको सेनालाई ८२ हजारमा झार्ने काम गरिरहेको छ। त्यस क्रममा हालै १ हजार ५ सय सेना कटौतीको निर्णय गर्दा त्यसमा ३ सय ५० गोर्खा सैनिक परेका थिए।
बेलायतले हरेक ठूला युद्धमा ठूलो संख्यामा गोर्खा भर्ती लिने र युद्ध सकिएसँगै तिनलाई फिर्ता पठाउने गरेको पाइन्छ। प्रथम विश्वयुद्धका बेला झन्डै दुई लाख रहेका ब्रिटिस गोर्खाहरू दोस्रो विश्वयुद्धमा त्यसभन्दा ५० हजार बढी पुगे। दोस्रो विश्वयुद्धलगत्तै बेलायतले गोर्खा सैनिकको संख्या १० हजार ४ सयमा सीमित गर्यो, जुन सन् १९७९ तिर बढेर १४ देखि १६ हजार पुगेको थियो। त्यसपछि घटेर सन् १९९१ मा सात हजार पुगेको संख्यालाई आधाभन्दा बढी घटाएर २ हजार ५ सयमा झार्ने निर्णय गरियो। सन् २००० मा नेपाल भ्रमणमा आएका बेलायती विदेशमन्त्री रविन कुकले त्यस बेला ३ हजार ४ सय १३ गोर्खा सैनिक रहेको बताएका थिए।
सम्बन्धमा अर्को तगारो
संयोग पनि कस्तो ! गत साल दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्षको उपलक्ष्यमा गरिने कार्यक्रमबारे छलफल सुरु हुन थालेको मात्र थियो, १९ पुस ०६९ मा नेपाली सेनाका महासेनानी कुमार लामा लन्डनमा पक्राउ परे। द्वन्द्वकालमा गोरुसिङ्गे (कपिलवस्तु) ब्यारेक प्रमुख रहँदा दुई बन्दीलाई यातना दिएको आरोपमा 'कन्भेन्सन अगेन्स्ट टर्चर' (क्याट) अनुसार कारबाही गर्न परेको उजुरी अनुसार लन्डन प्रहरीले लामालाई पक्राउ गरेको थियो।
नेपालले तत्काल गिरफ्तारीलाई सार्वभौमसत्ता सम्पन्न मुलुकविरुद्धको हस्तक्षेप भन्दै विरोध गरेको थियो। नेपाल-बेलायत सम्बन्ध दुई सय वर्ष पुग्न लागेको उपलक्ष्यमा लन्डनमा आयोजित कार्यक्रममा भाग लिन गएका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले २३ पुसमा बेलायती अधिकारीहरूसँग लामाको रिहाइका लागि अनुरोध गरे। थापा भन्छन्, "बेलायती अधिकारीहरूले यस विषयमा अध्ययन गर्दै छौँ भन्ने जवाफ मात्र दिए। यसको अर्थ हो, लामालाई रिहाइ गर्नुपर्ने नेपालको मागप्रति बेलायत संवेदनशील छैन।"
उता उच्च सैनिक अधिकारी बेलायती कैदमा रहेकै बेला गत भदौमा प्रधानसेनापति गौरवशमशेर राणालाई बेलायत भ्रमणको अनुमति दियो। बेलायती सेनाध्यक्ष सर पिटर वालले राणालाई निम्तो पठाएका थिए। सरकारले पनि स्वीकृति दिएपछि निम्तो मान्दै राणा २१ भदौमा बेलायत गए, पाँच दिन बेलायतमा बिताएर स्वदेश र्फके। तर, बेलायत भ्रमण अवधिमा कैदमा रहेका लामासँग प्रधानसेनापति राणालाई भेट गर्न दिइएन।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे नेपाली सैनिक अधिकारी युद्ध अपराधको आरोपमा बेलायती कैदमा रहेका बेला दुई देशबीचको सम्बन्धलाई महत्त्वपूर्ण र उदाहरणीय भन्नुको अर्थ नरहने बताउँछन्। भन्छन्, "लामाको गिरफ्तारीलाई सार्वभौमिकताविरुद्धको आक्रमण भनिए पनि सम्बन्धमा कुनै चित्तबुझ्दो प्रगति नहुँदै दुई देशको दौत्य सम्बन्ध स्थापनासम्बन्धी कार्यक्रम मनाउने नाममा परराष्ट्र सचिवलाई लन्डन पठाइयो।"
यसरी जित्यौँ फकल्यान्ड
गोर्खा सैनिकको भरमा बेलायतले अर्जेन्टिनाको कब्जाबाट फुत्काएको फकल्यान्ड टापुमा भएको युद्धका साक्षी हुन्, इन्द्रेणीपोखरी, खोटाङका बुद्धिराज राई, ५४। सन् १९८० मा धरान क्याम्पबाट ब्रिटिस आर्मीमा प्रवेश गरेका राई फकल्यान्ड युद्धमा जाँदा २२ वर्षका मात्रै थिए। प्रस्तुत छ, उनकै शब्दमा फकल्यान्ड युद्धका सम्झना ः
मध्य अमेरिकाको उत्तरपूर्वी तटमा रहेको सानो राष्ट्र बेलिजमा सात महिना बिताएर र्फकंदा मेरो ओछ्यानमा फकल्यान्ड जानका लागि हतियार, बन्दोबस्ती र खानपानका सामान तयारी अवस्थामा रहेछ। र, बेलायत टेकेको तीन दिनमै त्यता जानु परिहाल्यो।
हुन त मैले बेलिजमा छँदै फकल्यान्डको तनावबारे थाहा पाइसकेको थिएँ। सन् १९८१ को सेप्टेम्बरमा बेलायतबाट स्वतन्त्र भइसकेको बेलिज अति सानो देश, त्यसमाथि आफ्नै सेनासमेत नभएको। त्यसकै फाइदा उठाउँदै दक्षिणी छिमेकी ग्वाटेमालाले उसलाई हडप्न पूरा तयारी गररिहेको थियो। ब्रिटिस आर्मीको सात गोर्खा रेजिमेन्टका तर्फबाट समेत हाम्रो एउटा कम्पनी बेलिज डिफेन्स फोर्स तयार पार्न र प्रारम्भिक अवस्थामा ग्वाटेमालाबाट जोगाउनका लागि त्यहाँ गएको थियो।
त्यहाँ युद्ध त भएन तर कतिखेर युद्ध छेडिएला भन्ने भयले कुनै बेला छाडेन। त्यसै बेला चिलीले ग्वाटेमालामा आक्रमण गर्ने त्रास नभएको भए सायद युद्ध हुन्थ्यो होला पनि। लाग्छ, बेलिजमा युद्धमय बनेको मेरो दिमाग सायद फकल्यान्ड युद्धका लागि थियो।
एउटा सिपाहीका लागि युद्धमा जानु असाधारण कुरा होइन। तर, फकल्यान्डको युद्ध भने साधारण तरिकाले जितिने युद्ध थिएन। इङ्ल्यान्डबाट ८ हजार ६४ माइल पर रहेको उक्त टापु अर्जेन्टिनाबाट भने ३ सय १० माइल मात्रको दूरीमा छ। सन् १८३३ यता बेलायतको अधीनमा रहे पनि सायद दूरी र निकै सानो भू-भाग भएकाले बेलायतको प्राथमिकतामा त्यो कहिल्यै परेन। बेलायती सेनाको स्थायी क्याम्पसमेत थिएन त्यहाँ। त्यही फाइदा उठाएको थियो, अर्जेन्टिनाले। र, त्यहाँ आफ्ना सैनिक पठाएर युद्धका सबै व्यवस्थित पूर्वाधार तयार पारेपछि मात्र कब्जा घोषणा गरेको थियो, सन् १९८२ मा। जसबाट ब्रिटिसहरू निकै चिढिएका थिए र युद्ध जित्ने निकै बलियो आड खोजिरहेका थिए। गोर्खालीहरू त्यही रणनीति अनुसार प्रयोग भएका हुन्।
खासमा बेलायतले त्यही गोर्खाली त्रासका भरमा फकल्यान्ड युद्ध जितेको थियो। समाचार संस्था बीबीसीले गोर्खालीको सैन्य परचिय मात्र बढाईचढाई गरी देखाएन, उसले प्रचार गरेको थियो- '...गोर्खाली मान्छेकै रगत खाने स्वभावका हुन्छन्। एउटै खुकुरीको भरमा कम्तीमा एक सय मिटर व्यासमा त उनीहरूलाई छुन पनि सकिँदैन। आफूमध्ये कसैलाई केही भएमा एउटै विपक्षीलाई छाड्दैनन्।' यस्तै यस्तै के के हो के के!
दुस्मनमा त्रास भर्न उसले प्रचार गरेको सबैभन्दा ठूलो झूट भने गोर्खालीको संख्या थियो। ६ सय जनाजति गएकामा उनीहरूले ६ हजार गोर्खा फकल्यान्डतर्फ रवाना भए भनेका थिए। खासमा त्यस बेला ब्रिटिस आर्मीमै जम्माजम्मी ६ हजार गोर्खा सैनिक थिए। तर, त्यता हाम्रो सेभेन गोर्खा रेजिमेन्ट मात्र गएको थियो।
त्यसअघि नै बेलायतका तर्फबाट वायु तथा जल सैन्य बटालियनहरू फकल्यान्डमा भिडिरहेका थिए। तर, अर्जेन्टिनीहरू कति राम्रो तयारीका साथ बसेका थिए भने बेलायती सैनिकले जमिनमा टेक्न सकिरहेका थिएनन्। त्यसै कारण गोर्खा राइफल्स, स्कट गार्ड र वेल्स गार्ड गरी झन्डै तीन हजारको संख्यामा हामी विशेष तयारीका साथ हिँडेका थियौँ। क्याम्पदेखि बन्दरगाहसम्मको झन्डै तीन घन्टे दूरीमा हजारौँले हामीलाई शुभकामना दिन प्लेकार्ड बोकेका थिए, जसमा 'बाई बाई' र 'गुडलक' लेखिएका थिए।
हामीलाई लैजान त्यस बेलाको विश्वकै आरामदायी विशाल पानीजहाज 'क्विन एलिजावेथ-२' बन्दरगाहमा तयारी अवस्थामा थियो। सबैका आफन्त भावपूर्ण बिदाइ गर्न आएका थिए। हाम्रा लागि भने त्यहाँ जम्मा भएको बेलायतीको भीडको मात्रै साथ थियो। युद्धकै लागि भनेर उक्त पानीजहाजलाई विशेष रूपले 'मोडिफाई' गरएिको थियो। त्यसमा तीनवटा त हेलिप्याड मात्र थिए। त्यस जहाजमा के मात्र थिएन, अलिसान सपिङ् मल, रेस्टुराँ, फिल्म हल आदि। तर, हामी यात्रामा पनि युद्धकै तयारी गररिहेका थियौँ।
युद्धमा मरनिे हो वा बाँचिने हो, केही थाहा थिएन। त्यसैले अफ्रिकामा १२ घन्टा रोकिँदा देखेका गरबि अफ्रिकीलाई भएजति पैसा बाँड्यौँ। समुद्री यात्रा कति लामो थियो भने १२ घन्टाका लागि एलिजावेथ-२ जस्तो अत्याधुनिक पानीजहाजसमेत हराएको रहेछ, जसको पत्तो हामीले पछि मात्र पायौँ। उक्त जहाज हामीलाई साउथ जर्जिया टापुमा छाडेर फर्कियो। खासमा साउथ जर्जियासमेत अर्जेन्टिनीहरूले कब्जा गरेका थिए। त्यसलाई भने बेलायती सेनाले आफ्नो नियन्त्रणमा लिइसकेको थियो। त्यहाँबाट फकल्यान्ड टापु अझै ९ सय ६३ माइल पर थियो।
साउथ जर्जियाबाट स-साना पानीजहाजमा विभाजित भएर हामी फकल्यान्डतर्फ लाग्यौँ। त्यहाँसम्म सुविधायुक्त जहाजमा आएका हामीले एक्कासि सानो जहाजमा यात्रा गर्नुपर्दा अग्ला छाल र हल्लने समस्याले निकै सास्ती खेप्यौँ। तर, हामी युद्ध क्षेत्रमा छिरसिकेका थियौँ। जहाजको राडारले खतराको संकेत दिइरहेको थियो। हामीलाई खतरायुक्त क्षेत्रबाट पठाइएको थियो भने ब्रिटिसहरू तुलनात्मक रूपमा केही सुरक्षित बाटोबाट पठाइएका थिए। तर, हामीतर्फ पहिलो निसानामै ब्रिटिसहरू यात्रा गररिहेको जहाज क्यानबेरा पर्यो। ५५ जनाको त्यहीँ मृत्यु भएको खबर आयो।
बेलायतबाट हिँडेको २२ दिनपछि बल्ल फकल्यान्ड पुग्यौँ। निकै मिहिनेत र तयारीपछि हामी उत्तरी तटको साङ्कार्लोस बन्दरगाहमा उत्रियौँ। त्यसरी जमिनमा पुग्ने पहिलो ब्रिटिस आर्मी हामी नै थियौँ। उता पूर्वी तटमा पनि २ सय २५ जना गोराहरू उत्रिए। उत्रिएको १५ मिनेटभित्रै हामीले आफ्नो उचाइको दुईतिहाइ अट्ने खाल्डो खनिहाल्यौँ। नत्र त आक्रमणमा परहिालिन्थ्यो। फकल्यान्ड अत्यन्तै चिसो ठाउँ हो। युद्धमा सामान्यतः हरयिो पातपतिंगरसँग मिल्दोजुल्दो रंग लगाइन्छ, ताकि जंगलमा लुक्न सजिलो होस्। तर, हामीले त्यहाँ हिउँसँग मिल्ने गरी सेतो तन्नाका थुप्रै टुक्रा बनाएका थियौँ।
हामीसँग त्यहाँको भू-बनोट र अन्य विषयमा निकै कम जानकारी थियो। त्यसैले सबै आफ्नै 'आइडिया'का भरमा चल्नुपथ्र्यो। कतिसम्म भने अगाडि बढ्नलाई हाम्रा हेलिकप्टर पनि धेरै माथि उडेर भन्दा निकै तलबाट भ्यागुता जसरी अघि बढ्थे, लुकीलुकी। किनभने, धेरै माथि उड्नासाथ दुस्मनले हान्ने डर हुन्थ्यो।
फकल्यान्डमा गोर्खालीले पाएको जिम्मेवारी सबैभन्दा कठिन थियो, अर्जेन्टिनाले हेडक्वार्टर बनाएको पोर्ट स्ट्यान्ली हान्ने। म भएको कम्पनीको अगाडिपट्ट िगोराहरू थिए। उनीहरू 'क्लियर' गर्दै गएपछि हामी अगाडि बढ्नुपथ्र्यो। एक त नयाँ ठाउँ, त्यसमाथि गोराहरू युद्धमा पनि सामान्य अवस्थामा जस्तो लापरबाह हुन्थे। कतिसम्म भने लडाइँ उत्कर्षमा हुँदासमेत चिया वा सुप बनाएर खान्थे, जगिङ् गर्थे, हतियार परै छाडेर कतै गएर आराम गर्थे। खास त्यहाँ धेरै गोरा त्यस्तै लापरबाहीले मरेका थिए। हामी भने आँखा झिमिक्क पार्नसमेत सक्दैनथ्यौँ। कतिपटक त खाना सकिँदा पछाडिबाट थप्ने टोलीसमेत आउन सकिरहेको थिएन।
कति दिन त एक जनालाई तयार पारेको सुपको भरमा दुई जना थामिन्थ्यौँ। कतिपटक त रातमा जहाँको पानी उमालेर खाइन्थ्यो, बिहान हेर्दा त्यहाँ कुनै मानिसको लास चिसोले फुलेको देखिन्थ्यो। हाँस्नु न रुनु भइन्थ्यो, त्यस्तो देख्दा। म चुरोट खान्नथेँ। तर, केही नपाएपछि एउटा चुरोटलाई दुई टुक्रा पारेर खाएको छु। सेतो गिद्ध पनि मारेर खाइयो।
दुवैतर्फबाट अत्यन्तै अत्याधुनिक हतियार प्रयोग भएका थिए, छोटो दूरीदेखि लामो दूरीसम्म हान्ने थुप्रै हतियार। अझ रुसी हतियार प्रयोग गर्ने अर्जेन्टिनीहरू कतिपय पक्षमा हामीभन्दा बलिया थिए। चिसो मध्यरातमा दुवैतिरबाट प्रहार भएका तोपहरू जुध्दा त उज्यालै हुन्थ्यो। त्यही उज्यालोको सहारा लिएर दुस्मनलाई भुट्थ्यौँ हामी।
त्यस बेला अर्जेन्टिनामा हरेक नागरकिले सैन्य तालिम अनिवार्य लिनुपर्ने व्यवस्था थियो। त्यसकै भरमा आएका थिए धेरै। त्यस्तो हुनु कतिपय अवस्थामा प्रत्युत्पादक हुन्छ। किनभने, उनीहरू भित्रैबाट युद्धका लागि तयार भएर भन्दा पनि करले आइरहेका हुन्छन्। युद्धको माहोल सम्झँदा त मर्न पनि केही डर नलाग्ने। स-साना गोलीले लागेर त मरिन्छ जस्तै नलाग्ने।
पोर्ट स्ट्यान्लीनजिकै पुगेपछि भने गोराहरूको कम्पनीले अगाडिको बाटो क्लियर गर्न नसक्दा हामी अलिकति चुक्यौँ पनि। त्यहाँको डाँडामा राती नै पुग्नुपर्नेमा दिउँसो भयो। 'स्नाइपर'ले हामीलाई रोकिरहेको थियो। जुनसुकै युद्धमा स्नाइपरलाई नमारीकन अगाडि बढ्न औधी मुस्किल हुन्छ। दूरबिनसहितको विशेष हरियार लिएर कतै अति सुरक्षित ठाउँबाट स्नाइपरले आक्रमण गरेको हुन्छ। त्यस्तै अवस्था आए कहिलेकाहीँ एक-दुई जनाको ज्यान बाजी लगाएरै त्यस्ता स्नाइपरलाई मार्नुपर्छ।
त्यसै बेला पूर्वी फकल्यान्डमा रहेको टोलीले त्यहाँ अर्जेन्टिनीले हात उठाए भन्ने सन्देश पठायो। त्यसले हाम्रो मनोबल निकै उच्च बनायो भने उनीहरूको कमजोर। त्यही मौका छोपेर हामी डाँडामा पुग्यौँ। त्यहाँ एकैचोटि थुप्रै गोर्खालीले 'आयो गोर्खाली' भनेर खुकुरी तेस्र्याउँदा तलपट्ट िपोर्टमा बसेकाहरू आत्मसमर्पण गर्न र भाग्न थाले। त्यहाँ सुरुङ बनाएर बसेकाले भने ढिलो पत्तो पाएछन्। पछि तिनीहरूलाई हामीले युद्धबन्दी बनायौँ। त्यहाँ उनीहरू यति तयारीका साथ बसेका रहेछन् कि गुफामा अन्नभण्डार पर्याप्त थियो।
बेलिजमा बस्दा नै मैले अलिअलि स्पेनिस बोल्न जानेको थिएँ। अर्जेन्टिनीको औपचारकि भाषा नै स्पेनिस भएकाले कम्तीमा मेरा लागि उनीहरूसँग संवाद गर्न समस्या भएन। मैले उनीहरूलाई 'हामी को हौँ थाहा छ' भनेर सोधेँ। त्यस बेला उनीहरूले ब्रिटिसले प्रचार गरेका गोर्खालीका गुणहरू फरर बताउँदै नमार्न आग्रह गरे। उनीहरूलाई निःशस्त्रीकरण गरेर वरपर माइन चेक गरेपछि धेरै दिनदेखिका भोका हामीले त्यस दिन मज्जासँग खायौँ। अन्यत्र रहेका आफ्ना साथीलाई पनि हेलिकप्टर मगाएर खाना पठायौँ। त्यसपछिको केही समय स्थानीयका घरमा समेत बस्यौँ। माइन हटाउनका लागि पछि अर्को टोली गयो। यसरी २ महिना १२ दिन चलेको युद्ध हामीले १२ जुन १९८२ (२९ जेठ २०३९) मा जित्यौँ।
युद्ध जितेर फर्केपछि बेलायतमा हाम्रो भव्य स्वागत भयो। त्यहाँका पत्रपत्रिकाले गोर्खालीलाई 'हिरोज अफ् दी वल्र्ड' लेखे भने अर्जेन्टिनाले समेत गोर्खाली नभएको भए जित्थ्यौँ भनेर हार स्वीकार्यो। बेलायतमा थुप्रै रेस्टुराँ तथा होटलले हामीलाई सम्मानस्वरूप निःशुल्क खानबस्न आग्रह गरे। सरकारले सुरुमा हामीलाई युद्धमा गएबापत दिनको पाँच पाउन्ड भत्ता दिने भनेको थियो। फर्केपछि गोराहरूले पाँच पाउन्ड नै पाए भने हामीले एक पाउन्ड मात्र। खासमा ब्रिटिसहरूले काम लिन मात्र जाने, त्यसको उचित सम्मान कहिल्यै गरेनन्। बेलायतलाई गोर्खालीले थुप्रै गुन लगाएका छन्। तर, अहिलेको पुस्तामा त त्यसको बोध पनि कम हुँदै गइरहेको छ।
- प्रस्तुति ः प्रदीप बस्याल