गीतदेखि विज्ञापनसम्मको होड
गत माघ महिनामा गायक उदितनारायण झाले भारतीय जनता पार्टी (भाजपा)को नारासँग मिल्दोजुल्दो एउटा गीत रेकर्ड गराए
चैतको अन्तिम सातादेखि भारतमा सुरु भएको १६औँ लोकसभाको निर्वाचन रफ्तारमा क्षेत्रीय पार्टीहरूबाहेक केन्द्रमा भारतीय राष्ट्रिय कांग्रेस (आई), भारतीय जनता पार्टी र आम आदमी पार्टीको त्रिपक्षीय भिडन्त निकै रमाइलो भइरहेको छ। दिल्लीका हरेक मेट्रो स्टेसन, बसपार्क र अड्डामा लगाइएका होर्डिङ बोर्ड र भित्ते पोस्टरमै प्रतिस्पर्धा छ। यो होडमा सबैभन्दा बढी छाएको भाजपा र त्यसका प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको नाम-कामलाई सबैभन्दा बढी उछालिएको छ।
लोकसभा निर्वाचनमा उत्तर प्रदेशको बनारस र गुजरातको बडोदरा गरी दुई क्षेत्रबाट उठेका मोदी वर्तमानमा गुजरातको मुख्यमन्त्रीभन्दा बढी भविष्यमा 'सुनिश्चित प्रधानमन्त्री'का रूपमा विज्ञापनमा छाएका छन्। प्रशस्त खर्चेर बनाइएका होर्डिङ बोर्ड तथा अखबारी विज्ञापनमा यत्रतत्र मोदी देखिएपछि भाजपाभित्रै पनि विरोधको स्वर उठ्न थालेको थियो। लोकसभा निर्वाचन मुखेन्जी भाजपाभित्र मोदीको 'वन-म्यान सो'ले नकारात्मक प्रचार बढेको ठान्दै पार्टीले दिल्लीका चोक र चौरस्ताका भित्तामा झुन्ड्याइएका होर्डिङ बोर्डको तस्बिरमा अर्को बान्की थप्यो र भाषा पनि केही बदल्यो। होर्डिङ बोर्डमा भाजपाका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयी अघिल्लो पंक्तिमा छन् र पृष्ठभूमिमा नरेन्द्र मोदी। त्यसमा भनिएको छ, 'अटल रास्ते में है हम।'
चार महिनाअघि दिल्लीमा भएको विधानसभा निर्वाचनमा एकाएक उदाएको पार्टी आप भने विज्ञापन र भिडन्तको तुलनामा निकै पछि छ। त्यसमाथि अहिले भारतमा लहर बनेर छाएका मोदीका प्रत्यासी बनेर उत्तर प्रदेशको बनारसमा उम्मेदवारी दिएका आप अध्यक्ष अरविन्द केजरीवालले एकपछि अर्को गर्दै प्रतिरोध बेहोर्नुपरेको छ। केजरीवाल आफ्नो निर्वाचन क्षेत्र बनारस पुग्दा विरोधीले उनीमाथि मसी छर्किदिएका थिए भने पश्चिम दिल्लीको सुल्तानपुरमा एउटा अटो-रिक्सावालले उनको गालामा थप्पड हानेको थियो। विधानसभामा कांग्रेसको साथ लिएर ४९ दिन दिल्लीमा सरकार चलाएका केजरीवालमाथि आफूले गरेको वाचा र प्रतिज्ञा अनुसार काम नगरी चुनौतीबाट भागेको आरोप छ।
यता भारतीय कांग्रेसको हालत पनि राम्रो छैन। पार्टीले प्रत्यक्ष रूपमा उपाध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको प्रत्यासी नभने पनि चुनावी प्रचारका सबै अभियानमा भने उनैलाई अगाडि सारेको छ। तर, वाक्पटुता, प्रभाव र पहुँच नभएको कुनै कार्यकर्ताझैँ उनी सबै चुनावी र्यालीमा एउटै खालको भाषण गर्दै आएका छन्। यसबाहेक कांग्रेस अध्यक्ष सोनिया गान्धी पनि आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको रायबरेलीबाहेक उति सक्रियताका साथ चुनावी अभियानमा लागेकी छैनन् भने प्रधानमन्त्री मनमोहन सिंह पार्टीको चुनावी अभियानमा मुस्किलले दुई-तीन ठाउँमा मात्रै देखिएका छन्।
निर्वाचनको नारा र घोषणामा जेजस्तो प्रतिबद्धता गरे पनि भ्रष्टाचारको विरोध र सुशासनको मन्त्र लिएर तेस्रो शक्तिका रूपमा भारतीय राजनीतिमा उदाएको आपका कारण विगतमा जस्तो सनातनी नारा यसपटक कुनै दलसँग छैन। विकास, निर्माण र सुधारका मुद्दाभन्दा सबैजसो दल तथा तिनका नेताहरू भ्रष्टाचार र सुशासनका नारामा केन्दि्रत भएका छन्। र, निर्वाचनको मुखमा विरोधी दल/नेतालाई गलाउने विषय पनि यही बनेको छ।
चुनावी प्रचार र विज्ञापनमा यत्रतत्र छाएका भाजपा नेता मोदीको 'एग्रेसिभ' शैली अहिले भारतीय कांग्रेसका लागि विरोधको सबैभन्दा गतिलो अस्त्र बनेको छ। कांग्रेसका केन्द्रीय वाणिज्य मन्त्री एवं प्रवक्ता आनन्द शर्माले भाजपा र मोदीले चुनावमा मात्रै १० हजार करोड रुपियाँ खर्च गरेको भन्दै हमला सुरु गरेका छन्। यो ठूलो अनुपातको प्रचार खर्च कहाँबाट आयो, यसको स्रोत के हो र प्रभाव-पहुँचको यो तौरतरिकालाई निर्वाचन आयोगको आचारसंहिताले के भन्छ भनेर पनि उनले प्रश्न उठाएका छन्। राजधानी दिल्लीमा २७ चैतमा निर्वाचन भइरहेका बेला उठाइएको पारदर्शिताको यो मुद्दामा भाजपाले कुनै प्रतिक्रिया जनाएको छैन।
निर्वाचन आयोगले दिएको जानकारीमा यसपटक ८१ करोड ४० लाख मतदाता छन् भारतमा। यो संख्यामा ४० प्रतिशत मतदाता ३५ वर्षमुनिका छन्। आगामी २८ वैशाखसम्म जारी रहने निर्वाचनको अन्तिम चरणमा बिहार, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ। २७ चैतसम्म भएका दुई चरणका निर्वाचनमा औसतमा ६५ प्रतिशत मत खसेको छ। १ जेठमा घोषणा हुने नतिजा अनुसार लोकसभाका ५ सय ४३ मध्ये २ सय ७२ सिट ल्याउने अथवा दाबी गर्ने राजनीतिक दलले भारतमा सरकार बनाउनेछ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...