बेनाम मूर्तिकार
देवीदेवतादेखि ख्यातिप्राप्त व्यक्तिका प्रतिमासमेत गरी दर्जनौँ मूर्ति बनाइसकेका छन्, धर्मराज शाक्यले।
यो त नयाँ पुस्ताका मूर्तिकारको कुरा भयो। इसापूर्व पहिलो शताब्दीदेखिका कलाकृति भेटिए पनि तिनका सर्जकका बारेमा इतिहास गुमनामजस्तै छ। कारण त्यही हो, ती कलामा मूर्तिकार वा सर्जकको नाम लेख्ने परम्परा नै भएन। शिलालेखहरूमा पनि कि स्थापना गराउने राजाको नाम लेखिन्थ्यो, कि दाताको। सर्जकको नामले विरलै स्थान पाउँथे। शाक्य भन्छन्, "सर्जकलाई केवल ज्यालादारी कामदारका रूपमा हेरिने भएकाले उनीहरूको पनि नाम रहनुपर्छ भन्ने कसैले सोचेनन्।"
वरष्िठ संस्कृतिविद् प्राध्यापक मुकुन्दराज अर्यालका भनाइमा कलाकृतिमा सर्जकको नाम राख्ने परम्परा नेपालमा मात्र होइन, युरोप र भारतमा पनि थिएन। त्यहाँ पनि एकसे एक कलाकृतिका सर्जक को हुन् भन्ने रहस्यकै गर्भमा छ।
तत्कालीन शासक एवं कलाप्रेमीहरूले निश्चित रकम दिएर कला सिर्जना गर्न लगाउने र सर्जकले पनि त्यसमै चित्त बुझाउने परम्परा थियो। अझ देवीदेवताका मूर्ति बनाउँदा त कला सिर्जनामा नाम राख्नेभन्दा पनि भक्तिभावले नै बढी काम गरेको हुन्थ्यो। अर्याल भन्छन्, "त्यस्तोमा मूर्तिमै शिल्पीको नाम लेख्ने भन्ने कुरै हुँदैनथ्यो।"
पुरातत्त्व विभागकी प्रमुख पुरातत्त्व अधिकृत सौभाग्य प्रधानांगका अनुसार कतिपय उत्खननका क्रममा इसापूर्व पहिलो शताब्दीका मूर्तिहरूसमेत भेटिएका छन्। तत्कालीन राजा जय वर्माको मूर्ति, जुन अहिले छाउनी संग्रहालयमा छ, शक सम्वत् १०७ मा बनेको मानिन्छ। लिच्छविकालदेखि आधुनिककालसम्मका अनगिन्ती मूर्तिकलाले अहिले पनि नेपाली कला जगत्लाई विश्वमा चिनाइरहेकै छन्। तर, अभिलेख खोज्दै जाने हो भने ती कलाका एक दर्जन सर्जक भेट्न मुस्किल छ। मूर्तिकलाका सर्जकका बारेमा शिलालेखहरूमा समेत विरलै लेखिएका छन्। प्रधानांग सुनाउँछिन्, "जुन मूर्तिका बारेमा लिखित दस्तावेज हुँदैन, त्यो कुन कालखण्डको हो भन्ने जान्न त्यसका आकृति र विशेषता अध्ययन गरिन्छ। अनि, कलाकृतिसँगै सर्जकभन्दा राजा-महाराजाकै नाम अगाडि आउँछ।"
हुन त पुराना मूर्तिकलाहरूमा पनि सर्जकको नाम उल्लेखै नहुने गरेको भने होइन। संस्कृतिविद् अर्यालका अनुसार काठमाडौँको जयबागेश्वरीअगाडि अभय मल्लको पालाको एउटा नारी मूर्ति पाइएको थियो। १३औँ शताब्दीकालीन त्यस मूर्तिको पादपीठ (आसन)मा 'विजयपालकी छोरी अमृतश्री समय नपुग्दै मरेकाले सारा परिवार दुःखी भए, त्यसपछि कलाकारमध्ये श्रेष्ठ नन्दपालले यो मूर्ति बनाए' भन्ने उल्लेख छ।
त्यस्तै १५औँ शताब्दीको विष्णुमण्डल पौभामा त तत्कालीन शासक र दाताहरूको नाम मात्र उल्लेख छैन, कलाकारले त्यसमा आफ्नो नाममेत उल्लेख गरेका रहेछन्, तेजरत्न चित्रकार। त्यसमा चित्रकारले आफ्नो सानो चित्रसमेत बनाएको अर्याल सुनाउँछन्। उनका अनुसार मध्यकालसम्मका कलाकृतिमा सर्जकको नाम फाट्टफुट्ट पाइए पनि राणाकालपछिका, विशेष गरी चित्रकलामा, सर्जकले आफ्नो नाम लेख्न थाले। तेजबहादुर चित्रकार, आनन्दमणि शाक्य, पारसमणि प्रधान, बालकृष्ण सम, अनुप चित्रकार, मणिकमान चित्रकार आदि नाम त्यस कालखण्डमा कहलिएका सर्जक हुन्।
युवा मूर्तिकार चन्द्रश्याम डंगोल भने इतिहासमा भएको गल्ती अझै दोहोररिहेको गुनासो गर्छन्। मूर्तिकारलाई सामान्य कामदारका रूपमा मात्र हेरिनाले कैयन् सर्जक इतिहासको गर्भमै विलय भए। आउँदो पुस्ताका लागि भने सर्जकका बारेमा यथेष्ट जानकारी राखिनुपर्ने डंगोल सुनाउँछन्। भन्छन्, "विदेशमा सिर्जनासँगै सर्जकका बारेमा पनि जानकारी राख्ने प्रचलनको सुरुआत भइसकेको छ। यसमा हामी अझै पछि छौँ।"
आफ्ना मूर्तिकलालाई प्रायः चीनका बजारसम्म पुर्याउने डंगोल विदेशतिर मूर्तिमा सर्जकको नाम र भएसम्म सर्जकको हस्ताक्षरसहितको प्रमाणपत्रसमेत खोज्न थालिएको सुनाउँछन्। भन्छन्, "यति भएन भने त मूर्तिलाई आधिकारकि नै मान्दैनन्।" परम्परागत मूर्तिकलामा लाग्ने ज्यालादारी कामदारजस्ता मात्र हुन् भन्ने गलत सोच समाजमा व्याप्त भएकाले पनि यसबारे अध्ययन-अनुसन्धानले गति लिन नसकेको उनको भनाइ छ।
राजा-महाराजाहरूको तेज र प्रशस्तिमा विलय भएका सर्जक एवं कलाकारहरूको खोजी इतिहासको अध्ययनका लागि महत्त्वपूर्ण विषय भए पनि त्यसमा हामीले पाइला नै अघि नबढाएको संस्कृतिविद् अर्याल सुनाउँछन्। इतिहासलाई केलाउने बाटो पनि देख्छन् उनी। जस्तो ः नेपाली मूर्तिकलामध्ये अद्भुत मानिएको बूढानीलकण्ठको मूर्ति कसले बनाए भन्ने अभिलेख कतै पाइँदैन। तर, मूर्ति बनाउनका लागि ढुंगा तानेर ल्याउने कामदारहरूलाई तत्कालीन राजाले सुनका गहना लगाउने छुट दिएको ऐतिहासिक अभिलेखहरूमा उल्लेख छ। अर्याल भन्छन्, "ढुंगा ल्याउनेसँग त राजा त्यति खुसी भए भने बनाउनेसँग कति खुसी भए होलान् ? कामदारको तारिफ भएको छ भने शिल्पीको पनि तारिफ पक्कै भएको हुनुपर्ने हो। तर, यस्ता तथ्यबारे गहन अध्ययन हुन सकेकै छैन।"
इतिहासको अध्ययन राम्ररी हुन नसक्दा गलत तथ्यहरूले प्रश्रय पाउन थालेको अर्यालको बुझाइ छ। उदाहरणका लागि अद्भुत मूर्तिकला मानिएको पलाञ्चोक भगवतीसम्बन्धी कथनलाई नै लिऔँ! यो मूर्ति तयार पारसिकेपछि यस्तै अद्वितीय कला अर्को नबनोस् भन्ने हेतुले तत्कालीन राजाले शिल्पीको हात काट्न लगाएका थिए भन्ने भनाइहरू पनि सुनिन्छन्। तर, अर्याल भने इतिहासको अध्ययन राम्ररी नभएकाले यस्ता विषयले मलजल पाएको सुनाउँछन्। कृतिमा कलाकारको नाम लेख्ने परम्परा नरहे पनि कलाकारका लागि समाजमा निकै सम्मान थियो। अझ देवीदेवताका मूर्ति बनाउने कलाकारलाई त छिमेकी राष्ट्रहरूबाट समेत घरजम र पारश्रिमिकको राम्रो व्यवस्था गरिदिएर झिकाउने प्रचलन थियो। भन्छन्, "त्यस्तो हुन्थ्यो भने त्यति उत्कृष्ट कलाहरू कसरी बन्थे, हातै कटाउन त कसैले पनि मूर्ति बनाउँदैनन्।"
हुन पनि पुस्तौँदेखि मूर्तिकलामा लाग्दै आएकाहरू अहिले पनि प्रशस्त भेटिन्छन्। पाटनको भीमसेनबहाल ढुंगाका मूर्ति बनाउने र उखुबहाल धातुका मूर्ति बनाउनेको पुख्र्यौली थलो मानिन्छ। अन्यत्र पनि थुप्रै कलाशिल्पीले पुर्खाबाट प्राप्त ज्ञानलाई जीविकोपार्जनको माध्यम बनाइरहेकै छन्। यो पिँढीबाट उनीहरूका पुर्खाका बारेमा लिखित र मौखिक अभिलेख संकलन गरी त्यसलाई गहन अनुसन्धानको विषय बनाउने हो भने पनि थुप्रै मूर्तिकलाका सर्जकका बारेमा थाहा पाउन सकिने विज्ञहरू बताउँछन्। पुरातत्त्वविद् प्रधानांग आफ्ना पुर्खाका छरिएर रहेका कलाकृतिका बारेमा अध्ययन गर्न तिनका सन्ततिको अझ बढी भूमिका हुने सुनाउँछिन्।
इतिहासको अनुसन्धानमा हामी कतिसम्म कमजोर रहेछौँ भन्ने ज्वलन्त उदाहरण रहेछन्, प्रसिद्ध कलाकार अरनिको। अर्यालका अनुसार अरनिकोले नेपाली मूर्तिकलालाई चीनमा लगेर फैलाएकाले उनको विशेष चर्चा भयो। तर, नेपालका उपलब्ध स्रोतहरूमा अरनिकोका बारेमा केही उल्लेख छैन। भन्छन्, "चीनमा पाइएको अभिलेखका आधारमा मात्र अरनिको नेपालबाट चीन गएको पत्ता लागेको हो। नेपाली चिनाउन पनि विदेशीको भर पर्नुपर्ने अवस्था छ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...